प्रदेश २ मा १ सय ३ जनाको स्वाब परिक्षण, सबै रिपोर्ट निगेटिभ
जनकपुरधाम । प्रदेश २ बाट १ सय ३ जनाको कोरोना परिक्षण भएको छ । परिक्षण भएका सबैको रिपोर्ट निगेटिभ आएको प्रदेश २ सरकारले जनाएको छ । प्रदेश २ सरकारले मंगलबार गरेको मिडिया ब्रिफिङ मार्फत उक्त जानकारी दिएको हो । सामाजिक विकास मन्त्रालय प्रदेश नम्वर २ का सचिव रामप्रसाद घिमिरेले मिडिया ब्रिफ मार्फत दिएको जानकारी अनुसार प्रदेश २ मा हालसम्म ९ सय ३६ जनालाई क्वारेनटाइनमा राखिएको छ । यसैगरी, १२ सय १३ जनालाई होम क्वारेनटाइनमा राखिएको छ । मिडिया ब्रिफिङमार्फत उनले भने, ‘नेपाल सरकारले लागू गरेको लक डाउनलाई पूर्ण रुपमापालन गराउन सुरक्षा निकाय र स्थानीय सरकारकाहरुले भारतीय सीमा क्षेत्रमाउच्च सतर्कता सावधानीअपनाई रहेका छन् । खुला सीमाका कारण लुकीछिपी नेपाल पस्न सक्ने अवस्थालाई मध्यनजर गर्दे सीमा क्षेत्रमा सुरक्षाका हर संभव प्रकृयाहरुलाई कार्यान्वय नगरिएको छ ।’ भारतहुँदै सप्तरी जिल्ला स्थित डाक्नेश्वरी नगरपालिकाको सीमा क्षेत्रबाट लुकीछिपी प्रवेश गरिरहेका पाँच जना नागरिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको घिमिरेले जनाए । गत चैत २३ गते रातको समयमा नेपालप्रवेश गरिरहेका पाँचजनालाई चैत्र २४ गते स्थानीय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाईमा राखिएको जानकारी उनले दिए। उनका अनुसार पाँच जनामध्ये तीनजनामुस्लिम समुदाय सम्वद्ध तकलिवी जमात अर्थात धार्मिक भेलाकालागि नेपालबाट भारत गएको बुझिएको छ । पाँच जनामध्ये एक/एकजना डाक्नेश्वरी नगरपालिका वडा नम्वर १ र ५ का नागरिक रहेको र वाँकी ३ जना वडा नम्वर ७ का रहेको खुल्नआएको छ । प्रदेश नम्वर २ अन्तर्गत भारतसँग सीमा जोडिएका १०९ वटै नाकाहरु पूर्ण रुपमाबन्द रहेको घिमिरेले जानकारी दिए । अति आवश्यक सामाग्रीहरुको आयात तथा निर्यातलाई निर्वाध रुपमा चल्न दिने नेपाल सरकारको निर्देशन अनुरुप पर्सा जिल्लामा रहेका विभिन्न भन्सारबाट मालवाहक सवारीका साधनहरु नेपालभित्रि रहेका छन् । जस अनुरुप सोमबार चैत्र २४ गते पर्सा जिल्ला स्थित एकीकृत भन्सार जाँच चौकीबाट १ सय ६४ वटा मालवाहक सवारी साधनहरु नेपाल भित्रिएका छन् भने १ सय ७ वटा खाली सवारीका साधनहरु भारत गएका छन् । कृषहरुबाट उत्पादित कृषि उत्पादनलाई बजार तथा उपभोक्तासम्म पुर्याउन प्रदेश नम्वर २ को भूमीब्यवस्था कृषितथा सहकारी मन्त्रालयले विभिन्नकार्यहरु गरिरहेको उनले बताए । प्रदेशमा रहेका कृषि सम्वद्ध सम्पूर्ण सरोकारवालाहरुलाई विउविजन, तथाचल्ला, अण्डा, तरकारी र दुध जस्ता छिटै नाशहुने बस्तुहरु र पशु स्वास्थ्य सेवा सम्वद्ध सेवाहरु निरन्तर सञ्चालनगर्न आह्वान गरिएको छ । डि.डि.सी ढल्केबर र सहकारी युनियनको सहयोगमाकिसनाले उत्पादन गरेका तरकारी, दुध र दग्धजन्यपदार्थहरु मोवाईल भ्यानतथा डिडिसिका ३० वटा आएटलेट मार्फत बजार वा उभोक्तासम्म पुर्याउने कार्य भइरहेको उनले जनाए । कोरोना भाइरस नियन्त्रणका लागि सरसफाईको प्रभावकारी भूमिका रहने तथ्यलाई मध्यनजर गर्दै यस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले पीउने पानीको सहज आपूर्तिलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिरहेको छ भने यसै साताबाट क्वारेन्टाईन र अस्पताल क्षेत्रमा सरसफाई कार्यक्रम सञ्चालन गर्न गइरहेको जानकारी दिए।
देशभर ९ हजार बढि क्वारेन्टिनमा
काठमाडौं । मंगलबारसम्म देशभर ९ हजार २ सय २८ जना कोरोना शंकामा क्वारेन्टिनमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ताका डा. विकास देवकोटाले देशभर ९ हजार २ सय २८ जना क्वारेन्टिनमा रहेको जानकारी दिएका हुन् । यस्तै काठमाडौंमा १६ जना र उपत्यका बाहिर ८४ जना आईसोलेसनमा रहेको उनले जानकारी दिए । मंगलबार साँझसम्म टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १७ सय ९६ जनाको कोरोना परीक्षण भएको छ जसमा ९ जना बाहेक सबै नमुना नेगेटिभ रहेको छ ।
युएईमा सँगै बस्ने १२ मध्ये ७ नेपालीमा कोरोना संक्रमण पुष्टि
काठमाडौं । विदेशी भूमी कोरोना भाइरस (कोभिड १९) को महामारी । सँगै बस्ने आफूसहित ७ जना साथीमा कोरोना पोजेटिभ देखिएपछि मनमा शंका उपशंका बोकेर सँगै बस्नुपर्ने वाध्यता । दुवईस्थित २ कोठामा सँगै बस्दै आएका १२ जना नेपालीमध्ये ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । तर, सँगै बसेका अन्य नेपाली भने त्रासमा छन् । यो घटना यूएई स्थिति अल अरेबिया ट्याक्सी एलएलसीमा कार्यरत नेपालीको हो । जो विगत तीन हप्तादेखि लकडाउनमा बसिरहेका छन् । उक्त कम्पनीमा अगाडी नै खाने र बस्ने खर्च श्रमिकले आफै गर्नुपर्ने थियो । सो नियम अनुसार आफ्नो सहजताका लागि लामो समयदेखि २ वटा कोठामा १२ जना नेपाली सँगै बस्दै आएका थिए । सबै जना सोही कम्पनीका ट्याक्सी चालक हुन् । ५ जनालाई संक्रमण भइसकेको छ भने २ जनालाई पनि मंगलबार संक्रमण पुष्टी भएको छ । एक जनालाई भने अस्पतालमा राखिएको सोही कम्पनीमा काम गर्ने धादिङका एक युवकले जानकारी दिए । ‘त्रासपूर्ण स्थितिमा बस्न बाध्य छौं, दुई वटा कोठा हो, खानादेखि सबै सामाग्री एउटै प्रयोग गर्न विवश छौं, पछिल्लो समय ५ जनालाई कोरोना पुष्टी भएको थियो, अहिले म र अर्काे साथीलाई पनि कोरोना लागेको पुष्टि भयो बाँकी ५ जनाको रिपोट भोलि वा पर्सिमा आउँछ’ उनले भने । यो घटनाको बारेमा दुबईस्थिति नेपाली दूतावासमा सम्पर्क गर्दा दूताबासले खासै चासो नदेखाएको उनले बताए । स्वदेशमा रोजगारी नपाएर वार्षिक रुपमा लाखौंको संख्यामा नेपाली विदेशिन बाध्य छन् । सो कम्पनीमा कामकै क्रममा भेटिएका १२ जना नेपाली लामो समयदेखि सामूहिक रुपमा दुई वटा कोठामा बस्दै आएका थिए । एक हप्ता अगाडी ३ जनामा कोरोना पुष्टि भएसँगै अन्य दुईजनामा र आजमात्र (मंगलबार) दुइ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको उनले बताए । १२ जनामध्ये ७ जनामा कोरोना पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टी भएकामध्ये झापाका एक जनाको अस्पतालमा उपचार भइरहेको छ । अन्य संक्रमित काठमाडौं, झापा, उदयपुर, मोरङका ती व्यक्तिहरु भने कोठामा नै छन् । सिन्धुपाल्चोक २ जना र मोरङ, सुनसरी, नवलपरासीका १/१ को भने कोरोनाको रिपोट आउन बाँकी रहेको छ । यो सारा अवस्था बारे दूतावासलाई जानकारी दिन फोन गर्दा तत्काल फोन नलागेको गुनासो गर्दै लामो समयपछि सम्पर्क भएर आफ्नो समस्या सुनाउँदा पनि सहयोगको आश्वासन मात्रै दिएको उनले बताए । के गर्दै छन् सम्बन्धित निकायहरु ? कोरोना संक्रमितको संख्या बढेसँगै रोजगारीका लागि विदेश (प्रवास) मा रहेका नेपालीको अवस्था बारे प्रधानमन्त्री केपी शर्मा ओलीले चाँसो र सक्रियता बढाएका छन् । सोमबार बेलुका युएई सरकार प्रमुखसँग नेपालीको स्वास्थ्य अवस्था तथा उपचारको विषयमा प्रधानमन्त्री ओलीले कुरा गरेका छन् । यूएई सरकारले उपचार तथा स्वास्थ्य सेवाका लागि आफ्नो देशको नागरिकसरह उपचार गराउने प्रतिवद्धता व्यक्त गरेका प्रधानमन्त्रीले सार्वजनिक रुपमा जानकारी दिएका छन् । विदेशमा रहेका नेपालीको सहयोग तथा द्रुतको रुपमा काम गर्ने दूतावास भने खासै सक्रिए देखिएको छैन । पछिल्लो समय आफ्नो देशका नागरिकको स्थिति कस्तो छ भन्ने विषयमा सक्रियता बढाए पनि सम्बन्धित पीडितले राहत महसुस गर्न पाएका छैनन् । दुवईस्थित नेपाली दूतावासले अल अरेबिया ट्याक्सी एलएलसी कम्पनीको बारेमा सो देशको सरकारमा कुरा राखेको जानकारी दिएको छ । दूतावासले नेपालीको अवस्था र स्थितिको जानकारी लिन सक्दो पहल गरेको जनाएको छ । करिब ५० लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा छन् । कोरोना भाइरसको संक्रमण प्रमुख रोजगार गन्तव्यमा नै व्यापक रुपमा फैलिएको छ । कोरोना संक्रमण फैलिएर रोजगारी कटौति जस्ता समस्या देखिएपनि विदेशमा रहेका नेपालीलाई तत्काल नेपाल ल्याउन नसकिने बैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए । अहिलेसम्म कोरोना संक्रमण विश्वका २ सय ८ देशमा फैलिएको छ । यस्तै, नेपालमा पनि कोरोना भाइरस संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ । युएईमा कोरोना संक्रमितको नेपालीको संख्या १३ पुगेको छ । युएईमा एक नेपाली महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । युएईमा अहिलेसम्म २ हजार ७६ जनालाई कोरोना भाइरस संक्रमणको पुष्टी भएको छ भने ११ जनाको मृत्यु भएको छ ।