लुम्बिनी प्रादेशिक अस्पतालको सेवाप्रति ९७ प्रतिशत बिरामी असन्तुष्ट
रुपन्देही- लुम्बिनी प्रादेशिक अस्पतालको सेवाबाट बिरामीहरु असन्तुष्ट देखिएका छन्। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक एक हजार २०० बिरामी उपचारका लागि आउने गरे पनि अधिकांशले अस्पतालको उपचार सेवा राम्रो नभएको बताएका छन्। अस्पतालमा चिकित्सक र नर्सले गर्ने व्यवहारदेखि सरसफाइ, खानेपानी र फार्मेसी सेवा सम्बन्धमा पनि बिरामीले गुनासो गरेका छन्। प्रदेश नं ५ को सरकारले अस्पतालले दिने सेवा सम्बन्धमा गरेको अध्ययनमा अधिकांश बिरामीले अस्पतालको सेवाबाट असन्तुष्टि व्यक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सचिव एवं टेकनारायण पाण्डेले बताए। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको सर्वेक्षणअनुसार अस्पताल आउने बिरामीमध्ये ९७ प्रतिशत बिरामीले अस्पतालको सेवाबाट सन्तुष्ट नभएको बताएका थिए। बाँकी तीन प्रतिशत बिरामीले मात्रै अस्पतालको सेवा राम्रो भएको प्रतिक्रिया दिएका थिए। बिरामीले अस्पतालमा चिकित्सक र नर्सले गर्ने व्यवहारसमेत सही नभएको बताएका थिए। अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ६९ प्रतिशतले चिकित्सकको व्यवहार ठीकठीकै लागेको प्रतिक्रिया दिएका थिए। अस्पताल आउने सात प्रतिशत बिरामीले मात्रै नर्सको व्यवहार राम्रो लागेको बताएको अध्ययनले देखाएको थियो। अस्पतालमा उपचारका लागि आउने बिरामीले प्रश्न गर्दा चिकितसक र नर्सहरुले उत्तर दिन झर्को मान्ने, बिरामीसँग राम्रो व्यवहार नगर्ने गुनासो यसअघि पनि गर्दै आएका थिए। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अस्पतालको उपचार सेवा, सरसफाइ, खानेपानी र फार्मेसी सेवाका विषयमा समेत अधिकांश बिरामीले गुनासो गरेका छन्। अस्पतालको फार्मेसीमा औषधि नभएका कारण ७५ प्रतिशत बिरामीले अस्पतालबाहिर निजी क्लिनिकबाट औषधि किन्ने गरेको बताएका थिए। अस्पतालमा आएका बिरामीमध्ये ल्याब जाँच गर्नुपर्ने बिरामीहरु चिकित्सक र नर्सको सिफारिसमै निजी क्लिनिकमा जाने गरेका छन्। अस्पतालमा ल्याब परीक्षण गराउँदा सस्तो पर्ने भए पनि आफूलाई आउने कमिशनका कारण चिकित्सक र नर्सले निजी क्लिनिकमा ल्याब परीक्षण गर्न पठाउने गरेका छन्। त्यसरी चिकित्सक र नर्सको सिफारिसमै ल्याब जाँच गर्न बाहिर जाने बिरामी ३२ प्रतिशत रहेका छन्। अस्पतालको सरसफाइमा सुधार हुन नसक्दा बिरामीका गुनासा पुरानै छन्। बिरामीहरुले प्रयोग गर्ने अस्पतालको शौचालयसमेत प्रयोग गर्न लायक छैन। शौचालयको दुर्गन्धका कारण अस्पतालमा बस्नसमेत समस्या भएको बिरामीको गुनासो छ । अस्पताल आउने ७७ प्रतिशत बिरामीले अस्पतालको सरसफाइ राम्रो नभएको बताउँछन्। अस्पतालको सेवा सुधार गरी बिरामीलाई गुणस्तरीय उपचार सेवा प्रदान गर्ने उद्देश्यले प्रदेश सरकारले अस्पतालमा आन्तरिक सर्वेक्षण गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव ज्ञानहरी घिमिरेले बताए। उनले सर्वेक्षणको प्रतिवेदन सम्बन्धित मन्त्रालय र कार्यालयलाई प्रदान गरी सेवासुधारका लागि समय दिने बताए। ‘अस्पतालको सेवाप्रति बिरामीको धेरै गुनासो छ, अब सरोकारवालासँग बसेर कसरी अगाडि जाने भन्नेबारे छलफल गर्छाैं’, उनले भने । विसं १९६७ फागुन १५ गते जितगढीमा स्थापना भएको अस्पताल २०२४ सालमा लुम्बिनी अञ्चल अस्पतालका रुपमा परिणत भएको थियो। २०७५ माघमा प्रदेश मातहत आएर अहिले लुम्बिनी प्रादेशिक अस्पतालका रुपमा सञ्चालित छ। प्रदेशका सबैजस्तो जिल्लाबाट बिरामीहरु उपचारका लागि यहाँ आउँछन्। अस्पतालमा प्रायः सबै रोगका विशेषज्ञहरु छन्। तर अस्पतालका जागिरे चिकित्सकले अस्पतालभित्र भन्दा बाहिरका निजी क्लिनिकमा बढी समय दिएपछि समयमा सेवा पाउन नसकेको बिरामीको गुनासो छ। प्रदेश सरकारले अस्पतालमा विशिष्टीकृत सेवा सञ्चालन गर्न प्रक्रिया अघि बढाएको छ। प्रदेशको गौरवको आयोजनाका रुपमा लिएर प्रादेशिक अस्पताललाई विशिष्टीकृत अस्पतालका रुपमा विकास र विस्तार गर्नका लागि प्रक्रिया अघि बढाइएको हो। अस्पतालमा भवन अभावका कारण बिरामीलाई सेवा दिन समस्या भएपछि डाइग्नोष्टिक भवन बनाउन शुरु गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। अस्पतालको स्तरवृद्धि गर्दै जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा दिने रणनीतिअनुरुप काम अगाडि बढाएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए। अस्पतालको सेवा सुधारका लागि इमर्जेन्सी र प्रसूति सेवालाई प्राथमिकतामा राखेर काम अघि बढाएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिए। ‘अस्पतालको सेवा प्रभावकारी बनाउन कर्मचारीको अनुशासन र व्यवहारलाई विशेष ध्यान दिएका छौँ’, उनले भने। रासस
सानिमा लाईफ इन्स्योरेन्सका ग्राहकलाई विराट हस्पिटलमा विशेष छुट
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सका ग्राहकलाई विराट हस्पिटलमा स्वास्थ्य परीक्षण शुल्कमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कम्पनीका महाप्रबन्धक शिवराम तिमिल्सिना तथा हस्पिटलको प्रशाशक पदम वीनाडीले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा कम्पनीका मुख्य प्रबन्धक गुणराज श्रेष्ठ, क्षेत्रीय प्रबन्धक राजन निरौला तथा विराटनगर शाखा प्रमुख सन्तोष आचार्य समेतको उपस्थिति रहेको थियो । सम्झौता अनुसार सानिमा लाईफ इन्स्योरेन्सका वीमा प्रस्तावकहरुले प्रि मेडिकल चेक अप गर्दा विशेष छुट तथा नगद रहित सुविधा प्राप्त गर्न सक्ने छन् ।
ह्याम्स अस्पतालद्वारा ब्रेन एन्युरिजमको सफल उपचार
काठमाडौं । ह्याम्स अस्पतालले २० वर्षीय महिलामा ब्रेन एन्युुरिजमको कोइलिङद्वारा सफल उपचार सम्पन्न भएको छ । हाल सम्म प्रायः व्रेन एन्युुरिजमको उपचार टाउँको खोलेर अप्रेशनद्धारा भईरहेको अवस्थामा ह्याम्स अस्पतालले भने टाउँको नचिरीकन खुट्टाको रगतको नशाबाट विभिन्न किसिमको साधनको माध्यमले एन्युरिजम भित्र कोइल गरेर त्यसको उपचार गर्न सफल भएको हो । उक्त अस्पतालका बरिष्ठ न्यूरो सर्जन तथा न्यूरोइन्टरभेन्सनल सर्जन डा.मनोज बोहरा तथा एनेस्थेलोजिष्ठ डा.मुरारी राज उप्रेती र डा.सुरज लामिछाने तथा क्याथ ल्याब टिमद्वारा न्यूरोइन्टरभेन्सनको नौलो पद्धती प्रयोग गरी न्युरिजमको उपचार गरिएको हो । एन्जुरिजम भनेको मस्तिष्कको रगतको नली फुलिएर बेलुन जस्तो हुने रोग हो । जुन फुटेर व्रेन ह्यामरेज भएर विमारी अशक्त हुन सक्छ वा ज्यान पनि जान सक्छ । डा.बोहराको भनाई अनुसार नेपालमा अत्यन्तै नौलो उपचार पद्धतिका रुपमा शुरु भएको न्यूरो इन्टरभेन्सनबाट मस्तिष्कमा एन्युरिजमको अतिरिक्त स्ट्रोक (पक्षघात) को पनि उपचार गर्न सकिन्छ । स्ट्रोकको उपचारमा हात वा खुट्टाको रक्तनलीबाट विभिन्न किसिमका तारहरुको माध्यमबाट मस्तिष्कमा बन्द भएको रक्तनलीमा पुगिन्छ र त्यसपछि स्टेन्ट तथा अन्य तरिकाले अवरुद्ध गर्ने क्लटलाई बाहिर निकाली पुनः रक्त संचार गरिन्छ । न्यूरो इन्टरभेन्सन उपचार गर्न मस्तिष्क खोलेर गरिने उपचार पद्धति भन्दा निकै कम समय लाग्ने र उपचार पछिको अस्पतालको बसाई पनि कम हुने भएकोले अहिले यो संसार भरी नै निकै प्रभावकारी उपचारको रुपमा लिइएको छ ।