हेलम्बु र मेलम्चीवासीको उपचारमा जुटे प्रहरी अस्पतालका चिकित्सक
काठमाडाैं । नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मी सङ्कटग्रस्त हेलम्बु र मेलम्चीवासीको निःशुल्क उपचारमा जुटेका छन् । यही असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा बाढीबाट पीडितको उपचारका लागि प्रहरी अस्पतालको विशेषज्ञ टोली नै हेलम्बु र मेलम्ची क्षेत्र पुगेको हो । प्रहरी अस्पतालका प्रहरी वरिष्ठ उपरीक्षक डा सञ्जयविक्रम श्रेष्ठको नेतृत्वमा ११ चिकित्सक बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । हेलम्बु गाउँपालिका–६ स्थित इचोक स्वास्थचौकी र वडा नं–४ स्थित चिलाउनेघारी आधारभुत स्वास्थ्य सेवा केन्द्र, चिलाउनेघारीमा दुई दिने शिविर सञ्चालन गरिएको प्रहरी अस्पतालका प्रवक्ता समेत रहेका डा श्रेष्ठले बताए । बिहिबार हेलम्बु–४ चिलाउनेघारीमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा एक सय ७९ को स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा १७० जनालाई विभिन्न रोगको औषधी वितरण, ४२ जनाको अल्ट्रासाउन्ड, १२ जनाको ‘माइनर’ शल्यक्रिया र १५ जनालाई ड्रेसिङ्ग गरिएको छ । हेलम्बु–६ स्थित इचोक आधारभूत स्वास्थ्य सेवा केन्द्रको शिविरमा १६२ को निःशुल्क उपचार गरिएको छ । इचोकमा १६० जनालाई औषधी वितरण, ४२ जनाको अल्ट्रासाउन्ड र नौ जनाको ‘माइनर’ शल्यक्रिया गरिएको छ । यसैगरी शुक्रबार मेलम्ची स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको शिविरमा १६६ को निःशुल्क उपचार गरिएको छ । मेलम्ची स्वास्थ्य केन्द्रबाट १५६ लाई औषधी वितरण गरिएको छ भने ४१ जनाको अल्ट्रासाउन्ड र १० जनाको ‘माइनर’ शल्यक्रिया तथा १५ जनालाई ड्रेसिङ्ग गरिएको छ । अस्पतालको टोलीमा डा श्रेष्ठ सहित, प्रहरी उपरीक्षक डा आशिष दत्त(सर्जन), प्रहरी नायब उपरीक्षक निर्मल घिमिरे (फिजिसिएन), प्रहरी नायब उपरीक्षक सुवास थापा (आन्तरिक औषधी), प्रहरी नायब उपरीक्षक रोजीना मानन्धर (रेडियोलोजिस्ट), प्रहरी नायब उपरीक्षक मुत्ती घिमिरे (स्त्री रोग विशेषज्ञ) छन् । यसैगरी प्रहरी नायब उपरीक्षक भवानी गुरुङ ( बाल रोग विशेषज्ञ), प्रहरी नायब उपरीक्षक शंकर थापा (दन्त रोग विशेषज्ञ), प्रहरी नायब उपरीक्षक प्रभाकर श्रेष्ठ (अर्थोपेडिक सर्जन) र प्रहरी निरीक्षक डा. प्रबिना मास्के तथा डा. एलिना श्रेष्ठ टोलीमा संग्लन छन् । रासस
आइतबार ३ हजार बढीले जिते कोरोना
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप तीन हजार ७ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार देशभरका प्रयोगशालामा ६ हजार जनाको पिसिआर र ३ हजार ८३६ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ३५३ जना र एन्टीजेटमाफर्त ५६७ जना संक्रमित पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ । यससँगै हालसम्म मृतकको संख्या ९ हजार ९ पुगेको छ ।
आइएमई फाउन्डेसनद्वारा शुक्रराज हस्पिटललाई अक्सिजन प्लान्ट हस्तान्तरण
काठमाडौं । आइएमई फाउन्डेसनले शुक्रराज सरुवा रोग अस्पताललाई अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण हस्तान्तरण गरेको छ । फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक तथा फाउन्डेसनका अध्यक्ष हेमराज ढकालले शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीलाई शनिबार अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन् । यस अघि नेशलन बिजनेश इनिशिएटिभ र आइएमई फाउण्डेसनबीच शुक्रराज सरुवा रोग अस्पतालमा अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण उपलब्ध गराउने सम्झौता भएको थियो । सोही अनुसार नेशलन बिजनेश इनिसिएटिभले अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण खरिद प्रक्रिया अगाडि बढाएको थियो । फाउन्डेसनले अक्सिजन प्लान्ट स्थापनाको लागि एक करोड अठ्ठाइस लाख बराबरको सहयोग उपलब्ध गराएको थियो । यसका अतिरिक्त आइएमई फाउन्डेसनले कोभिड–१९ को रोकथाम तथा उपचारका लागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण नेपाल सरकारलाई प्रदान गरिसकेको छ ।