खरीपाटी क्वारेन्टाइनमा रहेका ९४ जनाको रिपोर्ट नेगेटिभ: प्रवक्ता डा. विकास देवकोटा
काठमाडौं । भक्तपुरका खरीपाटी क्वारेन्टाइनमा रहेका ९४ जनाको कोरोना (कोभिड (१९) संक्रमणको रिपोर्ट नेगेटिभ आएको छ । कोभिड १९ सम्बन्धिको नियमित ब्रिफिङमा आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भक्तपुरका खरीपाटी क्वारेन्टाइनमा रहेका ९४ जनाको कोरोना संक्रमण रिपोर्ट नेगेटिभ आएकाे बताएका हुन् । खरीपाटीमा सिल्क एयर र थाइ एयरबाट आएका नेपालीहरुलाई राखिएको थियो ।
तीन जिल्लामा र्यापिड डायग्नोस्टिक किटबाट काेराेना परीक्षण गरिने
काठमाडौं । कैलाली, कन्चनपुर र बाग्लुङ जिल्लामा कोरोना संक्रमणको परीक्षणको लागि र्यापिड डायग्नोस्टिक किट प्रयोग गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मन्त्रीपरिष्दकाे बैठकले स्वास्थ्य मन्त्रलायलाई उक्त जिल्लाका मानिसहरुलाई र्यापिड डायग्नोस्टिक किट प्रयोग गरेर परीक्षण गर्नलाई आदेश दिएसँगै ती जिल्लामा र्यापिड डायगनस्टिम प्रयोग गरिने बताए । काेभिड १९ सम्बन्धिको नियमित ब्रिफिङमा आईतबार देवकोटाले आज नै त्यसको लागि स्वास्थ्यकर्मीहरु पठाउन लागेको जानकारी दिए । कैलाली कन्चनपुरमा क्वारेन्टाईनमा बसेका सबै मानिस र बाग्लुङ जिल्लाका संक्रमितसँग संम्पर्क आएका मानिसहरुको र्यापिड डायग्नोस्टिक किट प्रयोग गरेर परीक्षण गरिने उनले बताए । पहिला सबैलाई र्यापिड डायग्नोस्टिक किट प्रयोग गरेर परीक्षण गरीने र त्यसपछि पोजेटिभ आएका व्यक्तिहरुलाई पुर्ण सिपिआर प्रयोग गरेर परीक्षण गरिने उनकाे भनाइ छ । र्यापिड डायग्नोस्टिक किटले यकिन् नतिजा दिन नसके पनि पोजेटिभ र नेगेटिभको प्रतिशत देखाउने जसले परीक्षण गर्न कति आवश्यक रहेको देखाउने स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिर अधिकारी बताउँछन् ।’ हाल देशभर १ सय १३ जना व्यक्ति आईसोलेसनमा छन् । त्यसमा काठमाडौं १२ जना र उपत्यका बाहिर १ सय १ जना रहेका छन् ।
४८ घण्टाभित्र कोरोनालाई पूर्णरुपमा मार्न सक्ने औषधि पत्ता लागेकाे वैज्ञानिकको दाबी
काठमाडाैं । कोरोनाभाइरसको अनुसन्धानमा विश्वभरिका हजारौं अनुसन्धानकत्र्ता एवम् वैज्ञानिक युद्धस्तरमा अनुसन्धान गरिरहेका छन् । कहिले बेलायत त कहिले अमेरिकी वैज्ञानिकले खोप विकास गरी विभिन्न जनावरमा परीक्षण समेत गरेको बताएका छन् । तर अष्ट्रेलियाको मोनाश विश्वविद्यालयका वैज्ञानिकले हालै एक नयाँ अनुसन्धानलाई परिणाममुखी बनाएको दाबी गरेका छन् । अष्ट्रेलियाली वैज्ञानिकहरुले एउटा सामान्य परजीवी औषधीले ४८ घण्टाभित्र कोरोना भाइरसको सेललाई पूर्णरुपमा मार्न सक्ने पत्ता लगाएको दाबी गरेका छन् । औषधीको एक पटक सेवन गरे मात्रै कोषभित्र रमाउने सार्स–कोभ–२ भाइरसलाई मार्न सक्ने जनाएका छन् । इभर्मेक्टिन एफडीए अनुमोदिन परजीवी विरुद्धको औषधी हो । जसको एकपटक मात्रैको सेवनले बढीमा ४८ घण्टा र कम्तिमा २४ घण्टाभित्र भाइरल आरएनएलाई नष्ट गर्नेछ । उक्त औषधी जुम्रा र लुत्तो रोकथाममा प्रयोग हुन्छ । इभरमेक्टिन एचआइभी, डेंगी र इन्फ्लुएन्जा रोकथाममा समेत प्रभावकारी हुने बताइएको छ । शुक्रबार मोनाश बायोमेडिसिन डिस्कोभरी इन्स्टिच्युटका डा. काइली वागस्टाफले एक खुराकले भाइरल आरएनलाई नष्ट गर्ने बताउनुभयो । एन्टीभाइरस रिसर्च जर्नलमा प्रकाशित उक्त अनुसन्धानको परीक्षण मानवमा गर्न बाँकी रहेको छ । वैज्ञानिकहरुले उक्त औषधीको मानवलाई आवश्यक खुराक निर्धारण गर्न जुटेका छन् । कति खुराक खुवाए मानव स्वास्थ्य सुरक्षित रहने निर्धारण भएपछि मानवमा परीक्षण गरिनेछ । “विश्व समुदाय महामारीको चपेटामा छन्, अहिलेसम्म अनुमति प्राप्त उपचार आएको छैन्, कुनै ‘कम्पाउन्ड’ विश्वमा पहिले उपलब्ध भएको भए मानवलाई छिट्टै सघाउ पुग्थ्यो ।”–डा. वाग्स्टाफले भने। विश्वब्यापी रुपमा उक्त खोप उपलब्ध हुन केही समय लाग्ने उनले जानकारी दिए । वैज्ञानिकले मानव परीक्षणका लागि कम्तिमा एक महिना लाग्ने जनाएका छन् । इभरमेक्टिनलाई कोरोना विरुद्ध प्रयोग गर्नुअघि मानवमा प्रयोगशाला परीक्षण आवश्यक हुनेछ । गाेरखापत्रबाट (नोटः कोरोना विरुद्ध विश्वमा भएक खोजबारेका यी समाचार पाठलाई जानकारी गराउने उद्देश्यले मात्र प्रकाशित गरिएको हो । यस्ता औषधिको प्रयोग चिकित्सकको सल्लाह र रेखदेख बिना कुनै हालतमा गर्न नहुने कुरा आदरणीय पाठक वर्गमा अनुरोध छ )