क्यान्सर रोगको उपचार गर्न बिदेश जानु पर्दैन : डा. प्रकाशराज न्यौपाने

नेपालमा वर्षेनी क्यान्सर रोगीको संख्या बढ्दै गएको छ । क्यान्सर रोग बढ्नुमा बदलिँदो जीवनशैली नै प्रमुख कारण भएको विशेषज्ञ बताउँछन् । क्यान्सरको उपचारमा केही प्रगति भएपनि निर्मूल पार्ने गरी औषधिको विकास भने हुन सकेको छैन् । विश्वमा नै क्यान्सरलाई जटिल प्रकृतिको रोग मानिन्छ । क्यान्सर रोग आफैमा जटिल हुनुका साथै बढी खर्चिलो पनि छ । लामो समयदेखि क्यान्सर रोगको उपचारमा संलग्न बरिष्ठ सर्जन डा. प्रकाशराज न्यौपानेले वीपी कोइराला मेमोरियल अस्पताल अध्यक्षको रुपमा र बीएनबी अस्पतालमा पनि कार्यरत छन्। डा. न्यौपाने यस्तै भक्तपुर क्यान्सर असपतालको निर्देशक समेत भइसकेका छन् । हाल उनी भक्तपुरमा कार्यरत छन् । नेपालमा क्यान्सर रोग बढ्नुको कारण र यसको उपचारका विषयम केन्द्रीत रहेर डा. न्यौपानेसंग विकास न्यूजका लागि डोमी शेर्पाले गरेको कुराकानी । क्यान्सर कस्तो रोग हो ? क्यान्सर शरीरको कोष वा कोषिका समूहको अस्वाभाविक वृद्धिका कारण निम्तिने रोग हो । हाम्रो शरीरमा हुने बिभिन्न कोषिकाहरु नयाँ बन्ने र मर्ने प्रकृया हुन्छ । जब बिभिन्न कारणहरुले यस प्रकृयामा अवरोध आउँछ, नयाँ बन्ने कोशीकाहरुमा अनियमित वृद्धि हुन्छ। यसरी बृद्धि भएको कोषिका मासुको डल्लो बन्छ र यसले आफ्नो नजिकको रहेको अंगलाई काम गर्न अवरोध गर्छ । त्यतिमात्रै होईन त्यहाँबाट बढेर यो अरु ठाउँमा पनि सर्ने गर्दछ । पेटमा भएको क्यान्सर टाउको, फोक्सो, कालेजो जहाँ पनि जान सक्छ । यसरी कोषिका बृदि हुने र एक ठाउँबाट अर्को ठाउँ सर्ने टिउमरलाई क्यान्सर भनिन्छ । यदि यस्तो हानिकारक कोष या कोषिकालाई समयमै नहटाएमा पुरै शरीरमा क्यान्सरको कोष फैलन्छ र अन्ततः मानिसको ज्यान नै लिन्छ । बदलिदो जीवनशैलीले गर्दा नेपालमा पनि वर्षेनी क्यान्सर रोगीको संख्या बढ्दै गएको छ । क्यान्सर रोगको उपचार अवस्था कस्तो छ ? विश्वमा हेरेर नेपालमा हेर्ने हो भने क्यान्सरको बिरामीको संख्या नेपालमा कम छ । यो कम हुनुको कारण हामीहरुको केही राम्रो भएर भन्दा पनि हामीहरुको औसत आयु कम भएर हो । बिदेशीको औसत आयु ८० बर्ष छ भने हाम्रो भर्खर ७० बर्ष पुग्न आटेको छ। क्यान्सर प्राय उमेर बढी भएकोलाई हुने गर्छ । त्यसैले उमेर जति बढ्दै जान्छ, क्यान्सर पनि त्यती बढ्दै जाने गर्छ । अझै पनि ग्रामीण क्षेत्रमा २ तिहाइ क्यान्सरका बिरामीहरु अस्पताल आउन पाएका छैनन् ।त्यसमाथि पनि हामीहरुको डाटा कमजोर छ । हिजोआज बिरामीहरु क्यान्सर लाग्नु भन्दै पहिले नै परीक्षण गर्न आएको देखिन्छ । करिब ३० बर्ष अगाडिको अवस्था हेर्ने हो भने मानिसहरु अन्तिम समयमा मात्र अस्पतालमा आउने गर्थे । त्यस्तै करिब १० बर्ष अगाडि हेर्ने हो भने बिरामीहरु  दोस्रो, तेस्रो स्टेजमा रोग पुगेपछि आउने गरेका छन् । अहिले आएर मानिसहरु यसप्रति एकदमै सचेत भएको पाईएको छ । भरतपुरस्थित वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको सहयोगबाट मुख्य ७ वटा अस्पतालहरुमा क्यान्सरको निदान र उपचार सुविधा छ । जसअन्तर्गत काठमाडौंको वीर, शिक्षण, कान्ति वाल, भक्तपुर क्यान्सर अस्पताल, धरानको वीपी कोईराला इन्स्टिच्युट अफ हेल्थ साइन्स र पोखराको मणिपाल मेडिकल कलेज रहेका छन् । अस्पताल आधारित क्यान्सर रजिस्ट्री अनुसार नेपालमा क्यान्सर बढी देखिएको जिल्लामा काठमाडौ पहिलो स्थानमा र सुनसरी दोस्रो स्थानमा रहेको छ । फोक्सो, स्तन र पेटको क्यान्सर बढी देखिएको छ । क्यान्सर रोग लाग्नुको कारण के हुन ? क्यान्सर रोग लाग्नुको ८० प्रतिशत मध्यपान, धूमपान र सुर्तीजन्य पदार्थको अधिक प्रयोग र अव्यवस्थित खानापान तथा जीवनशैली हो । अत्यधिक चिल्लो पदार्थ, नुन, धुवाँमा सेकाएको मासु, ढुसी परेको खानेकुरा, बासी खानेकुराको प्रयोग पनि क्यान्सरका कारक हुन् । १० प्रतिशतलाई वंशाणुगत कारणले पनि यो रोग लाग्छ । अत्यधिक घाम, परमाणुको प्रभाव, नियमित उपचारमा प्रयोग हुने रेडियो विकिरणले पनि क्यान्सर बनाउन सक्छ । त्यसैले एक्सरे, सिटी स्क्यान, रेडियोथेरापी, मोमोग्राम आदिको अत्यधिक प्रयोग गर्नुहुँदैन । वातावरण, औद्योगिक प्रदूषण, मिसावटयुक्त खानाको सेवन, विभिन्न विषाक्त रसायन पदार्थको प्रभावले मानिसमा क्यान्सर देखिन सक्छ । बाँकी १० प्रतिशत कुनै कारण छैन । जस्तै भर्खर जन्मेको बच्चालाई क्यान्सर हुनुको कुनै कारणनै देखिदैन । किनभने न त उसले जाँड रक्सी खान्छ न त चुरोट नै । ग्रामिण र शहरी क्षेत्रमा लाग्ने क्यान्सर रोग लाग्नमा फरक के रहेको छ ? शहर र गाउँमा हुने क्यान्सरमा केही समानता अनि असमानता पनि छन् । गाउँमा बातावरण सफा हुन्छ तर गाउँघरमा दाउरामा खान पकाउने हुनाले त्यसबाट आउने धुवाले स्वास्थ्यलाई शहरको बाटोको धुलोधुवाँले जत्तिकै असार गर्दछ । चुरोट खाने मानिसहरुको संख्या गाउँमा पनि उत्तिकै पाईन्छ । त्यसैले धुलोधुँवा र चुरोटको कारणले हुने गरेको क्यान्सर शहर र गाउँमा उस्तै उस्तै रहेको छ। गाउँमा सुर्ती खाने मानिसहरुको संख्या बढी हुने कारणले गाउँमा मुखको क्यान्सर हुनेको संख्या बढी देखिएको छ । शहरमा भने फोक्सोको क्यान्सरको संख्या बढी पाईन्छ । गाउँघरमा संक्रमणका कारण हुने क्यान्सरको पनि संख्या बढी छ । किनभने गाउँघरमा महिलाहरुले आफ्नो भित्री अंगलाई सफा राख्दैनन, धेरै बच्चा जन्माउँछन् त्यसैल पाठेघरको समस्या ग्रामिण क्षेत्रका महिलामा बढी पाईन्छ । शहरका महिलाहरु बढी मदिरा सेवन गर्ने, व्यायम नगर्ने र धेरै मोटो हुनाले शहरमा स्तन क्यान्सर, प्याँक्रियाज क्यान्सर बढी देखिएको छ । कुन बर्ग र उमेर समुहमा बढी क्यान्सर देखिएको छ ? तथ्याँक अनुसार नेपालको सन्दर्भमा भने क्यान्सर पुरुषलाई भन्दा महिलालाई बढी छ । जबकी विश्वमा हेर्दा पुरुषलाई बढी क्यान्सर लागेको पाईन्छ । १०० जना मानिसमा ५५ जना महिला र ४५ प्रतिशत पुरुषलाई क्यान्सर भएको पाईएको छ। नेपालमा महिलामा बढी क्यान्सर देखिनुको कारण महिलाहरुले धेरै बच्चा पाउने र पाठेघरको सरसफामा कमजोरी देखिएको छ । अस्पताल आधारित क्यान्सर रजिस्ट्री अनुसार पुरुषमा ५५ देखि ६५ बर्षमा क्यान्सर बढी पाईएको छ । महिलामा ४५ देखि ५५ बर्षमा क्यान्सर बढी पाईएको छ । क्यान्सर बच्चादेखी बुढो सबै उमेर समुहलाई हुने गर्दछ । नेपालमा क्यान्सरको उपचार पद्दती कस्तो छ ? क्यान्सरको उपचार पद्दती अरु पद्दती भन्दा धेरै फरक छ । किनभने यो टाउकोदेखी खुट्टा सबै अंगमा लाग्छ । त्यसैले सबै अस्पतालमा सबै कुराहरु नहुन सक्छ तर मोटामोटी रुपमा बिपी कोईराला क्यान्सर अस्पतालमा उपचारका लागि सबैकुरा छ । नेपालमा सबै उपचारहरु हुन थालेको छ तर अझै पनि अनुभबको कमी रहेको छ । तर यदी क्यान्सर भईहाल्यो भने त्यसका लागि बिदेश जानुपर्ने स्थिती भने छैन । क्यान्सरलाई बेलैमा पत्ता लगाएर उपचार गरे १ तिहाई क्यान्सर निको पार्न सकिन्छ । स्तन क्यान्सर, सर्भिकल क्यान्सर जस्ता क्यान्सरको उपचार पछि निको हुने ठुलो सम्भावना हुन्छ । बाँकी एक तिहाइ क्यान्सर भने राम्रो ठाउँमा उपचार गरे निको हुन सक्छ । उपचार संम्भब नभएको खण्डमा बिरामीको आयु लम्ब्याउने, दुख नदिन  प्यालिटिभ केयरहरु गर्न सकिन्छ । क्यान्सर रोगलाई न्युनिकरण कसरी गर्ने ? क्यान्सरलाई न्युनिकरण गर्न सबैभन्दा पहिले क्यान्सर लाग्न सक्ने कारक तत्वहरुलाई हटाउन जरुरी छ । यसको लागि जनचेतनाको सबैभन्दा बढी आवश्यक छ । रक्सी, चुरोट खानुहुँदैन, व्ययाम गर्नुपर्छ, भित्री अंगहरुलाई सफाइ राख्नुपर्छ , सागसब्जी खानुपर्छ , रातो मासु कम खानुपर्छ, घाममा कम निस्कने, हरेक बर्ष एकपटक आफ्नो शरीरको पुरा परिक्षण गराउने, ५० बर्ष पुगेका हरेक पुरुषले  क्यान्सरको परिक्षण गर्ने, २०  बर्ष पुगेपछि हरेक महिलाले स्तन क्यान्सर,पाठेघरको क्यान्सरको परिक्षण गर्नुपर्छ भनेर सबैले सचेत हुन जरुरी छ । यसो गर्दा सबैभन्दा पहिला क्यान्सर हुनबाट बच्न सकिन्छ वा क्यान्सरलाई लाग्नु भन्दा अगाडी नै पत्ता लगाउन सकिन्छ । यो रोग न्युनीकरण र सस्तो र सहज रुपमा उपचार दिन सरकारले के गर्न जरुरी छ ? क्यान्सर अस्पताललाई सातै प्रदेशमा खोल्न जरुरी छ । यसको लागि हाम्रो पहल जारी छ । यस बिषयमा हामीले सरकारलाई पनि जानकारी पनि गराईसकेका छौ । यसलाई चाहिने मेसिनहरु र केमोथेरापीमा प्रयोग हुने महंगो औषधीहरु पनि सरकारले सस्तोमा दिनुपर्छ । सरकारले अहिले १ लाख रुपैयाँ बराबरको औषधी दिएको छ । यो एकदमै राम्रो कुरा हो । सकिन्छ भने यसलाई अझै बढाउनुपर्छ ।

१२ सय प्रिमियम बुझाउनेलार्इ मेडिसिटीमा ५० हजारसम्मकाे उपचार नि:शुल्क हुन्छ -विजय रिमाल

ललितपुरको भैसेपाटीमा स्थापना भएको नेपाल मेडिसिटी नेपालको नयाँ र ठूलो अस्पताल हो । डा उपेन्द्र महत्तोले करिव १० अर्ब रूपैयाँ लगानी गरेर स्थापना भएको यो अस्पतालमा हाल २०० बेड सञ्चालनमा छन् । पूर्ण क्षमतामा सञ्चालनमा आउँदा ७५० वेड हुनेछ । पछिल्लो समय यस अस्पतालले दिने सेवाको बारेमा धेरै प्रकारको चर्चा भएको छ । अस्पतलाले दिने सेवाको स्तर, अस्पतालमा सर्वसाधारणको पहुँच र सेवा शुल्क लगायतको विषयमा मेडिसिटीका महाप्रवन्धक विजय रिमालसँग गरिएको कुराकानी यस पटकको विकास वहसमा । विजय रिमाल-महाप्रवन्धक, नेपाल मेडिसिटी अस्पताल नेपालको ठूलो र नयाँ अस्पतालको रुपमा नेपाल मेडिसिटीको चर्चा भएकाे छ । यहाँ विरामीले कस्तो सेवा पाउँछन ? नेपाल मेडिसिटीको भवन नयाँ छ । यहाँ प्रयोग भएको प्रविधि र साधनहरु नयाँ छन् । तर यहाँ कार्यरत डाक्टर, स्टाफहरु २० वर्ष भन्दा लामो समय चिकित्सा क्षेत्रमै बिताएका छन् । उहाँहरुले दिने सेवा नयाँ हुँदैन, अनुभवले खारिएको बढी गुणस्तरतीय छ । हामीले पहिलो दिन देखिनै उच्चस्तरको स्वास्थ्य सेवालाई जोड दिएका छौं । त्यसले आमजनतामा उपचारको अन्तिम विश्वास नेपाल मेडिसिटी भएको छ । अब नेपालीहरु उपचारको लागि विदेश जानुपर्दैन र नेपालीहरुलाई आफ्नै गाउँठाउँमा स्वास्थ्य सेवा प्रत्याभूत गर्ने खालको योजना हामीसँग छन् । स्वास्थ्यमा आमुल परिवर्तनको परिकल्पना गरिएको छ । स्वास्थ्यको माध्यमबाट मेडिसिटीले आम मानिसको जीवन र जगतलाई जोड्ने काम गर्दैछ । स्वास्थ्य सेवाका लागि नेपालीहरु अब विदेश जानु पर्दैन भन्नुभयो ? बार्षिक कति नेपाली उपचारको लागि विदेश जान्छन् ? प्रत्येक वर्ष २ लाख मानिसहरु उपचारको लागि बाहिर जान्छन् ।  प्रत्येक वर्ष २६ अर्ब रुपैयाँ बिदेशी मुद्रामा बाहिर जान्छ । २ लाख मध्ये ७० प्रतिशत भारत जान्छन् । त्यसपछि सिंगापुर, बैंकक, अमेरिका लगायत देशमा उपचार गर्न जान्छन् । मेडिसिटीको आगमनपछि उपचारका लागि विदेश जाने २ लाख नेपालीले नेपालमा नै उपचार गर्लान त ? सम्पूर्ण रुपमा हामीले त्यसलाई लिन सक्दैनौ तर त्यसलाई कम गर्ने हाम्रो प्रयास  हो । यसलाई शून्य पार्न चाँही सकिदैन तर उपचारको लागि विदेश जाने क्रमलाई कम पार्न भने सकिन्छ । उपचारको लागि विदेश जाने गरेका तर मेडिसिटी स्थापना भएपछि नेपालमा नै उपचार गर्न थालेका केही उदाहरण दिन सक्नुहुन्छ ? प्रत्येक दिन हाम्रा लागि नयाँ हुन्छन् । प्रत्येक दिन हामीले नयाँ मुभमेन्ट चलाईरहेका छौं । यसले आम जनमानसमा एक प्रकारको अभियान शुरु भएको छ । हाम्रो एउटै राष्ट्रिय अभियान अब उपचारको लागि नेपाली विदेश जानुपर्दैन भन्ने हाे। यो अभियान हामीले मेचीदेखि महाकालीसम्म चलाएका छौं । करिब २० वटा अस्पातलहरुसँग सहकार्य थालेका छौं । हामीले स्वास्थ्य संस्थासँग मात्र नभई सबै क्षेत्रका संस्थाहरुसँग एक प्रकारको सहकार्य गर्दै गईरहेका छौ । स्वास्थ्यमा सबैको सङ्लनता हुनपर्छ र सबैको प्रयासले नै हामीले नेपालको स्वास्थ्य क्षेत्रमा परिवर्तन गर्नसक्छौं । मेडिसिटीले नेपालबाट उपचारको लागि बाहिर जाने क्रमलाई न्युन गर्ने अभियान थालेको छ । त्यसका लागि हामीले सीमा क्षेत्र नजिक भएका अस्पतालहरुसँग सहकार्य थालेका छौं । त्यस क्षेत्रको विरामीको उपचारमा सघाउ गरेका छौं । मुख्यत काठमाडौं बाहिर शहरहरुको अस्पतालमा सबै खालको जनशक्ति छैनन् । त्यसैले त्यस क्षेत्रका बिरामीहरु कि काठमाडौं आउँछन् वा सुबिधा सम्पन्न शहरमा जान्छन वा भारत जान्छन् । यदि हामीले ती स्थानहरुमा हाम्रो जनशक्तिहरुले भ्याएसम्म तालिम दिने वा केही जनशक्ति त्यहाँ सहयोग गर्न गएर त्यस ठाउँका जनतालाई त्यहीँ नै उपचार गर्ने व्यवस्थामा हामी सहकार्य गरिरहेका छौ । त्यस्तै, हामीले काठमाडौंका सम्पन्न वर्ग जो विरामी हुने वित्तिकै विदेशमा उपचार गर्न जानेबारे सोच्छन्, उनीहरुलाई आकर्षिक गर्नको लागि नयाँ अभियान नै चलाएका छौं । यस अभियान अन्तरगत हामीले कर्पोरेट संस्थाहरुसँगको साझेदारीमा उनीहरुका ग्राहक, भीआईपी कार्ड होल्डर, सेयर होल्डरहरुको लागि मेडिसिटीमा उपचार गर्दा केही छुटको सुविधा दिएका छौं । संस्थागत साझेदारीमा स्वास्थ्य सेवा दिँदा आम्दानीको बाँडफाँड कसरी हुन्छ ? हामीले व्यवसायिक लाभ लिने गरी साझेदारी गरेका छैनौ । नेपाल मेडिसिटी सामाजिक आर्थिक अभियान (सोसियो इकोनोमिक मूभमेन्ट) हो । स्वास्थ्य संस्थासँगको सहकार्य उनीहरुको क्षमता विकासको लागि हो । कर्पोरेट संस्थाहरुसँगको सहकार्य सबैलाई स्वास्थ्यप्रति सचेत बनाउने अभियान हो । यसमा हामीले आर्थिक रुपमा कुनै लेनदेन गरेका छैनौं । सामाजिक आर्थिक अभियानमा कुन कुन कम्पोनेन्ट राखिएको छ ? त्यसमा एउटा मात्र कम्पोनेन्ट छ, सामाजिक उत्तरदायित्व । सबै नेपाली स्वस्थ्य हुनुपर्छ । सबै नेपालीले सहज रुपमा स्वास्थ्य सेवा पाउनुपर्छ । त्यसका लागि स्वास्थ्य संस्थाहरुले दिने सेवा पनि राम्रो हुनुपर्छ । जनताहरुले स्वास्थ्य सेवा आफ्नो घर आँगनमा पाउनुपर्छ । यो हाम्रो उदेश्य हो र यसलाई हामी जोड्ने क्रममा छौ । मेडिसिटीले पनि नाफा त पक्कै खोजेको छ । यस्ता कार्यक्रमबाट आयआर्जन गर्ने उदेश्य छैन ? नेपाल मेडिसिटीको उदेश्य नाफा मात्र कमाउने होईन । नेपालीहरुले राम्रो स्वास्थ्य सेवा पाउनुपर्छ । स्वास्थ्य सेवा सबै मानिसको पहुँचमा हुनुपर्छ र त्यो सबैले धान्न सक्ने हुनुपर्छ भन्ने हाम्रो उदेश्य हो । त्यसमा सबैको सहभागिता हुनुपर्छ । त्यसको लागि स्वास्थ्य बीमा कार्यक्रम लागू गरेका छौं । हामीले स्वास्थ्य बीमालाई उच्च प्राथमिकतामा राखेका छौं । नेपालमा आजसम्म पनि मानिसहरु खल्तीको पैसा झिकेर उपचार गराउँने परम्परा छ । कति बेला विरामी होइन्छ, कसैलाई पनि थाहा हुन्न । विरामी परेको बेलामा खर्च गर्ने पैसाको अभाव हुन सक्छ । अधिकांश नेपालीले आफ्नो स्वास्थ्यको लागि लगानी गर्न गरेका छैनन् । जबकी विकसित देशका सबै नागरिकले स्वास्थ्य बीमा गरेका हुन्छन् । नेपालमा पनि सरकारी स्तरबाट, निजी स्तरबाट स्वास्थ्य बीमाका काम भईरहेका छन् । तर आम नेपालीले स्वास्थ्य बीमा गरेका छैनन् । धेरै मानिसहरुले स्वास्थ्य बीमा बुझेका छैनन्, बुझ्ने क्रममा छन् । जबसम्म स्वास्थ्य बीमा मुलधारमा आउँदैन तबसम्म नेपालमा स्वास्थ्यमा आमुल परिवर्तनको कल्पना गर्न सकिदैन । त्यसैले अहिले हामीले अहिले स्वास्थ्य बीमालाई एकदमै जोड दिएका छौं । हाल वर्षको १२०० रुपैया प्रिमियम तिर्दा ५० हजार रुपैयाँसम्मको उपचार दिएका छौं । आफ्नो क्षमाता अनुसार परिवारको स्वास्थ्य स्थितिलाई हेरेर ५० हजार, १ लाख, २ लाख हुँदै १० लाखसम्मको स्वास्थ्य बीमा कार्यक्रम ल्याएका छौं । एक जना व्यक्तिले वर्षमा २५ हजार तिर्ने हो भने १० लाखसम्मको स्वास्थ्य बीमा गर्न सकिन्छ । चार जनाको परिवारले ३७ हजार रुपैयाँ तिरेर चारै जनाको १० लाखसम्मको स्वास्थ्य बीमा गर्न सकिन्छ । बीमा कार्यक्रम मेडिसिटी आफैले चलाएको हो ? आफैले होइन, मेडिसिटीले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्य गरेको छ । त्यस्तै, स्वास्थ्य बीमा बोर्डसँग पनि सहकार्य गर्न तयारीमा छौं । सामाजिक आर्थिक अभियान, बीमा, संस्थागत साझेदारीका विषयमा धेरै कुरा भए । मेडिसिटीको कोर विजनेश कस्तो छ ? हामी सबै प्रकारको स्वास्थ्य सेवा दिईरहेका छौं । मेडिसिटीका हरेक सेवालाई उत्कृष्ट बनाउने लक्ष्य लिएका छौं । हरेक विभागलाई उत्कृष्टताको केन्द्र बनाउदै छौं । मुटुरोग सम्बन्धी, पेटका विभिन्न रोग सम्बन्धी, पिसाब रोग सम्बन्धी, आमा र बच्चाको स्वास्थ्य जस्ता स्वास्थ्य सम्बन्धी सबै विभाग उत्कृष्ठ बनाउने प्रयास छ । हामीले विश्वमा प्रयोग भएका नयाँ प्रविधि र प्रकृयालाई पछ्याउन प्रयास गरिरहेका छौ जसलाई अन्तरास्ट्रिय स्तरमा मान्यता प्राप्त होस् । नेपालीलाई मात्र होइन विदेशीलाई पनि उपचारको लागि नेपाल आउने बातावरण हामी बनाउँदै छौं । अहिले नै विभिन्न देशबाट उपचारको लागि नेपाल मेडिसिटी आउन थालेका छन् । कुन कुन देशबाट उपचार गराउन मानिसहरु यहाँ आउँछन् ? थाईल्याण्ड, बाङ्लादेश, भुटान र अन्य देश जहाँ सीधा हवाई उडान सेवा छ, ती देशहरुबाट पनि बिरामीहरु आउने गरेका छन् । नेपालको मौसम एकदमै राम्रो छ । न धेरै गर्मी हुन्छ, नै धेरै जाडो हुन्छ । हामी प्रकृतिको नजिक रहेर काम गरिरहेका छौं । अरु देशमा भन्दा नेपालमा उपचार सस्तो पर्छ । यी सबल पक्षलाई लिएर हाम्रो टिमले इन्टरनेशनल मार्केटमा मार्केटिङ गरिरहेको छ । मेडिसिटी कति महँगो अस्पताल हो ? प्रतिस्प्रर्धी संस्थाको मुल्य, हामीले दिने सेवाको स्तर, नेपालीको खर्च गर्ने क्षमता र हाम्रो लगातमा केही नाफा समेतलाई जोडेर दिएर सेवा शुल्क तय गरेका छौं । आम रुपमा बुझ्ने गरी भन्नु पर्दा अहिले नेपालका अन्य ठूला अस्पतालले भन्दा १५/२० प्रतिशत सस्तो शुल्क तोकेका छौं । भर्खरै हामीले मुटुको बाईपास सर्जरीको शुल्क तोकेका छौं । त्यो शुल्क सरकारी अस्पताल गंगालाल सरहको छ । मेडिसिटीको भौतिक संरचना, यहाँको अत्यन्तै राम्रो वातावरण देखेर यहाँ महँगो होला भनेर मानिसहरु सोच्छन् तर वस्ताविकमा त्यस्तो महँगो छैन । जसले मेडिसिटीमा एक पटक उपचार गर्छन, त्यसपछि विरामी पर्दा फेरि मेडिसिटी नै आउँछन् । कुनै पनि विरामीको उपचारमा लाग्ने शुल्कमा पूर्वाधार निर्माणको लागतले कति प्रतिशत हिस्सा लिन्छ, सेवा दिँदा लाग्ने सञ्चालन खर्चले कति प्रतिशत लिन्छ र नाफामा कति प्रतिशत जान्छ ? हामीले दिने सेवाको मूल्य सूचि सार्वजनिक गर्दै आएका छौं । सञ्चालन खर्च कम गर्नको लागि हामीले केही नयाँ विधिहरु प्रयोग गरेका छौ । पूर्वाधार निर्माणमा करिव १० अर्ब रुपैयाँ लगानी भएको छ । सबै प्रकारका विरामीको उपचारको लागि आवश्यक सबै सुविधा उपलब्ध छन् । सेवाको मूल्यमा लागतको असर हुन्छ नै । तर हामी लगानी छोटो अवधिमा उठाउने, तत्काल नाफा खोज्ने पक्षमा छैनौं । नाफा नोक्सान बराबरीको अवस्थामा आउन ४/५ वर्ष लाग्छ । निजी क्षेत्रको अस्पतालमा विरामीले तिर्नु पर्ने विल अस्वभाविक रुपमा बढी आउने गुनासो सर्बसाधारणको छ । मेडिसिटीमा त्यस्तो हुन्छ कि हुन्न ? विजय रिमाल-महाप्रवन्धक, नेपाल मेडिसिटी नेपालका धेरै अस्पताल, पोलिक्लिनिक, क्लिनिकहरुले डाक्टरलाई व्यवसायिक साझेदारी बनाएका हुन्छन् । हरेक विरामीबाट आउने पैसा ४०/६० प्रतिशतको हिस्सेदारी गरेका हुन्छन् । यस्तो अवस्थामा डाक्टरले विरामीको एक प्रकारका जाँच गर्दा पुग्ने अवस्थामा पनि ४/५ प्रकारका जाँच गर्न भनेको हुन्छ । यस्तो अभ्यासले डाक्टर र अस्पताल दुबैलाई बढी आम्दानी हुन्छ तर विरामीलाई बढी आर्थिक भार परेको हुन्छ । त्यसैले हामीले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई व्यवसायिक साझेदार बनाएका छैनौ । मेडिसिटीमा स्वास्थ्य कर्मीले आफ्नो आम्दानी बढाउने उदेश्यले जाँच गर्दैन । जे जस्तो उपचार गर्नुपर्ने हो त्यति मात्र हुन्छ । नेपालका अस्पतालहरुले स्वाथ्यकर्मीहरुलाई आंशिक समय राख्ने प्रचलन छ । एउटा डाक्टर ३/४ वटा अस्पतालमा काम गर्ने गर्छन् । उनीहरुले अधिकांश समय एक ठाउँबाट अर्को ठाउँमा जान बाटोमा बिताउनुपर्छ । एउटा अस्पतालमा विरामी उपचार गर्न समय नपुग्दै अर्को ठाउँमा जानु पर्ने हतार हुन्छ । उसले विरामीलाई राम्रोसँग जाँच्न पनि भ्याएको हुँदैन । विरामीले राम्रो सेवा पनि पाउँदैन । तर नेपाल मेडिसिटीमा पार्ट टाइम काम गर्ने गरी कर्मचारी वा स्वास्थ्यकर्मी राखिएको छैन । उनीहरु पूर्णकालिन हुन्छन् । स्वास्थ्यकर्मीलाई पूर्णकालिन राख्दा कुनै पनि विरामीलाई फरक फरक उपचार गर्नुपर्यो भने पनि उसले डाक्टरको पर्खाइमा लामो समय बिताउनु पर्दैन । उदाहरणको लागि हड्डी र नसाका फरक डक्टर हुन्छन् । एउटै विरामीलाई दुबै प्रकारका विशेषज्ञ चिकित्सक आवश्यक पर्यो भने हामीकोमा दुबै जना तुरुन्तै उपलब्ध हुन्छन् । यसले सेवास्तर राम्रो भएको छ । पूर्णकालिन स्वस्थ्यकर्मीले पारिश्रमिक कति लिन्छन् ? चिकित्सकको विशेषज्ञताको आधारमा हामीले ढेड लाखदेखि १० लाखसम्म तिरेका छौं ।

अब हरेक सरकारी अस्पतालमा स्तनपान कक्ष निर्माण हुने

काठमाडौं। स्वास्थ्य सेवा विभागले देशको हरेक सरकारी अस्पतालमा स्तनपान कक्ष निर्माण गर्ने भएको छ। चालु आर्थिक बर्षमा देशका बिभिन्न सरकारी अस्पतालमा  स्थनपान कक्ष स्थापना गराउने र त्यसपछि उधोग प्रतिष्ठान, सरकारी कार्यालयलगायत हरेक क्षेत्रमा पनि उक्त स्तनपान कक्ष निर्माण गरिने विभागले जानकारी दिएको छ। सरकारले युरोपियन युनियन र युनिसेफको सहयोगमा यो व्यवस्था हुन लागेको हो । स्तनपान दिवसको अवसर पारेर विभागले बुधबार आफ्नो कार्यलयमा स्तनपान कक्षको शुभारम्भ गरेकाे छ ।  कार्यलयमा कार्यरत कर्मचारी र सेवाग्राहीहरुलाई स्तनपान गराउन सजिलो होस् भनेर यस्ताे व्यवस्था गरिएकाे हाे । देशभरका अन्य कार्यलयमा  पनि यस्ताे कक्ष बनाउने लक्ष्य रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिब सुशील प्याकुरेलले बताए। विभाग पेरिसअरमा स्तनपान कक्ष स्थापना भएपछि  नजिकै रहेको सुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सेवा लिना आउने महिला र उनीहरुको बालबालिकालाई पनि फाईदा पुग्ने प्याकुरेलले बताए। कार्यक्रममा हेलेन केलर स्वास्थ्य संस्थाको पोसनविद्हरुले स्तनपानको कारण बच्चा र आमामा हुने फाईदाको बारेमा जानकारी दिएका थिए। हालको श्रम एेन, २०६४ ले स्तनपान गराउने महिलाहरुलाई ९८ दिन सुत्केरी बिदा दिन प्रभाधान राखेकोमा सिसु तथा बाल्यकालिन पोसन रणनीतिलाई छ महिनासम्म बनाउन जोड दिएको छ।