बाढीले बगाएको रोशी अस्पताल डब्लुएचओको सहयोगमा पुनःनिर्माण, सेवा फेरि सुरु

काभ्रेपलाञ्चोक । यहाँको रोशी गाउँपालिकामा गतसाल असोजको बाढीले बगाएको दस श्ययाको रोशी आधारभूत अस्पताललाई हाल पाँच श्ययाको अस्पताल पुनःनिर्माण गरिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को आर्थिक सहयोगमा निर्माण भएको उक्त संरचना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत रोशी गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । नवनिर्मित संरचनासहित औषधिलगायतका सामाग्री पनि ‘डब्लुएचओ’ले सहयोग गरेको हो । सङ्घीय सरकारको ६ करोड पाँच लाख २४ हजार बजेटद्वारा रोशी–१ मा निर्माण अन्तिम चरणमा पुगेको दश श्ययाको आधारभूत अस्पताल भवन बाढीले बगाएको थियो । त्यसयता ‘टेन्ट’बाट सेवा प्रदान गर्दै आइएको थियो । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले हाल अस्थायी रुपमा अस्पताल निर्माणका साथै स्वास्थ्य सामग्रीसमेत प्रदान गरेकामा आभार प्रकट गरेका छन् । उनका अनुसार उक्त अस्पतालले गाउँपालिकाको वडा नं. १, २, ३ र ४ का साथै छिमेकी नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकाका नागरिकले सेवा पाउने छन् । अध्यक्ष लामाले १० श्ययाको अर्को सुविधायुक्त अस्पताल निर्माणका लागि सम्बन्धित निकायमा प्रक्रिया थालिने बताए । डब्लुएचओका नेपाल प्रतिनिधि डा राजेश सम्भाजी रावपाण्डबले नेपालको स्वास्थ्य क्षेत्रमा संस्थाले सहयोग गरिरहेको र आगामी दिनमा पनि नेपाल सरकारसँग साझेदारी गर्दै अगाडी बढ्ने बताए । बढीपहिरोले गाउँपालिकामा निर्माण सम्पन्न भएका अस्पतालसहित तीन ठूला ‘गौरव’का आयोजना पूर्णरुपमा क्षति पुगेको थियो । बाढीपहिरोले रोशी–११ स्थित कालढुङ्गामा करिब ७० रोपनी जमिनमा निर्माण गरिएको तामाङ जातिको विशेषता झल्कने १४ करोडको लागतमा निर्माण भएको ‘डम्फु जीवन्त सङ्ग्रहालय’सहितको ९ डायमिटरको डम्फु, सङ्ग्रहालय भवन, पुस्तकालय भवन, पिकनिक स्थल, पार्किङ स्थल र बगैँचा रोशी खोलाले बगाएको थियो सङ्ग्रहालय हाताभित्र करिब रु दुई करोडमा निर्माण गरिएको औद्योगिक ग्रामको प्रशासनिक भवन तथा शीतभण्डार र खानेपानी आयोजनाका संरचना पनि बाढीले बगाएको थियो बाढीपहिरोमा परी उक्त गाउँपालिकामा छ महिला, तीन पुरुष, एक बालक र तीन बालिका गरी १३ जनाको मृत्यु भएको थियो भने चार सय ८२ घर पूर्णरुपमा तथा आठ सय ८३ घर आंशिक रुपमा क्षति पुगेको थियो । गाउँपालिका कार्यालयको तथ्याङ्कअनुसार बाढीपहिरोले दुई हजार पाँच सय ४४ परिवारको खेतबारीमा क्षति पुगेको थियो भने एक सय ६० खानेपानी आयोजना, एक पक्की पुल, ४७ विद्यालय, चार स्वास्थ्य केन्द्रमा क्षति पुगेको थियो । रासस

गणतन्त्रपछि जनस्वास्थ्यमा सुधार : बिमा र सेवा विस्तारमा अझै समन्वयको खाँचो

काठमाडौं । गणतन्त्र स्थापनापछिका १७ वर्षमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार हासिल गरेको छ । विशेषगरी सङ्क्रामक रोग नियन्त्रण, मातृ तथा बाल स्वास्थ्यमा सुधार र स्वास्थ्य सेवा पहुँच विस्तारमा उल्लेख्य प्रगति भएको छ । विसं २०७२ मा संविधान जारी भएपछि स्वास्थ्यलाई प्रत्येक नागरिकको मौलिक हकका रूपमा परिभाषित गरेसँगै स्वास्थ्य सेवा पहुँचमा सुधार देखिएको छ । सङ्घीय शासन प्रणालीअनुसार स्वास्थ्य सेवा सङ्घ, प्रदेश र स्थानीय तहमा विकेन्द्रित गरिएको छ । स्थानीय तहमा आधारभूत स्वास्थ्य संस्थाहरूको भौतिक पूर्वाधार निर्माण, स्वास्थ्य उपकरण आपूर्ति र जनशक्ति व्यवस्थापनमा सुधार देखिएको छ । स्वास्थ्य संस्था सञ्चालनदेखि औषधि खरिदसम्मका अधिकार तीनै तहलाई प्रदान गरिएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत आवश्यक प्राविधिक जनशक्ति उत्पादनमा पनि सरकारले ध्यान दिएको छ ।  स्वास्थ्य उपचारका नाममा हुने खर्चकै कारण लाखौँ नेपाली अझै गरिबीको रेखामुनि धकेलिइरहेका छन् । सोह्रौँ योजनाले व्यक्तिको खल्तीबाट हुने खर्च घटाउने लक्ष्य राखेको छ । हाल कुल स्वास्थ्य खर्चमा व्यक्तिको खल्तीबाट हुने खर्च ५४ दशमलव दुई प्रतिशत रहेको छ ।  राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी बिच्छाले स्वास्थ्य बिमालाई थप व्यवस्थित र विस्तार गर्दै लैजाने लक्ष्य लिइएको बताउए । उनले भने, 'सरकारले नागरिकको खल्तीबाट खर्च हुने रकमलाई क्रमशः कम गर्दै लैजाने रणनीति लिएको छ । नसर्ने रोगको रोकथाममा पनि विशेष ध्यान दिन आवश्यक छ ।' स्वास्थ्य बिमा कार्यक्रम र विपन्न नागरिक कोषले नागरिकलाई सुलभ उपचारमा सहयोग पुर्याइरहेका छन् । यद्यपि, बिमा नवीकरण तथा दाबी भुक्तानी प्रक्रिया अझै पनि जटिल र चुनौतीपूर्ण छ । सरकारले आमनागरिक र लक्षित वर्गका लागि आमा सुरक्षा कार्यक्रम, महिलाको निःशुल्क उपचार तथा प्राथमिक स्वास्थ्य केन्द्रबाट ९८ प्रकारका औषधि उपलब्ध गराइरहेको छ । साथै, मुटु, मिर्गाैला, क्यान्सरजस्ता जटिल रोगको उपचारमा विपन्न नागरिकलाई आर्थिक सहयोग प्रदान गर्दै आएको छ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ अनुसार १४ देखि ४९ वर्ष उमेर समूहका ९४ प्रतिशत महिलाले गर्भावस्थामा दक्ष स्वास्थ्यकर्मीबाट सेवा लिएका छन् । पाँचमध्ये चार बच्चा दक्ष स्वास्थ्यकर्मीको उपस्थितिमा जन्मिएको देखिएको छ । मातृ मृत्युदर प्रतिलाख जीवित जन्ममा ५३९ बाट घटेर १५१ मा झरेको छभने नवजात शिशु मृत्युदर सन् २०१६ यता २१ प्रतिहजारमै स्थिर छ । १२ देखि २३ महिनासम्मका ८० प्रतिशत बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् । जनस्वास्थ्यविद् डा बाबुराम मरासिनीका अनुसार गणतन्त्रपछिका वर्षमा नेपालले धेरै स्वास्थ्य सूचकहरूमा उल्लेखनीय प्रगति गरेको छ । 'नेपालीको औसत आयु बढेको देखिन्छ । मातृ मृत्युदर र बाल मृत्युदरमा पनि सुधार आएको छ । अङ्ग प्रत्यारोपणमा पनि उल्लेखनीय फड्को मारिएको छ तर स्वास्थ्य बिमाको प्रभावकारितामाथि भने प्रश्न छ', उनले भने, 'बिमा प्रणाली गम्भीर चिन्तनबिना हतारमा लागू गरिएको देखिन्छ । यो प्रभावकारी हुन सकेको छैन । अझै पनि ग्रामीण तथा दुर्गम क्षेत्रमा नागरिकले दक्ष चिकित्सकको सेवा पाउन सकिरहेका छैनन् । दक्ष जनशक्ति उत्पादन भए पनि दरबन्दी सिर्जना गर्न नसक्नु दुःखद हो ।' राष्ट्रिय योजना आयोगको सोह्रौँ योजनाअनुसार गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित हुनु, स्वास्थ्य बिमा प्रणालीलाई पुनः संरचना गर्ने, औषधि, औषधिजन्य सामग्री र खोपको उत्पादनमा आत्मनिर्भर हुनेलगायतका प्राथमिकतामा छन् । यद्दपि, संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा स्वीकार गरे पनि नीति तथा कानुनी संरचनामा अझै सुधार आवश्यक देखिन्छ । गुणस्तरीय सेवा, दक्ष जनशक्तिको पहुँच, प्रविधिको प्रयोग, बजेट व्यवस्थापन र तीन तहबीचको समन्वय अझै चुनौतीका रूपमा रहेका छन् । स्वास्थ्य बिमा बोर्डका पूर्वअध्यक्ष डा गुणराज लोहनीले गणतन्त्रको प्रमुख उपलब्धि नागरिकको मौलिक हक सुनिश्चित गर्नु रहेको बताए । उनले भने, 'विसं २०७२ मा आएको स्वास्थ्य बिमालाई दिगो र प्रभावकारी बनाउन स्वास्थ्य बिमा ऐन पूर्णरूपमा कार्यान्वयन गर्नुपर्छ । बिमालाई दिगो बनाउन औपचारिक क्षेत्रलाई अनिवार्य संलग्न गराउनुपर्छ । साथै, गरिब घर पहिचान गरेर प्रिमियम राज्यले बेहोर्नुपर्छ । बिमा बोर्डलाई पूर्ण रूपमा स्वायत्त निकाय बनाइनुपर्छ ।' राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा आरपी बिच्छाले स्वास्थ्य क्षेत्रमा तीन तहबीच समन्वय कसरी मजबुत बनाउने भन्नेमा ध्यान दिनुपर्ने बताए । 'एकद्वार प्रणाली र समन्वयको अभावले कतिपय कार्यक्रम दोहोरिएका छन् । मन्त्रालयगत समन्वय पनि अपरिहार्य भएको छ', उनले भने । सोह्रौँ योजनामा औषधिमा आत्मनिर्भरता, मेडिकल टुरिजमको प्रवर्द्धन तथा स्वास्थ्य बजेट वृद्धिलाई प्राथमिकता दिइएको डा बिच्छाले उल्लेख गरे । सोह्रौँ योजनाको प्रतिवेदनअनुसार पन्ध्रौँ योजनाले लिएका सबै लक्ष्यहरू हासिल गर्न सकिएको छैन । मातृ मृत्युदर, नवजात शिशु मृत्युदर, पाँच वर्षमुनिका बालबालिकाको पुड्कोपनको अवस्था, पूर्ण खोप पाउने बालबालिकाको प्रतिशत तथा स्वास्थ्य बिमामा आबद्धताको सङ्ख्यामा अझै काम गर्न बाँकी रहेको देखिन्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार कुल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा छुट्याइनुपर्ने मानक भए पनि नेपालमा हाल करिब चार प्रतिशत हाराहारी मात्र छुट्याइएको छ । यस वर्ष केही सकारात्मक पहलहरू पनि भएका छन् । पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने एचपिभी खोप अभियान माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन गरिएको थियो, जसबाट करिब १७ लाख किशोरी लाभान्वित भए । आगामी वर्षदेखि उक्त खोप नियमित खोप तालिकामै समावेश गरिने भएको छ, जुन सुखद पक्ष मानिएको छ ।  यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुर्तीजन्य पदार्थको बट्टामा अनिवार्य रूपमा १०० प्रतिशत घातक चेतावनी चित्र राख्नुपर्ने नियम ल्याएको भए पनि कार्यान्वयन हुन बाँकी छ । यद्यपि, नेपालले सुर्तीजन्य पदार्थ नियन्त्रणमा पु¥याएको योगदानका लागि केही दिनअघि डब्लुएचओबाट पुरस्कृत भएको छ । संविधानले मौलिक हकका रूपमा व्याख्या गरे पनि गुणस्तरीय सेवा, प्रविधिको सदुपयोग र पर्याप्त जनशक्ति व्यवस्थापनमा अझै सुधार आवश्यक छ । ग्रामीण क्षेत्रका नागरिकले सामान्य उपचारका लागि पनि सहर धाउनुपर्ने बाध्यता हटाउन, रिफरल अस्पतालहरूको क्षमता अभिवृद्धि गर्न र मानसिक तथा नसर्ने रोगतर्फ विशेष ध्यान दिनुपर्ने आवश्यकता स्पष्ट देखिन्छ । गणतन्त्र स्थापनापछि नेपालमा स्वास्थ्य क्षेत्रमा व्यापक सुधार र संरचनात्मक विकास भएका छन् । सङ्घीय शासन व्यवस्थाले सेवा वितरणमा विकेन्द्रीकरण सुनिश्चित गरे पनि अझै गुणस्तरीय सेवा, समान पहुँच, स्वास्थ्य बिमा कार्यान्वयन, जनशक्ति व्यवस्थापन र प्रविधिको प्रयोगमा सुधारका लागि थप काम गर्नुपर्ने यस क्षेत्रका विज्ञहरूले जोड दिने गरेका छन् । रासस

मौन महामारीका रुपमा फैलिँदैछ थाइराइड, दम्पत्तिलाई बच्चा जन्माउन सकस

काठमाडौं । काठमाडौंकी सदीक्षा ढुंगाना ६ महिनाकी सुत्केरी थिइन् । छोरा दूध चुस्दै थिए । एक्कासि उनलाई पहिलेको भन्दा फरक अनुभव हुन थाल्यो । चिसो हुने, केही काम नगर्दा पनि थकाइ लाग्ने, झर्को लाग्ने हुन थाल्यो । सुत्केरी हुँदा ६५ केजी तौलको शरीर एक्कासि ९० केजीमा पुग्यो । उनलाई सुत्केरी ज्यान यत्तिकै मोटायो होला भन्ने लाग्यो । तर, अस्वाभाविक तौल बढेपछि उनी अस्पताल पुगिन् । अस्पतालमा जाँच गर्दा थाहा भयो कि उनलाई थाइराइड भएको रहेछ । यो समस्या के हो ? कसरी भयो उनलाई थाहै थिएन । कहिल्यै नाम नसुनेको रोग लाग्यो भन्दा उनी डराइन् । तर, यो विषयमा थाहा भइसकेपछि सामान्य मनस्थितिमा आइन् । तर, ८ वर्ष भयो उनी यो रोगबाट मुक्त हुन सकेकी छैनन् ।   उनी ९ वर्षदेखि थाइराइडको थाइरोनम औषधी खाँदै आएकी छन् । ‘कहिले औषधीको मात्रा बढाउनुपर्छ, कहिले घटाउनुपर्छ,’  उनी भन्छिन्, ‘चिकित्सकले जीवनभर औषधी खानुपर्छ भनेको छ,  म त औषधी खाँदा खाँदा दिक्क भइसकें ।’ उदयपुर गाइघाटकी सरिता दाहालको पहिलो सन्तान छोरा थियो । अर्को सन्तान पाउने चाहनामा उनको दम्पत्ति लागे । तर, लामो समयसम्म पनि सन्तान जन्मेन । उनी जाँच गर्न जाँदा उनलाई थाइराइड भएको समस्या देखियो । उनले चिकित्सकको सल्लाहमा औषधी खाइन् । खानपान, नियमित, औषधी र शारीरिक व्यायमले उनलाई थाइराइड निको भयो । उनले दुई वर्षपछि फेरि अर्को छोरा जन्माएकी छन् ।  थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको आइभीएफ सेन्टरमा कार्यरत चिकित्सक डा. जला थापा थाइराइडको समस्याले बच्चा बस्न गाह्रो हुने बताउँछिन् । उनी कुनैपनि दम्पत्तिले बच्चा जन्माउने योजना बनाउनु अघि थाइराइड जाँच अनिवार्य गर्नुपर्ने बताउँछिन् ।  ‘कतिपय अवस्थामा दम्पतीले बच्चाको प्रयास गरिरहेका हुन्छन् । तर, भइरहेको हुँदैन । हामीकहाँ जाँचका लागि आउँदा थाइराइडको समस्या भएको पाइन्छ, आजभोलि यो समस्या महिला पुरुष दुवैमा देखिने गरिएको छ,’ उनले भनिन् ।   चुपचाप थाक्दै शरीर नेपाली जनस्वास्थ्यमा जटिल रुपमा देखिएको एउटा समस्या हो थाइराइड । अधिकांश नेपाली अहिले थाइराइडबाट पीडित भएका छन् । चिकित्सकहरू अहिले थाइराइड तीव्र रुपमा  फैलिँदै गएको बताउँछन् ।  विशेषगरी मधुमेहबाट प्रभावित र गर्भवती महिला यो समस्याबाट बढी प्रभावित छन् । उपत्यकामात्र होइन उपत्यका बाहिरका अस्पतालमा पनि यो समस्या देखिने गरेको चिकित्सक बताउँछन् । यो समस्या लिएर पहिलेको तुलनामा अहिले संख्या पनि बढेको शहिद मेमोरियल अस्पताल कार्यरत इन्डोक्राइनोलोजिष्ट डा. सुनिल चौधरी बताउँछन् ।  उनी भन्छन्, ‘ल्याबको सुविधा भएर पनि होला, मान्छे सचेत पनि हुन थाले थाइराइड जाँच गराउनेको संख्या बढेपछि यो बाट ग्रसितहरूको संख्या पनि बढेको पाइन्छ, पहिले भन्दा अहिले जाँच गराउनेको संख्या पनि बढको छ ।’ चिकित्सकका अनुसार थाइराईड मुख्यतया दुई किसिमको हुन्छ । एउटा हाइपो थाइराडिज्म, अर्को हाइपर थाइराइडिज्म । हाइपोमा हर्मेन कम निस्कने सम्भावना हुन्छ भने यसको लक्षण फरक हुन्छ  । यस्तै, हाइपर थाइराइडिज्म हर्मोनको उत्पादन बढी हुने गर्छ । यो समस्यामा उपचार भएन भने तौल कम हुँदै जान्छ भने मान्छे सुक्दै जान्छ । यसका साथै मुटुमा ब्रेनमा असर आउँछ भने आँखामा पनि समस्या निम्त्याउँछ ।  हाइपोको समस्यामा भएकाहरूमा भने तौल बढ्दै जाने, थकाइ लाग्ने, अल्छी लाग्ने हुँदै मोटोपना बढ्दै जाने लक्षण देखा पर्छ ।  डा. चौधरी दुवै समस्याको लक्षण मात्र नभइ उपचार समेत फरक–फरक हुने गरेको बताउँछन् ।  चौधरी कार्यरत कलंकीमा रहेको शहीद मेमोरियल र कुपोण्डोलमा रहेको मधुमेह तथा थाइराइड उपचार केन्दमा पनि यो थाइराइडको समस्या भएको व्यक्तिको संख्या धेरै आउने गरेको छ । थाइराइडको समस्या नेपालमा मात्र होइन विश्वभर बढ्दै गएको छ । यसमा जैवीक, सामाजिक पर्यावरणीय र जीवनशैलीका कारण विश्वमै बढ्दै गएको विज्ञहरू बताउँछन् ।  कतिपय व्यक्तिमा अत्याधिक आयोडिनको प्रयोग र कतिपयमा यसको कमीले थाइराइड देखिने भएकाले चिकित्सकहरू आयोडिनको असन्तुलित सेवनले यो समस्या देखिने गरेको बताउँछन् । पछिल्लो समय व्यक्तिको बदलिँदो खानपान र जीवनशैलीले पनि यसको बढावामा टेवा पुर्याइरहेको छ ।  फास्ट फुड, प्रोसेस्ड फुडले मेटाबेलोजिममा असर पर्दा पनि यो समस्या भइरहेको हुन्छ भने सेलेनियम, जिंक आइरन  जस्ता माइक्रोन्युट्रियन्टको कमीले हर्मोन उत्पादनमा अवरोध गर्दा यो समस्या हुन्छ । महिलाहरूमा हर्मोनको असन्तुलन, वातावरणीय प्रदूषण र रसायनको प्रभावले पनि यो समस्या देखिने चिकित्सकहरू बताउँछन् ।   महिलामा बढी असर  थाइराइडको समस्या पुरुषको तुलनामा महिलामा आठ गुणा बढी देखिने गरेको छ । बैज्ञानिक कारण स्पष्ट नभएपनि महिलामा थाइराइडको समस्या बढी देखिने गरेको छ । डा. चौधरी हर्मोनको असन्तुलनका कारण यो समस्या महिलामा बढी हुने बताउँछन् । महिलाहरुमा गर्भवती, महिनावारी, सुत्केरी अवस्थामा आउने हर्मोन गडबढीले यो समस्या बढी महिलामा हुने गर्छ ।  उनी भन्छन्, ‘पुरुषहरूको तुलनामा महिलाको शरीर हर्मोनको मामलमा ज्यादा संवेदनशिल हुन्छ, थाइराइडको समस्याबाट हर्मोन उत्पादनमा गडबढ हुने भएकाले त्यसको असर महिलाहरूको शरीरले तत्काल देखाइहाल्छ ।’  यसका साथै वातावरणी प्रभावले पनि महिलामा थाइरायिडको समस्या बढी हुन्छ ।  शरीरमा हुने स्ट्रोजन र प्रोजेस्ट्रोन हर्मोनको स्तर बद्लिदा थाइराइड हर्मोनको सन्तुलनमा गडबढी हुन्छ ।  एकिन तथ्यांक छैन नेपालमा अधिकांश नेपालीको समस्या थाइराइड भएपनि यो समस्याबाट कति नेपाली पीडित छन् भन्ने एकिन तथ्यांक पाइँदैन । विभिन्न स्वास्थ्य संस्थाले गरेका अध्ययनले अवस्था डर लाग्दो देखाउँछ । एक वर्ष पहिले समुदायमा आधारित गरेको एक अध्ययनले करिब ४.३२ जनसख्या यो समस्याबाट प्रभावित भएको देखाएको छ । यसमा पनि पुरुष भन्दा महिलाको दर बढी देखिएको छ ।   जसमा ७२.४१ प्रतिशतमा सवक्लिननिक हाइपो थाइरायडिज्म अर्थात थाइराइड ग्रन्थीले सामान्यभन्दा कम कम हर्मोन उत्पादन गरिरहेको हुन्छ तर लक्ष्ण स्पष्ट देखिएको हुँदैन । १३.७ मा प्राथमिक हाइपो थाइरायडिज्म देखिएका १३.७ हाइपर थाइरायडिज्म पाइएको थियो । पूर्वी नेपालमा गरिएको एक अध्ययनले ३९ प्रतिशत बिरामीहरूमा कुनै न कुनै प्रकारको थाइराइडको विकार भएको देखाएको थियो । जसमा १६.४९ प्रतिशत स्पष्ट रुपमा हाइपो थाइराइडिज्म, १६.६ प्रतिशतमा सबक्लिनिक हाइपो थाइराइडिज्म,४.०४ प्रतिशतमा हाइपर थाइरायडिज्म र २.९ प्रतिशतमा सबक्लिनिकहाइपर थाइरायडिज्म भएको पाइएको थियो । यस्तै सूदूरपश्चिममा गरिएको एक अध्ययनले २४.८ प्रतिशतमा थाइराइडको समस्या भएको देखाएको छ । जसमा १४.९ प्रतिशतमा हाइपर थाइराइडिज्म र ९.९ मा बक्लिनिक हाइपर थाइरायडिज्म रहेको देखाएको छ । यो तथ्यांकले पनि नेपालमा थाइराइड एक जनसंख्याको जोखिमका रुवपमा रहेको देखाएको छ । यि बाहेक विभिन्न स्वास्थ्य संस्थाले आ आफ्नो संस्थामा गरेको अध्ययनले पनि अवस्था डर लाग्दो देखाएको छ । के हो थाइराइड ? थाइराइड मानव शरीरमा हुने एउटा ग्रन्थी हो । यो हाम्रो घाँटीको बीचमा पुतली आकारको हुन्छ ।  दायाँ बायाँ हुने ग्रन्थीलाई मासुले जोडेको हुन्छ । यसले हर्मोन निकाल्ने भएकोले ग्रन्थी भनिएको हो ।  यसले शरीरमा दुर्य किसिमको हर्मोन उत्पादन गर्छ एउटा टी थ्री, अर्को टी फोर । यी हर्मोनले शरीरको मेटाबोलिज्म अर्थात ऊर्जा उत्पादन, शरीरको तामान, मुटुको गती, पाचन प्रर्णालीदेखि मस्तिष्कको विकास र मासिक चक्रलाई नियन्त्रीत गर्छ । गो ग्रन्थी आफै सक्रिय हुँदैन ।  टाउकोमा रहेको पिटुयुटरी ग्रन्थीले टीएसएच हर्मोन उत्पादन गर्छ ।  यसले थाइराइड ग्रन्थीलाई टी थ्री र टी फोर उत्पादन गर्न सन्देश दिन्छ । यदि टी थ्री टी फोर कम भयो भने टीएसएच बढ्छ, यदि धेरै भयो भने आयो भने टीएसएच घट्छ  । टी थ्री र टी फोर हर्मोनले शरीरमा हुने क्रियाकलापलाई नियन्त्रण गर्छ ।   यो समस्या भएका बिरामीहरूको घाँटी दुख्दै जान्छ । एउटा ग्रन्थीले उत्पादन गर्ने  टी थ्री र टी फोर  हर्मोनको काम एउटै हो । दुई किसिमको हुने थाइराइडको उपचार पनि अलग अलग हुन्छ ।  उपचार नहुँदा यसले जोखिम निम्त्याउँछ भने मानिसक असुन्तलन पनी हुन्छ । हाइपरलाई उपचार नगर्दा मुटुको धड्कन बढ्दै जाने हुन्छ ।  नेपालमा थाइराइड रोग सरकारी स्वास्थ्य प्राथमिकताको रुपमो खासै परेको पाइँदैन । तर, यससँग सम्बन्धीत केही पहल भनेको भएको छ । थाइराइड  आयोडिनको कमीले लाग्ने भएकोले सरकारले आयोडिन नुन कार्यक्रम सञ्चालन गरेको छ । पहिले ढिके नुनको प्रयोग गरिरहेका अधिकांश नेपाली अहिले आयोडिन नुनको प्रयोग गर्न थालेका छन् । चिकित्सकहरू यो पनि थाइराइड रोकथामको एक कदम भएको बताउँछन् ।  तर, जनस्वास्थ्यका कार्यक्रमहरुमा भने थाइराइड परीक्षण छुटेको छ । प्राथमिक स्वास्थ्यकेन्द्रमा समेत थाइराइड परीक्षणको सुविधा छैन । भएका निजीर सरकारी अस्पतालमा पनि थाइराड जाँच महंगो पर्छ । निजी अस्पतालहरूले थाइराइड जाँचको लागिमात्र पाँच सयदेखि ८ सयसम्म शुल्क लिने गर्छन् ।  जनस्वास्थ्य विज्ञ भन्छन्, ‘नेपालमा थाइराइड जाँच अझैपनि लक्जरी टेस्ट जस्तो देखिन्छ । जब कि यो बेशलाईन स्वास्थ्य सेवा हुनुपर्ने हो ।’ थाइराइड जनस्वास्थ्य समस्या हो तर नेपालको नीतिमा अझै प्राथमिकतामा परेको छैन ।