हावाहुरी पीडित वारा–पर्साका घाइतेको लागि ७४ जनाले गरे रक्तदान
काठमाडौँ । बारा र पर्सामा भएको हावाहुरीबाट घाईते भएकाहरुको उपचारको लागि रगतको कमी नहोस् भन्दै काठमाडौँको नयाँबानेश्वरमा बुधावार गरिएको रक्तदान कार्यक्रममा ७४ जनाले रक्तदान गरेका छन् । महानगरिय प्रहरी प्रभाग नयाँबानेश्वर लगायतको आयोजनामा आकास्मिक रुपमा गरिएको कार्यक्रममा उत्साहजनक सहभागिता भएको कार्यक्रमका संयोजक बाबुराम आचार्यले बताए । आपतकालीन अवस्थालाई मध्यनजर गर्दै मानवीय सहयोगको रुपमा रक्तदानमा सहभागी हुन संयोजक आचार्यले अपिल गरे अनुसार बानेश्वरका स्थानीय, नेपाल प्रहरी, होस्टल ब्यावसायी संघका प्रतिनिधि, सामुदायिक प्रहरी लगायतले रक्तदान गरेको थिए । कार्यकमका आयोजक महानगरीय प्रहरी नयाँबानेश्वर प्रमुख डीएसपी गोबिन्दराज काफ्लेले मानवीय कार्यमा सहयोग गर्न आग्रह गर्दै रक्तदान कार्यक्रम गरिएको बताए ।
कोलोरेक्टल क्यान्सरबारे नर्भिक हस्पिटलले गर्यो जनचेतनामूलक कार्यक्रम
काठमाडौं । रोटरी क्लब चन्द्रागिरीसँगको सहकार्यमा नर्भिक इन्टरनेशनल हस्पिटलले कोलोरेक्टल क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । मार्च महिनालाई कोलोरेक्टल अर्थात् ठूलो आन्द्रा र मलासयको अर्बुदरोग(क्यान्सर)बारे जनचेतना अभिवृद्धि गर्ने÷गराउने महिनाका रुपमा लिइन्छ । सोही अवसरमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको अस्पतालले जनाएको छ । ठूलो आन्द्रा र मलाशयको अर्बुदरोग मानिसलाई हुने अर्बुदरोगहरु मध्ये तेस्रो ठूलो र भयानक रोगमा पर्दछ । विश्व तथ्यांकलाई हेर्ने हो भने हरेक वर्ष यस रोगका १८ लाख नयाँ विरामीहरू देखापर्ने गर्छन् भने तिनीहरु मध्ये झण्डै ५० प्रतिशत अर्थात् नौ लाख जतिले ज्यान गुमाउने गर्दछन् । हालैका वर्षहरूमा नेपालमा समेत यस रोगका रोगीहरू प्रशस्तै भेटिन थालेका छन् । नर्भिक हस्पिटलका कोलोरेक्टल तथा जनरल सर्जन डा. सत्यदीप भट्टाचार्यका अनुसार ठूलो आन्द्रा तथा मलाशय (कोलन र रेक्टम)को क्यान्सरबारे आवश्यक जनचेचना सबैमा हुने हो भने, नियमित जाँच/परीक्षण गराउने हो भने, स्वस्थकर भोजनका साथ स्वस्थकर आहार–व्यवहार अपनाउँदै नियमित शारीरिक व्यायाम गर्ने हो भने यस रोगलाई सजिलै रोकथाम गर्न सकिन्छ । हस्पिटलले गरेको कार्यक्रममा नर्भिकका पेटरोग विशेषज्ञ डा. वरुण शाहले ठूलो आन्द्रा र मलाशयका तमाम रोगहरुको निदानमा कोलोनोस्कोपीको महत्वबारे प्रकाश पारेका थिए । रोग समयमै पत्ता लागेमा ठूलो आन्द्रा र मलाशयका सबै खाले क्यान्सर रोगको शल्यक्रियात्मक उपचार सहज हुन सक्ने चिकित्सकहरु बताउँछन् । शल्यक्रियाका साथसाथै रेडियसन थेरापी तथा किमोथेरापी पनि साथसाथै चलाउनुपर्ने हुन्छ । रोग समयमै पत्ता नलागी ढिलो हुँदा सफल उपचार हुने दर ५० प्रतिशत मात्रै वा सोभन्दा पनि कम हुने बताइएको छ । कुनैपनि व्यक्तिमा ठूलो आन्द्रा/मलाशयको अर्वुदरोग (क्यान्सर) हुने जोखिम उमेरसँगै बढ्दै जान्छ । सबै महिला तथा पुरुष जो ४५ वर्ष कटिसकेका छन्, तिनलाई ठूलो आन्द्रा र मलाशयको अर्वुदरोग हुनसक्ने जोखिम समान रुपमा बढेर जान्छ । तसर्थ उमेर पुगेका हरेक महिला तथा पुरुषले नियमित रुपमा रोग परीक्षण/जाँच गराउनु अत्यावश्यक हुने नर्भिक हस्पिटलले जनाएको छ ।
बन्द हुने अवस्थामा कान्ति बाल अस्पताल: ६ आइसियूसहित ४६ बेड कटौती
काठमाडौँ । देशकै एक मात्र केन्द्रीय बाल अस्पताल स्वास्थ्यकर्मी र बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । तीन सय १५ बेडको कान्ति बाल अस्पतालले पछिल्लो एक महिनामा ४६ बेड कटौती गरेको छ । कान्तिले आइसियू ६, इन्टरमिडियट (आइसियूमा लैजानुपूर्व बिरामी भर्ना गरिने बेड) १० र एक्स्ट्रा ३० गरी ४६ बेड कटौती गरेको हो । यसअघि ५२ बेडको केन्द्रीय आइसियूको अवधारणा भए पनि ३७ वटा आइसियू बेड सञ्चालनमा थिए । इन्टरमिडियट बेडको संख्या २० थियो । पुस ०७३ सम्म कान्तिको आइसियूमा १८ बेड थिए । बिरामीको चाप बढेपछि तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले २२ पुस ०७३ देखि आइसियूमा ३४ बेड थप गरेका थिए । यद्यपि अस्पतालले ५२ वटा आइसियू बेड सञ्चालन गर्न सकेन । जम्मा ३७ बेड मात्र सञ्चालित थियो । अस्पताल निर्देशक गणेश राईले डाक्टर, नर्स र बजेटको अभावले सेवा प्रवाहमा गम्भीर समस्या आएको बताए । ‘मेडिकल अफिसर र आइसियूमा नर्सको चरम अभाव छ । बेडसंख्या थप गर्नुपर्ने समयमा घटाउनुपरेको छ । यसै साता ६ वटा आईसियू बेड घटाएर ३१ मा झारिएको छ’ निर्देशक राईले भने, ‘हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पटकपटक सहयोगको अपिल गरेका छौं । तर सहयोग मिलेको छैन । यही अवस्था रहे अस्पतालका सबै सेवा चाँडै बन्द हुन्छ ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।