उर्लेनीका २४ परिवार भूकम्प पीडितलाई सरकारले दियो ८ रोपनी घडेरी, बाटो, बत्ति र खानेपानी पनि बनाईदिने

काठमाडौं । नुवाकोटको उर्लेनीका २४ परिवार भूकम्प पीडितले नुवाकोटकै खरानीटारमा ८ रोपनी जमिन पाएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणले उर्लेनीका २४ भूकम्प पीडितका लागि प्रति परिवार २ लाखले दरले ८ रोपनी जमिन किनिदिएको हो । सो जमिनमा अब उनीहरुले एकिकृत बस्ती निर्माण गर्नेछन् । त्यसका लागि प्रधिकरणले अतिरिक्त ३ लाख रुपैंयाँ निजी आवास निर्माणका लागि उपलब्ध गराउनेछ । उर्लेनीमा भूकम्पले घर बनाउन नहुने गरि क्षति पुर्याएपछि सरकारले उनीहरुका लागि खरानीटारमा घडेरी किनिदिएको हो । २४ परिवारका लागि घडेरी किनिदिएको प्राधिकरणले सो क्षेत्रमा बाटो, बिजुली, खानेपानी र ढलको संरचना समेत निर्माण गरिदिनेछ । ‘भूकम्प पीडितहरुले नै खोजेको जमिन किनिदिएका हौं, अब उनीहरुले निजी आवास अनुदानबाट घर बनाउनेछन, हामी सडक, विद्युत, खानेपानी र ढल लगायतका पुर्वाधार निर्माण गरिदिनेछौं’, प्राधिकरणका नापी अधिकृत कमल घिमिरले विकासन्युजसँग भने । उर्लेनीका ७१ परिवार भूकम्प पीडितलाई नयाँ स्थानमा सार्नुपर्ने अध्ययनले देखाएको थियो । बाँकी परिवारलाई पनि खरानीटार आसपासमै जमिनको खोजी भैरहेको पनि घिमिरेले जानकारी दिए । प्राधिकरणले ४८ लाखमा ८ रोपनी जमिन खरिद गरेर पीडितका नाममा नामसारी गरिदिएको हो । प्राधिकरणले सडक, पानी, विद्युत र ढल निकासको पुर्वाधार बनाउन प्रति परिवार २ लाखको हाराहारीमा थप लगानी गर्नेछ । एकीकृत वस्ती बिकास सम्बन्धी कार्यबिधी अनुसार भूकम्प प्रभावित जिल्लामा सरकारी प्रक्रिया र मापदण्ड अनुसार कम्तीमा १० घरपरिवारले एकीकृत वस्ती निर्माण गर्न चाहे हिमाली जिल्लामा ५ लाख, पहाडी जिल्लामा ४ लाख र तराई वा शहरी क्षेत्रमा ३ लाख रुपैयासम्म प्रति घरपरिवारको हिसावले सरकारले पुर्वाधार बिकास लागि खर्च गर्ने व्यवस्था छ । २०७४ असार २८ गते प्रधानमन्त्रीको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको दशौं बैठकले जोखिमयुक्त वस्तीका भूकम्प पीडितलाई सुरक्षित स्थानमा सर्न चाहे घडेरी खरिद गर्न दुई लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको थियो । यी हुन घडेरी पाउने भूकम्प पीडित लाल बहादुर तामाङ, वुद्धि बहादुर तामाङ, कृष्ण बहादुर तामाङ, माइला तामाङ, नर बहादुर तामाङ, माल्सानी तामाङ, हिरालाल तामाङ, डिल्ली बहादुर तामाङ, मान बहादुर तामाङ, लाल बहादुर तामाङ, भिम बहादुर तामाङ, लाल बहादुर थिङ तामाङ, दमाई सिंह तामाङ, इश्वरीमाया तामाङ, निमा थिङ तामाङ, ललितमान तामाङ, मंगल बहादुर तामाङ, पोडे तामाङ, वुदे वाइवा तामाङ, साङमो तामाङ, सुकमान वाइवा तामाङ, फुलमाया तामाङ, माइली तामाङ र रोक्सानी तामाङ

स्वदेशी लगानी र प्रविधिमै बुढिगण्डकी जलविद्युत आयोजना बनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले १२०० मेगावाट क्षमताको जलासयुक्त बुढिगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानी र प्रबिधिमै निर्माण गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले स्वदेशी लगानीमै नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा आयोजना निर्माण गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकपछि उर्जा मन्त्री कमल थापाले मन्त्रालयमा बिषेश पत्रकार सम्मेलन आयोजना गरेर बुढिगण्डकी जलविद्युत आयोजना निर्माण गर्ने जिम्मेवारी प्राधिकरणलाई दिएको जानकारी गराएका हुन् । यहि कात्तिक २७ गतेको मन्त्रिपरिषद बैठकले चिनियाँ कम्पनीसँगको सम्झौता खारेज गरेको थियो । गत जेठ ९ गते प्रचण्ड नेतृत्वको मन्त्रि परिषद बैठकले बुढिगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय गरेको थियो । त्यसको भोली पल्ट अर्थात जेठ १० गते तत्कालिन उर्जा मन्त्री जनार्दन शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भनेर लगाईको पुर्वाधार कर वापत १३ अर्ब रुपैंयाँ संकलन भएको छ । नेपाल आयल निगमका प्रवक्ता बिरेन्द्र गोइतका अनुसार अक्टोबर महिनासम्ममा सो मात्रामा रकम संकलन भएको हो । सरकारले गत आवको बजेट मार्फत डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रति लिटर पाँच रुपैंयाँ पुर्वाधार कर असुल्ने कार्यक्रम ल्याएको थियो । बुढीगण्डकी जलविद्युत आयोजनाका इञ्जिनियर कृष्ण बहादुर कार्कीका अनुसार आयोजना प्रभावितलाई ५ अर्ब रुपैंयाँ मुआब्जा वितरण गरिसकिएको छ । ‘८ हजार रोपनी जमिनका लागि ५ अर्ब रुपैंयाँ मुआब्जा वितरण भैसकेको छ, चालु आर्थिक बर्षको बजेटले ५ अर्ब रुपैंयाँ दिएको छ, सो रकमबाट पनि थप मुआब्जा वितरणको काम धमाधम अघि बढिरहेको छ’, आयोजनाका इञ्जिनियर कार्कीले विकासन्युजसँग भने । आयोजना प्रभावित धादिङ र गोरखा जिल्लाका बासिन्दालाई सो मात्रामा मुआब्जा वितरण गरिएको हो । आयोजनाले जमिनको मुआब्जाका लागि मात्रै ३३ अर्ब लाग्ने अनुमान गरेको छ । मुआब्जा, पुनस्थापना, पुननिर्माण र पुनर्बासका लागि मात्रै ५९ अर्ब रुपैंयाँ लाग्नेछ । २ खर्ब ६० अर्बको आयोजना स्वदेशी पुँजीमै बनाउन सकिने बताइन्छ ।

वैशाख १ गतेदेखि काठमाडौंमा ५० यात्रु बोक्ने ठूला बस मात्रै !

काठमाडौं । आगामी वैशाख १ गतेदेखि काठमाडौंको एउटा रुटमा ५० यात्रु क्षमताका ठुला बस मात्रै गुड्ने भएका छन् । दिगो शहरी यातायात आयोजनाको अगुवाईमा नगर विकास कोष र दिगो सार्वजनिक यातायात प्रालीबिच कात्तिक ३० गते ऋण सम्झौता समेत भैसकेको छ । सम्झौता अनुसार १० करोडको लागतमा १७  वटा अपांग मैत्री बस सञ्चालन गरिनेछ । ती बसहरुले न्युनतम ५० जना यात्रु बोक्न सक्नेछन् । जसमा २४ वटा पेसेन्जर सिट, एउटा ह्विचर बेस रहनेछ । ती बसहरुमा लोकेशन पत्ता लगाउने जिपिआरएस, सिसिटिभी, ट्राफिक सेन्सर जडान गरिएका हुनेछन् । ती बसहरु खरिदका लागि नगर विकास कोषले ८० प्रतिशत ऋण दिएको छ भने एसियाली विकास बैंकले १५ प्रतिशत अनुदान दिएको छ । बाँकी ५ प्रतिशत भने दिगो सार्वजनिक यातायात प्रालीले लगानी गरेको छ । दिगो यातायात प्रालीले आफ्नो भागमा परेको ५० लाख रुपैंया जम्मा गरेर नगर विकास कोषसँग ऋण सम्झौता गरेको हो । नगर विकास कोषले ५ प्रतिशतको ब्याजदरमा ८ बर्षका लागि ऋण उपलब्ध गराएको हो । ती बसहरु गुड्ने रुटमा हाल सञ्चालन भैरहेका ३५ वटा टेम्पो र २६ वटा माइक्रो भने राजधानीकै अन्य सहायक रुटमा स्थानान्तरण हुनेछन् । दिगो शहरी यातायात आयोजनाले पाइलट प्रोजेक्टका रुपमा अघि सारेको यो रुटलाई एस ५ नाम दिएको छ । दिगो सार्वजनिक यातायात प्रालीका सचिव लाल प्रसाद गुरागाईँका बैशाख १ गतेदेखि ठुला बस गुडाउने तयारीका साथ काम अघि बढेको छ । बस खरिदका लागि बिभिन्न कम्पनीहरुसँग कोटेशन मागिएको छ र एक हप्ताभित्रै बस खरिद गर्ने कम्पनी छनौट गरिनेछ । बस गुड्ने रुट यसरी ५० यात्रु क्षमताका बस मात्रै गुड्ने रुट सिनामंगल–पुरानो बानेश्वर–मैतीदेवि–डिल्लीबजार–रत्नपार्क–लैनचौर–सामाखुसी–गंगम्बु हुँदै नयाँ बषर्पाकसम्म त्यस्तो रुट सञ्चालन हुनेछ । यो रुट १० दशमलब २ किलोमिटरको हुनेछ । पुनः सोही बस नयाँ बसपार्कबाट गंगम्बु–गल्कोपाखा–लैनचौर–जमल–तिनधारा–कमलपोखरी–ज्ञानेश्वर–मैतीदेवि–पुरानो बानेश्वर हुँदै सिनामंगल पुग्नेछ । यसको लम्बाई भने ८ दशमलब ९ किलोमिटरको हुनेछ । यो रुटको रत्नपार्क–लैनचौर–बसपार्क खण्डमा हाल २६ वटा माइक्रो सञ्चालनमा रहेका छन भने सिनामंगल–पुरानो बानेश्वर–रत्नपार्क खण्डमा ३५ वटा टेम्पो सञ्चालनमा छन् । ६४ रुटको पहिचान एडिबीसँगको सहकार्यमा योजनाले उपत्यकामा ए, बी र सी ग्रेड गरि ६४ वटा रुट पहिचान गरेको छ । १० मिटर भन्दा चौडा सडक भएको र दैनिक एक लाख यात्रु आवत जावत गर्ने सडकलाई ए ग्रेडमा राखिएको छ । त्यस्तै, ६ मिटरदेखि १० मिटरसम्म चौडाई भएको र ५० हजार देखि एक लाखसम्म यात्रु आवात जावत गर्ने सकडालाई बी ग्रेडमा राखिएको छ । ६ मिटर भन्दा कम चौडाई भएका साना गल्लीहरुलाई भने सी ग्रेडको सडकमा वर्गिकरण गरिएको छ । दशैं अघि पाइलट प्रोजेक्टका रुपमा सञ्चालन गर्न लागिएको सडक भने बी ग्रेडको हो । ए ग्रेडमा ठुला बस, बी ग्रेडमा मझौला बस र सी ग्रेडका सडकमा साना सवारी साधन सञ्चालन गर्ने तयारीका साथ योजनाले ६४ वटा सडकको तथ्यांक निकालेको हो । त्यसमा ६ वटा ए ग्रेडका रुट, १६ वटा बी ग्रेड र ४२ वटा सी ग्रेडका सडक छनौट गरिएका छन् । योजनाले दोश्रो पाइलट रुटका रुपमा किर्तिपुर–बल्खु–कालीमाटी–त्रिपुरेश्वर–रत्नपार्क हुँदै चप्पल कारखाना पुग्ने अर्को रुट सञ्चालनबारे छलफल गरेको भएपनि यातायात व्यवसायीले सहमति दिएका छैनन् ।