८० प्रतिशत काम सकिए पनि बजेट अभावले निसीखोला अस्पताल निर्माण काम रोकियो, स्वास्थ्य सेवामा असर

ढोरपाटन । चार वर्ष अगाडि निर्माण सुरु भएको निसीखोला आधारभूत अस्पताल बजेट अभावमा अलपत्र परेको छ । विसं २०८० मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त अस्पताल पर्याप्त बजेट नआउँदा अलपत्र परेको हो । निसीखोला गाउँपालिका–४ झिम्पामा बन्दै गरेको १० श्ययाको आधारभूत अस्पताल निर्माणका लागि लागि विसं २०७८ साल माघ २० गते सम्झौता भएर काम सुरु भएको थियो । आठ करोड २४ लाखमा निर्माण सुरु भएको अस्पताल विसं २०८० पुसमा सम्पन्न गर्ने गरी निर्माण सुरु भएको थियो । हालसम्म ८० प्रतिशत मात्रै काम सकिएको हिन्दुङ आइएस/एसी जेबी कन्ट्रक्सनका प्रमुख दीपककुमार अदैले जनाकारी दिए । बजेट नआउँदा एक वर्षदेखि काम रोकिएको उनको भनाइ छ । पालिकाबाट भुक्तान गर्न बाँकी रहेको एक करोड १० लाखसहित थप रु ६० लाख व्यवस्थापन गर्नसके काम गर्न समस्या नहुने उनी बताउँछन्। लामो समयसम्म काम गरेको भुक्तानी नपाउँदा समस्या परेको अदैले सुनाए । पालिकाले बजेट व्यवस्थापन गरेको भए अघिल्लो वर्षनै अस्पताल सम्पन्न भई सक्ने उनको भनाइ छ । पोहोर सालनै सकिनुपर्ने अस्पतालको काम बजेट नआएपछि गत असार मसान्तसम्म म्याद थप भएको थियो । बजेट नआएसम्म काम गर्न नसकिने अदै बताउँछन् । अदैले भने, 'यो अस्पतालको काम अब धेरै छैन, रङरोघन, विद्युत् जडान र फिनिसिङको काम बाँकी छ, बजेट हुने हो भने केही समयमै काम सम्पन्न हुने थियो, तर पालिकाले अहिलेसम्म करोड बढीको रकम भुक्तानी गरेको छैन, त्योबाहेक अझै थप बजेट आवश्यक पर्छ, त्यसको व्यवस्थापन गर्नसके काम अगाडि बढ्थ्यो, बजेट नआउँदा काम गर्न सकिएन ?' निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनमगरले एक करोड ५० लाख सङ्घीय सरकारबाट नआउँदा काम अलपत्र परेको बताए । सङ्घीय सरकारअन्तर्गतको योजना रहेको हुँदा पालिकाले बजेट हाल्न नमिल्ने उनको भनाइ छ । बजेट व्यवस्थापनका लागि स्वास्थ्य र अर्थमन्त्रालयमा पत्र पठाए पनि अहिलेसम्म उपलब्ध हुन नसकेको पुनमगरले बताए । अहिले पनि बजेटका लागि पहल भइरहेको उनी बताउँछन् । रासस

‘जेनजी’ प्रदर्शनले युवामा मानसिक समस्या बढ्दो

काठमाडौं । सोह्र वर्षीया एक किशोरी रातभर निदाउन सकिनन् । बारम्बार जेनजी प्रदर्शनका दृश्यहरू झल्झली आँखामा आउन थालेपछि छटपटी भइरह्यो। पढाइमा पटक्कै मन गएन । समस्या जटिल बन्दै गएपछि परिवारले उनलाई लगनखेलस्थित मानसिक अस्पताल पुर्‍यायो । चिकित्सकले उनलाई शान्त रहने अभ्यास सिकाउँदै औषधि दिएका छन् । अर्का एक २५ वर्षीय युवा आफैँ प्रदर्शनमा उत्रिएका थिए । गोली चल्न थालेपछि उनी घर फर्किए, तर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा निरन्तर त्यही विषय हेर्दाहेर्दै उनमा तनावको मात्रा बढ्यो । सामान्य कुरा गर्न नसक्ने, हिँड्दा गन्तव्य थाहा नपाउने, खानपान र दिनचर्या अस्तव्यस्त हुन थालेपछि उनी पनि चिकित्सकको सम्पर्कमा पुगे । त्यसैगरी एक किशोर आफ्नै सहपाठीको मृत्युले विक्षिप्त छन् । साथीको अन्तिम क्षण सम्झिँदा उनमा डर र चिन्ता बढ्छ । उनी हिजोआज निद्रामा पनि आत्तिन थालेका छन् । चिकित्सकका सम्पर्कमा आइपुगेका केही युवाहरूमा देखिएका प्रतिनिधिमूलक समस्या मात्र हुन् यी । हाल यस्ता समस्याबाट धेरै युवाहरू गुज्रिरहेको अनुमान गरिएको छ । लगनखेल मानसिक अस्पतालका मनोचिकित्सक डा वासुदेव कार्की भन्छन्, ‘अचानक निम्तिएको आन्दोलनले सबैलाई असर गरेको छ । प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आन्दोलनमा संलग्नहरूमा मानसिक समस्या देखा पर्नु स्वाभाविक हो ।’ उनका अनुसार, केही व्यक्तिमा समस्या छिट्टै कम भए पनि, पहिले मानसिक अस्वस्थता भोगिरहेका वा बालबालिकामा दीर्घकालीन असर पर्ने सम्भावना बढी हुन्छ । ‘भौतिक क्षति र आर्थिक असर मात्र होइन, मानसिक स्वास्थ्यमा पनि गहिरो प्रभाव पर्न सक्छ,’ उनले भने । कान्ति बाल अस्पतालका बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सक डा अमिता झाले पनि बालबालिकामाथि आन्दोलनलका दृश्यले गहिरो प्रभाव पारेको बताए  । ‘एन्जाइटी, डिप्रेसनजस्ता लक्षण बढेका छन् । डर, त्रास, भय, घटनाका फ्ल्यासब्याकका लक्षण लिएर आएका छन् । पहिले समस्या नभएका बालबालिकामा पनि यस्ता लक्षण देखा परेका छन्,’ उनले भने। उपचारमा परामर्श सत्र थपिएको र केहीमा औषधिको मात्रा बढाउनुपरेको उनको भनाइ छ । विज्ञका अनुसार मानसिक स्वास्थ्यमा समस्या आएमा तनाव व्यवस्थापनका सामान्य तरिका अपनाउन सक्दा पनि धेरै राहत मिल्छ । सो तरिकामा ‘डिप ब्रेथिङ’ (लामो सास फेर्ने अभ्यास विधि), आफूलाई मनपर्ने गतिविधि (जस्तै कला, सङ्गीत, खेलकुद) मा संलग्नता, परिवार र साथीहरूसँग खुलेर कुरा गर्नु प्रभावकारी मानिन्छ । ‘समाचार वा सामाजिक सञ्जालका सबै सामग्रीमा ध्यान दिनु आवश्यक छैन,’ डा कार्कीको सुझाव छ, ‘मनपर्ने कुरा गर्दै समय बिताउनुपर्छ । तनाव कम गर्न मदिरा र लागूपदार्थबाट टाढा रहनुपर्छ ।’ यदि लक्षण कम भएन भने हेल्पलाइन ११६६ मा २४ घण्टा मनोपरामर्शदाता उपलब्ध रहेको र गहिरो समस्या देखिएमा चिकित्सकसँग भेटेर औषधि र परामर्श लिन सकिने उनको सुझाव छ । बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सक डा झाले बालबालिका तथा किशोरकिशोरीमा देखिने मानसिक लक्षण रोक्न घर र विद्यालय दुवैमा संवाद आवश्यक रहेको बताए । ‘अभिभावक र शिक्षकहरूले उमेरअनुसार बुझ्ने भाषामा उनीहरूलाई समर्थन र आश्वासन दिनुपर्छ। नियमित तालिकामा राखेर कला, खेलकुदजस्ता क्रियाकलापमा संलग्न गराउँदा उनीहरूलाई आघात पार गर्ने अनुभवहरू कम हुँदै जान्छन्,’ उनले भने । ‘जेनजी’ प्रदर्शनले समाजमा मानसिक स्वास्थ्यको महत्वबारे नयाँ प्रश्न उठाएको छ। डा कार्कीले घटना विर्सन समय लाग्ने तर पीडालाई स्वीकारेर, समर्थन र उपचारको बाटो रोज्दा व्यक्तिहरू पुनः सन्तुलित जीवनतर्फ फर्कन सक्ने बताए। सङ्कटको समयमा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नु अब राज्य र समाज दुवैको साझा दायित्व बनेको उनको भनाइ छ  । रासस  

नेपाल मेडिसिटीमा ५२ वर्षीय शान्तमान व्यञ्जनकारको सफल कलेजो प्रत्यारोपण

काठमाडौं । च्यासल ललितपुर निवासी ५२ वर्षीय शान्तमान व्यञ्जनकारको नेपाल मेडिसिटी अस्पतालमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ । उनलाई आफ्नै श्रीमती ५० वर्षीया नानु व्यञ्जनकारले कलेजो दान गरेकी हुन् ।  विगत ८ वर्ष देखि कलेजो समस्यासँग जुझिरहेका व्यञ्जनकारलाई गत भदौ ४ गते प्रत्यारोपण गरिएको थियो भने उनलाई भदौ २३ गते अस्पतालबाट डिस्चार्ज गरिएको हो ।  'मेलै मदिरा सेवन गरेकै कारण मेरो कलेजो बिग्रिएको हो । बिरामी भएर पटक पटक बेहोस हुँदा विभिन्न अस्पतालमा जचाएँ, तर कलेजो पुरै विग्रिइसकेको कारण प्रत्यारोपण नै गर्नुपर्यो,’ व्यञ्जनकारले भने ।  व्यञ्जनकारले प्रत्यारोपणका लागि भारत जाने सोचेका थिए, तर नेपाल मेडिसिटीमा चिकित्सकलाई भटेर सल्लाह लिएपछि यहीँ प्रत्यारोपण गर्ने निधो गरे । 'भारतको डाक्टरसँग सल्लाह लिँदा नेपालमै उत्कृष्ठ प्रत्यारोपण गर्न सकिने थाहा पाएँ । भारतमा जाँदा ज्यादा खर्च लाग्ने, बस्न तथा यातायातको दुविधा, भाषामा आउने कठिनाई सम्झिएर पनि मेडिसिटीमै उपचार  गर्ने निर्णय गरेको हो, ' व्यञ्जनकारले भने । यस प्रत्यारोपणमा ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी तथा इन्डोस्कोपी विभागका प्रमुख तथा वरिष्ठ कन्सल्ट्यान्ट प्रोफेसर डा. उमिद कुमार श्रेष्ठ, कलेजो प्रत्यारोपण सर्जन डा. रामबाबु साह, डा. सञ्जय कुमार यादव, ट्रान्सप्लान्ट एनेस्थेसियोलोजिस्ट डा. अपूर्व शर्मा, डा. निराजन महासेठ, वरिष्ठ रेडियोलोजिस्ट प्रा.डा. राम कुमार घिमिरे सहितको टोलीले सघाएको हो ।  'नेपाली नागरिकहरूले यस्तो जटिल उपचारका लागि विदेश जानुपर्ने आवश्यकता छैन । नेपालमै उच्चस्तरीय दक्ष चिकित्सक टोली र अत्याधुनिक प्रविधिसहित निरन्तर प्रत्यारोपण सेवा प्रदान गर्दै, यस सफल प्रत्यारोपणले हाम्रो स्वास्थ्य सेवामा नयाँ उपलब्धि जोडेको छ ,' कलेजो प्रत्यारोपण सर्जन, डा. रामबाबु साहले भने ।  नेपाल मेडिसिटीले गुणस्तरीय उपचार सेवाप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै, आगामी दिनमा पनि निरन्तर कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्नेछ ।