मंगलबार ४ हजार ३४८ जनाले जिते काेराेना, २० जनाकाे मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा चार हजार ३४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप चार हजार ३४८ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार देशभरका प्रयोगशालामा ७ हजार २५९ जनाको पिसिआर र ४ हजार ४८९ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ७२८ जना र एन्टीजेटमाफर्त ९०८ जना संक्रमित पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ । यससँगै हालसम्म मृतकको संख्या ९ हजार ७१ पुगेको छ ।
नर्भिक अस्पतालद्वारा फिजियोथेरापीको होम सर्भिस सुरु
काठमाडाैं । काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले फिजियो थेरापीको होम सर्भिस सुरु गरेको छ । पछिल्लो समय लोकप्रिय हुँदै गएको उपचारविधि फिजियो थेरापी सेवा अब नर्भिक अस्पतालको विशेषज्ञसहितको टिमले घरमै गएर उपलब्ध गराउने भएको हो । तत्कालका लागि यो सेवा काठमाडाैं उपत्यकाभित्र मात्र सीमित गरिएको अस्पतालले जनाएकाे छ । कोही कसैलाई फिजियोथेरापी सेवा चाहिएमा नर्भिकमा फोन सम्पर्क गरी फिजियो थेरापिष्टहरुलाई बोलाउन सकिने अस्पतालले जनाएकाे छ । नर्भिकले थालेको होम सर्भिसले फिजियो थेरापी सेवाका लागि मात्र अस्पताल बस्नुपर्ने बाध्यतामा रहेका बिरामीहरु र कोभिड–१९ को संक्रमणको जोखिमका कारण अस्पताल पुग्न नचाहने बिरामीहरु बढी लाभान्वित हुने नर्भिकको फिजियो थेरापी डिपार्टमेन्ट प्रमुख समीम अख्तरले बताए । नर्भिक अस्पतालबाट यो सेवा लिनका लागि बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सम्पर्क गर्नुपर्नेछ ।
कोरोना खोपको शुल्क लिनेलाई सरकारले कारबाही गर्ने
काठमाडौं । सरकारले कोरोना भाइरस बिरुद्धको खोपका लागि शुल्क तिरेर नलगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले उमेर समूह र अत्यावश्यक क्षेत्र अनुसार खोप वितरण भइरहेकोले शुल्क तिरेर खोप नलगाउन आह्वान समेत गरे । मन्त्रालयले पैसा तिरेर खोप किन्न हतार नगर्न अनुरोध समेत गरेको छ । मन्त्रालयले शुल्क लिएर खोप उपलब्ध गराउनेलाई कारवाही गर्ने जनाएको छ । “सरकारले कोरोना भाइरस विरुद्धको खोप निःशुल्क विवरण गर्दै आइरहेको छ”,सूचनामा भनिएको छ, “त्यसैले कसैले पनि शुल्क मागेर खोप उपलब्ध गराउने कुरा गरेमा वा त्यस्ता ठगी गर्नेको जानकारी तुरुन्तै स्थानीय प्रशासन वा मन्त्रालयमा उजुरी गरौै ।” नेपालमा हालसम्म २५ लाख ८७ हजार ८७३ जनालाई पहिलो मात्रा र सात लाख ५२ हजार ११० जनालाई दोस्रो मात्राको खोप प्रदान गरिरहेको छ । कोभिशिल्ड र भेरोसेल खोप लगाइएको छ । यही असार २२ गतेबाट पुनः ६० बर्षदेखि ६४ बर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेलको दोस्रो मात्राको खोप लगाइँदैछ । रासस