स्मार्ट बत्तीसहित भरतपुरमा ८ वर्षमा १ हजार ६५ किलोमिटर सडक कालोपत्रे
चितवन । कुनै समय कालोपत्रे सडक देख्न नारायणगढ बजार पुग्नुपर्ने भरतपुर अहिले सडक सञ्जालले भरिपूर्ण बनेको छ । अब महानगरका १ देखि २९ वडासम्म पुग्न ३० मिनेट छुट्याए पुग्ने अवस्था बनेको छ । भरतपुर महानगरपालिकामा पछिल्ला ८ वर्षमा १ हजार ६५ किलोमिटर सडक कालोपत्रे भएका छन् । यी सडक ६ देखि १६ मिटर चौडाइसम्मका रहेका छन् । यसबाहेक सङ्घ र प्रदेश सरकारमार्फत करिब २०० किलोमिटर सडक थप बनेका छन् । महानगर प्रमुख रेनु दाहालको नेतृत्वमा पहिलो कार्यकालमा ६२२ किलोमिटर सडक कालोपत्रे गरिएको थियो भने दोस्रो कार्यकालका तीन वर्षमा थप ४४२ किलोमिटर सडक बनेको छ । यही गतिमा काम अघि बढे दोस्रो कार्यकालको अन्त्यसम्म ७३५ किलोमिटरभन्दा बढी सडक कालोपत्रे हुने अनुमान गरिएको छ । 'विकासको पहिलो आधार सडक नै हो,' दाहालले भनिन्, 'सडकले समय बचत गर्छ, यातायात खर्च घटाउँछ र अन्य विकासका आधारहरूलाई पनि जोड्छ ।' सडक निर्माणसँगै भरतपुर महानगरले हरियाली र सौन्दर्यीकरणमा पनि जोड दिएको छ । सडकको दायाँ–बायाँ वृक्षरोपण भइरहेको छ । पुल्चोक–गोन्द्राङ सडक, बाइपास सडक, हुलाकी सडक, प्रचण्ड पथ र चक्रपथजस्ता ठूला संरचनाहरू सङ्घीय सरकारको सहयोगमा निर्माण सम्पन्न भइसकेका छन् । संघीय बजेटमार्फत मङ्गलपुर–शिवनगर, पार्वतीपुर–शुक्रनगर हुँदै तेलौलीसम्म २१ किलोमिटर लामो प्रचण्ड पथ बनेको छ भने महानगरको ८८ किलोमिटर लामो चक्रपथ पनि निर्माण हुँदैछ । यस्तै, सडक संरचनाको सौन्दर्यीकरणमा ध्यान दिँदै महानगरले हाल ८० किलोमिटर सडक क्षेत्रमा स्मार्ट बत्ती जडान गरिसकेको छ भने बाँकी १५० किलोमिटर सडक क्षेत्रमा पनि स्मार्ट लाइट जडानको काम अन्तिम चरणमा पुगेको छ ।
नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले उक्त जानकारी दिएका हुन् । 'नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ, यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुनेछ', प्रधानमन्त्री ओलीले भनेका छन् । उनका अनुसार हालसम्म सुरुङमार्गको भौतिक प्रगति ९३ प्रतिशत पुगेको छ । सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेसँगै सरकारले केही दिन अघि सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनका लागि दस्तुर निर्धारण गरेको थियो । जसअनुसार सङ्घीय राजधानी प्रवेश गर्ने कार र भ्यानले ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । साथै मिनिबस र मिनिट्रकलाई राजधानी आउँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ, बस र ट्रकले आउँदा २६० रुपैयाँ र फर्कँदा २०० रुपैयाँ तिर्नुपर्नेछ । त्यसैगरी भारी उपकरणका सवारीसाधनको हकमा भने काठमाडौं आउँदा ६०० रुपैयाँ र फर्कँदा २०० रुपैयाँ दस्तुर निर्धारण गरिएको छ । सुरुङमार्ग सञ्चालनमा आएपछि यात्रामा समयको बचत हुनुका साथै ढुवानी मूल्य पनि घट्ने अपेक्षा गरिएको छ । कूल २ दशमलव ६८८ किलोमिटर लम्बाइको उक्त सुरुङमार्गमा तीन दशमलव पाँच मिटर चौडाइका दुई वटा लेन छन् । सुरुङमार्गको दुवैतर्फ नाली पनि बनाइएको छ ।
शिव श्री हाइड्रोपावरले भदौ १९ गतेदेखि हकप्रद सेयर बिक्री गर्ने
काठमाडौं । शिव श्री हाइड्रोपावर कम्पनीले भदौ १९ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ४७ करोड ६५ लाख रुपैयाँको १ सय प्रतिशत अर्थात् हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँको प्रतिकित्ता १ रुपैयाा अंकित मूल्य दरका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । हकप्रद निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ९५ करोड २८ लाख रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १६ गते बुकक्लोज गरेको थियो । त्यसैले साउन १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरुले कम्पानीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा असोज ८ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिटिजन्स बैंकको कुमारी पाटी, ठिमी, विराटनगर, बिर्तामोड, विरगंज, सुर्खेत, जनकपुर, नेपालगन्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौंडा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।