काठमाडौं । भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि तनहुँमा जग्गा नापजाँचको काम अगाडि बढेको छ । राष्ट्रिय भूमि आयोग तनहुँले भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि जग्गा नापजाँचको काम अगाडि बढाएको हो ।
आयोगका विज्ञ सदस्य श्रीराम कार्कीका अनुसार शुक्लागण्डकी नगरपालिका–३, ८ र ९ मा जग्गाको नापजाँच भइरहेको छ । देवघाट गाउँपालिका–५ मा नापजाँच सकिए पनि केही छुटपुट भएकाले छुटपुट भएकालाई समेत समावेश गर्ने तयारी गरिएको उनले बताए । देवघाटकै वडा नं २ र ४ मा जग्गाको नापजाँच सुरु गर्ने तयारी गरिएको छ ।
सदस्य कार्कीका अनुसार आँबुखैरेनी गाउँपालिकाका ६ वटै वडामा जग्गाको नापजाँच काम सकिएको छ । व्यास नगरपालिकाका जग्गा नापजाँचका लागि छलफल अगाडि बढाइएको छ । जग्गा नापजाँचका लागि आवश्यक उपकरण खरिदका लागि नगरपालिकाले बोलपत्र आह्वान गरिसकेको उनले बताए ।
‘प्राविधिक कम भएका कारण पनि जग्गा नापजाँचको कामले तीव्रता पाउन सकेको छैन, हामीसँग उपलब्ध प्राविधिकलाई नै मिलाएर सबै स्थानीय तहमा खटाउनुपर्ने अवस्था छ, जग्गा नापजाँच सुरु भएपछि धेरै काम अगाडि बढेको छ भन्ने महसुस सबैलाई हुन्छ, सोहीबमोजिम हामीले कामलाई अगाडि बढाइरहेका छौँ, असारभित्रै अथवा नभए दशैँ अगाडि कुनै न कुनै पालिकामा लालपुर्जा वितरण गर्ने लक्ष्य छ,’ उनले भने ।
जग्गा नापजाँच सम्पन्न भएपछि फिल्ड ढड्डा उतारेर काम गर्दा प्रत्येक पालिकाका लागि एक महिना समय आवश्यक पर्छ । यसैगरी भानु नगरपालिकामा पनि दशैँअघि सुकुम्बासी एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणको तयारीसहित नापजाँच कार्य सुरु भएको छ । वर्षौँदेखि लालपुर्जाविहीन रहँदै आएका स्थानीयवासीलाई लालपुर्जा दिने उद्देश्यसहित भानु नगरपालिकामा जग्गाको नापजाँच सुरु भएको छ । भानु नगरपालिका–१ स्थित नयाँबस्तीबाट जग्गाको नापजाँच कार्य सुरुआत गरिएको हो ।
भानु–१ मा पाँच सयभन्दा बढीलाई निस्सा वितरण गरिएको थियो । यो वडाबाट सुरु भएको जग्गा नापजाँच कार्य क्रमशः अन्य वडामा सुरु गरिने नापी कार्यालयका तनहुँका प्राविधिक एवं जग्गा नापजाँच कार्यका टोली प्रमुख राजीव श्रेष्ठले जानकारी दिए । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले दशैँअगावै नापजाँच कार्य सकेर लालपुर्जा वितरण गरिने बताए । राष्ट्रिय भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीले स्थानीय तहको समन्वयमा भूमिहीनलाई लालपुर्जा र अव्यवस्थित बसोबासीलाई व्यवस्थित बनाउने प्रक्रिया सुरु गरिएको बताए ।
भानु नगरपालिकामा जग्गाको नापजाँच सुरु भएपछि भूमिहीन खुसी भएका छन् । यसअघि निस्सा पाएका नयाँबस्तीका रामबहादुर परियारले अब लालपुर्जा पाइन्छ कि भन्ने आशा जागेको बताए ।
‘प्रत्येक चुनावमा नेता आएर लालपुर्जा दिन्छौँ भन्नुहुन्छ, तर कहिल्यै पुर्जा पाइएन, अहिले नापजाँचको काम सुरु भएपछि त पक्कै पुर्जा पाइन्छ होला,’ उनले भने ।
सोही ठाउँकी डिलकुमारी राना पनि जग्गा नापजाँच अगाडि बढेपछि हर्षित छिन् । लालपुर्जा नहुँदा सुकुम्बासी भएर बाँच्नुपरेको भन्दै उनले जग्गा नहुँदा धेरै समस्या आइपरेको उल्लेख गरे । जिल्लाका १० पालिकामा भूमिहीन दलित १ हजार १०८, भूमिहीन सुकुम्बासी १ हजार ८७२ र अव्यवस्थित बसोबासी २३ हजार १३७ गरी २६ हजार ११७ जनाको निवेदन दर्ता भएको छ ।रासस