नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित ११ जनालाई कोरोना

नुवाकाेट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा कोरोना रोगको सङ्क्रमण पुष्टि भएको छ । असोज २१ गते गरिएको स्वाब परीक्षणको नतिजामा गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष अञ्जु आचार्यसहित ११ जनामा रोगको सङ्क्रमण भएको नतिजा आएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाको अध्यक्ष तामाङले आफू र उपाध्यक्षसहित ११ जनामा सक्रमण भएको नतिजा आएकाले सम्पर्कमा रहेका व्यक्तिहरुलाई सुरक्षित भएर क्वारेन्टिनमा बस्न आग्रह गर्दै स्वाब जाँचको प्रबन्ध मिलाउने जानकारी दिए । अध्यक्ष तामाङको अनुसार कोरोना सङ्क्रमण पुष्टि हुनेमा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, अध्यक्षका सवारीचालक, गाउँपालिकाको कार्यालय सहयोगी, दुई जना एम्बुलेन्स चालक र पाँच जना शिक्षक रहेका छन् । गएको बुधबार १८ जनाको स्वाब सङ्कलन गरेर पठाएको नमूनामध्ये ११ जनामा रोगको सङ्क्रमण देखिएको स्वास्थ्य शाखाले जनाएको छ । सङ्क्रमणपश्चात गाउँपालिकाले प्रवाह गर्ने सबै सेवाहरु अनिश्चित समयको लागि रोकिएको छ भने गाउँपालिकाको कार्यालय रहेको स्थान समुन्द्रटार बजार ‘सिल’ गरिएको छ । रासस

पाल्पाको निस्दी निस्दी गाउँपालिका सिल

पाल्पा । पाल्पाको निस्दी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीमा सङ्क्रमण पुष्टि भएलगत्तै यही असोज २३ गते राति १२ बजेदेखि अगामी कात्तिक १ गते राति १२ बजेसम्मका लागि गाउँपालिका सिल पनि गरिएको हो । गाउँपालिकाले ५० जनाको स्वाब सङ्कलन गरी पाल्पा अस्पतालमा सञ्चालन गरिएको कोभिड–१९ प्रयोगशालामा पठाइएको थियो । तीमध्ये १० जनाको रिपोर्ट पोजेटिभ आएको हो । कोरोना सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ । यसैगरी रामपुरमा कोरोना सङ्क्रमण देखिएपछि एक हप्तासम्मका लागि नगरपालिका सिल गरिने भएको छ । रामपुर अस्पतालमा कार्यरत २८ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि आज राति १२ बजेदेखि यही असोज ३० गते राति १२ बजेसम्मका लागि नगरपालिकामा आवतजावत, व्यापार, व्यवसाय, उद्योग कलकारखाना, सवारी साधन सञ्चालनमा रोक लगाइने नगरप्रमुख रमणबहादुर थापाले जानकारी दिए । यसैगरी स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि रामपुर अस्पतालले आकस्मिकबाहेकका अन्य सेवा बन्द गरेको छ । शुक्रबार अस्पतालमा कार्यरत २८ जना स्वास्थ्यकर्मीको कोरोना रिपोर्ट पोजेटिभ आएपछि अर्को सूचना जारी नगर्दासम्मका लागि अतिआवश्यकबाहेकका बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विजय परियारले बताए । रासस

चितवनमा होम आइसोलेसनमा रहेका सङ्क्रमितको मृत्यु

चितवन । कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ वर्षीय पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उनको शुक्रबार राति ९ बजे मृत्यु भएको हो । क्यान्सरका बिरामी उनको नियमित स्वास्थ्य परीक्षणका क्रममा असोज २१ गते स्वाब परीक्षणका लागि दिइएकोमा २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । योसँगै जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भई होम आाइसोलेसनमा रहेका पाँच जनाको मृत्यु भएको छ । जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या भने योसँगै ३१ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार हालसम्म जिल्लामा दुई हजार ५९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये एक हजार ५५३ जना निको भएर घर फर्किसकेका छन् । रासस