सरकारको करोडौ लगानी रहेको अस्पताल अझै सञ्चालनमा आएन
दमक । झापाको गौरीगञ्ज गाउँपालिका–६ स्थित साविकको खजुरगाछीमा निर्माण गरिएको अस्पतालको सुविधासम्पन्न भवनमा उपचार सेवा अझै शुरु हुनसकेको छैन । सरकारको करोडौं लगानीमा निर्माण गरिएको सो अस्पताल नियमित रूपमा सञ्चालन नहुँदा त्यस क्षेत्रका सेवाग्राही अन्यत्र पुगेर सेवा लिन बाध्य हुँदै आएका छन् । करिब आठ वर्षअघि निर्माण शुरु भई पटक–पटक म्याद थप गरेर छ महिनाअघि मात्र अस्पतालको तीनतले पक्की भवन निर्माण सम्पन्न गरिएको थियो । सो भवन स्थानीय सरकारलाई हस्तान्तरण भइसके पनि अस्पतालको सेवा सञ्चालन हुन सकेको छैन । खजुरगाछी बजारबाट करिब एक किलोमिटर टाढा सोही ठाउँका श्याम चौधरीले सार्वजनिक प्रयोजनका लागि उपलब्ध गराएको सात बिघा जग्गामा रहेको सो अस्पतालमा चिकित्सकको दरबन्दी र एकान्त ठाउँमा रहेका कारण मजबुत सुरक्षा व्यवस्थाको अभावमा अस्पतालको सेवा सञ्चालन हुन नसकेको अस्पताल सञ्चालक समितिका अध्यक्षसमेत रहेका वडा नं ६ का अध्यक्ष बद्रीनारायण यादवले जानकारी दिएका छन् । उनले भने, “अस्पतालको भवन त बनेको छ, तर अस्पतालअनुसार एक जना एमबीबीएस चिकित्सकसहित अन्य विभागमा पनि पर्याप्त जनशक्ति आवश्यक हुन्छ, चिकित्सक भए अन्य उपकरण तथा फर्निचरका सामान हामी आफैँले बन्दोबस्ती गरेर सेवा दिन सकिन्छ ।” एमबीबीएस चिकित्सकको दरबन्दी नभएकै कारण त्यहाँ सरकारको करोडौँ लगानी रहेको अस्पताल भवन र सामाग्रीमा उपयोगविहीन अवस्थामा पुगेको भन्दै स्थानीयवासीले तत्काल अस्पतालको सेवा सञ्चालन गर्न माग गर्दैआएका छन् । रासस
प्रत्येक ११ व्यक्तिमध्ये एक जनामा मधुमेह, विश्वमा मृत्यु हुने प्रमुख कारण मध्ये एक
काठमाडौं। आजभोलि कम उमेरका मानिसमा पनि मुटुरोग, मधुमेह, उच्च रक्तचाप जस्ता रोगहरु लाग्न थालेको छ। “त्यसका कारणहरू हाम्रै हातमा छन्”, जनस्वास्थ्य विज्ञहरु भन्छन्, “हाम्रो जीवनशैलीसँग जोडिएका कुरा छन्। हाम्रो आनाबानी, रहनसहन, खानपानका कुरा, व्यायाम नगर्ने र अर्को ठूलो समस्या तयारी खानेकुरा रहेको हो।” उनका अनुसार जीवनशैलीसँग जोडिएका कुराहरू सबै मधुमेह रोगसँग मात्रै नभई मृत्युको जोखिम निम्त्याउने अरू कारणसँग पनि अन्तरसम्बन्धित छन्। सन् २००५ मा मृत्युका प्रमुख कारणमध्ये ११ औँ स्थानमा रहेको मधुमेह सन् २०१६ मा छैटौँ स्थानमा उक्लेको एक अध्ययनले देखाएको छ। हामीलाई थाहा छ सानैदेखि ‘ब्यालेन्स डाइट’ (सन्तुलित भोजन) गर्नुपर्छ भनेर सबैले पढ्दै आएको हो। तर ‘सन्तुलित भोजन’ ग्रहण नगरेका कारण मानिस विभिन्न रोगबाट ग्रसित हुँदै आएको छ। मीठोमीठो खानेकुरा खाने नमिठो नखाने मानिसको प्रवृत्ति, उसको कार्यव्यस्तताआदि कारणले अस्वस्थ्यकर खाना खाइरहेका छन्। हाम्रो समाजमा पनि केही दशकदेखि मधुमेह एक जटिल तथा घर–घरका समस्याका रुपमा विस्तार हुँदै आएको छ। नेपाल मधुमेह समाज स्थापनाको ५० वर्षमा मधुमेहका रोगी घट्नुको साटो बढ्दै गएको छ। अङ्ग्रेजी भाषामा ‘डाइबिटिज’ भनिने यस रोगलाई नेपालीमा ‘मधुमेह’ वा ‘चिनी रोग’का रुपमा चिनिन्छ। नेपाल मधुमेह समाजका अनुसार विश्वका प्रत्येक ११ व्यक्तिमध्ये एक जनामा मधुमेह रोग लागेको पाइएको छ । मधुमेहका कारण प्रत्येक ६ सेकेण्डमा एक जनाको मृत्यु हुने गरेको छ । सन् २००० मा विश्वमा मधुमेहीको सङ्ख्या रु १७ करोड १० लाख रहेकामा सन् २०१७ को अन्तसम्ममा यो सङ्ख्या बढेर ४२ करोड ४८ लाख पुगेको छ। चिकित्सकका अनुसार भारत र चीनमा सबैभन्दा बढी चिनी रोगी (मधुमेह) छन् । नेपालमा ४० वर्षमाथि उमेरका तीन जनामध्ये एकजनामा सुरुवाती मधुमेह हुने गर्दछ । काठमाडौँमा गरिएको सर्वेक्षणमा ६० वर्ष उमेरमाथिका चार जनामध्ये एक जना यो रोगबाट ग्रसित रहेका छन्। हालसम्म नेपालमा नौ लाख मानिस मधुमेहबाट प्रभावित रहेको तथ्याङ्क छ । मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा प्रदीपकुमार श्रेष्ठका अनुसार मानिसको शरीरभित्र रहेको प्याङ्क्रिज नामक अङ्गले नियमितरुपमा ‘इन्सुलीन’ निकाल्ने काम गर्दछ । यही ‘इन्सुलीन’ मार्फत व्यक्तिको शरीरभित्र रहेको चिनी शोषण गरी रक्तनलीमार्फत शरीरका विभिन्न अङ्गभित्र पठाउँछ । इन्सुलीनले प्रभावकारी अथवा राम्ररी काम गर्न नसकेको अवस्थामा शरीरभित्र रहेको चिनी रक्तनलीको कोसिकामा पस्न नसकी शरीरमा रहेको रगतमा चिनी जम्मा हुनुलाई नै चिकित्सकको भाषामा ‘डाइबिटिज’ (मधुमेह) भनिन्छ। डा श्रेष्ठ भन्छन्, “प्याङ्क्रिजले पर्याप्त इन्सुलीन नबनाउने र लिभरले सुगर (चिनी) बढी निकाल्ने (फाल्ने) ‘डाइबिटिज’को शुरु लक्षण हो। यस्तो अवस्थामा चिनी रगतमा जम्मा भई लिभरले रगतमा चिनी नै चिनीले भरि दिने काम गर्दछ।” मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीका अनुसार कार्बोहाइड्रेटले इन्सुलीन बढी निकाल्ने तथा मानिसले दिनदिनै भात खाँदा दैनिक इन्सुलीन निकाल्छ। विश्वमा सन् १९७० पछि डाइबिटिज महामारीको रुपमा शुरु भयो । सन् १९७५/२०१५का बीच विश्वमा मोटोपना २.७८ प्रतिशतले वृद्धि भयो । वंशाणुगत गुणका कारण पनि मधुमेहको रोगी बढेको पाइन्छ। हाडजोर्नी विशेषज्ञ शैलाज रञ्जीतकारले भने,“हाम्रो शरीरमा रगत जाने नशा टाउकादेखि पैतालासम्म फैलिरहेका हुन्छन् । मानिसको खुट्टामा डाइबिटिज भयो भने खुट्टामा इन्फेक्सन हुने, हड्डी बिग्रने हुन्छन्। त्यसकारण बिरामी सतर्क हुनुपर्छ र समयमा नै चिकित्सक कहाँ पुग्नुपर्छ । उहाँका अनुसार मानिसको पाइतालामा धेरै स–साना हड्डी हुन्छ। नशामा रगतको आपूर्ति राम्रो भएन भने सङ्क्रमण हुन्छ र रगत जाने नशालाई सङ्क्रमणले खाइदिन्छ।” तिलगङ्गा अप्थाल्मोलोजी इन्ष्टिच्युटका नेत्ररोग विशेषज्ञ इलि प्रधानले हरेक व्यक्तिले समयसमयमा आँखाको जाँच गर्नुपर्नेमा जोडदिँदै विश्वका आँखा रोगीमध्ये ५ प्रतिशत मधुमेहका कारण सदाका लागि आँखाको दृष्टि गुमाउने गरिएको जानकारी दिए। आँखाका रोगी समयमा नै अस्पताल पुगेर चिकित्सा सेवा लिएमा ९० प्रतिशत आँखाका ज्योति बचाउन सक्ने बताउँदै उनले ढिलो गरी अस्पताल पुगेका बिरामीको आँखाको दृष्टि बचाउन नसक्ने बताए । उनले चस्माको पावर छिटोछिटो बढ्नुका कारणमा मधुमेहको लक्षण पनि भएको बताए। चिकित्सकहरूका अनुसार, विलासी जीवनशैली र खानपानमा गरिने लापर्बाहीका कारण मधुमेहसँग सम्बन्धित समस्या बढेका छन्। खाद्य प्रविधिविज्ञ आलोक श्रेष्ठ भन्छन्, “कारणहरू हाम्रै हातमा छन् । हाम्रो जीवनशैलीसँग जोडिएका कुरा छन् । हाम्रो आनाबानी, रहनसहन, खानपानका कुरा, व्यायाम नगर्ने र अर्को ठूलो समस्या तयारी खानेकुरा हो।” मानवशरीरमा पोषण प्रदान गर्ने खालका खानाका लागि प्रयोगमा आउने सबै प्रकारका वस्तुलाई खानाकारुपमा खाद्यप्रविधिले परिभाषित गरेको उनले बताए। मानिसले खाने भात तथा रोटीमा कार्बोहाइड्रेट हुने र यसबाट ग्लुकोज निर्माण गर्ने जानकारी दिँदै प्याङ्क्रिजबाट इन्सुलीन तयार हुने उनले जानकारी दिए। हाम्रो जीवनशैलीमा आएको परिवर्तनका कारण मम, चाउमिन, चाउचाउ, बिस्कुट तथा पिज्जा, कटिरोलजस्ता आकर्षक खाद्यवस्तुको प्रयोगमा वृिद्ध हुँदै आएको छ। यसले मधुमेह रोग बढाउनमा सहयोग गर्छ। त्यसैले हरेक व्यक्तिले खानपानमा परिवर्तन ल्याउन आवश्यक भएको स्वास्थ्य क्षेत्रका विज्ञले जोडदिँदै आएका छन्। मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार मधुमेह रोग लागेका व्यक्तिले विशेष गरेर ग्लुकोजयुक्त वा सजिलै ग्लुकोजमा परिणत हुने खालको खानेकुराको सेवनमा कमी ल्याउनुपर्ने सुझाव दिन्छन् । त्यस्तै कोलेष्ट्रोलयुक्त खाना कम गर्ने र रक्तचाप नियन्त्रण गर्नुपर्छ। नेचुरल फुड अर्थात् पोलिस नगरिएका चामल, फलफुल तथा सागसब्जीको प्रयोगलाई बढाउनुपर्छ। मधुमेह भएका मानिसले थोरै थोरै गरेर दिनको ६ पटक खाना खानुपर्ने डाक्टर रेग्मी भन्छन्। किड्नीलाई भार पर्न नदिन प्रोटिन र कार्बोहाइड्रेटको मात्रा मिलाएर खाना खानुपर्छ। प्लान्ट ओरिजिनबाट बनेका तेलमा कोलेष्ट्रोल हुँदैन। एनिमल ओरिजिन फुडमा कोलेष्ट्रोल हुन्छ। मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले मधुमेहले शरीरका आन्तरिक अङ्ग आँखा, मुटु, मिर्गाैला तथा दिमागलाई हानी गर्छ भन्ने कुरा धेरैलाई थाहा नभएको बताउँदै रक्तचाप, मोटोपन आदि मधुमेहसँग जोडिएर आउने रोग भएको बताए। उनका अनुसार मधुमेहले व्यक्तिको शरीरभित्र रहेको रगतलाई बाक्लो बनाइ दिन्छ। यसले रक्तनलीको भित्री भागलाई विगारी दिने तथा रक्तनलीमा कोलेष्ट्रोल डिपोजिट गरिदिन्छ। व्यक्तिले आफनो जीवनशैलीमा सुधार गर्नुपर्ने सल्लाह दिँदै उहाँले सन्तुलित भोजन (जसमा क्यालोरीको मात्रा फिक्सड हुनुपर्छ ), दैनिक ६० मिनेट ब्यायाम, धूमपान गर्न नहुने, तौल घटाउने तथा स्ट्रेस म्यानेजमेन्ट। चिकित्सकका अनुसार के खान हुन्छ के खान हुँदैन् : अण्डा–व्यक्तिले अण्डाको पहेँलो भाग (कोलेष्ट्रोल) खान हुन्छ। व्यक्तिले खाद्यवस्तुको प्रयोग गरी खाएको कोलेष्ट्रोलको २० प्रतिशत मात्र रगतमा जम्मा हुनजान्छ। दैनिक मानिसले प्रयोग गरिने चामल, मैदा, आँपआदिमा कोलेष्ट्रोल हुन्छ । एक स्वस्थ्य व्यक्तिले दिनको एक पहेँलो भागसहितको अण्डा खान सकिन्छ। तर असन्तुलितरुपमा धेरै खान नहुने चिकित्सकको सल्लाह छ। रसबरी–मधुमेह भएका मानिसले पनि मात्रा मिलाएर रसबरी खान मिल्छ । खानै नहुने भन्ने होइन, डा रेग्मी भन्छन्। रातो मासु– सेतो मासु– परिवारमा व्यक्तिले राँगाको मासु (मटन) हप्तामा दुई दिन खान सकिन्छ । तर सेतो मासु भन्दैमा असन्तुलित रुपमा धेरै मासु खाएमा शरीरलाई हानी गर्दछ। घ्यू–घ्यू भातमा अलिकति राखेर खाने गर्नुपर्छ । घ्यूमा तारेर खानु हुँदैन । एक चम्चा घ्यू खान सक्नुहुन्छ । फाइवर प्रसस्त भएको हरियो सागपात खानुपर्छ। रोटी–आटाको रोटीमा अलि कति घ्यू लगाई दियो भने सुगर घटाउँछ । हप्तामा दुई दिन माछा पकाएर खान डा रेग्मीको सुझाव छ। मानिसले रक्सी सेवन गर्दा रगतमा चिनीको मात्रा कम हुन जान्छ । त्यसैले मात्रा मिलाएर थोरै रक्सी सेवन गर्न सकिन्छ।
चितवनमा ५७ जना एचआइभी संङ्क्रमित थपिए
चितवन । सन् २०१९ को १० महिनामा चितवन जिल्लामा ५७ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् । तेह्र हजार ६४१ जनाको रगत परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेशनका अनुसार जिल्लाको विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । फाउण्डेशनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार योसँगै जिल्लामा कार्यक्रम शुरु भएयता एक हजार ७८६ जना सङ्क्रमित पुगेका छन् । उनीहरुमध्ये एक हजार पाँच पुरुष र ७८१ जना महिला रहेका छन् । यस समयमा १६४ जनाको मृत्यु भएको सापकोटाले जानकारी दिए । मृत्यु हुनेमा ११५ पुरुष र ५९ जना महिला रहेका छन् । पुरुषहरुले आफ्नो स्वास्थ्यको ख्याल नराख्दा बढी सङ्ख्यामा मृत्यु हुने गरेको पाइएको छ । यस कार्यालयमा अहिले नियमित एआरबी औषधि सेवन गर्ने ९११ जना सङ्क्रमितमध्ये ६४ जना बालबालिका रहेका छन् । रासस