उपत्यकामा उच्च सतर्कता अपनाउन सरकारको अपिल

काठमाडाैं । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको औँल्याउँदै सरकारले उच्च सतर्कता अपनाउन उपत्यकावासीमा अपिल गरेको छ । यही असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकको अन्य भूभागमा कोरोनाको प्रकोप विस्तारै नियन्त्रणउन्मुख हुँदै गए पनि काठमाडौँ उपत्यका अझै पनि उच्च जोखिम कायम रहेको बताए । “हाल प्रत्येक दिन देखिने कूल सङ्क्रमितमध्ये आधाभन्दा बढी सङ्क्रमितको सङ्ख्या उपत्यकामा रहेको छ । अहिलेसम्म उपत्यकामा कोरोना सङ्क्रमण नियन्त्रण उन्मुख नदेखिएको हुनाले काठमाडौँवासीले असाध्यै धेरै सतर्कता अपनाउनुपर्ने जरुरी छ”, उनले भने, “झण्डै ४० लाख बसोबास गर्ने उपत्यकामा यदि सङ्क्रमण अनियन्त्रित भयो भने त्यसले हामीलाई निकै ठूलो जोखिममा पु¥याउनसक्ने अवस्था छ ।” मन्त्री ज्ञवालीले काठमाडौँवासीलाई आफूले सेवा दिँदा वा लिँदा, व्यवसाय सञ्चालन गर्दा वा सहयोग पु¥याउँदा, सार्वजनिक यातायात वा निजी सवारीसाधनमा हिँडडुल गर्दा तथा अन्य कुनै प्रकारको गतिविधि गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखेर सतर्कता अपनाउन विशेष आग्रह गरे । “देशैभर क्रमशः कोरोना सङ्क्रमण घट्दै गरेको अवस्थामा काठमाडौँ उपत्यकाको अवस्था अझै पनि उच्च जोखिममा छ । यो कुरालाई ध्यानमा राख्न सरकारकोतर्फबाट विशेष आग्रह गर्दछु”, उनले भने । नेपालीको सबैभन्दा ठूलो चाड वडादशैँ नजिकिँदै गरेको अवस्थामा कोरोनाको थप जोखिम बढ्नसक्ने औँल्याउँदै उनले स्वस्थ्य आगामी दिनमा पनि यस्ता पर्व मनाउन सकिनेतर्फ ध्यान दिन आग्रह गरे । “दशैँको महत्वपूर्ण पक्ष भनेको पारिवारिक पुनर्मिलन र अग्रजबाट शुभाशिष लिने हो, तर यस्तो अवस्थामा परिवारका ज्येष्ठ सदस्यको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्छ । त्यसो हुनाले दशैँ मनाउँदा आफ्ना अभिभावकको सुरक्षा संवेदशनीलतालाई असाध्यै ध्यानमा राख्न जरुरी छ”, मन्त्री ज्ञवालीले भने । विगतमा जस्तो गाउँगाउँबाट काठमाडौँ ओहोरदोहोर गर्दा सङ्क्रमण फैलने जोखिम उच्च हुने भन्दै उनले टेलिफोनमार्फत आर्शिवाद लिन सकिने बताए । “परिवारका ज्येष्ठ सदस्य सुरक्षित रहनुभयो भने यस्ता अवसर पटकपटक आउँछन्”, उनले भने, “तर हाम्रो सानो लापरवाहीले उहाँहरुको स्वास्थ्यमा ठूलो जोखिम बढ्न सक्छ ।” नेपालमा पछिल्लो समय ६० वर्ष मुनिका व्यक्तिमा कोरोना सङ्क्रमण दर र मृत्युदर तुलनात्मकरुपमा कम देखिएको छ । केही दिनयता नेपालमा कोरोनाका कूल सङ्क्रमितको आधाभन्दा बढी सङ्ख्या काठमाडौँ उपत्यकामा देखिन थालेको छ । रासस

लाखौँ खर्चेर बनाएकाे बैतडीकाे प्रसूति गृह प्रयोगविहीन

बैतडी । सुदूरपश्चिम प्रदेश सरकारले लाखौँ रकम खर्च गरेर निर्माण गरेका यहाँका प्रसूति सेवा केन्द्र तथा शहरी स्वास्थ्य केन्द्र प्रयोगविहीन भएका छन् । भवन मात्रै निर्माण भएका अन्य औषधि उपकरण र स्वास्थ्यकर्मीको अभावमा ती संरचना प्रयोगविहीन भएका हुन् । सुर्नया गाउँपालिका–३ बिजुलस्थित प्रसूति सेवा केन्द्र कर्मचारी र आवश्यक उपकरणको अभावमा प्रयोगमा ल्याउन नसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । उनले भने, “भवन मात्रै बनेको छ, आवश्यक उपकरण र कर्मचारीको अभावमा प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याउन सकेका छैनौँ ।” गाउँमा बनेका प्रसूति सेवा केन्द्र प्रयोगमा नआएपछि स्थानीय बासिन्दालाई भने समस्या भएको छ । कोरोना महामारीका कारण बाहिर जानसमेत अप्ठ्यारो भइरहेका बेला गाउँमा बनेका प्रसूति सेवा केन्द्र सञ्चालनमा नआउँदा समस्या भएको स्थानीयवासीले बताएका छन् । पाटन नगरपालिका वडा नं १ र ८ मा निर्माण भएका शहरी स्वास्थ्य केन्द्र र प्रसूति सेवा केन्द्र पनि सञ्चालनमा आएका छैनन् । आर्थिक वर्ष २०७५/७६ मा प्रदेश सरकारको १२ देखि २० लाखको लागतमा बनेका ती भवन अझै पनि सञ्चालन गर्न नसकिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । उनले भने “कर्मचारीको अभाव र उपकरण औजारको अभावमा शहरी स्वास्थ्य केन्द्र र प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याउन सकिएको छैन् ।” यस्तै पञ्चेश्वर गाउँपालिका–४ निङलाडस्थित सामुदायिक स्वास्थ्य एकाइ पनि सञ्चालनमा आएको छैन । स्थानीयवासीको आधारभूत स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले निर्माण भएका संरचना प्रयोगमा नआउँदा स्थानीयवासीलाई समस्या भएको छ । सो सामुदायिक स्वास्थ्य एकाइमा शौचालय, खानेपानीको अभाव रहेको छ भने उपकरण र कर्मचारीको समेत अभाव हुँदा सञ्चालनमा आउन नसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहले बताए । उनले भने, “मलाई धेरै कुरा थाहा छैन्, तर बनेका संरचना प्रयोगमा आएका छैनन्, प्रदेश सरकारको पैसाले बनेको हो, कर्मचारी र उपकरणको अभावले सो भवन प्रयोगविहीन भएको छ ।” पुर्चौँडी नगरपालिका–४ भटनामा बनेको प्रसूति सेवा केन्द्र पनि सञ्चालनमा आउन सकेको छैन । विभिन्न विवादका कारण सो भवन सञ्चालनमा आउन नसकेको भटना स्वास्थ्यचौकीका इन्चार्ज रोहित धानुकले बताए । रासस

हामीले बाध्य भएर कोभिड सुरक्षा शुल्क लिएका हौं: नर्भिक अस्पताल

काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालले आफुहरु बाध्य भएर कोभिड सुरक्षा शुल्क लिएको बताएको छ । विभिन्न मिडियाहरुमा अस्पतालमा आएको कोभिड सुरक्षा शुल्क विषयमा अस्तपतालले यस्तो प्रतिकृया रहेकाे जनाएको हो । अस्पतालमा आउने बिरामी उनको परिवारको सदस्यको सुरक्षाको लागि ठुलो मात्रामा रकम खर्च भएको र त्यसको व्यवस्थापन वर्तमान शुल्कबाट समेत असंभव भएकोले आफुहरु शुल्क लिन बाध्य भएको अस्पतालले बताएको हाे । उक्त शुल्कलाई बिरामीहरुको संरक्षणका लागि प्रयोग गरिएको भनी बुझिदिनुहुन अस्पतालले अनुरोध गरेको छ । नर्भिकले कोभिड र नन्कोभिडका लागि छुट्टाछुट्टै भवनमा सेवा संचालन गर्दै आएको छ । अस्पतालमा रहेका नन कोभिड बिरामीलाई संक्रमणबाट पूर्ण रुपमा सुरक्षित राख्नलाई  ठाउँ–ठाउँमा ह्याण्ड स्यानिटाइजेसन, प्रत्येक भिजिटरहरुलाई निःशुल्क मास्क डिस्पोजेबल मास्क र शू कभर आदिको दिने, ह्यूमन टच प्वाइन्ट (मानिसहरुले बढीभन्दा बढी छुनसक्ने ठाउँ) लाई वैज्ञानिक प्रविधिद्वारा हरसमय संक्रमणरहित तुल्याउने तथा प्रत्येक सेवाकर्मीहरुलाई संक्रमणबाट सुरक्षित राख्न विभिन्न खालका प्रोटेक्टिभ डियर्सहरुको प्रयोग गरिएको जनाएको छ । कोभिडको संक्रमण काठमाण्डौमा समुदायस्तरमा फैलिएको बेलामा पनि नर्भिक ननकाेभिड अस्पतालभित्र भएका बिरामीहरुलाई संक्रमणमुक्त राख्न सफल भएको र यसको एक मात्र प्रमुख कारण आफुहरुले अप्नाएका सुुरक्षा अवधारणा र उपायहरु नै रहेको अस्पतालले जनाएको छ । कोभिड प्रोटेक्सन चार्ज कोभिड बिरामीहरुलाई नभएर अस्पतालमा आउने बिरामी कुरुवाहरुहरुलाई रहेको अस्पतालले जनाएको छ ।