नर्भिकले गर्यो यस वर्षको विश्व मुटु दिवसको सुरुवात
काठमाडौं। विश्व मुटु महासंघको आह्वानमा सन् २००० को सेप्टेम्बर अन्त्यदेखि मनाउन थालिएको विश्व मुटु दिवस यस वर्ष सेप्टेम्बर २९ तारीखका दिन विश्वमुटु महासंघका विश्वभरका १५० भन्दा बढी सदस्य राष्ट्रहरूमा मनाइदैछ । विश्व मुटु महासंघको सन् २००५ को तथ्याङ्कअनुसार विश्वभर हरेक वर्ष १ करोड ७५ लाख भन्दा बढी मानिसहरूले रक्तनली, पक्षाघात तथा मुटुजन्य रोगका कारण ज्यान गुमाइरहेका छन् । हाल उक्त संख्या बढेर झण्डै २ करोड पुग्न लागेको अनुमान छ । तसर्थ मुटुरोगलाई संसारकै एक नम्बरको ज्यानमारा मानिन्छ । अर्कोतर्फ मुटुजन्य रोग लागी त्यसले ज्यान नलिए पनि अङ्गभङ्ग हुने लगायतका अन्य जटिलताहरू समेत निम्त्याउने गर्दछ । हाल विश्वमै मानव मृत्युको प्रमुख कारण हुँदै त्यसले सिर्जना गर्ने सामाजिक र आर्थिक बोझमा पनि मुटुजन्य रोगजस्ता नसर्ने रोगको हिस्सा एक नम्बरमै रहेको छ । त्यसखाले विकराल समस्याबाट जोगिने भनेकै मानिसहरूलाई रोग लाग्नबाट कसरी बचाउने भन्ने हो । यसमा जनचेतनाको अत्यन्तै ठूलो भूमिका रहन्छ । विश्व मुटु दिवसका अवसरमा संसारभर नै वृहत् मुटु परीक्षण शिविरहरू, वैज्ञानिक एवम् चिकित्सकीय गोष्ठी तथा कार्याशालाहरू एवम् जनचेतनाको अभिवृद्धि गराउने खालका प्रबचनलगायत प्रभातफेरि जस्ता कार्यक्रमहरू गरिन्छन् । त्यसकै सिलसिलामा गत वर्ष नर्भिकमा विविधखाले मुटुरोगका सफलतापूर्व उपचार गराई नव जीवन प्राप्त गरेका विरामीहरु, चिकित्सकहरु, नर्भिकका कर्मचारीहरु र सर्वसाधारणलाई संलग्न गराई आज काठमाडौंमा एक वृहत् प्रभातफेरि कार्यक्रमको आयोजना गरिएको थियो। उक्त प्रभात फेरिमा नर्भिक हस्पिटलका मुटुरोग विभागीय निर्देशक प्रा.डा. यादवदेव भट्ट सहित अन्य मुटुरोग विशेषज्ञहरू, कर्मचारीहरू लगायत, संघ संस्थाका पदाधिकारीहरू गरी करिब २०० जना सहभागी थिए । प्रभातफेरि बिहान ७ः०० बजे नर्भिकको प्राङ्गणबाट सुरु भई बबरमहल, अनामनगर, थापागाउँ, मध्य बानेश्वर/ महादेवस्थान, अनामनगरबाट बबरमहल हुँदै नर्भिक पुगेर टुङ्गिएको थियो ।
नबिल फाउण्डेशन र तिलगंगा अस्पताल बीचमा समझदारी
काठमाडौं। आँखाको नानीमा समस्या भएको कारण दृष्टिविहीन भएर रहनु परेका तथा आर्थिक अभावले गर्दा उपचार समेत पाउनबाट बञ्चित दृष्टिविहीनहरुको हितलाई मध्यनजर गर्दै नबिल फाउण्डेशन र तिलगंगा आँखा प्रतिष्ठानका बीचमा मिति २०७५/०६/०९ मा एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । यस समझदारीपत्र अनुसार सहयोग आवश्यक रहेको भनी तिलगंगा आँखा प्रतिष्ठानद्वारा सिफारिश गरिएका त्यस्ता व्यक्तिहरुमा आँखाको नानी प्रत्यारोपण गर्नका लागि नबिल फाउण्डेशनले तिलगंगा आँखा प्रतिष्ठान मार्फत गत वर्ष देखि आर्थिक सहयोग उपलब्ध गराउदै आएकोमा थप दुई वर्षको लागि उक्त सहयोग उपलब्द गराउने सम्झौता भएको छ । यस कार्यक्रमलाई “नबिल फाउण्डेशन सँगको सहकार्यमा तिलगंगाद्वारा सबैका लागि दृष्टि” भनी सम्बोधन गरिएको छ । सो कार्यक्रममा नबिल फाउण्डेशनका अध्यक्ष श्री दयाराम गोपाल अग्रवालले आँखा दान र प्रत्यारोपण जस्तो यस पवित्र अभियानमा फाउण्डेशनले केही सहयोग विस्तार गर्न सकेकोमा सन्तुष्टी व्यक्त गरेका थिए। नबिल बैंक सञ्चालक समितिका अध्यक्ष श्री शम्भु प्रसाद पौड्यालले नबिलल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्नका लागि नै नबिल फाउण्डेशनको स्थापना भएको र तिलगंगा आँखा प्रतिष्ठान जस्तो सम्मानित संस्थासँग सहकार्य गर्न पाउँदा गौरवको अनुभुति भएको समेत बताए। तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. श्री रीता गुरुङ्गले मानिसहरुलाई दृष्टिविहीन हुनबाट जोगाउन तिलगंगा आँखा प्रतिष्ठानले अनवरत प्रयास गरीरहेको र यसमा अझै धेरै कार्य गर्न बाँकी रहेको सन्दर्भमा नबिल फाउण्डेशनले यस पवित्र कार्यमा सहयोगका हातहरु अघि बढाएको भन्दै सहयोगको प्रशंसा गरेकी थिईन्। साथै, वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.श्री सन्दुक रुईतले समेत फाउण्डेशनको यस कार्यको सह्राना गरेका थिए।
नेपाल क्यान्सर अस्पताल र लायन्स क्लब मिलेर क्यान्सर बिरुद्द लड्दै
नेपाल क्यान्सर हस्पिटल र लायन्स क्लब डिस्ट्रिक्ट ३२५ बी १, एम. डि ३२५ नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। विश्वमै फैलिएको डरलाग्दो क्यान्सर रोगका कारण हजारौं मानिसहरु मृत्युवरण गरिरहेका छन् । अझ हाम्रो जस्तो अविकसित मूलुकमा अशिक्षा, गरीवि, कुसंस्कार र यस सम्बन्धी चेतना, औषधि उपचार र अन्यश्रोत साधनका अभावका कारण वर्षेनि हजारौं मानिसले ज्यान गुमाएका छन् भने परिवारका सदस्यहरुले झन कष्टदायी जिवन विताउन बाध्य छन् । आर्थिक अभाव र मानसिक तनावले रोगीहरुलाई असर परिरहेको परिप्रेक्षमा विश्वमा नै रोगीलाई आत्माविस्वास दिलाउदै उपचार गर्ने प्रचलनले आज धैरे हद सम्म रोगीको आयु लम्ब्याउन सफल भएको छ । नेपालमा पनि उपचारसंग—संगै रोगी र उसको परिवारलाई विश्वास दिलाउदै रोगीको उपचारमा रेखदेख गर्दै आत्माविश्वासका साथ बांच्न सिकाउदै रोग विरुद्ध लड्न संजालमा आबद्ध गर्दै सबै प्रकारका क्यान्सरका रोगीहरु र उनिहरुका परिवार समेत समावेस गरि डाक्टर, बुद्धिजिवी, समाजसेवी, स्वास्थ्यकर्मी लगायत नागरिक समाजका सवै वर्ग समेत सामेल भई रोग नियन्त्रण भईसकेकालाई आत्माविश्वासका साथ बांच्न सिकाउने र रोग पत्ता लागि सकेका असहाय विरामीहरुलाई सकेको सहयोग गर्ने उद्देश्यले नेपाल क्यान्सर हस्पिटल र लायन्स क्लबको बिचमा सम्झौता भएको छ। नेपालमा दिनानुदिन बढ्दै गैरहेको क्यान्सर रोगको व्यवस्थापनका लागि विभिन्न अस्पताल, क्लब, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संगठन संग भैरहेको सम्झौताहरुको सिलसिलामा क्यान्सर हस्पिटल र लायन्स क्लब डिस्ट्रिक्ट ३२५ बी १, एम। डि। ३२५ नेपाल बीच असोज ११ गतेका दिन सम्झौता भएको छ। नेपाल क्यान्सर हस्पिटलका तर्फबाट हस्पिटलका कार्यकारी अध्यक्ष डा.सुदिपश्रेष्ठ र लायन्स क्लबका तर्फबाट लायन अशोक कुमार श्रेष्ठद्वारा उक्त सम्झौतामा हस्ताक्षर भएको हो। दुवै संगठनले नेपालक्यान्सर रोगको रोकथाम, निदान, र उपचारका लागि आ-आफ्नो संगठनात्मक संरचानाबाट एक आपसलाई सहयोग गर्ने संझौता गरेका छन्। यस सम्झौतामा क्यान्सर निवारण, क्यान्सर उपचार कोष स्थापना, प्रशिक्षण तथाशोध र प्रबिधि हस्तान्तरण आदिका बुँदा रहेका छन्। सम्झौतामा नेपाल क्यान्सर हस्पिटल र लायन्स क्लबका बीच विभिन्न समयमा क्यान्सर जांचशिविर तथा सचेतनाकक्षा संचालन गर्ने, लायन्स क्लब ३२५ बी १ का सदस्यहरुलाई विशेष छुट प्रदान गर्ने निर्णय भएको छ। सम्झौता अनुसार नेपाल क्यान्सर हस्पिटलले लायन्स क्लब ३२५ बी १ का सदस्य, जीवनसाथी र दुइ सन्तानलाई रेडियोलोजी, प्याथोलोजी र बेडमा १० प्रतिशत, रेडियोथेरापी र ब्राकी थेरापीमा ५ प्रतिशत र हस्पिटलले प्रदानगर्ने क्यान्सर स्क्रिनिंग सेवामा दस प्रतिशत छुट प्रदान गर्ने भएको छ।