नारायणगढ–मुग्लिन सडक : सधैँ ढुङ्गा खस्ने त्रास
चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका अधिकांश भाग भित्तो खनेर बनाइएको र विस्तार गरिएको हुँदा सधैँ पहिरो र ढुङ्गा खस्ने जोखिम हुने गर्दछ । समयसमयमा पहिरो र ढुङ्गा खसेर भएका मानवीय क्षति धेरै छन् । पछिल्ला वर्षहरूमा सडक विस्तार, पुल निर्माण र पहिरो रोकथामको काम भएसँगै पहिलेको तुलनामा जोखिम कम हुने भए पनि ढुङ्गा खस्ने समस्या भने रहेको छ । डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार सबैभन्दा बढी समस्या देखिएको तुइन खोलामा ठूलो ढुङ्गा झारिएको छ । सँगै साना ढुङ्गा झारिएको भए पनि अझै सो क्षेत्र जोखिमपूर्ण रहेको उनको भनाइ छ । उनले भने, 'यो ठाउँमा रकनेटिङ गर्नका लागि छलफल भइरहेको छ ।' झण्डै १६ मिटर माथिबाट अत्यन्तै जोखिममा रहेको ठूलो ढुङ्गालाई लङबुम एक्साभेटरको सहयोगमा गरिएको हो । सोही सडकको लामो बालुवा पुल आसपास क्षेत्रमा ढुङ्गा खस्ने जोखिम छ । सोही क्षेत्रमा ढुङ्गा खसेर केही समयअघि एक जना चालकको मृत्यु पनि भएको थियो । घिमिरेका अनुसार सडकको सात सय मिटर जति क्षेत्रमा जोखिम बढी छ । सो क्षेत्रको केही भित्तो काटिएको थियो । यस्तै जोखिम जलवीरेमा छ । झण्डै एक सय मिटर क्षेत्रमा साना ढुङ्गा खस्ने जोखिम रहेको हो । नाम्सी पुल क्षेत्रमा भित्तो काटिएको हुँदा ढुङ्गा खस्ने जोखिम छ । एक सय मिटर जति क्षेत्र जोखिममा रहेको घिमिरेले जानकारी दिए । तुइन खोला नजिकैको क्षेत्र पनि जोखिममा छ । साठ्ठी मिटर हाराहारी क्षेत्रमा ढुङ्गा खस्ने जोखिम छ । सो क्षेत्रमा सडक विस्तार गर्दा हल्का भित्तो काटिएको थियो । केही वर्षअघि यो सडक विस्तार गर्दा ठाउँठाउँमा भित्तो काटिएको थियो । ती क्षेत्रमा रकनेटिङ, वायो इञ्जिनियरिङलगायत प्रविधि प्रयोग गरेर पहिरो र ढुङ्गा खस्ने समस्या रोकथाम गरिएको हो । घिमिरेले भने, 'पहिले रोकथामको काम गरेका ठाउँमा समस्या छैन, नयाँ ठाउँमा समस्या देखिएको छ ।' ती समस्या समाधानका लागि कार्यालयले विभागमा लेखेर पठाएको छ । कार्यालय प्रमुख नारायण लामिछानेले जोखिम बढी देखिएका ठाउँमा रकनेटिङलगायतका काम गर्नुपर्ने आवश्यकता औँल्याए । विभागसँग परामर्श गरेर काम अघि बढाइने उनको भनाइ छ । वर्षात्को समयमा सडक जोखिमपूर्ण भएकाले यात्रा गर्दा सावधानी अपनाउनुपर्ने उनको सुझाव छ । कार्यालयले ढुङ्गा र पहिरो खस्न सक्ने जोखिम भएकाले मुग्लिनमा एउटा लोडर तयारी अवस्थामा राखेको छ । यस्तै सेतीदोभानमा लोडर, जेसिभी एक्साभेटर, ट्रकटेलर, टिपर तयारी अवस्थामा राखेको छ । उनका अनुसार नाली बन्द हुन नदिन मिनी एक्साभेटर र आवश्यक जनशक्ति सडकमा नियमित परिचालन गरिएको छ । रासस
तेह्रथुम पावरको ४ लाख १८ हजार कित्ता सेयर बिक्री खुला, मूल्य १ सय रुपैयाँ
काठमाडौं । तेह्रथुम पावर कम्पनीले अवितरित हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले असार १६ गतेदेखि साउन ११ गतेसम्म हकप्रद सेयर बिक्री गर्दा सर्वसाधारण लगानीकर्ताले खरिद नगरेको अवितरित सेयर बिक्री खुला गरेको हो । कम्पनीले चुक्ता पुँजीको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त अवधिमा बिक्री नभएको सर्वसाधारण समूहतर्फको ४ लाख १८ हजार ७३८ कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीको सेयर खरिदका लागि जोसुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । कम्पनीको सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि भदौ ३ गतेभित्र आवेदन दिन सकिनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकका साथै नबिल बैंकको विराटनगर, विर्तामोड, विरगञ्ज, हेटौंडा, जावलाखेल, सूर्यविनायक, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ ।
करोडौंको ‘महत्त्वाकांक्षी’ ट्राफिक गुरुयोजना कागजमै सीमित हुने आशंका
काठमाडौं । सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले साढे तीन वर्ष लगाएर तयार पारेको काठमाडौं उपत्यकाको अस्तव्यस्त ट्राफिक सुधार्ने महत्त्वाकांक्षी गुरुयोजना सार्वजनिक भएको छ । गुरुयोजनामा तीनवटा महत्त्वपूर्ण प्राविधिक दस्तावेजहरू सार्वजनिक गरिएका छन् । परियोजनाका वक्ता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले काठमाडौंमा बढ्दो जनसंख्या, मोटरसाइकल लगायतका सवारी साधनको चाप, अव्यवस्थित चोकहरू र ट्राफिक नियमनको एकीकृत प्रणालीको अभावले गर्दा ट्राफिक व्यवस्थापन जटिल बनेको जानकारी दिए । यही समस्या समाधान गर्न विस्तृत अनुसन्धान, योजना र पाइलट प्रोजेक्टपछि यी महत्त्वपूर्ण दस्तावेजहरू तयार पारिएको उनी बताउँछन् । सार्वजनिक गरिएका मुख्य तीन दस्तावेजहरूमा सहरी यातायात व्यवस्थापन गुरुयोजना, चोक सुधार निर्देशिका र ट्राफिक बत्ती सञ्चालन तथा मर्मतसम्भार म्यानुअल रहेका छन् । सहरी यातायात व्यवस्थापन गुरुयोजना यसले काठमाडौंको ट्राफिक व्यवस्थापनका लागि एक रणनीतिक दृष्टिकोण प्रस्तुत गर्दछ । यसको लक्ष्य औसत ट्राफिक गति ३० प्रतिशतले बढाउने र जामका कारण हुने समयको क्षति १० प्रतिशतले घटाउने रहेको छ । साथै ट्राफिक दुर्घटनाबाट हुने मृत्युदरमा वार्षिक ५ प्रतिशत कमी ल्याउने लक्ष्य राखिएको छ । चोक सुधार निर्देशिका यसमा उपत्यकाका चोकहरूलाई सुरक्षित र प्रभावकारी बनाउने प्राविधिक विधिहरू समेटिएका छन् । पाइलट प्रोजेक्टको अनुभवका आधारमा तयार पारिएको यो निर्देशिकाले लेनको चौडाइ, मोडिने ठाउँ र पैदलयात्रीका लागि सुरक्षित क्रसिङ जस्ता विषयमा मार्गदर्शन गर्दछ । ट्राफिक बत्ती सञ्चालन तथा मर्मतसम्भार म्यानुअल यसले ट्राफिक बत्तीहरूको सञ्चालन र मर्मतलाई मानकीकृत गरी एकरूपता ल्याउने लक्ष्य राखेको छ । जसले गर्दा ट्राफिक बत्तीहरूले निरन्तर र प्रभावकारी रूपमा काम गर्न सकून् । यो परियोजनाअन्तर्गत नयाँ बानेश्वर र लैनचौर चोकमा पाइलट प्रोजेक्टका रूपमा भौतिक सुधारका कामहरू गरिएको बताइएको थियो । नयाँ बानेश्वरमा छुट्टै दायाँ मोड्ने लेन मेडियन निर्माण र ट्राफिक लाइटको प्रभावकारी व्यवस्थापन गरिएको थियो । जसले गर्दा जाममा उल्लेख्य कमी आएको दाबी गरिएको थियो । त्यस्तै, लैनचौरमा पैदलयात्रीको सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक आइल्याण्ड र बायाँ मोड्नका लागि समेत ट्राफिक बत्तीको व्यवस्था गरिएको थियो, यद्यपि सवारी चालकहरूले नयाँ नियम पालना गर्न केही समय लागेको पनि उल्लेख गरिएको थियो । जाइकाका नेपाल प्रमुख प्रतिनिधि मिजुकी मात्सुजाकीले नेपाललाई सहयोग गर्न पाउँदा जापान खुसी रहेको र आगामी दिनमा पनि सहयोग निरन्तर रहने उल्लेख गरे । उनले यी निर्देशिका र गुरुयोजनालाई सम्पूर्ण सरोकारवालाहरूले सक्रिय रूपमा प्रयोग गरी काठमाडौंको यातायातलाई सहज र सुरक्षित बनाउन आग्रह गरे । परियोजनाले तयार पारेका यी दस्तावेजहरू कार्यान्वयनका लागि नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । उक्त गुरुयोजनासँगै ‘चोक सुधार निर्देशिका’ र ‘ट्राफिक बत्ती सञ्चालन तथा मर्मतसम्भार म्यानुअल’ पनि सार्वजनिक गरिएको छ । जसले कार्यान्वयनका लागि स्पष्ट खाका दिने अपेक्षा गरिएको छ । सहसचिव ढकालका अनुसार जाइकाले ३ वर्ष लगाएर उपत्यकाका कुल १०७ चोकको अध्ययन गरी प्राथमिकताका आधारमा नयाँ बानेश्वर र लैनचौरलाई नमुनाका रूपमा छनोट गरेको थियो । उनले जाइकाले हस्तान्तरण गरेको दस्तावेजअनुसार काम गर्न सके उपत्यकाको ट्राफिक व्यवस्थापनमा कम्तीमा ३० प्रतिशत सुधार हुने विश्वास व्यक्त गरे । योजना कागजमा, सडकमा उस्तै सास्ती जुन निकायहरू यो गुरुयोजना कार्यान्वयन गर्ने जिम्मेवारीमा छन् । तिनै निकायहरू सडकमा देखिएका सामान्य समस्या समाधान गर्न समेत असफल देखिन्छन् । केही समयदेखि कोटेश्वर-तीनकुने सडकखण्डमा जडान गरिएको अत्यधिक चम्किलो बत्ती भएको एएनपीआर क्यामेराले रातमा चालकको आँखा तिर्मिराउँदा दुर्घटनाको जोखिम बढाएको छ । तर सडक विभागका अधिकारीहरू यो क्यामेरा आफूहरूले जडान नगरेको भन्दै पन्छिरहेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यो क्यामेरा ‘फेस डिटेक्सन’ प्रविधियुक्त भए पनि कुन निकायले र कुन प्रयोजनका लागि राख्यो भन्नेबारे सरकारी निकायहरू नै अनभिज्ञ छन् । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन जडान गरिएका अधिकांश ट्राफिक लाइटहरू बन्द अवस्थामा छन् । जसले गर्दा सडकमा ट्राफिक जाम र दुर्घटनाको जोखिम बढेको छ । उपत्यकाका कुल ६९ स्थानमा जडान गरिएका ट्राफिक लाइटमध्ये २७ वटा पूर्ण रूपमा बन्द छन् भने ४२ वटा मात्र सञ्चालनमा रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले लगभग ४० प्रतिशत लाइटहरू बिग्रेर थन्किएको बताए । उपत्यकाको महालक्ष्मीस्थान, मित्रपार्क, पद्मोदय, कोटेश्वरजस्ता दर्जनौं स्थानका लाइटहरू महिनौंदेखि बन्द छन् । यसैगरी, त्रिपुरेश्वर, माइतीघर र थापाथलीजस्ता अति व्यस्त चोकमा त झन् ट्राफिक लाइटले कामै गर्न नसक्ने भन्दै आइरहेका छन् । ‘यो विभिन्न कारणले बिग्रेको हो,’ उनले भने, ‘कहिले विद्यार्थी आन्दोलनमा तोडफोड हुन्छ, कहिले चट्याङजस्ता प्राकृतिक कारणले बिग्रिन्छ । तर मुख्य समस्या समयमा मर्मत नहुनु हो । ’ ट्राफिक लाइट बनाउने र मर्मत गर्ने जिम्मेवारी कुन निकायको हो भन्नेमा समेत अन्योल देखिएको छ । प्रवक्ता गिरीका अनुसार यी लाइटहरू सडक विभाग र सम्बन्धित महानगरपालिकाले जडान गरेका हुन् र मर्मतको जिम्मा पनि उनीहरूकै हो । तर, निकायहरूबीच समन्वयको अभाव र ढिलासुस्तीका कारण बिग्रेका लाइटहरू महिनौंसम्म बन्द रहने गरेका छन् । ‘हामीले लाइट नचलेको जानकारी सम्बन्धित निकायलाई गराउँछौं, तर मर्मत प्रक्रिया निकै सुस्त छ,’ उनले भने । कार्यान्वयनमा आशंका जाइकाको सहयोगमा केही मुख्य चोकहरूमा अत्याधुनिक ट्राफिक लाइट जडान गर्ने प्रयास पनि पूर्ण रूपमा सफल हुन सकेको छैन । बानेश्वर चोकको लाइट सफलतापूर्वक सञ्चालनमा आए पनि लैनचौरमा जडान गरिएको लाइटले भने झन् ट्राफिक जाम बढाएपछि त्यसलाई सञ्चालनमा ल्याउन सकिएको छैन । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लैनचौरको बाटो साँघुरो भएकाले लाइटको प्रणालीले सबैतिरका गाडीलाई पालो मिलाउन सकेन । ‘जाइकाले बाटो फराकिलो बनाउन सडक विभागलाई सुझाव दिएको छ,’ प्रवक्ता गिरीले भने, ‘सडक विभागले बाटो विस्तार नगरेसम्म त्यो लाइट सञ्चालनमा आउने अवस्था छैन । ’ उपत्यकामा १६० भन्दा बढी मुख्य चोकहरू भए पनि हालसम्म ६९ ठाउँमा मात्र लाइट जडान गरिएको छ । त्यसमा पनि २७ वटा बन्द हुँदा ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ भने आमयात्रुले दैनिक सास्ती भोग्नुपरेको छ । बिग्रेका लाइटहरू कहिलेसम्म मर्मत हुन्छन् र उपत्यकाको ट्राफिक व्यवस्थापन कहिले सहज बन्छ भन्ने प्रश्नमा सरकारी निकायहरूसँग कुनै ठोस जवाफ छैन । योजना बन्ने तर कार्यान्वयन फितलो हुँदा करोडौंको लगानी बालुवामा पानीसरह भएको छ भने नागरिकको दैनिकी कष्टकर बन्दै गएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल अन्तरनिकाय समन्वय र प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिन्छन् । उनले यातायात व्यवस्थापन कुनै एक निकायको प्रयासले मात्र सम्भव नहुने बताए पनि व्यवहारमा भने त्यसको ठीक उल्टो अवस्था छ ।