थप २ सय ४ जनामा काेराेना देखियाे
काठमाडाैं । पछिल्लो २४ घण्टा यता थप २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा २ सय ४ जनामा कोराेना भाइरस देखिएको बताए । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३५ जनाको मृत्यु भइसकेकाे छ ।
कोरोना संक्रमित पत्रकारले अस्पतालको चौथो तलाबाट हाम फाले
काठमाडाैं । भारतमा एक जना काेराेना संक्रमित पत्रकारले अस्पतालकाे चाैथाे तलाबाट हाम फालेकाे जनाइएकाे छ । दिल्लीमा अखिल भारतीय आयुर्विज्ञान संस्थानमा कोरोना भाइरसको उपचार गराइरहेका एक ३७ वर्षीय पत्रकारले सोमबार दिउँसो अस्पतालको चौथो तलाबाट हाम फालेर आत्महत्या गरेकाे भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । उनी एक हिन्दी पत्रिकाका लागि काम गर्थे । अस्पतालबाट हाम फालेपछि उनलाई तत्काल आइसीयूमा राखिएपनि उनको ज्यान बचाउन नसकिएको बताइएकाे छ ।
हतारमा कोभिड-१९ को खोप ल्याउने योजनाविरुद्ध वैज्ञानिकहरूको चेतावनी
काठमाडाैं । भारतमा कोभिड-१९ विरुद्ध निर्माण भइरहेको खोप सर्वसाधारणमा प्रयोग गर्नेगरी ल्याउन निर्धारित समयसीमा अपत्यारिलो भएको भन्दै वैज्ञानिकहरूको एउटा समूहले त्यसो गर्न सम्भव नहुने बताएका छन् । भारतीय विज्ञान प्रतिष्ठानले ‘हतारमा पूर्ण वैज्ञानिक प्रक्रिया तथा मापदण्डमा सम्झौता हुने खालको उपाय’ विरुद्ध चेतावनी दिएको छ । भारतीय चिकित्सा अनुसन्धान परिषद् ‘आईसीएमआर’ ले अगस्ट १५ तारिखका दिन कोभिड-१९ विरुद्धको खोप मानिसहरूमा प्रयोगमा ल्याउने आफूले परिकल्पना गरेको जनाएको थियो । अगस्ट १५ तारिखमा भारतको स्वतन्त्रता दिवस पर्छ । तर पछि आईसीएमआरले आफूले “समयसीमा” निर्धारण नगरेको बताएको छ । विवाद कसरी सुरु भयो ? मानवमा कोभ्याक्सीन नामक खोपको परीक्षणका लागि १२ वटा संस्थालाई चयन गरिएको भन्दै आईसीएमआरका प्रमुख बलराम भार्गवले लेखेको पत्र सार्वजनिक भएपछि विवाद सुरु भएको हो । सामाजिक सञ्जालमा उक्त पत्रबारे व्यापक चर्चा भएको थियो । अगस्ट १५ तारिखका दिन प्रयोगमा ल्याउन सुरु गर्न सकियोस् भन्दै अनुमोदनसम्बन्धी सबै प्रक्रियाहरू द्रुत गतिमा पूरा गरी मानवमाथिको परीक्षणलाई तीव्र बनाउन पत्रमा भनिएको थियो । निर्देशनको अवज्ञा गरेको खण्डमा त्यसलाई “गम्भीर रूप”मा लिइने भनिएको थियो । त्यसमा झन् द्विविधा थप्दै भारतको विज्ञान तथा प्रविधि मन्त्रालयले यसअघिको वक्तव्यबाट एउटा वाक्य हटायो । त्यो वाक्यमा भनिएको थियोः विकासको क्रममा रहेका कोभ्याक्सीनसहित कुनै पनि खोप सन् २०२१ अघि सर्वसाधारण मानसिमा प्रयोगमा जाने देखिँदैन । त्यो कुराले व्यापक विरोध र आलोचना निम्त्यायो । धेरैले अगस्ट १५ तारिखको समयसीमा देखावटी भएको र त्यसले भारतप्रतिको विश्वसनीयतामा गम्भीर असर पुर्याउने बताए । भारतीय विज्ञान प्रतिष्ठानका प्रमुखले आईसीएमआरले खोप परीक्षणका लागि घोषणा गरेको समयलाई “नसुनिएको” स्थानीय सञ्चारमाध्यमलाई बताए । स्पष्टीकरण यद्यपि त्यसयता आईसीएमआरले आफ्ना भनाइबारे स्पष्ट पार्दै अगस्ट १५ तारिख समयसीमा नभएको जनाएको छ । भारतीय पत्रिका मिन्टले आईसीएमआरका एक अधिकारीलाई उद्धृत गर्दै प्रारम्भिक कुरालाई गलत रूपमा बुझिएको जनाएको छ । एउटा खोपको विकासमा सामान्यतया यदि दशकाैं होइन भने वर्षौं लाग्न सक्छ । यद्यपि अनुसन्धानकर्ताहरूले त्यति काम केही महिनाभित्रै गरिसक्ने प्रयास गर्दैछन् । अधिकांश विज्ञहरूलाई लाग्छ कोभिड-१९ विरुद्धको खोप सन् २०२१ को मध्यसम्ममा उपलब्ध हुन सक्छ। नयाँ कोरोना भाइरस पहिलो पटक देखिएको समयदेखि १२-१८ महिनाको अन्तराल हुन्छ । यदि त्यसो भयो भने त्यो ठूलो वैज्ञानिक उपलब्धि हुनसक्छ । तर त्यसले काम गर्छ भन्ने कुराको निश्चित छैन । (स्राेत बीबीसी नेपाली)