नेपाल मेडिकल एण्ड ल्याब एक्सपो- २०१९ हुँदै

काठमाडौं । नेपालको सबैभन्दा ठूलो एक मात्र विस्तृत मेडिकल र डायग्नोस्टिक प्रदर्शनी “नेपाल मेडिकल शो” यहि डिसेम्बर १३–१५(मंसिर २७–२९) गतेसम्म काठमाण्डौंको भृकुटिमण्डपमा हुँदै छ । यस प्रदर्शनी संगै “नेपाल ल्याब एक्सपो” र “हेल्थकेयर सप्लाई चेन शो” पनि आयोजित हुनेछन् । उक्त कार्यक्रमको उद्घाटन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल तथा नेपाल सरकारका अन्य विशिष्ट व्यक्तिद्वारा गरिने छ । हेल्थकेयर सप्लाई चेन शो भने यसै वर्ष मात्र इ.इ.पी.सी.(इन्जिनियरिङ्ग एक्सपोर्ट प्रमोशन काउन्सिल, भारत)को सहकार्यमा हुँदै छ । यसको विषेश प्राथमिकता अस्पतालको पूर्वाधार रहने छ । नेपाल मेडिकल र ल्याब शो एस. डि. प्रोमो मिडिया द्वारा गरिने छ । नेपालको स्वास्थ र ल्याब क्षेत्रमा योगदान गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रदर्शनी यस क्षत्रको सबैभन्दा ठूलो व्यापार र ज्ञान आदानप्रदान गर्ने प्ल्याटफर्म भएकोले यस क्षेत्रमा आबद्ध सबैका लागि यो प्रदर्शनी महत्वपूर्ण रहने छ । यस अन्तर्राष्ट्रिय प्ल्याटफर्ममा विशेषतः एनेसथेजिया, बायो–मेडिकल, इ.एन.टी.,अर्थोपेडिक्स, सर्जिकल, मेडिकल, आई.सी.यू., अस्पताल फर्निचर, मेडिकल टेक्सटाइल, कन्ज्युमेबल्स, रिह्याबिलिटेशन, मेडिकल ग्यास, एक्स–रे, ल्याब इक्युपमेन्ट्, एनालाइटिकल इक्युपमेन्ट्, एजुकेशन र अन्य सेवा प्रदायकहरुको स्टल रहने छ। प्रदर्शनीमा २५० भन्दा बढी कम्पनीहरु, ८०० भन्दा बढी ब्राण्डहरु र ६ हजार भन्दा बढी भिजिटरहरुको उपस्थिति हुनेछ र यसमा पन्ध्र मुलुकका अफिसरहरु, डाक्टरहरु, नीति–निर्माणकर्ता, उद्योगपति तथा वैज्ञानिकहरु भेला हुनेछन् । नेपालको स्वास्थ्य क्षेत्र तथा ल्याब प्रवधिलाई द्रुत गति दिन यस एक्सपोले सहयोग पुर्याउने छ। यसका साथसाथै नेपालका कम्पनीहरुलाई नयाँ प्रविधि भित्र्याउन र नेपालमै यस्ता उत्पादन गर्न सक्ने मौका यो एक्सपोले दिनेछ। आगन्तुकहरुले स्वास्थ्य क्षेत्रका नयाँ प्रविधि हेर्न पाउनेछन्, जो विभिन्न अस्पताल, प्याथोलोजी ल्याब, अनुसन्धान केन्द्र, फार्मास्यूटीकल्स, खाद्य उद्योग, विश्वविद्यालय, ल्याबहरु तथा आपुर्तिसंग सम्बन्धित रहनेछन्। एस. डि. प्रोमो मिडिया ल्याबोरेटरी, वैज्ञानिक, एनालाइटिक, अप्टिकल, शैक्षिक, अप्थ्याल्मोलोजी, फार्मा र मेडिकल क्षेत्रको आवश्यकता पु¥याँउदै आइरहेको संस्था हो। भारत, पूर्वीअफ्रिका, मध्यपूर्व, दक्षिण एसिया, र दक्षिण–पूर्वी एसिया लगायतका बजारहरुमा यसको लामो अनुभव तथा विशेषज्ञता छ । यस प्रदर्शनी तथा सम्मेलनका आयोजकहरुले हेल्थकेयर र ल्याबोरेटरी उद्योगलाई बढावा मात्र नदिई नयाँ बिचार, अनुसन्धानका अवसर, खोज र सिनर्जीलाई प्रोत्साहन गर्ने अपेक्षा गरेका छन्।

नर्भिक हस्पिटलले पायो ‘सफलताको शिखर अवार्ड’, वर्ल्ड बिजनेस लिडरबाट सम्मानित

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले ‘सफलताको शिखर अवार्ड’ पाएको छ । हस्पिटलले हालै मलेसियाको क्वालालम्पुरमा अमेरिकी चेम्बर अफ कमर्सको एक निकाय वर्ल्ड कन्फडेरेसन अफ बिजिनेसेस(वर्ल्डकब)द्धारा उक्त अवार्ड पाएको हो । उक्त सम्मान मलेसियाको क्वालालम्पुरमा आयोजित एक अन्तर्राष्ट्रिय समारोह द बिज एमिया २०१९का बीच नर्भिकलाई प्रदान गरिएको हो । उक्त सम्मान वल्र्डकबका विगतका समारोहहरुमा अर्थात् द बीज सम्मान समारोहमा सम्मानित र पुरस्कृत भएका संघ संस्था जो विगतको सम्मान पश्चात् पनि आफ्नो उत्कृष्टता कायमै राख्न सफल हुन्छन्, तिनलाई मात्रै प्रदान गरिँदै आएको वर्ल्डकबले जनाएको छ । उक्त समारोहमा नर्भिकलाई वल्र्डकब परिवारको प्लेटिनम मेम्वर समेत प्रदान गरियो । वर्ल्डकबले नर्भिकलाई आगामी दिनहरुमा यसका सेवाका स्तरलाई उकास्न भरमग्दुर र निरन्तर प्रयास गर्ने प्रतिबद्धता समेत दोहोर्याएको छ । नवीनतम् प्रविधिका क्षेत्रमा नर्भिकलाई सहयोग गर्दै यसलाई अन्तर्राष्ट्रिय स्तरमा विकसित पार्न हर-सम्भव उपायहरुको अवलम्बन गरिने समेत बताएको छ । उपरोक्त पुरस्कार/सम्मानका अलावा नर्भिकलाई स्वास्थ्य सेवामा विश्व व्यवसायिक नेतृत्व(वर्ल्ड बिजनेस लिडर) नामक सम्मानका साथ यसलाई ठूलो प्रेरणादायी संस्थाका रुपमा समेत सम्मान गरिएको थियो । वर्ल्डकबका तर्फबाट मलेसियाका लागि नेपालका राजदूत उदयराज पाण्डेले एक विशेष समारोहबीच उपरोक्त पुरस्कार तथा सम्मानहरु नर्भिकका पदाधिकारीहरुलाई अर्पण गरेका थिए । नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले नेपाली स्वास्थ्य सेवाका फाँटलाई अन्तर्राष्ट्रिय स्तरमा उकास्न खेलेकी प्रभावकारी एवम् नेतृत्वदायी भूमिकावापत उनलाई वर्ल्ड लिडर बिजिनेस पर्सनसम्मानद्धारा पुरस्कृत गरिएको थियो । आफ्नो संस्थामा नवीनतम्, सुविज्ञ र व्यवस्थित वातावरणको सिर्जना गर्दै नेपाली स्वास्थ्य सेवाका फाँटलाई उकास्न मद्दत पुर्याएवापत उनलाई सो पुरस्कारले सम्मान गरेको वर्ल्डकबले जनाएको छ । सो अवसरमा नर्भिकका पदाधिकारीहरुका साथ कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहलाई पनि व्यवसायिक नेतृत्वमा सर्वोत्कृष्ट विषयक सम्मान प्रदान गरिएको थियो । वर्ल्डकबले आ-आफ्ना क्षेत्रमा विश्वव्यापी ख्याति प्राप्त गरेका र नेतृत्वदायी भूमिका खेलेका कम्पनी तथा व्यक्तित्वहरुलाई सम्मानित र पुरस्कृत गर्ने गर्दछ । उत्कृष्ट स्वास्थ्य सेवाको रजत महोत्सव मनाइसकेको नर्भिकले नेपाली निजी क्षेत्रका हस्पिटलमध्ये सर्वप्रथम “ग्लोवल ग्रिन एण्ड हेल्दी हस्पिटल्स्”, अमेरिकाको सदस्यता प्राप्त गरेको थियो । नेपालमै सर्वप्रथम आइ.एस.ओ. प्रमाणीकरण र उत्कृष्ट प्रयोगशाला सेवाका लागि एनएबीएल प्रमाणिकरण पाउने नर्भिकले यसपूर्व युरोप बिजिनेश एसेम्बेली, बेलायतबाट उत्कृष्ट क्षेत्रीय हस्पिटल, नेपालको उत्कृष्ट इम्प्लोयर ब्राण्ड र जर्मनीको बर्लिनमा अन्तर्राष्ट्रिय क्वालिटी च्वाइस प्राइज जस्ता सम्मान/पुरस्कारहरु प्राप्त गरिसकेको छ ।

पच्चीस जिल्ला अनुगमनमा मात्र तीन निरीक्षक

बाँके । विभागको कार्यक्षेत्र तत्कालीन मध्य र सुदूरपश्चिमका २५ जिल्ला रहेको छ । तर अनुगमनका लागि दक्ष प्राविधिक जनशक्ति कार्यालय प्रमुखसहित तीन जना मात्रै रहेका छन् । विभागमा अनुगमनको मात्रै नभई मेडिकल दर्ताको जिम्मेवारी पनि रहेको छ । बाँकेको नरैनापुर गाउँपालिकामा उपचारका क्रममा दुईको मृत्यु भएपछि विभागसहित पुगेको प्रशासनको टोलीले छापा मार्दा नेपालमा दर्ता नभएका औषधि बिक्री भएको खुलेको थियो । त्यहाँ न त मेडिकल दर्ता थियो, न विभागमा दर्ता भएका औषधि नै । “उजुरी र गुनासो आएका ठाउँमा अनुगमनमा प्राथमिकता दिने गरेका छौँ । कार्यक्षेत्र ठूलो र जनशक्ति कम हुँदा सबै ठाउँमा अनुगमन गर्न सकिरहेका छैनौँ । जनशक्तिले भ्याएसम्म फार्मेसी तथा मेडिकलको अनुगमन गरिरहेको छौँ ।” औषधि व्यवस्था विभाग नेपालगञ्ज शाखाका प्रमुख नीनु श्रेष्ठले भने । अनुगमन नै नहुने भएपछि मेडिकल तथा फार्मेसी मापदण्डबमोजिम छन् वा छैनन् भन्ने यकिन गर्न सकिने अवस्था छैन । जिल्ला–जिल्लामा संयुक्त बजार अनुगमन समिति छन् । गाउँ नपुगे पनि सदमुकाममा हुने अनुगमनका क्रममा पसल दर्ता छन् वा छैनन् समितिले हेरे पनि विभागमा दर्ता भएका औषधिबाहेकका औषधि बिक्रीमा छन् वा छैनन् ठम्याउन सक्ने अवस्था छैन । शाखामा मात्रै २५ जिल्लाका चार हजार बढी औषधि बिक्रेता दर्ता छन् । गाउँसम्म अनुगमन पुग्न विभागसँग जनशक्ति छैन । “नरैनापुरका प्रत्येक वडामा औषधि बिक्रेता छन्”, नरैनापुरका विनय दीक्षित भन्छन्, “अनुगमन नहुँदा उनीहरु कानूनी हुन् वा होइनन् स्थानीयवासीले कसरी ठम्याउने ?” “दर्ता पसलमा बिक्रीका लागि राखिएको औषधि जाँच मात्रै गर्नका लागि पुग्ने जनशक्ति छैन”, शाखा प्रमुख श्रेष्ठ भन्छन्, “तीन जना निरीक्षक सबै ठाउँ पुग्न सम्भव छैन ।” मेडिकल दर्ताको जिम्मेवारी पनि शाखा कार्यालमै रहेको छ । विभिन्न जिल्लाबाट आउने सेवाग्राहीलाई सेवा दिन कम्तीमा चार जना कर्मचारी कार्यालयमै रहनुपर्ने बाध्यता समेत रही आएको छ । “विभागले हेरेन भन्ने गुनासो आउँछ, हाम्रो जिम्मेवारी पनि हो, तर जनशक्ति कम हुँदा सबै ठाउँ पुग्न नसकेका हौँ”, शाखा प्रमुख श्रेष्ठले भने । सङ्घीयतापछि बजार अनुगमनको जिम्मेवारी स्थानीय तहमा पनि छ । तर, सबै स्थानीय तहले अनुगमन समिति बनाएका छैनन् । बनाएका स्थानीय तहसँग पनि सबै क्षेत्रका विज्ञ उपलब्ध हुने अवस्था छैन । “स्थानीय तहले पनि फार्मेसी निरीक्षकसहितको अनुगमनको व्यवस्था गर्नुपर्छ”, उनले भने, “स्वास्थ्यको जिम्मेवारी पनि स्थानीय निकायमा छ, कम्तीमा फार्मेशी निरीक्षकको व्यवस्था हुने हो भने बेथिति छ÷छैन अनुगमन र भए नियन्त्रण गर्न सहज हुन्थ्यो ।” यस वर्ष विभागले गरेको अनुगमनमा चार मुद्दा दर्ता भइसकेका छन् । रासस