दोभानदेखि मेरिङदेन गाउँपालिकाको केन्द्र सम्मको सडक ३ वर्षभित्रै कालोपत्र गरिने
ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आगामी तीन वर्षभित्र दोभान बजारदेखि गाउँपालिकाको केन्द्रसम्मको सडक कालोपत्र गर्ने भएको छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्रका रुपमा रहेको दोभादेखि सान्थाक्रास्थित गाउँपालिकाको केन्द्रसम्म कालोपत्र गरी थप चार वर्षमा वडा नं ६ नाल्बूसम्मकै सडक कालोपत्र गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । बिहीबार गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त योजनालाई गौरवको योजनाका रुपमा लिइएको जनाएको छ । कालोपत्रका लागि एक करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । उक्त सडक खण्डको स्तरोन्नतिका लागि सङ्घीय सरकारले समेत केही बजेट दिएकाले मद्दत मिलेको हो । अपुग बजेट व्यवस्थापनका लागि पुनः सङ्घ र प्रदेश सरकारसँग समन्वय गरी निरन्तर काम अघि बढाइने गाउँपालिका अध्यक्ष डम्बर हाङ्गामले बताए । सडकको स्तरोन्नतिले सुरक्षित यातायात, आर्थिक अवसर सिर्जना, शिक्षा र स्वास्थ्यजस्ता अत्यावश्यक सेवामा पहुँच वृद्धि हुनाका साथै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने भएकाले गौरवको योजनामा राखिएको उनको भनाइ थियो । यस्तै खाम्लुङ, सान्थाक्रा, थिङ्लाबु, थुङ्थाप, खुवाखु हुँदै लेचुवा जानेलगायत गाउँपालिका भित्रका विभिन्न वडा र बस्तीका सडकलाई पनि स्तरोन्नति गरी बाह्रै महिना सवारी साधन आवतजावतमा सहज बनाइने गाउँपालिकाले जनाएको छ । यसका लागि आवश्यक बजेटको व्यवस्था गरेको गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि स्तरोन्नतिका काम सुरु गर्ने भएको छ । शेर्पा समुदायको बाहुल्यत रहेको मेरिङ्देन–२ मैखु हुँदै लिङ्तेप, थुकिमा र नाल्बू जोड्न हिमाली सडक पनि निर्माण गरिने भएको छ । गाउँपालिकाले १३औँ गाउँसमामार्फत बिहीबार ४४ करोड पाँच लाख ८३ हजार रुपैयाँको बजेट तथा कार्यक्रम सार्वजानिक गरेको थियो । रासस
निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि ठेक्का रद्द गर्न माग
गलकोट । सम्झौता मिति सकिँदासम्म सकड कालोपत्र नगरेर अलपत्र छोड्ने निर्माण व्यवसायीको ठेक्का रद्द गर्न स्थानीयवासीले माग गरेका छन् । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका– ७ रेश जाने एक्लेखेतदेखि काफलबोट जाने सडक निर्माणको जिम्मा पाएको निर्माण केम्पनी पटक–पटक सडक अलपत्र छोडेर सम्पर्कविहीन भएको छ । स्थानीयवासीले ठेक्का रद्दको मागसहित काठेखोला – ७ वडा अध्यक्ष प्रेम लामिछाने, वडा सदस्य तथा स्थानीयवासीले काठेखोला गाउँपालिकामा ज्ञापन पत्रसमेत बुझाइसकेका छन् । रेश जाने चार किलोमिटर सडक कालोपत्रको जिम्मा पाएको निर्माण व्यवसायीले सडक अलपत्र छोडेपछि स्थानीय तथा जनप्रतिनिधिले नै गाउँपालिका समक्ष ठेक्का रद्दको माग गरेका हुन् । विसं २०७७ मा ठेक्का सम्झौता गरेको निर्माण व्यवसायीले म्याद थप्दासमेत कालोपत्रका लागि कुनैपनि काम गर्न नसकेको स्थानीय गोविन्दबहादुर कार्कीले बताए । उनले निर्माण व्यवसायी तुरुन्तै सम्पर्कमा नआए चरणबद्ध आन्दोलनको तयारी गर्ने बताए । ‘गाउँपालिकालाई ठेक्का रद्द गर्न माग गरेका छौँ, गाउँपालिकाले सुनुवाइ गरेको छैन, यस्तो बेतिथि गर्ने ठेकेदारको सम्झौता रद्द गरेर नयाँ सम्झौता गर्न आवश्यक छ’ उनले भने, ‘म्याद सकिएर पुनःथप भएको म्याद सकिँदासम्म सडक कालोपत्र नगर्ने ठेकेदारलाई गाउँपालिकाले कारबाही नगरे स्थानीयवासीले आन्दोलन गर्न बाध्य हुनेछौँ ।’ यसअघि निर्माण व्यवसायी हराएको सूचना टाँस गरेर रेशका स्थानीयवासीले आन्दोलन गरेका थिए । निर्माण कम्पनीले म्याद थप गर्नुअघि काममा फर्केपनि एक सय मिटर सडक ढलान गरेर सम्पर्कविहीन भएको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले बताए । ‘गाउँपालिकाले निर्माण व्यवसायीलाई म्याद थप्दासमेत काम भएको छैन, थपिएको म्यादसमेत असार मसान्त मात्रै हो, निर्माण व्यवसायीको चरम लापरर्बाहीका कारण रेशका जनताले सास्ती खेप्नु परेको छ” वडाध्यक्ष प्रेम लामिछानेले भने,“म सहित स्थानीयवासीले गाउँपालिकामा ठेक्का रद्दको माग गरेका छौँ, गाउँपालिकाले सुनुवाइ गरेको छैन, काठेखोला गाउँपालिकाको मुख्य योजनाको रुपमा रहेको उक्त सडक कालोपत्र भएमा गाउँपालिकाको केन्द्रदेखि वडा कार्यालय पुग्ने पहिलो कालापत्र सडक हुनेछ ।’ उक्त सडकमा निर्माण व्यवसायीले काम नगर्दा यात्रुलाई सास्ती भएको मात्रै छैन ढलान गर्न ढुङ्गामा विच्छइएको रडले दुर्घटनाको जोखिम समेत निम्ताएको छ । सङ्घीय सरकार र स्थानीय काठेखोला गाउँपालिकाको साझेदारीमा चार किलोमिटर सडक कालोपत्र गर्न नौ करोड लागत अनुमान गरिएको सडकको कालोपत्रको ठेक्का रु ६ करोड ७१ लाखमा सम्झौता भएको थियो । दुई वर्षमा सडक कालोपत्र सक्ने गरी एक्लेखेतदेखि काफलबोटसम्मको सडक कालोपत्रको जिम्मा पाएको जोशी/निशान/आचार्य जेभीको २०७९ साल जेठ २६ गते म्याद सकिएपछि पुनः २०८० साल असार मसान्तसम्म म्याद थप गरेको थियो । ठेक्का सम्झौता पश्चात् सडक चौडा पार्ने, नाली बनाउने कार्य गरी सडकको जम्मा ४५ प्रतिशत मात्रै काम मात्रै सकेर निर्माण व्यवसायी पटक–पटक सम्पर्क बिहिन भएको हो । निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरिरहेको भन्दै गाउँपालिका अध्यक्ष राजु थापाले असार मसान्तसम्म सम्झौता रहेको र सम्झौता अगावै ठेक्का रद्द गर्न नसक्ने बताए । उनले निर्माण व्यवसायीले तत्कालै काम गर्छु भनेको बताउदै म्याद सकिदासम्म काम नभए ठेक्का रद्दको प्रक्रियामा जाने बताए । सडक चौडा पार्ने र कालोपत्रका लागि पूर्वाधार निर्माणतर्फ ६० प्रतिशत काम सकिएको निर्माण व्यवसायीको दाबी छ । काम नगर्ने निर्माण व्यवसायीलाई गाउँपालिकाले म्याद थपेको भन्दै गाउँपालिका निर्माण कम्पनीको पक्षमा उभिएको स्थानीयवासीको आरोप छ । रासस
उपत्यकाका विस्तारका सडक सम्पन्न हुँदै
काठमाडौं । झन्डै आठ वर्ष पहिले सुरु भएका काठमाडौं उपत्यकाका विस्तारका सडक सम्पन्न हुने चरणमा पुगेका छन् । सुरुआती वर्षमा जग्गा प्राप्त नहुँदा त पछिल्ला वर्षमा कहिले कोभिड त कहिले निर्माण सामग्रीको अभावलगायतका कारणले लामो समय लागेका यी सडक अब सम्पन्न हुन लागेका हुन् । विस्तारको सडक निर्माण कतैकतै थोरै मात्रै बाँकी रहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए । उनका अनुसार कुनैमा ओभरले बाँकी, कुनैमा रङ्ग लगाउन त कुनैमा पैदल यात्रु मार्ग बनाउन गरी थोरैथोरै मात्रै बाँकी रहेको छ । उनले भने, ’ती काम पनि सकाएर ठेक्का टुङ्ग्याउन लागिएको छ ।’ हाल सम्पन्न हुन लागेकामा काठमाडौँ उपत्यकाका तीन जिल्लाका सडक छन् । काठमाडौँमा त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडक, चाबहिल–साँखु, जोरपाटी–सुन्दरीजल सडक ललितपुरमा ढोलाहिटि–लेले सडक, नख्खु–भैँसेपाटी सडक, कर्मनाशा खोला–गोदावरी सडक, इमाडोल–लामाटार सडक छन् । भक्तपुरमा पेप्सीकोलाबाट सानोठिमी हुँदै सूर्यविनायकसम्मको सडक रहेको छ । विगतमा अलि बढी समस्या चाबहिल–साँखु सडकमा रहेको सूचना अधिकारी जोशीले बताउनुभयो । पहिले समस्या रहेको तिवारी टोल र सल्यानटारमा काम भइसकेको छ । पहिले समस्या भएको चाबहिलदेखि सुन्दरीजल सडक, त्रिपुरेश्वरबाट कलङ्की हुँदै नागढुङ्गा सडक सबै सम्पन्न भइसकेका छन् । उनले भने, ’कलङ्की–नागढुङ्गामा खानेपानी, बिजुलीले खनेको ठाउँमा मात्रै थोरै काम बाँकी छ ।’ काम बाँकी रहेका सडकमा थली, भैँसेपाटी, ढोलाहिटी–सुनाकोठी रहेका छन् । यिनमा पनि बाँकी काम छिटै सम्पन्न गर्ने आयोजनाको तयारी रहेको छ । सबैले चासोका साथ हेरेको नख्खुबाट भैँसेपाटीसम्मको सडकमा मुख्य काम सकिएर थोरै छेउछाउका काम मात्रै बाँकी छन् । निर्माणको काम भइसकेका सडक पनि धेरै हस्तान्तरण हुन बाँकी रहेको सूचना अधिकारी जोशीले बताए । विगत वर्षमा सम्पन्न भइसकेका सडक पनि हस्तान्तरण भइसकेका छैनन् । निर्माणाधीन सडकमा मर्मतसम्बन्धी कुनै काम गर्नुपर्दा सम्बन्धित योजना कार्यालयले र हस्तान्तरण भएपछि डिभिजन सडक कार्यालयले गर्ने गर्छ । उनले भने, ’अहिले कुनैकुनै सडकमा डिभिजनले हस्तान्तरण नभए पनि मर्मत गरिरहेकाले समस्या आएको छैन ।’ निर्माण कम्पनीले सम्पन्न गरेपछि एक वर्षसम्म त्यो सडक वा पुल मर्मत गर्नुपर्ने हुन्छ । त्यो एक वर्ष सकिएपछि नै ठेक्का सम्पन्न हुन्छ र योजना कार्यालयले सडक हस्तान्तरण गर्छ । अहिले सम्पन्न हुने क्रममा रहेका अधिकांश सडकको विसं २०७१ र विसं २०७२ मा ठेक्का सम्झौता भएको थियो । सुरुका वर्षमा सडक विस्तार हुन नसकेका कारण निर्माण अघि बढ्न सकेको थिएन । आयोजनाले २० र २२ मिटर चौडा गर्ने गरी ठेक्का गरे पनि स्थानीयको अवरोधका कारण सोअनुसार सडक अघि बढ्न सकेको थिएन । लामो समय निर्माण अवरूद्ध भएपछि सरकारले सबै सडकमा उपलब्ध चौडाइमै कालोपत्र गर्ने निर्णय गरेको थियो । त्यसपछि पनि कहिले कोभिडका कारणले त कहिले निर्माण सामग्री सजिलै उपलब्ध नहुँदा निर्माण चालू हुन नसकेको आयोजनाले बताउँदै आएको छ । विस्तारका अधिकांश सडक समयमै सम्पन्न नहुनुका कारण एउटै रहेको थियो । नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, दूरसञ्चार सेवा प्रदायक संस्था लगायतले संरचना त्यहाँबाट सार्न लामो समय लगाएका थिए । सरकारले आव २०६३/६४ मा सोल्टीमोड–नागढुङ्गा सडक विस्तार गर्न आयोजनाको सुरु गरेको थियो । काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य नाकामा घन्टौँसम्म जाम हुने समस्या समाधनका लागि यो सडक विस्तार भएको थियो । त्यसपछि काठमाडौँका अरु सडक ललितपुरका चक्रपथसँग जोडिने सडक, भक्तपुरमा पुरानो बाटोको सडक विस्तार अघि बढाएइको थियो । यी सडक सम्पन्न हुने लामो समय लागेकाले सरकारले उपत्यकामा थप सडक विस्तारको योजना बनाएको छैन । रासस