५ करोडमा झेँदी पुल निर्माण सम्पन्न, स्थानीयवासी भए खुशी

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँ र ७ को वामी जोड्ने झेँदी पुल निर्माण सम्पन्न भएको छ । स्वीस सरकारबाट प्राप्त पाँच करोड १७ लाख ५० हजार ६६५ रुपैयाँमा निर्माणको काम सम्पन्न भएको हो ।  सडक पुल कार्यक्रमका इञ्जिनियर श्रीराम प्रजापतिका अनुसार ५६.३० मिटर लामो यो पुल लामो समयको प्रयासपछि पूरा भएको हो । पक्की बनाउन नसकिने स्थानमा यस्ता  निर्माण गरिने उनले बताए । यो पुल २०७६ र २०७७ साल वैशाखमा दुईपटक भाँचिएपछि प्रारुप परिवर्तन गरेर नयाँ बनाइएको हो । पुलका संरचना भाँचिदा राज्यलाई हानि भएको थियो ।  

बिर्तामोडमा एक अर्ब बढीको लागतमा १४ किलोमिटर सडक कालोपत्र

बिर्तामोड । संघ, प्रदेश र स्थानीय तहको लगानीमा बिर्तामोड नगरपालिकामा १४ किलोमिटर सडक धमाधम कालोपत्र भइरहेको छ । सडक डिभिजन कार्यालयका सबइञ्जिनियर मदन साहका अनुसार हर्कलाल मार्ग, बुट्टाबारी (प्याकुरेल चोक) सडक, गोकुल जोशी मार्ग र सहिदचन्द्र मार्ग सडकको स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । नगरका २, ३, ४, ६, ७ र ९ नम्बर वडालाई जोड्ने ती सडकको निर्माण लागत एक अर्बभन्दा बढी छ । चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम कालोपत्र भइरहेको छ । विश्व बैंकको आर्थिक सहयोग रहेको वडा नम्बर ६, ७ र ८ जोड्ने छ किलोमिटर २५८ मिटर लामो सडकमा हाल कालोपत्र भइरहेको छ । जेठको तेस्रो सातासम्ममा निर्माण सम्पन्न हुने आरपी समता जेभीका मनोज उप्रेतीले बताए । यो सडक आरपी समता जेभीले ५८ करोडमा निर्माणको ठेक्का लिएको हो । बिर्तामोड नगरपालिकालाई हल्दिबारी गाउँपालिकासँग जोड्ने सहिद चन्द्रमार्गको दुई किलोमिटर सडक आगामी १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्यका साथ तीन खण्डमा कालोपत्र भइरहेको छ । दुई किलोमिटर लामो उक्त सडकको पहिलो खण्डमा पाँच करोड ६० लाखको ठेक्का सिद्धीथुम्का एभरग्रिन जेभीले, दोस्रो खण्डमा ट्रस्ना निर्माण सेवाले ६८ लाखमा र तेस्रो खण्डमा नाम्लाक निर्माण सेवाले एक करोड पाँच लाखमा निर्माणको जिम्मा लिएको छ । वडा नम्बर २ देखि ३ हुँदै कनकाई नगरपालिका जोड्ने चारपाने–घैलाडुब्वा एक किलोमिटर सडकको छ करोडको ठेक्कामा शान्ति निर्माण सेवा प्रालिले धमाधम निर्माण गरिरहेको वडाध्यक्ष किशोर बुढाथोकीले बताए । रासस

छ्याङ्दी हाइड्रोले जेठ २३ गतेदेखि हकप्रद सेयर बिक्री गर्ने, कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले जेठ २३ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँको १ सय प्रतिशत अर्थात् हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री गर्न लागेको हो ।  कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अकित मूल्य दरका ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । हकप्रद निष्काशन कम्पनीको चुक्ता पुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ २ गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ १ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरमा लगानीकर्ताहरूरूे असार १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको सेयरमा लगानीकर्ताहरूले बिक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकको बेसीशहर, सुन्दरबजार-६ मिलनचोक, भोर्लेटार-८ बसपार्क, सिउँडीबार सुन्दरबजार-९, उदिपुर र दोर्दी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सिआस्बा सेवामा सहभागी बंक तथा वित्तीय संस्थाबाट र सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेको मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्रा एपी इस्यूअर रेटिङ्ग बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।