बीपी कोइरालाका तत्कालीन अध्यक्ष डा. श्रेष्ठ भ्रष्टाचारको मुद्धामा दोषी ठहर
काठमाडौं। विशेष अदालतले चितवन भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा भक्तमान श्रेष्ठलाई भ्रष्टाचारको मुद्धामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द, प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले आज उनलाई एक वर्ष कैद र रु एक करोड १८ लाख ६६ हजार ७७६ जरिवानाको फैसला गरेको विशेष अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठले जानकारी दिए। डा श्रेष्ठ अस्पतालको अध्यक्ष हुँदा रु एक करोड ६७ लाख ५७ हजार ११३ स्रोत नखुलेको (अवैध) सम्पत्ति आर्जन गरेको उल्लेख गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विसं २०७२ फागुन २ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । अदालतले रु ४८ लाख ९० हजार ३३७ बैध सम्पत्ति कमाएको ठहर गरेको छ । बाँकी रु एक करोड १८ लाख ६६ हजार ७७६ अवैध सम्पत्ति आर्जन गरेको ठहर गर्दै विशेष अदालतले यो बराबर डा श्रेष्ठको सम्पति जफत हुने फैसलो गरेको हो । अदालतले डा श्रेष्ठकी श्रीमती शिलु श्रेष्ठलाई भने सफाइ दिएको छ । डा श्रेष्ठ विशेषज्ञ चिकित्सकका रूपमा सो अस्पतालमा २०५४ सालमा सेवा प्रवेश गरी २०६४ भदौदेखि २०६७ सालसम्म क्यान्सर अस्पतालको कार्यकारी निर्देशक भएका थिए। रासस
जाडोमा कसरी आफ्नो छालाको केयर गर्ने ? अपनाउनुस् यी टिप्सहरु
काठमाडौं। चिसो मौसम छालाको खासै अनुकुल मानिदैन। चिसो वातवरण र सुख्खा हावाले गर्दा छालाको नरमपन हरेक दिन र सेकेण्ड खोसिने गर्छ। यस अवस्थामा तुरुन्तै हेरविचार नगरे सुख्खा छाला फुट्न, रगत निस्किन सक्ने र छालालाई अझै खराब बनाउँछ। गर्मी मौसममा पनि छालालाई केयर चाहिन्छ तर चिसो मौसममा यसको अझै बढी आवश्यक पर्न जान्छ। जाडो मौसममा वायुको आद्रता कम हुने गर्छ जसका कारण हावामा पानीको मात्रा कम हुन्छ । त्यस्तै, जाडोमा पानीको सेवन कम हुने तथा शरीरबाट पसिना कम आउने भएकोले पनि जाडोमा छाला सुख्खा हुने गर्छ । यस जाडोको मौसममा आफ्नो छालालाई नरम र आकर्षक राख्न् अपनाउनुस् यी टिप्सहरुः मनतातो पानीको प्रयोग गर्नुहोस् – जाडोमा तातो पानीमा नुहाउँदा आनन्द आउँछ तर जब तपाईं आफ्नो अनुहार र हात खुट्टा धुनुहुन्छ तपाईं मनतातो पानीको प्रयोग गर्नुहोस्। यसो गर्दा तपाईंको छालामा भएको चिल्लोपन कम मात्रामा बाहिर निस्कन्छ जसले गर्दा तपाईंको छाला मोस्टराईज भईरहन्छ। हरेक पटक मुख धाेएपछी मोस्टराईजरको प्रयोग गर्नुहोस् – तपाईंले आफ्नो छालालाई अझ राम्रो राख्नको लागि हरेक पटक अनुहार, हातखुट्टा सफा गर्दा मोस्टराईजरको प्रयोग गर्नुहोस्। मोस्टराईजरलाई सधैं आफ्नो बाथरुममा राख्नुहोस् र हरेक पटक छाला सफा गरिसकेपछी त्यसको प्रयोग गर्नुहोस्। मोस्टराईजर छान्दा ख्याल गर्नुहाेस् छालालाई नरमपन कायम राख्न- जाडोमा छालाको हेरचाह अत्यन्त जरुरी हुन्छ । कुनै कुनै मोस्टराइजर पेट्रोलियम आधारित सामाग्रीद्धारा बनाईएको हुन्छ जसले तपाईंको छालालाई जाडो मौसममा अझै सुख्खा बनाउन सक्छ। त्यसैले जाडो महिनामा ओयल बेस्ड मोइस्चराइजर प्रयोग गर्नु उचित हुन्छ । किनभने यसले छालामा सुरक्षात्मक सतह बनाउँछ । हाम्रो छालालाई क्रिम र लोसनलेभन्दा बढी नरम ओयलले बनाउँछ । ओयलमा पनि बदामको ओयललाई सबैभन्दा राम्रो मानिन्छ । कारण ओयलले छालाको रोम छिद्रलाई खुल्ला पार्न मद्दत गर्छ । साथै, छालालाई सुन्दर तथा जीवन्त राख्न मद्दत गर्छ त्यसैले मोस्टराईजर किन्नु भन्दा अगाडि राम्रोसँग बुझेर मात्र किन्नु होला। पन्जा र स्कार्फको प्रयोग पन्जा र स्कार्फहरू चिसो हावाहरू, वर्षा र बर्फबाट छालाको सुरक्षा गर्न प्रयोग गर्नुहोस्। गर्मीयामका लागि हाम्रो छालालाई सन्सक्रीमको अतिनै आवश्यकता पर्छ भने त्यत्ति नै जाडोयाममा पनि आवश्यक हुन्छ । जाडोको घामको किरण पनि गर्मीको घामको किरण जस्तो हानिकारक हुनसक्छ, त्यसैले घरबाट निस्कनुअघि आफ्नो छालामा उचित सन्सक्रीम लगाउनुपर्छ । प्रशस्त पानी पिउने जाडो मौसममा हामी एकदम कम मात्रामा पिउने गर्छौ। पानी पिउनको साटो हामी कफी, चिया र अन्य तातो झोल पदार्थ पिउने गर्छौ तर यो कुरा नबिर्सनुहोस् कि तपाईंको छालालाई भित्रमात्र नभएर बाहिरबाट पनि हाइड्रेशनको आवश्यक हुन्छ। पानीको कमीले आँखाको घेरामा कालो आउनु, ओठ सुख्खा हुनु, हात खुट्टाको छाला सुख्खा र कालो हुने हुन्छ । त्यसैले पर्याप्त मात्रामा पानी पिउनुपर्छ, जसबाट छालालाई स्वास्थ्य र मुलायम राख्न सकिन्छ । कागतीसँग मनतातो पानीको प्रयोगले तपाईलाई धेरै ताजा र छालालाई सुख्खापनबाट बच्न मद्त पुर्याउँछ। हातखुट्टाको केयरमा बढी ध्यान दिने हात, खुट्टा र घुँडाहरूले शरीरमा अन्य क्षेत्रहरूको तुलनामा छिटो मुलायमता गुमाउँछन्। त्यसैले, राती सुत्न भन्दा अगाडी शरीरका यी भागमा मोस्टराईजर प्रयोग गरी त्यसको मुलायमपनलाई पन्जा र मोजा प्रयोग गरी बचाउनु होला। खुट्टाको हेरचाह जाडोमा खुट्टाको हेरचाह पनि उत्तिकै जरुरी छ । जाडोमा हावा सुख्खा हुदाँ अधिकांश मानिसमा खुट्टा फुट्ने समस्या धेरै हुने गर्छ । यसको रोकथामको लागि पनि मोस्टराईजर क्रिमको साथमा राती मोजा लगाएर सुत्नु राम्रो हुन्छ । यसले छाला नरम बनाउनुका साथै छालालाई फुट्न दिँदैन । हुन त जाडोमा छालाको स्याहार भन्न साथ हाम्रो दिमागमा ग्लिसिरिन तथा मोस्टराईजरको प्रयोग नै भन्ने बुझिन्छ । जबकी आवश्यक मात्रामा फयाटी एसिड, माछाको तेल, प्रिम रोज तेल, एभोकार्डो, आलस इत्यादीको सेवन बढाएर पनि छालाको सुख्खापनालाई जरादेखि हटाउन सकिन्छ । कपालको हेरचाह जाडोमा छालाको स्याहार जस्तै कपाल पनि अछुतो रहदैन । कपालको हेरचाहका लागि सलफेट नभएको स्याम्पूको प्रयोग गर्नु पर्छ । यसले कपाल सुख्खा हुन दिँदैन । त्यस्तै, जाडोमा यसै पनि हावा सुख्खा हुने भएकोले कपालमा आइरन तथा ड्रायरको प्रयोग नगर्न चिकित्सकहरु सुझाव दिने गर्छन् । कन्डिसनर वा मोस्टराईजर भएको हेयर प्याक लगाउन सकिन्छ ।
पाँच वर्षमुनिका बालबालिकालाई बुथमा लिएर जाने कि ?
काठमाडौं । शिशु जन्मेको छ महीना पुग्यो ? अथवा पाँच वर्षमुनिको छ ? छ भने भोलि(बुधबार) पायक पर्ने ‘बुथ’मा लिएर जाने तयारी गर्नुहोला । मतदान गर्न होइन नि बुथमा १ आफ्ना शिशुलाई स्वस्थ बनाउन एकैपटक चार सेवा भिटामिन ए, जुकाको औषधि (अल्वेन्डाजोल), पाखुराको नाप र बालभिटा प्राप्त गर्न । यसका लागि देशभर ३६ हजार बुथमा ६० हजार स्वयम्सेविका/स्वास्थ्यकर्मी जनशक्ति तयारी अवस्थामा रहेका छन् । कात्तिक १४ र १५ गरी दुईदिन भिटामिन ए खुवाउने कार्यक्रम सञ्चालन हुँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ)लगायत बालबालिकाका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय दातृ निकायको उच्च प्राथमिकता प्राप्त कार्यक्रमभित्र सो कार्यक्रम पनि रहेको छ । मन्त्रालयले एक वर्षमा वैशाख ६ र ७ तथा कात्तिक २ र ३ गते सो कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने गर्दछ । यस वर्ष महान् पर्व बडादशैँ परेकाले मन्त्रालयले कात्तिक १४ र १५ गते सो अभियान सञ्चालन गर्न लागिएको हो । पहिलोचोटि यस पटक ती कार्यक्रमको नेतृत्व पालिका (गाउँपालिका/नगरपालिका)ले गर्दैछन् । “देशभरका ७५३ पालिकामार्फत् ती चारवटै सेवा प्रदान गर्न सबै तयारी पूरा भयो”, बालस्वास्थ्य शाखाअन्तर्गतका पोषण शाखा प्रमुख केदार पराजुली भन्छन्। उनका अनुसार भिटामिन ए क्याप्सुल छ महीनादेखि पाँच वर्षमुनिका करीब २७ लाख तथा एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख ५६ हजार ८५३ बालबालिकालाई अल्वेन्डाजोल एक ट्याबलेट खुवाइनेछ । अल्वेन्डाजोल चकलेट स्वादमा रहेको छ । “भिटामिन ए ले बालबालिकालाई रतन्धो हुनबाट जोगाउँछ, रोगसित लड्ने क्षमतामा वृद्धि हुँदा उनीहरुलाई झाडापखाला, श्वास प्रश्वासलगायतका सङ्क्रमणबाट जोगाउँछ”, बाल स्वास्थ्य महाशाखाका प्रमुख डा झलक गौतम बताउँछन् । भिटामिन ए खुवाउने कार्यक्रम शुरु भएको लामो समय बितिसके पनि अझै चार प्रतिशत बालबालिकामा भिटामिन ए अभावको समस्या रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । यसैगरी बालबालिकाका लागि अति आवश्यक सुक्ष्म पोषक तत्वका रुपमा बालभिटा खुवाइदैछ । सन् २००८ देखि छ महीनादेखि दुई वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउन शुरुआत गरिएको थियो । बालभिटाभित्र विभिन्न १५ किसिमका पोषकतत्व मिश्रण गरिएको हुन्छ जुन बिहान खानामा मिसाएर खुवाउन पर्छ । करीब छ लाख ६० हजार बालबालिकालाई सो बालभिटा वितरण गरिनेछ । विज्ञका अनुसार २३ महीनाभित्र १८० प्याकेट बालभिटा खुवाउनु पर्छ । यस पटक बालभिटाको कार्यक्रम ४१ जिल्लामा सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ । पाखुराको नाप किन ? मन्त्रालयले छ महीनादेखि पाँच वर्षमुनिका बालबालिकाको पाखुराको नाप लिन अनिवार्य गरेको छ । “पाखुराको नापले बालालिकाको पोषणको स्थितिलाई देखाउँछ । नापले रातो, पहेँलो र हरियो अवस्था देखिन्छ । रातोले कडा कुपोषित, पहेँलोेले मध्यम र हरियोले कुपोषित अवस्था देखाउँछ”, पोषणशाखा प्रमुख पराजुली भन्छन् । कुपोषित देखिएका बालबालिकाका अभिभावकलाई पोषण खानाको महत्व, स्थानीय तहमा अन्न तथा फलफूलमा पाइने पोषणका बारेमा जानकारी एवं लिटोका लागि पीठोसमेत वितरण गरिने कार्यक्रम रहेको छ । बाल स्वास्थ्य महाशाखा प्रमुख डा. गौतमका अनुसार यस पटक ती कार्यक्रमका लागि ३६ हजार बुथ रहने छन् । ती बुथमा ६० हजार स्वास्थ्यका जनशक्ति परिचालन हुने छन् । पहिलो दिनमा स्वयमसेवीका/स्वास्थ्यकर्मीले बुथमा आएका बालबालिकालाई ती सेवा प्रदान गर्नेछन् । पहिलो दिनमा छुटेका बालबालिकालाई स्वयमसेवीकाले दोस्रो दिन घर घरमा गई ती सेवा प्रदान गर्ने छन् । महिला स्वयमसेवी तथा । रासस