भूमिहीनलाई लालपुर्जा वितरण गर्न जग्गाको नापजाँच अगाडि बढ्यो

काठमाडौं । भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि तनहुँमा जग्गा नापजाँचको काम अगाडि बढेको छ । राष्ट्रिय भूमि आयोग तनहुँले भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि जग्गा नापजाँचको काम अगाडि बढाएको हो । आयोगका विज्ञ सदस्य श्रीराम कार्कीका अनुसार शुक्लागण्डकी नगरपालिका–३, ८ र ९ मा जग्गाको नापजाँच भइरहेको छ । देवघाट गाउँपालिका–५ मा नापजाँच सकिए पनि केही छुटपुट भएकाले छुटपुट भएकालाई समेत समावेश गर्ने तयारी गरिएको उनले बताए । देवघाटकै वडा नं २ र ४ मा जग्गाको नापजाँच सुरु गर्ने तयारी गरिएको छ । सदस्य कार्कीका अनुसार आँबुखैरेनी गाउँपालिकाका ६ वटै वडामा जग्गाको नापजाँच काम सकिएको छ । व्यास नगरपालिकाका जग्गा नापजाँचका लागि छलफल अगाडि बढाइएको छ । जग्गा नापजाँचका लागि आवश्यक उपकरण खरिदका लागि नगरपालिकाले बोलपत्र आह्वान गरिसकेको उनले बताए । ‘प्राविधिक कम भएका कारण पनि जग्गा नापजाँचको कामले तीव्रता पाउन सकेको छैन, हामीसँग उपलब्ध प्राविधिकलाई नै मिलाएर सबै स्थानीय तहमा खटाउनुपर्ने अवस्था छ, जग्गा नापजाँच सुरु भएपछि धेरै काम अगाडि बढेको छ भन्ने महसुस सबैलाई हुन्छ, सोहीबमोजिम हामीले कामलाई अगाडि बढाइरहेका छौँ, असारभित्रै अथवा नभए दशैँ अगाडि कुनै न कुनै पालिकामा लालपुर्जा वितरण गर्ने लक्ष्य छ,’ उनले भने । जग्गा नापजाँच सम्पन्न भएपछि फिल्ड ढड्डा उतारेर काम गर्दा प्रत्येक पालिकाका लागि एक महिना समय आवश्यक पर्छ । यसैगरी भानु नगरपालिकामा पनि दशैँअघि सुकुम्बासी एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणको तयारीसहित नापजाँच कार्य सुरु भएको छ । वर्षौँदेखि लालपुर्जाविहीन रहँदै आएका स्थानीयवासीलाई लालपुर्जा दिने उद्देश्यसहित भानु नगरपालिकामा जग्गाको नापजाँच सुरु भएको छ । भानु नगरपालिका–१ स्थित नयाँबस्तीबाट जग्गाको नापजाँच कार्य सुरुआत गरिएको हो । भानु–१ मा पाँच सयभन्दा बढीलाई निस्सा वितरण गरिएको थियो । यो वडाबाट सुरु भएको जग्गा नापजाँच कार्य क्रमशः अन्य वडामा सुरु गरिने नापी कार्यालयका तनहुँका प्राविधिक एवं जग्गा नापजाँच कार्यका टोली प्रमुख राजीव श्रेष्ठले जानकारी दिए । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले दशैँअगावै नापजाँच कार्य सकेर लालपुर्जा वितरण गरिने बताए । राष्ट्रिय भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीले स्थानीय तहको समन्वयमा भूमिहीनलाई लालपुर्जा र अव्यवस्थित बसोबासीलाई व्यवस्थित बनाउने प्रक्रिया सुरु गरिएको बताए । भानु नगरपालिकामा जग्गाको नापजाँच सुरु भएपछि भूमिहीन खुसी भएका छन् । यसअघि निस्सा पाएका नयाँबस्तीका रामबहादुर परियारले अब लालपुर्जा पाइन्छ कि भन्ने आशा जागेको बताए । ‘प्रत्येक चुनावमा नेता आएर लालपुर्जा दिन्छौँ भन्नुहुन्छ, तर कहिल्यै पुर्जा पाइएन, अहिले नापजाँचको काम सुरु भएपछि त पक्कै पुर्जा पाइन्छ होला,’ उनले भने । सोही ठाउँकी डिलकुमारी राना पनि जग्गा नापजाँच अगाडि बढेपछि हर्षित छिन् । लालपुर्जा नहुँदा सुकुम्बासी भएर बाँच्नुपरेको भन्दै उनले जग्गा नहुँदा धेरै समस्या आइपरेको उल्लेख गरे । जिल्लाका १० पालिकामा भूमिहीन दलित १ हजार १०८, भूमिहीन सुकुम्बासी १ हजार ८७२ र अव्यवस्थित बसोबासी २३ हजार १३७ गरी २६ हजार ११७ जनाको निवेदन दर्ता भएको छ ।रासस

काठमाडौं उपत्यकाका पहाडमा १९८ पोखरी निर्माण गरिने

काठमाडौं । काठमाडौं उपत्यकामा बागमती र त्यसका सहायक नदी सफा बनाउनका लागि यहाँका पहाडमा १९८ वटा पोखरी बनाइने भएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले वर्षामा पानी हुने र हिउँदमा रिचार्ज भएर छाड्न पनि मिल्ने गरी पोखरी बनाउने योजना ल्याइएको समितिका सूचना अधिकारी कमल अर्यालले बताए । अहिले उपत्यकाका नदीमा वर्षामा बाढी पस्ने र हिउँदमा खोला पूर्णरुपमा सुख्खा हुने समस्या छ । नदी सफा हुनलाई प्रशोधन केन्द्र आवश्यक रहेको उनको भनाइ छ । उनले भने, ‘नदी पूर्णरुपमा सुख्खा हुँदा पानी प्रशोधन हुँदैन । जति पानी बढ्यो पानी प्रशोधित हुँदै जान्छ ।’ गुहेश्वरीमाथि धापमा जस्तै बिभिन्न स्थानमा पार्क बनाइने समितिको भनाइ छ । उनले पर्यटकीय हिसाबले महत्वपूर्ण हुने तथा हिउँदमा पानी रिचार्ज गरी वर्षामा बाढी नियन्त्रण हुने गरी धाप निर्माणको योजना रहेको बताए । बागमती करिडोरमा सन् २००९ देखि सन् २०१४ सम्मका लागि बागमती कार्ययोजना बनाइएको थियो । त्यसलाई अद्यावधि गरी सन् २०२३ देखि सन् २०४३ सम्मको कार्ययोजना बनाइएको छ । बागमती सफा गर्नका लागि ठोस मात्रै फोहर हटाएर नहुने सूचना अधिकारी अर्यालको भनाइ छ । ढल व्यवस्थापनका लागि सबै खोला किनारमा ढलको लाइन इच्छाएर प्रशोधन गरिनुपर्ने उनको धारणा छ । सूचना अधिकारी अर्यालले बागमतीमा ढल निर्माण भएपनि त्यसमा मिसिने अरु खोलामा ढल निर्माण गरी त्यसलाई प्रशोधन केन्द्रमा लैजान आवश्यक रहेको बताए । बागमतीका सहायक र शाखा नदी व्यवस्थित नहुँदासम्म बागमती सफा नहुने देखिएको छ । समितिले अहिले नदी किनारमा मात्रै ढलको काम गरिरहेको र त्यसभन्दा बाहेकमा अन्य निकायले काम गरिरहेको हुँदा आपसी समन्वय हुनुपर्ने उनको भनाइ छ । समितिले बागमतीको उद्गमस्थल बागद्वारबाट ललितपुरको कटुवाल दहसम्म नदी सफाइ र करिडोर सडक निर्माण एकैसाथ अघि बढाएको छ । बागमती नदी सफा बनाउने उद्देश्यले समिति स्थापना भए पनि पछि यसको कार्यक्षेत्र बिस्तार भएर सफाइसँगै नदी आसपासमा पूर्वाधार निर्माणमा लागेको थियो । पशुपति क्षेत्रको वातावरण सुधारका लागि विक्रम सम्वत् २०५१ चैत २८ गते यसको स्थापना भएको थियो । शुरुमा कार्यान्वयन र अनुगमन समितिका रुपमा स्थापना भएकामा २०६५ साल जेठमा यसलाई अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति नामकरण गरिएको थियो । 

अनामनगरको सार्वजनिक जग्गामा महानगरले डोजर चलाएपछि विरोध

काठमाडौं । काठमाडौंको अनामनगरस्थित सार्वजनिक जग्गामा काठमाडौं महानगरले डोजर चलाएपछि स्थानीयहरुले विरोध गरेका छन् । सोमबार काठमाडौंको अनामनगरस्थित गोरखा एफएम चोकमा रहेको सार्वजनिक जग्गामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयहरुबीच विवाद सिर्जना भएको हो । एकपक्ष स्थानीयहरु वर्षौंदेखि सार्वजनिक जग्गाको सुरक्षा गर्दै आएको र विपद्को बेलामा आवश्यक पर्ने भएकाले भत्काउन नहुने पक्षमा छन् भने अर्को पक्षका स्थानीयहरु सरकारले सार्वजनिक जग्गाको उपयोगका लागि भत्काउन पाउने र आफ्नो संरचना बनाउन पाउने पक्षमा छन् । स्थानीयहरुबीच नै विवाद हुँदा अहिले स्थिति तनावग्रस्त छ । काठमाडौं महानगरपालिकाले २९ नम्बर वडाको वडा कार्यालय बनाउन भत्काउन थालेको छ । अहिले महानगरपाकिलाले स्थानीयको विरोधका बीच डोजर चलाइरहेको छ । स्थानीयहरुले भने काठमाडौं महानगरपालिकाको विरोध गरिरहेका छन् । उनीहरुले महानगरपालिकाले सार्वजनिक जग्गा पहिचान गरी आवश्यक ठाउँमा वडा कार्यालय बनाउन पाउने तर विपद्को बेलामा उपयोग हुने जग्गा मिचेर वडा कार्यालय बनाउन नहुने उनीहरुको तर्क छ । स्थानीयहरुले वडा कार्यालय बाहेकका अन्य कुनैपनि संरचना बनाउन महानगरपालिकालाई आफूहरुको समर्थन रहने प्रतिवद्धता जनाएका छन् । महानगरपालिकाले भने स्थानीयहरुको मागलाई बेवास्ता गर्दै सार्वजनिक जग्गामा डोजर चलाइरहेको छ ।