विश्वकै तीब्र गतिको रेल चीनमा कुद्ने, एक घन्टामा ३८० किलोमिटर दुरी पार
काठमाडौं २९ साउन । विश्वकै तीब्र गतिमा गुड्ने रेल आउँदो महिनाबाट लिकमा उत्रने भएको छ। चीनले तयार पारेको प्रतिघन्टा ३ सय ८० किलोमिटर स्पिडमा कुद्ने रेल तयार भएको पिपुल्स डेलीले जनाएको छ। ज्याङ्जावोबाट छुझाउसम्म रेलले यात्रा गर्नेछ। यो रेलले २ घन्टा ३३ मिनेट समय लगाएर पार गर्ने हेनानको ज्याङ्जावोदेखि पूर्वी चीनको जियानसु प्रान्तको छुझाउसम्मको दुरी ८० मिनेटमै पार हुनेछ।पछिल्लो पुस्ताको बुलेट ट्रेनभन्दा ५० किलोमिटर प्रतिघन्टा बढी दुरी तय गर्ने यो रेलको परीक्षण गर्दा ४ सय किलोमिटर प्रतिघन्टाको रेकर्ड कायम भएको थियो। बेइजिङ-साङ्घाइ लगायतका सहरहरुलाई यस्तै हाइ स्पिड रेलबाट जोड्न चीनले १६ हजार किलोमिटर ट्र्याक बनाइसकेको छ। बेइजिङ-साङ्घाइ रेलले गत वर्ष एक अर्ब डलर नाफा कमाएको थियो।उदयमान अर्थतन्त्रको बलमा चीनमा यस्ता रेलवे लाइनहरु तीब्र गतिमा बनिरहेका छन्। यसले चीनमा यात्रालाई हदै सहज बनाएको छ।
एनआरएनले बनाउने लाप्राक उदाहरणिय बन्छः प्रधानमन्त्री
काठमाडौं, २८ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली संघले गोरखाको लाप्राकमा बनाउनलागेको नमुना वस्ती नेपालको पुनःनिर्माण अभियानका लागि उदाहरणीय र अनुकरणीय हुने विश्वास ब्यक्त गरेका छन् । संघका अध्यक्ष शेष घलेसँगको भेटमा प्रधानमन्त्री दाहालले भूकम्पका बेला प्रभावकारी राहत बितरण कार्यबाटै एनआरएनको क्षमता प्रष्ट भएको भन्दै पुनःनिर्माण अभियानपनित्यस्तै अनुकरणीय हुने बिश्वास ब्यक्त गरेका हुन । सो अबसरमा प्रधानमन्त्री दाहालले पुनःनिर्माण अभियानमा आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै यस क्रममा देखिएका गतिरोधलाई अन्त्य गरी एनआरएन जस्तो निस्वार्थ भावनाबाट सहयोग गर्न खोज्ने संस्थालाई मद्दत गर्न सरकार तयार रहेको बताएका थिए । सो अबसरमा अध्यक्ष घलेले संघले लाप्राकमा निर्माण गर्न लागेको नमूना बस्तीको अवधारणा प्रधानमन्त्री समक्ष प्रस्तुत गर्दै यसको कार्यान्वयन त्रिपक्षिय सम्झौता मुताविक गर्न संघ कटिवद्ध रहेको र गुरुयोजना बनाउने काम भईरहेको जानकारी गराएका थिए । भेटमा अध्यक्ष घलेले नेपाल सरकारसँग हातेमालो गरेर अगाडी बढ्न गैरआवासीय नेपाली तत्पर रहेको बताएका थिए । यसैवीच राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संघसँग भएको त्रिपक्षीय सम्झौता अनुसार नै लाप्राक पुनःनिर्माण अगाडी बढाउने प्रतिबद्धता जनाएका छन् । संघका अध्यक्ष शेष घलेसँगको हालैको भेटमा सीइओ ज्ञवालीले अन्य गैरसरकारी संस्थालाई जस्तै एनआरएनलाई पनि रकम सेवाग्राहीको खातामा जम्मा गर्न लगाउने बिषयमा छलफल भएपनि सम्झौता अनुसार काम गर्न प्राधिकरण तयार रहेको बताएका थिए । गैरआवासीय नेपाली संघको अगुवाईमा लाप्राकमा ६ सय बढी घर भएको नमुना वस्ती बनाउन भएको सम्झौता अनुसार संघले हाल त्यसको गुरुयोजना निर्माण गरिरहेको छ ।
काठमाडौँ टावर निर्माण अन्यौलमा, साउनभित्र विवरण नल्याए निर्माणमा रोक लगाउने तयारी
काठमाडौँ, २८ साउन । काठमाडौँ स्तम्भ निर्माण प्रक्रियाको विवरण साउनभित्र काठमाडौँ महानगरपालिकामा नल्याए निर्माणका लागि जिम्मा पाएको कम्पनीलाई रोक लगाइने भएको छ । करिब दुई महिनाअघि नै निर्माणको काम सुरु गर्ने जनाउँदै पुरानो बसपार्कबाट आवतजावत गर्ने यातायातका साधनलाई खुला मञ्चमा सारिसकिएको छ । अहिलेसम्म स्तम्भ निर्माणको काम अघि बढाउनुपर्ने भए पनि हालसम्म जस्ताले बार्ने काम मात्र भएकाले साउन महिनाभरि विवरण ल्याउन नसके कम्पनीलाई रोक लगाइने कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । एक महिनाअघि पनि काठमाडौँ स्तम्भ निर्माणको काममा ढिला भएको जनाउँदै तत्काल सुरु गर्न निर्देशन दिइए पनि कम्पनीले आलटाल गरिरहेको कार्कीको भनाइ छ । स्तम्भ निर्माणको जिम्मा पाएको जलेश्वर, स्वछन्द र विकोईका प्रमुख मनोज भेटुवालले निर्माण सामग्रीको अभावले गर्दा ढिला भएको बताए । “टावर निर्माणको सम्पूर्ण सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले निर्माण सुरु गर्न ढिला भएको हो”, भेटुवालले भने। उनका अनुसार सिमेन्ट, ढुङ्गा, गिट्टी बालुवा लगायत सामग्रीबाहेक अन्य सबै निर्माणका सामान भारतबाट ल्याउनुपर्छ । भारतबाट आवश्यक सामग्री केही दिनमा आइपुग्ने र सामग्री आएसँगै निर्माणले गति लिने बताइएको छ । प्रमुख भेटुवालले भने, “बर्खाको समय भएको हुँदा विभिन्न स्थानको सडक अवरुद्ध भएकाले पनि सामग्री ल्याउन समस्या हुँदा काम सुरु गर्न ढिला भएको हो ।” भवन पूर्ण रूपमा भूकम्प प्रतिरोधात्मक १२ तलाको बनाउने तयारी छ । नेपालमा हालसम्म बनेका भवनभन्दा पृथक र अत्याधुनिकतासँगै नेपाली कला, संस्कृति झल्किने खालको हुने बताइएको छ । कामपासँग गरिएको सम्झौतानुसार ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउनेछन् । काम सुरु भएको पाँच वर्षभित्र स्तम्भ बनाइसक्नुपर्नेछ । भवनको सबैभन्दा तल्लो तलामा बस पार्किङ स्थल रहनेछ । त्यस्तै त्यसको माथि दोस्रो तलामा हलुका गाडीको पार्किङ, व्यवस्थित चलचित्र कक्ष, पौडी पोखरी, खाजाघर, बैंक तथा कामपाको वडा कार्यालय समेत रहनेछ । स्तम्भ निर्माणको लागत रु तीन अर्ब ५० करोड पुग्ने अनुमान गरिएको छ । रासस