तत्काल औषधीको अभाव नहुने तर मूल्य बढ्ने
काठमाडौं । नेपालमा औषधीहरुको तत्काल अभाव नहुने देखिएको छ । औषधी उत्पादक संघले औषधीको स्टक (मौज्दात) पर्याप्त भएको र थप उत्पादन गर्न सक्ने कच्चा पदार्थ पनि यथेष्ट भएको बताएका कारण अभाव नहुने देखिएको हो संघका पूर्व अध्यक्ष दिपक प्रसाद दाहालले नेपालमा तत्काल कुनै पनि औषधीको अभाव नहुने बताए । अहिले अस्पतालमा बेडको अभाव, भेन्टिलेटरको अभाव, आईसियुको अभाव भएपनि औषधीको अभाव नभएको उनको भनाई छ । गत मंगलबार पूर्वी नेपालका औषधी व्यवसायीहरुले सिटामोल सहित २२ प्रकारका औषधीको अभाव भएको भन्दै एक विज्ञप्ती जारी गरेका थिए । तर, सो क्षेत्रमा औषधीको उत्पादन वा कच्चा पदार्थको कमिका कारण अभाव नभई उत्पादित औषधीको विक्री वितरणमा समस्या हुँदा त्यस्तो समस्या उत्पन्न भएको दाहालको भनाई छ । औषधी व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले झापामा देखिएको औषधी अभावको एउटा कारण यातायातमा भएको समस्याका कारण वितरण प्रणाली विग्रिएकोले देखिएको बताए । यसमा अन्य कारणहरुको अध्ययन भइरहेको र छिटै यसको समधान हुने उनले बताए । ‘मानिसले अनावश्यक रुपमा घरमा लगेर औषधी नलुकाएको अवस्थामा हामीसँग डाक्टरले प्रिस्क्रिप्सन दिने सबै औषधी सजिलैसँग पाइन्छ, अभाव छैन,’ केसीले भने । दाहालले हाल आफूहरुसँग ६ करोड थान सिटामोल बनाउने कच्चा पदार्थ रहेका बताए । औषधी उत्पादक संघले आफूहरुसँग स्टकमा भएका औषधीको विवरण सार्वजनिक गरेको छ । संघले १३ प्रकारका अत्यावश्यक औषधीको स्टक विवरण सार्वजनिक गरेको हो । संघले दिएको मौज्दातको विवरणको आधार हेर्दा हालको परिस्थितिमा कुनै पनि औषधिको अभाव नभएको प्रष्ट रहेको छ । यस परिस्थितिमा औषधी उत्पादकहरु नेपाल सरकार, औषधी व्यवस्था विभाग, आयातकर्ता, थोक तथा खुद्रा व्यापारी लगायत सबैको सहकार्यमा कुनैपनि औषधिको अभाव हुन नदिने संघले प्रतिवद्धता जनाएको छ । मूल्य बढ्ने दाहालले अन्तराष्ट्रिय बजारमा औषधीको मूल्य बढ्दै गएको र त्यसले नेपालमा पनि असर पार्ने बताएका छन् । ‘पहिला ५ देखि ६ डलर पर्ने प्यरासिटामोलको कच्चा पदार्थ अहिले १० देखि ११ डलर पुगेको छ, प्रायः औषधीहरुको मूल्य डबल भएर आइरहेको छ, हामी औषधीको विश्व बजारमा सानो हिस्सा भए तापनि यसको प्रभाव हामीलाई पनि पर्छ,’ उनले भने । सरकारको निर्णय अनुसार व्यवसायीहरुले २०६४ सालयता निकै महत्वपूर्ण र अत्यावश्यक मानिने औषधी प्यारासिटामोलको मूल्य १ रुपैयाँबाट बढाएका छैनन् । तर अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको बढ्दो मूल्यले अब भने यसको मूल्य बढ्ने दाहालले बताए । ‘एक महिनामा खाने तेल, चामलहरुको मूल्य बढेर कहाँबाट कहाँ पुगिसक्यो तर, हामी औषधीको मूल्य भने बर्षौदेखि एउटै कायम गरिरहेका छौं, हाम्रो पनि व्यापार हो, हामीले पनि महँगोमा ल्याएर सस्तोमा बेच्न सक्दैनौं, सरकारले हाम्रो यो माग सुनिदिनुपर्छ,’ उनले भने । विभागका प्रवक्ता केसीको अनुसार ६५ प्रतिशत औषधीहरु नेपालमै बन्ने गरेको र बाँकी मुख्य क्रिटिकल केयरको सामानहरु मात्र बाहिरबाट आउने गरेको छ । संघले भने आफूहरु ७५ प्रतिशत औषधी नेपालमै बनाउने सक्ने क्षमता भएपनि सरकारले सहयोग नगरेको कारण सजिलै उत्पादन गर्न सकिने औषधी पनि विदेशबाट भित्र्याइने गरिएको आरोप लगाउँदै आएको छ ।
सिंगापुरबाट आईपुगेको २५ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सरकारलाई हस्तान्तरण
काठमाडौं । सिंगापुरबाट १३ टनभन्दा बढी मेडिकल कार्गो लिएर नेपाल वायुसेवाको चार्टर उडान काठमाडौं आईपुगेको छ । देशमा फैलिएको कोभिड-१९ महामारीसँग लड्नका लागि सिंगापुरबाट गत जेठ ८ गते सो मात्राको स्वास्थ्य सामाग्री ल्याईएकाे हो । तामासेक फाउण्डेशन सिंगापुर, लोटस लाइफ फाउण्डेशन सिंगापुर, गोर्खा ब्रुअरी प्रा.लि. का साथै नेपाल सरकार, विभिन्न मन्त्रालयहरू, कूटनीतिक नियोगहरू र नेपाली प्रवासीसँग घनिष्ठ सहकार्यद्वारा गरिएको सहयोगबाट यो सम्भव भएको छ । करिब ३ मिलियन सिंगापुर डलर (करिब २५ करोड नेपाली रुपैयाँ) को संयुक्त अनुमानित मूल्यको कार्गो स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई दुई दाताहरुका तर्फबाट गोर्खा ब्रुअरीका उप-प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले आज एक समारोहमा हस्तान्तरण गरेका हुन् । यसमा १ लाख २३ हजारभन्दा बढी फोर्टिट्यूड ३.० पीसीआर परीक्षणहरू सिंगापुरको विज्ञान, प्रविधि र अनुसन्धान एजेन्सीद्वारा डिजाइन गरिएको छ, (ए स्टार), ५००० बाकस सिटोटेष्ट श्वाब किट्स (२,५०,००० किट), २ मागेस३२ आरएनए निकासी मेशिनहरु, २५०० निकासी किट र रिजेन्टस्, ३० अल्फा टेली-भेन्टिलेटर, ६ फिलिप्स ट्रिलोजी इभो भेन्टिलेटर, ५० युवेल बी पीएपी, नन्-इन्भेसिभ भेन्टिलेटरहरु र ४००० पल्स अक्सीमीटरहरु समावेश छन् । यसका साथै थप मेडिकल आपूर्तिको दोस्रो कार्गो आगामी केही हप्तामा सिंगापुरबाट नेपाल आउने अपेक्षा गरिएको छ । तामासेक फाउण्डेशन इन्टरनेशनलका मुख्य कार्यकारी अधिकारी, बेनेडिक्ट चिओङले एक वकतव्यमा भनेका छन्, “कोभिड-१९ को विभिन्न भेरिएन्टहरूबाट भर्खरै देखिएका अवस्थाहरुबाट यो कुरा प्रष्ट भएको छ कि हामीले जीवन बचाउन र महामारीलाई नियन्त्रणमा ल्याउन निरन्तर सँगै मिलेर काम गरिरहनु आवश्यक छ । तामासेक फाउण्डेशन महामारीको विरूद्ध विश्वव्यापी युद्ध लड्न नेपालका हाम्रा मित्र र छिमेकीहरूसँग एक साथ रहेको छ ।” सिंगापुर स्थित तामासेक फाउन्डेशनले २०७७ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई फोर्टिट्यूड २.० पीसीआर कोभिड-१९ जाँच्ने टेस्ट किट र अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको थियो । यसैगरी २०७२ को भूकम्पपछि मन्त्रालयलाई शिक्षा र तालिम कार्यक्रमहरुमा सहयोग गरेको थियो । “अहिलेको कठीन घडिमा सिंगापुरको तामासेक फाउण्डेशन, लोटस लाइफ फाउण्डेशन तथा गोर्खा ब्रुअरीबाट प्राप्त यो सहयोगको लागि सर्वप्रथम त म धेरै आभार व्यक्त गर्दछु । प्राथमिकताको आधारमा विभिन्न अस्पतालहरुलाई अविलम्ब यी सामग्रीहरु वितरण गरी कोभिड-१९ को उपचारमा तीव्रता ल्याउने कुरामा विश्वस्त गर्न चाहन्छु । कोभिड-१९ को माहामारी अझै बढ्दै गएको यस स्थितिमा गोर्खा बु्रअरीबाट आउँदो दिनहरुमा पनि यस्तै सहयोगको आशा गरिन्छ ।”, मन्त्री त्रिपाठीले आफ्नो टिप्पणीमा भने । उक्त सामानहरु हस्तान्तरण गर्ने क्रममा गोर्खा बु्रअरीका उप-प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले यस्तो महामारीको अवस्थामा कोभिड-१९ नियन्त्रण तथा उपचारको लागि तत्काल प्रयोगमा आउने सामग्रीहरु नेपाल सरकारलाई सहयोग गर्न पाउँदा सन्तोष व्यस्त गरे । नेपाल सरकारबाट उक्त सामग्रीहरु प्राथमिकताको आधारमा विभिन्न अस्पतालहरुलाई अविलम्ब वितरण गरी कोभिड उपचारमा सकारात्मक योगदान गर्ने विश्वास पनि व्यक्त गरे । गोर्खा ब्रुअरीबाट यस अघि पनि विभिन्न विषम परिस्थितिमा नेपाल सरकार तथा अन्य विभिन्न क्षेत्रहरुमा निरन्तर रुपमा विभिन्न सहयोग गर्दै आएको छ । २०७२ को भूकम्पमा पनि यस कम्पनीबाट नेपाल सरकारलाई १० करोड नेपाली रुपैयाँ सहयोग स्वरुप प्रदान गरिएको थियो । लोटस लाइफ फाउण्डेशन सिंगापुरले तामासेक फाउन्डेशन र नेपाल सरकारलाई यस महत्वपूर्ण मानवीय अभियानमा सहकार्य गरेकोमा धन्यवाद ज्ञापन गर्नुका साथै यस उपकरणले फ्रन्टलाइन स्वास्थ्य-सेवाकर्मीहरूलाई महामारीलाई नियन्त्रण गर्न मद्दत पुर्याउँछ भन्ने आशा गरेका छन्, जसले नेपालमा ६००० भन्दा बढीको ज्यान लिइसकेको दावी छ ।
काठमाडौंका अस्पतालमा दिनभर चक्कर, गरिबलाई पाइलै पिच्छे ठक्कर
तीन दिनदेखिको निरन्तर ज्वरो । शरिरको असाध्यै दुखाई । जेठ १ गते अकस्मात मलाई श्वासप्रश्वासमा समस्या आयो । अक्सिजनकाे लेभल नाप्न मसँग अक्सोमिटर थिएन । साथीहरुको सहयोगले तत्काल १३ सय ५० रुपैयाँमा अक्सिजन खरिद गरेँ र अक्सिजनको तह नापेँ । अक्सोमिटरमा मेरो अक्सिजनको लेभल ८५ देखियो । साथीहरुले अक्सिजनको तह धेरै तल आइसकेको बताउँदै अस्पताल जानु पर्ने सुझाव दिए । तत्काल नगरपालिकाबाट निःशुल्क रुपमा सेवा दिँदै आएकोे एम्बुलेन्सका लागि १०२ मा सम्पर्क गरेँ । कोरोना भाइरस पोजेटिभको रिपोर्ट आएपछि मात्रै एम्वुलेन्स पठाउन सकिने नभए एम्बुलेन्स नआउने उताबाट जानकारी आयो । मैले अत्याधिक ज्वरो र श्वासप्रश्वासमा समस्या भइरहेको भने पनि मेरो अनुरोधलाई स्वीकार गरिएन । मेरो मुटुको धड्कन् झन तीव्र गतिमा धड्किन थाल्यो । झन गाह्रो भइरहेको महसुस मैले गर्न थालेँ । साथीहरुले लगत्तै फेरि साही नम्बरमा फोन गरेर कोरोना पोजेटिभ रिपोर्ट आफुसँग भएको जानकारी गराए । त्यसको एक घण्टापछि एम्बुलेन्स आइपुग्यो । साँझको ६ बजिसकेको थियो । सो एम्बुलेन्सले मलाई भेनस अस्पतालमा पुर्यायो । त्यो बिचमा कुन अस्पताल जाने भन्ने विषय म काम गर्दै आएको संस्थाका मालिकले निर्णय गरिसेका रहेछन् । उनकै अनुरोधमा मलाई भेनस पुर्याइयो । भनेस पुग्ने बित्तिकै मलाई अस्पतालको ईमरजेन्सी कक्षमा अक्सिजन दिन थालियो । तर, अन्य कुनै उपचार भने मलाई गरिएन । अक्सिजन दिएको केही समयमै एक जना काला वर्णका मानिसले पीसीआर रिपोर्ट नभएको भन्दै उपचा। गर्न नसकिने बताए । म सँगै मेरा मालिक ( वुद्धि श्रेष्ठ) पनि सँगै हुनुहुनथ्यो । श्रेष्ठ सर ती व्यक्तिको कुरा सुनेर काउन्टरतर्फ लाग्नु भयो । काउन्टरमा उहाँलाई एक लाख रुपैयाँ खर्च लाग्ने भन्दै तत्कालै बुझाउन भनियो । श्रेष्ठ सरले अहिले ४० हजार मात्र आफुसँग रहेको र बाँकी भाेलि दिने बताउनु भयाे । त्यो शब्द सुन्ने बित्तिकै अघिका काला वर्णका मानिसले पीसीआर परीक्षणको रिपोर्ट नभएको कुनै हालतमा उपचार नहुने अडान लिए । काउन्टरमै बसिरहेका अर्का व्यक्तिले साहानुभुति जनाउँदै हामीलाई तुरन्त सिभिल अस्पताल जान सुझाव दिए । त्यसपछि श्रेष्ठ सरले मलाई सिभिल अस्पताल लिएर जानु भयो । करिब ८ बजे सिभिल अस्पताल पुगियो । सिसभिल सुनसान थियो । त्यहाँ पनि बेड खालि नभएको भन्दै अन्तै लिएर जान सुझाव दिइयो । अब हामीलाई फसाद पर्यो । श्रेष्ठ सरले विभिन्न व्यक्ति र ठाउँमा फोन घुमाउन थाल्नु भयो । श्रेष्ठ सरले बसुन्धारमा रहेको कान्तिपुर डेन्टल सेन्टरमा जानु पर्ने बताएसकेपछि हामी सिभिलको गेटमा रेहका ट्याक्सीहरुलाई सहयोग माग्न थाल्यौं । ट्याक्सीले पनि सिभिलबाट बसुन्धाराको ५ हजार रुपैयाँ माग्यो । बार्गेनिङ गर्दै जाँदा १ हजार रुपैयाँमा कुरा मिल्यो र हामी ९ बजे कान्तिपुर डेन्टलमा पुग्यौं । त्यहाँ पनि फेरि एक जना नर्सले बेड खाली नभएको जानकारी दिइन् । हामी फेरि अतालियौं । ती नर्सलाई धेरै आग्रह गर्यौं । उनले पनि डाक्टरहरु किन भर्ना गरेको भनि आफुसँग रिसाउने भन्दै भर्ना गर्न नसकिने जवाफ दिइन् । पछि धेरै ठाउँ फोन गर्दा ति नर्सकै मोबाइलमा फोन आयो र हामीलाई भर्ना गर्न लगाइयो । मलाई इमरजेन्सी कक्षमा लिइयो । त्यहाँ ७ वटा बेडहरु खालि नै थिए । तर, मलाई अगाडि बेड खालि छैन भनेर अर्कै अस्पतालमा जान सुझाइएको थियो । मेरो उपचारको प्रक्रिया सुरु भयो । पीसीआर परीक्षणदेखि विभिन्न १५ वटा टेष्ट गर्ने भन्दै काउन्टरबाट १५ हजार ७ सय रुपैयाँको बलि आयो । फार्मेसीबाट ८ हजार २ सय रुपैयाँको औषधी तत्काल सरले ल्याउनु भयो । केही घण्टापछि अस्पतालमा नर्सले विभिन्न औषधि र उपचारको नाम लेख्दै प्रति घण्टा अक्सिजन चढाएको ५ सय रुपैयाँ, प्रति दिनको ईमरजेन्सी वार्डको १५ हजारका दरले दुई दिनको ४० हजार हुने बताइन् । उनले अझ आईसीयुमा राखेको २८ हजार, प्रतिदिन वार्डमा भएमा न्यूनतम १५००० हजारका साथै साथै छातीको एक्सरे दिनहुँ र अन्य पनि टेष्टहरु दिनै हेर्नु पर्ने भनेपछि अहिलेसम्मको रकम साहुले चुक्ता गरेर सर फेरि अर्को अस्पतालको खोजिमा लाग्नु भयो । उहाँले अब कान्तिपुर डेन्टलबाट पनि टिचिङ्ग अस्पतालमा जानु पर्ने भन्दै मलाई एम्बुलेन्समा राख्नु भयो । केहि छिनमै म एम्बुलेन्सबाट टिचिङ्ग अस्पतालको गणेशमान भवनको प्राङ्गणमा पुग्यौं । मलाई अझै श्वास फेर्न समस्या भइरहेको थियो । तर, देशकै ठुलो मध्येको सरकारी अस्पतालमा पुगेपछि निको हुने कुरामा म ढुक्क थिएँ । टिचिङ्ग पुग्दा ठूलो भिड थियो । कोभिड लेखिएको कोठाभित्रको हुललाई छिचोल्दै दुई डाक्टर दुई नर्स देख्दा रातो मछेन्द्र नाथको रथ तानी रहँदा खटभित्र रहेको मछेन्द्रनाथ नै देखे जस्तो लाग्यो मलाई । करिब दश जना विरामीका मान्छेलाई एकजना डाक्टरले जवाफ दिंदै थिए । अस्पतालको आँगनदेखिको विरामीको चाप र बाटैमा पल्टिरहेका विरामी र तिनका कुरुवा देख्दा मलाई गोंगबु बस अड्डामा बस पर्खेका र छुटेर भोली गन्तव्य जान बिश्राम गरिरहेका यात्रीको जमात जस्तै कल्पना गर्न थालेँ । म पनि त्यही हुलको एक कुनामा लम्पसार परिहालेँ । ‘यहाँ त धेरैले आफैले अक्सिजन बोकेर आउँछन्’ पीपीए लगाएका एकजनाले मसिनो स्वरले जानकारी गराउँदै थिए । तर केहि छिनमै मैले पनि अक्सिजन लगाउन पाएँ मेरो भाग्य बलियो नै रहेछ जस्तो लाग्यो । टिचिङ्गमा दुई दिनसम्म बसेँ । २ दिनपछि मेरो अक्सिजन निकालियो र ६ गते त डिस्र्चाज गर्नु पर्यो को छ तपाईको मान्छे बोलाउनु भनेपछि मैले भने खोई त डाक्टर साब मलाई छातीमा ईन्फेक्सन देखियो निमोनियालाई के गर्ने ? खोकी अझै छ भन्दै गर्दा मसँग कुरा गर्दै गरेका डाक्टर अर्को विरामी हेर्न फर्किए । मैले मेरो सरलाई यो कुरा बताएँ । उहाँले पनि नर्सलाई सोध्दा अब निमोनिया त कोभिड लागे पछि भई नै हाल्ने र यो निको हुन ६ हप्तासम्म लाग्ने हुन्छ अब घरमा गई आराम गर्ने भनेपछि मैले सहज महसुस गरेँ । म भारतीय नागरिक । भारतिय नागरिक भएकै कारण अक्सिजन लगाएकोे ३ हजार ५ सय र सामुहिक वार्डमा राखिएपनि बेड चार्ज पनि ३ हजार ५ सय गरी ४ दिनको १७ हजार ५०० तिर्न लगाइयो । तर नेपाली भएमा चाहिं निशुल्क हुने रहेछ । कुन मुलुकको भनि चेक जाँच गर्ने कुनै ठोस आधार नहेर्ने भएपनि मेरो सरले चाहिँ झुठो विवरण दिन हुन्न भन्दै पैसा तिर्न बाध्य हुनु अब हामी अस्पतालबाट घर फर्किने भयौं । ट्याक्सीमा चढेर घर फर्कियौं । ट्याक्सीमा मेरो मनमा अनेकन कुराहररु खेद्यन थाले । चिनजान भएको व्यक्तिले ७ दिन मात्र प्राईभेट अस्पतालमा ज्यान बचाउन बस्नु पर्ने भएमा कति लाख खर्च हुँदो हो ? अझ ज्यान बच्ने नबच्ने कुरा र परिवारसँग पर रहँदाको कहाली लाग्दो स्मरणको कम्पन मनमा छुट्टै छ । अस्पतालमा आएको बिल मेरो मालिकले ममाथि नै थुपार्यो भने मेरो हाल के होला ? एकदिनमा ५० हजार रुपैयाँको बील तिर्नु त मेरा लागि आकाश पातल हो । यो भनेको म जस्ता निम्न आयश्रोत भएकाहरुलाई पशुपति आर्यघाट नै जा भने जस्तो लाग्यो । सरकारी अस्पताल भर्ना हुन पनि चिनजान नै चाहिने रहेछ । आज म बीमारी पर्दा जे दुःख अप्ठेरो भोगेँ मेरो गरिबीले हो मेरो नाता गोता र चिनजानको कमिले भएको जस्तो मलाई महसुस भयो । (प्रस्तुतीःअजय श्रेष्ठ)