नारायणघाट-बुटवल सडक निर्माण फेरि लम्बियो, १८ महिना लाग्ने निर्माण कम्पनीको दावी
नवलपुर (नवलपरासी) । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व-पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट-बुटवल सडक आयोजनाको म्याद एक वर्ष थप गरेको छ । तेस्रोपटक थपिएको म्याद सकिँदा सडक निर्माण ७० प्रतिशत मात्रै पूरा भएपछि विसं २०८३ साउन ७ गतेसम्मका लागि सडकको म्याद थप गरिएको हो । नारायणघाट-बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले आयोजनाको चौथो पटक म्याद थपिएको बताए । ‘चौथोपटक थप भएको म्याद अन्तिम हो,’ उनले भने, ‘निर्माण कम्पनीले यस अवधिमा सडक निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएकाले म्याद थप गरिएको हो ।’ हालसम्म पूर्वीखण्डमा दाउन्ने बाहेकका सबै ठाउँमा कालोपत्रको काम सकिएको जानकारी दिँदै उनले बाँकी काम पनि एक वर्षभित्र सकिने बताए । ‘पछिल्लो समय निर्माण कम्पनीले सडक विस्तारमा तीव्रता दिएको छ,’ उनले भने, ‘अहिले जनशक्ति दाउन्ने सडकको ढलान गर्न र बाँकी रहेका दुई वटा पुल निर्माण गर्न केन्द्रित भएका छन् ।’ थप गरिएको समयमा पूर्वी खण्डको करिब ६५ किलोमिटर चार लेन सडक, सडकको बीचमा रहने डिभाइडर, साढे १७ किलोमिटर सर्भिस लेनको काम सकिने खनालको भनाइ छ। सडक विस्तारको जिम्मा पाएको चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले भने थप भएको समयभित्र सबै काम सकाउन कठिन भएको जनाएको छ । कर्पोरेसनका ठेक्का सह व्यवस्थापक राकेश झाले आफूहरुले काम पूरा गर्न १८ महिना लाग्ने भन्दै सोहीअनुसार म्याद थप मागेको भए पनि सरकारले एक वर्षमात्रै म्याद थप गरेको बताए । ‘थपिएको समयमा सडकको काम पूरै सकाउन कठिन छ,’ उनले भने, ‘हामीले तोकिएकै समयमा काम सक्ने प्रयास गर्छौं तर, योजनाअनुसार काम गर्दा फुटपाथ निर्माण र सडक सुन्दर बनाउने काम बाँकी हुनसक्छ ।’ अहिले सडकको दाउन्ने खण्डमा ढलानको काम भइरहेको उनले बताए । ‘पूर्वी खण्डको दाउन्ने क्षेत्रमा चार किलोमिटर बाटो ढलान गर्नुपर्नेछ,’ उनले भने, ‘अहिलेसम्म सवा ६ मिटर चौडाइको नौ सय मिटर ढलान गरिसकेका छौं, बाँकी ढलान पनि भइरहेको छ ।’ दाउन्ने क्षेत्रको ढलानसँगै अरुणखोला र गिरुवारी खोलामा पुल निर्माण भइरहेको उनले बताए । गिरुवारी खोलाको पुलमा ढलानका लागि ६ वटा स्ल्याप राख्नुपर्ने उल्लेख गर्दै उनले दुईवटा पूरा भएको र बाँकी चार वटा निर्माणको चरणमा रहेको जानकारी दिए । दाउन्ने क्षेत्रमा बन्नुपर्ने २२ वटा कल्भर्टमध्ये तीनवटा, सडकको दुवैतर्फ ६ मिटर चौडाइको १७ दशमलव चार किलोमिटर सर्भिस लेनको काम बाँकी रहेको उनले जानकारी दिए । गैंडाकोटको नारायणी नदीको पुलसँग जोडिने करिब एक सय मिटर सडक कालोपत्र गर्न बाँकी छ । उक्त सडकको किनारमा ग्याबिन राखेर माटो भर्ने काम सकिएको छ । ‘अब गैँडाकोटको बाँकी रहेको ठाउँमा सब बेस, बेस कोर्ष सकिन्छ र कालोपत्रले नारायणीको पुललाई जोड्नेछौं,’ उनले भने, ‘त्यस्तै गैंडाकोटकै जयश्रीको ठूलो पुल दशैं अगाडि सञ्चालन गर्नेगरी काम भइरहेको छ ।’ तीन सय जना श्रमिक राखेर सडक विस्तार भइरहेको उल्लेख गर्दै उनले अब सडक विस्तारमा कुनै पनि कुराको अवरोध नभएकाले तीव्र गतिमा काम हुने बताए । ‘निर्धारित समयमा सडक विस्तारको काम नसकिए कामको प्रगतिको आधारमा ६ महिना म्याद थप गर्न माग गर्छौं,’ उनले भने, ‘त्यस अवधिमा भने सबै काम सकाएर सबै सडक सरकारलाई हस्तान्तरण गर्ने अवस्थामा पुग्छौं ।’ निर्माण कम्पनीले सात वर्ष अगाडि नेपाल सरकारसँग ४२ महिनाभित्र सडक विस्तार पूरा गर्ने सम्झौता गरी विसं २०७५ साल माघ २४ गतेदेखि काम सुरु गरेको थियो । कूल ११४ किलोमिटर सडकमध्ये पूर्वी खण्ड (गैँडाकोट–दाउन्ने) ६५ किलोमिटरको लागत नौ अर्ब १३ करोड १८ लाख ९५ हजार तथा पश्चिम खण्ड–दाउन्ने–बुटवल) ४९ किलोमिटरको लागत रु सात अर्ब ८६ करोड ३४ लाख गरी जम्मा १६ अर्ब ९९ करोड ५२ लाख रहेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले आजसम्म झापा इनर्जीमा लगानी गर्न सक्ने
काठमाडौं । झापा इनर्जीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिने आज साउन १८ गते अन्तिम दिन रहेको छ । साउन १४ गतेदेखि बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपाली लगानीकर्ताहरुले आजसम्म आवेदन दिनसक्नेछन् । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ५७ लाख २ हजार ९०० रुपैयाँको ५७ हजार २९ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूलाई छुट्याइएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
म्याग्दीका करिब ९ सय घरमा विद्युत् सुविधा विस्तार, २२ करोडको योजना कार्यान्वयनमा
म्याग्दी । म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा करिब नौ सय घरपरिवारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका विभिन्न ठाउँमा आठ सय ७४ उपभोक्ता थपिएका जनाएको छ । केन्द्रका प्रमुख सत्यनारायण गामीले एक वर्षयता मालिका गाउँपालिका–३ पात्ले, लुप्सीपार, घ्याङलेपानी, वडा नं ४ को चिउरीबोट, धवलागिरि गाउँपालिकाको बुल र मलम्पारमा विद्युतीकरण भएको जानकारी दिए । उनका अनुसार धवलागिरि गाउँपालिका–२ लुलाङ, लमसुङ, खोरिया, मरेनी, वडा नं ५ को मल्कवाङ, मालिका गाउँपालिका–४ को महभिर, ५ को पन्थोक र जुग्जामा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ । पोल गाड्ने, तार तान्ने र ट्रान्सफर्मर जडान भइसकेका ठाउँका उपभोक्ताले मिटर जडान गरेपछि विद्युतीकरणले पूर्णता पाउने उनले बताए। गत वर्ष अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल पुनहिलमा विद्युतीकरण र घोडेपानीको वितरण लाइनको सुधार भएको थियो । एक सय ३२ केभी क्षमताको मिलनचोक–रातोढुङ्गा प्रसारण लाइन र रातोढुङ्गा सबस्टेशनबाट मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा गत वर्षदेखि विद्युत् आपूर्ति गराउन थालिएको छ । उज्यालोका लागि सोलार, मट्टितेलको टुकी, दियालो र सिट्ठामा निर्भर स्थानीयवासीमा बिजुली बलेपछि खुसीयाली छाएको धवलागिरि गाउँपालिका–६ का वडाध्यक्ष राजाराम सुवेदीले बताए । घरायसी काम, विद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम व्यवसाय सञ्चालन गर्ने अवसर सृजना भएको छ । यस वर्ष थपिएका सहित म्याग्दी वितरण केन्द्रअन्तर्गत २३ हजार ८६९ विद्युत्का ग्राहक पुगेका केन्द्रका सूचना अधिकारी प्रकाश झाले बताए । आव २०८०/८१ मा एक हजार ४३८, २०७९/८० मा एक हजार २३८, २०७८/७९ मा सात सय ७० घरमा नयाँ लाइन जडान भएको प्राधिकरणको तथ्याङ्क छ । पर्वतको जलजला गाउँपालिकाको मल्लाज, वारीबेनी क्षेत्रमा पनि म्याग्दी वितरण केन्द्रअन्तर्गतको मिलनचोक सबस्टेशनमार्फत विद्युत् वितरण हुँदै आएको छ । म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारका लागि प्राधिकरणले आव २०८०/८१ देखि रु २२ करोड बजेटको योजना सञ्चालन गरेको छ । गत आवमा म्याग्दी वितरण केन्द्रमार्फत एक करोड ७३ लाख ९५ हजार ७९७ दशमलव ७१ युनिट विद्युत् खपत हुँदा रु २० करोड ३३ लाख ६३ हजार ३८१ महसुल सङ्कलन भएको छ । समयमा महसुल नबुझाउने एक सय ४५ जना ग्राहकको लाइन काटेर रु १३ लाख ४५ हजार ४०७ बक्यौता असुल गरिएको छ । साठी दिनसम्म महसुल नतिर्नेको लाइन काट्ने र छ महिनासम्म महसुल नबुझाउनेलाई कालोसूचीमा राखिने प्राधिकरणले जनाएको छ । कालोसूचीमा परेका एक जनाबाट रु ७७ हजार महसुल उठाएको र थप ११ जनाबाट रु दुई लाख ७८ हजार ९०४ उठाउन बाँकी रहेको वितरण केन्द्रका लेखा प्रमुख श्याम रानाले बताए । रासस