प्रचण्ड निवासका थप दुई जनामा कोरोना देखियो
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासका थप दुई जनामा कोरोना संक्रमण देखिएकाे छ । प्रचण्डकी छोरी गंगा दाहालको सवारी चलाउने ड्राइभर र सुरक्षाकर्मीतर्फ नेपाल प्रहरीका भान्सेमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेहरुमा एक जना ड्राइभर र एक जना भान्से रहेका छन् । गत साता मात्रै प्रचण्ड निवासका ५ जना सुरक्षाकर्मीलाई काेराेना देखिएकाे थियाे ।
काठमाडाैं उपत्यकामा एकैदिन १३४ जनामा देखियाे कोरोना
काठमाडाैं । काठमाडौं उपत्यकामा १३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १३४ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् । संक्रमितहरु काठमाडाैंकाे ११०, ललितपुरकाे ८ र भक्तपुरकाे १६ जना रहेकाे गाैतमले बताए । योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या १०५८ ललितपुरमा १५१ र भक्तपुरमा १०५ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या १३०६ पुगेको छ । आज देशभर ६३८ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २३ हजार ९ सय ४८ पुगेको छ ।
आज थप ६ सय ३८ जनामा काेराेना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ६ सय ३८ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २३ हजार ९ सय ४८ जना पुगेकाे छ । हाल क्वारेन्टिनमा ११ हजार ५८ जना रहेका छन् भने आजसम्म ४ लाख ६३ हजार ६ सय ९८ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म कोरोना मुक्त हुनेको संख्या १६ हजार ६ सय ६४ पुगेको छ भने थप ४ जनाकाे मृत्यु पुष्टि भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।