प्रभावकारी सेवा प्रवाह नहुदा धेरैले स्वास्थ्य बीमाको नवीकरण गरेनन् बीमा बोर्डलाई चुनौती

काठमाडौ । स्वास्थ्य बीमाको कुरा गर्ने हो भने अहिले धेरै जसो सुनिने एउटै कुरा हो – कार्यक्रम त रामो हो तर, प्रभावकारी सेवा प्रवाह हुन सकेको छैन । जुन उत्साहका साथ ३ वर्ष अघि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको थियो सोही अनुरुप सेवामा प्रभावकारिता नहुँदा जनतामा निराशा छाएको देखिएको छ । एक वर्षका लागि बीमा गराएपछि अर्को वर्ष पनि सेवा प्राप्त गर्न फेरि तोकिएको शुल्क तिरेर नवीकरण गर्नुपर्छ । त्यही दोहो¥याएर स्वास्थ्य बीमा अर्थात नवीकरण गर्ने नागरिकको संख्या भने घट्दै गएको छ । “समयमा सहज र प्रभावकारी उपचार पाइएला भनेर स्वास्थ्य बीमा गराएको त अस्पतालमा पालै नपाइने रै’छ”, तनहुँकी दिलकुमारी थापाले रासससँगको कुराकानीमा भनिन् । स्वास्थ्य बीमा गराएपछि सहज रुपमा गुणस्तरीय औषधोपचार गर्न पाइने विश्वास गरेका जनताले अस्पतालमा लामो समय कुर्दा पनि पालो नपाएको गुनासो गरेका छन् । “पैसा तिरेर उपचार गर्नेको पालो सकिएपछि पालो आउने रहेछ, बीमाबाट उपचार गर्ने हो भनेपछि त पालै नआउने, मलाई मन परेन,” दिलकुमारीले थप्नुभयो । दिलकुमारीको छ वर्षीय छोरालाई पिसाबसम्बन्धी समस्याको उपचार गर्न पोखराको मणिपाल अस्पताल पठाइएको थियो । तनहुँ जुमडाँडाका उनीले अस्पतालले बीमाबाट उपचार गर्नेलाई प्राथमिकता नदिएको गुनासो गरिन्।  सानोतिनो बिरामीको गाउँकै स्वास्थ्य संस्थामा उपचार गराउन स्वास्थ्य बीमाबाट सहज भएको छ । तर ठूला र सिफारिश भई अन्य अस्पतालमा जाँदा भोग्नुपरेको दुःख तिलकबहादुर आलेमगरले पनि महसुस गरे । मणिपालमा भान्जाको उपचारमा जानुभएका तिलकबहादुरले डिस्चार्जका लागि १२ बजेदेखि लाममा बसे। साँझ पाँचबजेसम्म पनि आफूले पालो नपाएको उनको दुखेसो छ । दिदीले दुःख पाएको देखेपछि स्वास्थ्य बीमा गराउन मन नलागेको उनको भनाइ छ । “झन् अस्पतालमा छिटो पालो आउन्न भनेर मैले परिवारको बीमा गराएको थिइनँ, गाउँमा खोइ को आएर निशुल्क बिमा गराइदिएछन्, बुवाले गराउनुभएछ,” उनले भने । जुमडाँडा त एउटा उदाहरण मात्र हो । स्वास्थ्य बीमा गराएका अन्य जिल्लाका नागरिकको बीमाप्रति झुकाव कम देखिएको छ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा मदनकुमार उपाध्यायले अपेक्षित रुपमा दोस्रो पटक नवीकरण नगरेको पाइएको स्वीकारे । स्वास्थ्य बीमा लागू गरेका अन्य देशको अनुभव पनि नेपालकै जस्तो भएको पाइन्छ । बीमा नवीकरण नहुनु ठूलो चुनौती भएको सरोकारवाला निकायको भनाइ छ । बीमाप्रतिको आकर्षण बढेको छ तर नवीकरण गर्नेको संख्या कम छ । अहिलेसम्म ९ लाखले बीमा गरिसकेको बताइन्छ । यही असारभित्र नवीकरण गर्नुपर्ने १५ जिल्ला छन् । ती जिल्लामा नवीकरण गर्नेहरु १५ प्रतिशतले कम भएको बीमा बोर्डको भनाइ छ । कति बिमितले नवीकरण गरेनन् भन्ने यकिन तथ्याँक आउन भने समय लाग्छ । उनले भने , “अपेक्षित रुपमा दोस्रो पटक बीमा गराउनेको संख्यामा कमी आउनुमा सरसर्ती हेर्दा सहज स्वास्थ्य सेवा नपाउनु, औषधिलगायतको समस्या र भौगोलिक विकटता हुन् ।” प्रयोगशालाको लागि समय लाग्नु र स्वास्थ्य संस्थामा चिकित्सक उपलब्ध नहुनु अन्य कारण हुन् । कतिपय परिवारले एक वर्षसम्म कुनै पनि सेवा नलिएकाले बीमाको पैसा खेर जाने सोचाइले दोहो¥याएर बीमा गराएनन् । बीमित र स्वास्थ्य संस्था बीचको दूरी तथा बीमामार्फत स्वास्थ्य सेवा लिन बानी नपरेकाले पनि केही समय अप्ठेरो हुने बोर्डको भनाइ छ । पहिलो पटक बीमा गरेको समयावधि एक वर्ष हुन्छ । अर्को वर्ष सेवा लिन लिन नवीकरण गराउनुपर्छ । जनतालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन विसं २०७२ चैत २५ गतेदेखि सरकारले कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको हो । स्वास्थ्य बीमा गर्न पाँच सदस्य भएको परिवारले फाराम भर्दा वार्षिक २ हजार ५०० रुपैयाँ प्रिमियम तिर्नुपर्छ । नवीकरण गर्न पनि त्यति नै रकम तिर्नुपर्छ । पाँच भन्दा बढी परिवारका सदस्य भए प्रति सदस्य ४५० रुपैयाँ थप तिर्नुपर्छ । त्यस्तो परिवारले थप १० हजार भन्दा बढी रकम बराबरको सहुलियत पाउँछ । यो रकम प्रायः सबैखाले रोगको उपचारमा प्रयोग हुन्छ । सरकारले पहिले नै निःशुल्क गरेको रोगको उपचार यथावत् छ । कार्यकारी निर्देशक उपाध्यायका अनुसार स्थानीय जनप्रतिनिधिलाई स्वास्थ्य बीमाबारे अभिमुखीकरण गराइसकेको छ । बीमा गराउने दर्ता सहयोगीले जनतालाई राम्रोसँग बुझाउन नसक्नु अर्को समस्या हो । दर्ता सहयोगीले बीमा गराउँदा बीमाको अवधि, पाइने सुविधा र नवीकरण गर्नाका कारण लगायतमा स्पष्ट रुपमा बुझाई दिनुपर्ने हुन्छ । स्वास्थ्य बीमा बोर्डले दर्ता सहयोगीलाई दोहो¥याएर अभिमुखीकरण गराउने र प्रविधिबारे जानकारी गराउने योजना बनाएको छ । बिमितलाई सेवा दिने अभिभारा बोकेको सेवा प्रदायक स्वास्थ्य संस्थाको आफ्नै समस्या छ । उसलाई सीमित जनशक्तिबाट धेरै बिरामी हेर्नुपर्ने बाध्यता छ । सेवा प्रदायकलाई स्वास्थ्य बीमाका सबै काम अनलाइन प्रणालीमा हुने भएकाले धेरैलाई प्रविधिबारे जानकारी नहुँदा, सेवा प्रदायकको सरुवा र योग्य जनशक्ति उचित ठाउँमा प्रयोग नगरिँदा स्वास्थ्य बीमा प्रभावित बनिरहेको छ । बीमा बोर्ड कार्यकारी अध्यक्ष उपाध्याय कर्मचारी प्रविधिमैत्री भएमा काम गर्न सहज हुने बताउछन् । स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक चूडामणि भण्डारी स्वास्थ्य बीमा गराएका नागरिकलाई उपचार सेवा दिन स्वास्थ्य संस्थामा छुट्टै कर्मचारी व्यवस्था हुनुपर्ने बताउछन् । सरकारले गरिबीको परिचयपत्र वितरण गरेपछि केही समस्या समाधान हुने उनको अनुमान छ । उपमहानिर्देशक भण्डारी नवीकरण नहुनुको ठूलो समस्या औषधि हो भन्छन् । केन्द्रले टेण्डर गरी स्वास्थ्य संस्थालाई औषधि खरीद गर्न दिने हो भने औषधिको समस्या समाधान हुने उहाँको भनाइ छ । उनले भने, ‘‘स्वास्थ्य बीमाले स्वास्थ्यप्रतिको सजकता त बढाएको छ, तर बिरामीलाई आकर्षित गर्न औषधि र अन्य सुविधा सहज हुनुपर्छ ।’’ बीमितलाई पहिलो बिन्दुको रुपमा नजिकै पायक पर्ने स्वास्थ्य संस्थाको व्यवस्था गरिएको छ । त्यहाँ उपचार हुन नसकेमा रिफरल प्रणालीमार्फत जिल्ला, अञ्चल, क्षेत्र र केन्द्रका अस्पतालमा उपचार गराउन पाइन्छ । गाउँका स्वास्थ्य संस्थामा उपचार र औषधि दुबै नहुँदा एकै पल्ट केन्द्रीय अस्पताल आउन चाहनेलाई पनि बीमा झन्झटिलो लाग्न सक्छ । स्वास्थ्य बीमामा नपाइने सुविधा सहभागी हुन चाहनेले फाराम भर्दा कहाँ उपचार गराउने हो त्यो स्वास्थ्य संस्थाको नाम उल्लेख गर्नुपर्छ । त्यसै अनुसार स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल, अञ्चल अस्पताल र क्षेत्रीय अस्पताल हुँदै केन्द्रीय अस्पतालसम्म उपचार गराउन पाउने व्यवस्था गरिएको छ । सरकारले शुरु गरेको स्वास्थ्य बीमाले प्लास्टिक सर्जरी, महङ्गा चश्माको खरिद, कानमा लगाउने सुन्ने मेसिन र रक्सी खाएर कुटाकुट गरी घाइते भएकालाई सेवा प्रदान नगर्ने व्यवस्था गरेको छ । बीमाले ठूला रोग लाग्ने सम्भावनालाई हटाउने भएपनि माथि उल्लिखित विषयमा सहयोग गर्दैन । बीमाले ५०० भन्दा बढी मूल्यका चश्माको पैसा तिर्दैन । दाँत भर्ने, दाँतमा तार हाल्ने, यौन, कस्मेटिक सर्जरी र इम्प्लान्ट पनि बीमाको सहुलियतभित्र पर्दैन । बीमा लागू भएका जिल्ला अहिलेसम्म ३६ जिल्लामा बीमा कार्यक्रम लागू भइसकेको छ । आगामी आवमा बाँकी ४२ जिल्लामा लागू गर्ने स्वास्थ्य बीमा बोर्डको तयारी छ । हालसम्म ३६ जिल्लाको तथ्याँक हेर्दा ९ लाख १७ हजारले स्वास्थ्य बीमा गराएका छन् । जसमध्ये अति गरिब जनताको बीमा सरकारले गरिदिएको छ । हालसम्म १ लाख २६ हजार ३८ व्यक्तिको बीमाको प्रिमियम सरकारले तिरेको छ । बीमा गर्नेमा महिला बढी छन् । अहिलेसम्म बीमा गरेकामध्ये ५३ प्रतिशत महिला र ४७ प्रतिशत पुरुष छन् । वोर्डलाई चालु आवमा २ अर्ब बजेट विनियोजित भयो । त्यसमध्ये ६५ करोड रुपैयाँ स्वास्थ्य मन्त्रालयले कर्मचारीलाई तलव दिन फिर्ता लाग्यो । गत महिना प्रस्तुत आव २०७५÷७६ को बजेटमा बोर्डलाई ६ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । बीमा प्रिमियमबाट बोर्डलाई ४६ करोड रुपैयाँ आम्दानी भएकामा ४५ करोड रुपैयाँ सेवा प्रदायक संस्थालाई दिइएको बोर्डले जानकारी दिएको छ । रासस

थोरै सुत्नाले क्यान्सरदेखि आत्महत्यासम्मकाे समस्या निम्तिने

काठमाडौं । तपाईले आफ्नो सुताइलाई वेवास्था त गर्नु भएको छैन ? कहिले सोच्नु भएको छ कम सुत्नाले कतिसम्म खतरनाक रोग लाग्न सक्छ । सुताईप्रति चासो दिनु भएको छैन भने एक पटक ध्यान दिनुहोला थोरै सुते ज्यान लिने सम्भावना भएका रोग क्यान्सरदेखि अत्महत्यासम्मकाे समस्या  निम्तिन सक्ने बीबीसीको एक रिपोर्टमा जनाइएको छ । रिपोर्ट अनुसार सन् १९४० को दशकका सर्वेक्षणहरु हेर्दा औसतमा एउटा वयस्क मान्छे ७.९ घण्टा सुत्ने गथ्र्यो । अहिले त्यो समय घटेर ६.७५ घण्टा पुगेको छ । थोरै सुते निम्तन सक्ने समस्या ज्यान लिने सम्भावना भएका रोगहरु क्यान्सरदेखि अल्जाइमर्स, हृदयघात, मधुमेह, मोटोपन, मस्तिष्काघात र आत्महत्या पनि अपर्याप्त निद्रासँग जोडिएका छन् । उक्त रिपोर्ट अनुसार छोटो निन्द्राले सबै प्रकारका मरण सँगै छिटो मरणको सङ्केत गर्दछ । हाम्रो निन्द्रा हराउनुको कारण यस्तो छ शरीरको जैविक घडीले प्रकाशको आधारमा हामी कति बेला ब्युँझने र निदाउने त्यो निर्धारण गर्छ । तर कृत्रिम प्रकाशको आगमनपछि हाम्रो जीवनशैली चौबीसै घण्टा चल्न थाल्यो । यसले हाम्रो प्राकृतिक जैविक चक्रसँग सामञ्जस्य राख्दैन र निद्रालाई बाधा पुर्याउने गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले प्रत्येक रात ८ घण्टा सुत्नुपर्छ भनेको छ । राति राम्ररी सुत्ने उपाय पहिलो, निंद्रालाई प्राथमिकतामा राख्नुहोस् । अनि तपाई अरु पाँच मुख्य कुरा निद्रा लाग्ने उपाय अपनाउन सक्नुहुनेछ । सप्ताहान्न होस् वा अरु कुनै दिन सधैं उही समयमा सुत्न जानुहोस् र उही समयमा उठ्नुहोस् । आधुनिक समाज अध्यारोबाट वञ्चित छ । त्यसैले राति बत्ती निभाउने गर्नुहोस् । आफ्नो सुत्ने कोठा शीतल राख्नुहोस । हाम्रो निद्राका लागि १८.५ डि सेन्टिग्र्र्र्रेट जति तपक्रम आवश्यक पर्छ । निदाउनका लागि शरीरको तापक्रम घट्नुपर्छ । ओछ्यानमा जागा नबस्नुहोस् । मस्तिष्कले ओछ्यानमा बस्नु भनेकै ‘जागा रहनु हो’ भन्ठानिदिन सक्छ । त्यसले पनि निद्रा भगाउछ । यदि २०–३० मिनेट ब्युँझनुभयो भने उठ्नुहोस्, अलि अँध्यारो कोठामा जानुहोस्, केही पढ्नुहोस् । अनि निद्राले छोपेजस्तो भएपछि ओछेयानमा फर्कनुहोस् । दिउँसो २ बजेपछि कफीजन्य पदार्थ बार्नुहोस् । त्यसले जागा राखिदिन्छ र निद्रामा अवरोध पारिदिन्छ । अन्त्यमा, राति मदिराले राम्रो गर्दैन । यसले उत्तेजनशीलता शमन गर्छ । अचेत मात्रै बनाइदिन्छ । निद्रालाई प्राथमिकतामा राख्दै, त्यागेर हैन यसलाई अँगालेर राम्रो निद्रा पार्ने माथिको उपाय अपनाउनुहोस् ।

अब भाइबरबाटै आकस्मिक एम्बुलेन्स सेवा पाइने, एनएएसले ल्यायो यस्ताे सुविधा

काठमाडौं । सेवा प्रदायक संस्था नेपाल एम्बुलेन्स सर्भिस(एनएएस)ले आकस्मिक सेवाका लागि भाइबर हट लाइन सुविधा ल्याएको छ । उक्त सुविधाको लागि यस संस्था चौबिसै घण्टा सातै दिन भाइबर हट लाइन ९८०१११५१०२मा जोडिएको छ । अब एम्बुलेन्स सेवा आवश्यक पर्ने हस्पिटलहरु वा बिरामी जो कोहीले भाइबर नम्बर ९८०१११५१०२ मा सिधै सम्पर्क गरेर यो सेवा लिन सक्नेछन् । भाइबरको दक्षिणपूर्वी एशिया क्षेत्रमा व्यापार विस्तार एवं विकास प्रमुख अनुभव नइएरले भने-‘नेपालमा भाइबर हट लाइन जस्तो महत्वपूर्ण सेवा प्रस्तुत गर्न पाएकोमा हामी अत्यन्त हर्षित भएका छौं । हामी सदैव नयाँ र नवीनतम् उपायहरुको माध्यमबाट स्थानीय समुदायहरुलाई साथ दिने प्रयासमा रहँदै आएका छौं ।’ सोही अवसरमा एनएएसको तर्फबाट अमितले भाइबरसँगको साझेदारीबाट भविष्यमा नेपालका नागरिकहरुको सेवामा सहयोग पुग्ने अन्य महत्वपूर्ण सेवाहरु उपलब्ध गराउने बताएका छन् ।