नेपालमा एक लाख २० हजार मानिस दृष्टिीबिहीन, २०२० सम्म २५ प्रतिशत घटाउने लक्ष्य

काठमाडौं।  सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिइएको छ । यस लक्ष्यलाई पूरा गर्न नेपालमा तिलगङ्गा आँखा प्रतिष्ठानलगायत आँखा स्वास्थ्य क्षेत्रमा संलग्न सबै निकायले सहकार्य गर्दै आइरहेका छन् । ‘आँखा सेवा सबैका लागि, विश्व दृष्टि दिवस मनाऔ’, भन्ने नाराका साथ आज उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे विश्वभर चेतना फैलाउन विश्व दृष्टि दिवस मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठन र अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय संस्थाले सन् २०१० को अध्ययनलाई आधार मानी सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिएको छ । उक्त दुवै संस्थाले संयुक्त रूपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनीकरण गर्न सन् १९९९ फेब्रुअरीमा ‘भिजन २०२० ः दृष्टिको अधिकार’ कार्यक्रम घोषणा गरी हरेक वर्ष अक्टोबर महीनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवसको रूपमा मनाउने गरिएको हो । नेपाल सरकार पनि उक्त सङ्गठनको राष्ट्र भएकाले सन् १९९९ नोभेम्बरमा २० वर्षे कार्ययोजना (सन् २००१–२०१९) लागू गरेको छ । दिवसका अवसरमा तिलगङ्गा आँखा प्रतिष्ठानले मुलुकभरका सामुदायिक आँखा केन्द्रमा विभिन्न कार्यक्रम गरिरहेको प्रतिष्ठानका जनसम्पर्क अधिकृत सोनु केसीले जानकारी दिए। यस दिवसका अवसरमा प्रतिष्ठानले ओखलढुङ्गा, रामेछाप, दोलखा तथा सिन्धुली र मुस्ताङका बिरामीलाई लक्षित गरी आयोजना गरिएको आँखा शल्यक्रिया शिविरमा १४४ को निःशुल्क मोतीविन्दुको शल्यक्रिया गरिएको उनले जानकारी दिए। नेपालमा आँखासँग सम्वन्धी केही तथ्य प्रतिष्ठानका अनुसार नेपालमा एक लाख २० हजार मानिस दृष्टिीबिहीन छन् । दश लाख २५ हजार मानिसमा उच्च तथा मध्यम दृष्टि दोषको समस्या छ । अन्धोपनाको ६६ प्रतिशत अन्धोपन उपचार गर्न सकिने खालका छन् । अन्धोपनका १६ प्रतिशत अन्धोपन रोकथाम गर्न सकिने खालका छन् । नेपालमा दृष्टि क्षमता कमजोर भएका मानिसमध्ये ६० प्रतिशत महिला छन् । न्यून दृष्टिको मुख्य कारणमा दृष्टि दोष, मोतिविन्दु र जलविन्दु रहेका छन् । सन् २०१४ मा नेपालमा गरिएको पहिलो र ठूलो सर्भेक्षणमा ० दशमलव ६ प्रतिशत बालबालिकामा अन्धोपन देखिएकामा ८० प्रतिशत बालबालिकाको उपचार गरेर अन्धोपन हटाउन सकिने भेटिएको थियो। अन्धोपनाका मुख्य कारण मोतिविन्दु र यससँग सम्बन्धित ६५ प्रतिशत, आँखाको पर्दाजन्य रोग १३ प्रतिशत, आँखाको नानीमा हुने अन्धोपना छ प्रतिशत, जलविन्दु पाँच प्रतिशत, दृष्टि दोष चार प्रतिशत र अन्य सात प्रतिशत रहेको छ । विश्वमा आँखा स्वास्थ्य सम्वन्धी केही तथ्य विश्वमा तीन करोड ६० लाख मानिस दृष्टिीबिहीन छन् । २५ करोड ३० लाख मानिस अन्धोपना वा न्यून दृष्टिबाट प्रभावित छन् । एक अर्ब मानिस नजिकको दृष्टि क्षमता कमजोर भएका छन् । एक करोड ९० लाख बालबालिकामा दृष्टि दोष देखिएको छ । कूल दृष्टिदोषमध्ये झण्डै ६५ प्रतिशत मानिस ५० वर्ष र माथिका उमेरका छन् । अन्धोपना र दृष्टिदोषको भार सन् १९९० को ४ दशमलव ५८ प्रतिशतबाट कम भएर २०१५ मा ३दशमलव ३७ प्रतिशतमा झरेको तथ्याङ्क छ । आँखा स्वास्थ्य सन्देश आँखाले टाढा वा नजिकको वस्तु स्पष्ट देख्न नसक्नु, धमिलो देख्नु, टाउको दुख्नु, आँखा सानो पारेर हेर्नु आदि दृष्टि दोषका लक्षण हुन् । यो समस्या जो कोही र जुनै उमेरमा पनि हुनसक्छ । आँखा धमिलो हुनासाथ सबैले नजिकको आँखा केन्द्रमा गई जचाइहाल्नुपर्दछ । हरेक पाँच अन्धोपन भएका मानिसमध्ये चारको उपचार र रोकथाम सम्भव छ । तसर्थ नजिकको आँखा केन्द्र वा आँखा अस्पतालमा गई आँखाको जाँच गरी अन्धोपना हुनबाट बचौँ र बचाऔँ ।

अशिक्षा र बेरोजगारीले गर्दा नेपालमा मानसिक रोगीहरूको सङ्ख्या बढ्दै

काठमाडौं। उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अशिक्षा, बेरोजगारी, बसाइसराई, सामाजिक विखण्डन र प्राकृतिक प्रकोपसहित गरीबीका कारण नेपालमा मानसिक रोगीहरूको सङ्ख्या दिनदिनै बढिरहेकामा चिन्ता व्यक्त गरेका छन्। संयुक्त अधिराज्य सरकार, विश्व स्वास्थ्य सङ्गठन र आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्गठन, (ओईसीडी)को संयुक्त आयोजनामा संयुक्त अधिराज्यको राजधानी लण्डनमा बुधबार सम्पन्न मानसिक स्वास्थ्यसम्बन्धी मन्त्रिस्तरीय विश्व सम्मेलनमा उनले त्यस्तो चिन्ता व्यक्त गरेका हुन्। उपप्रधानमन्त्री यादवले मानसिक स्वास्थ्य समस्या, अल्पविकसित र विकासोन्मुख देशहरूको मात्र नभई विश्व मानव समुदायकै एक गम्भीर समस्या भएको बताए। निम्न तथा मध्यम आय भएका राष्ट्रका हरेक पाँच जनामध्ये एक जनामा मानसिक रोगको समस्या रहेको वास्तविकता सुनाउँदै उहाँले दक्षिण एशियाको कूल जनसङ्ख्याको २० प्रतिशत जनता मानसिक रोगबाट ग्रसित रहेको बताए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सम्मेलनमा उपप्रधानमन्त्री यादवले नेपालको संविधानले आधारभूत स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा अङ्गिकार गरेको जानकारी दिँदै नेपाल सरकार न्यूनतम खर्चमा सरल र सहज पहुँचसहित स्वास्थ्य सुविधा प्रदान गर्न प्रतिबद्ध रहेको स्पष्ट गरे । उनले मानसिक रोगको उपचारको सरलीकरणमा पनि नेपाल सरकारले विशेष ध्यान दिएको जानकारी दिए। रासस

सिद्धार्थ बैंकका ग्राहकले सुमेरु सिटी अस्पतालमा १२ प्रतिशत छुट पाउने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडका ग्राहकहरुले सुमेरु सिटी अस्पतालमा उपचार गराउँदा १२ प्रतिशत छुट पाउने भएका छन् । बुधबार दुई संस्थाबीच सो मात्राको छुट दिने सम्झौता भएको हो । सम्झौता अनुसार बैंकका कर्मचारी, ग्राहक तथा ग्राहकका परिवारजनहरुले यस अस्पतालमा स्वास्थ्य सेवा लिँदा उक्त छुट पाउने छन् । उतm सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख पेमेन्ट सलुसन्स् सुरेसराज मर्हजन र सुमेरु सिटी अस्पतालका तर्फबाट कम्पनी सचिव विनोद आचार्यले हस्ताक्षर गरेका छन् । यस अन्तर्गत बैंकका ग्राहकहरुले डेविट र क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म र सिद्धार्थका बैंकका कर्मचारी तथा यूएनओ क्रेडिट कार्डवाहकहरुले विशेष १२ प्रतिशतसम्मको छुट पाउने छन् ।