पोखरामा देखिएको भनेका सातौं कोरोना केस पोजेटिभ हाईन: प्रवक्ता डा. विकास देवकोटा
काठमाडौं । पोखरामा देखिएको भनेका सातौ कोरोना केस पोजेटिभ नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोभिड– १९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्याका प्रवक्ता डा. विकास देवकोटाले पोखरामा देखिएको भनेको केस पोजेटिभ नभएको बताएका हुन् । नेपालमा हालसम्म ६ जना कोरोना संक्रमित देखिएका छन् । त्यसमा एकजना पुर्ण रुपमा निको भएर घर फर्किसकेका छन् । हिजोमात्रै बेल्जियमबाट आएकी ६५ वर्षिय वृद्धामा कोरोनाको छैटौं संक्रमण भेटएिको थियो । उनी दोस्रो र पाँचौं संक्रमितसँगै चैत ४ गते कतार एयरवेजको फ्लाईट नं क्यु आर ६५२ मा दोहाबाट नेपाल आएकी थिईन् । शुक्रबार साँझ ४ बजेसम्म नेपालमा कुल १३ सय ५६ जनाको कोरोना परीक्षण भएको छ । नपालभर १ सय २० जना आईसोलेसनमा छन् ।
कालिकोट जिल्लाभर ६२९ बेड क्षमताको क्वारेन्टाइन
जिल्लाका नौ स्थानीय तहमध्ये खाँडाचक्र नगरपालिकाले ७४, रास्कोट नगरपालिकाले १००, सान्नी त्रिवेणीले ६५, पचालझरनाले ४९, नरहरिनाथले ५०, शुभकालिका गाउँपालिकाले ४०, महाबैले ४१ र तिलागुफा नगरपालिकाले २० वटा क्वारेन्टाइन निर्माण गरेका छन् । चार स्थानीय तहका ५५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतबाट मजदुरी गरेर घर फर्किएका सान्नीत्रिवेणी गाउँपालिकाका ३९, रास्कोट नगरपालिकाका ९, पचालझरनाका ७ र पलाँता गाउँपालिकाका २ जनालाई क्वारेन्टाइनमा राखिएको हो । कोरोनाको शंकास्पद लक्षण देखिएका बिरामीलाई राख्न कालिकोट अस्पतालमा चार वटा आइसोलेसन बेड निर्माण गरिएको छ । जिल्लाभर भारतबाट फर्किनेको सङ्ख्या २३७ जना रहेको कालिकोट प्रहरीका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले बताए । सान्नीत्रिवेणी गाउँपालिकाले भारतबाट फर्किएका १८ जनालाई बिहीबारदेखि लुयाटास्थित विद्याज्योतिमा माविमा, १४ जनालाई डाँडाखेतस्थित कालिका माविमा र ७ जनालाई मुम्रास्थित डाँफे माविमा बनाइएको क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । रासस
छैटौं काेराेना संक्रमित वृद्धाको धौलागिरि अस्पतालमा उपचार हुँदै
गलकोट। बिहीबार कोरोना संक्रमित पुष्टि भएको बागलुङकी एक ६५ वर्षीयालाई धौलागिरि अञ्चल अस्पताल बागलुङमा ल्याएर उपचार शुरु गरिएको छ । होम क्वारेन्टाइनमा बस्दै आएकी वृद्धालाई कोरोना पुष्टि भएसँंगै बिहीबार साँझ धौलागिरि अञ्चल अस्पतालमा ल्याएर आइसोलेशन वार्डमा भर्ना गरिएको अस्पतालले जनाएको छ । उक्त वृद्धाको स्वास्थ्य अवस्था भने सामान्य छ । संक्रमित वृद्धा यही चैत ४ गते बेल्जियम हुँदै कतारको दोहाबाट नेपाल आएकी थिइन् । क्यूआर ६५२ को फ्लाइटमा दोहाबाट काठमाडौं आउनुभएका उनीसँगै बागलुङमा कोरोना संक्रमित दुई भएका छन् । उनी सवार विमानमा संँगै आएका बागलुङकै एक किशोरीमा कोरोना पुष्टि भएसंँगै वृद्धाको समेत स्वाब परीक्षणका लागि काठमाडौँ पठाइएको थियो । बिहीबार आएको नमूना स्वावको रिपोर्टमा पोजेटिभ देखिएकाले उनलाई अञ्चल अस्पतालमा ल्याएर उपचार गर्न थालिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए । “उपचाररत दुवै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ” पोखरेलले भने, “हामी सुरक्षित तरिकाले उपचारमा खटिरहेका छौँ, तपाईँहरु घरमै बस्नुहोस्, समस्या भए तुरुन्तै अस्पताललमा सम्पर्क राख्नुहोस् ।” चैत १५ गते भएको स्वास्थ्य परीक्षणमा बेल्जियमबाट कतार हुँदै क्यूआर ६५२ नम्बरको उडानमा चैत ४ गते नेपाल आएकी बागलुङकी युवतीमा कोरोना पुष्टि भइसकेको छ । उक्त युवतीको पनि अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनको दोस्रो पटकको स्वाब परीक्षणको काम भइरहेको छ । बागलुङमा दुई जनालाई कोरोना पुष्टि भएसँंगै बागलुङ कोरोनाको इपिसेन्टर बन्दै गएको भनी यहाँका नागरिकले थप सतकर्तता अपनाउन थालेका छन् । रासस