जेनजी आन्दोलनका घाइतेको स्वास्थ्यस्थिति बुझ्न शिक्षामन्त्री अस्पतालमा
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आज ट्रमा सेन्टर पुगेर जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुको स्वास्थ्यस्थिति र उपचारको अवस्थाबारे जानकारी लिएका छन् गत भदौ २३ र २४ गते जेनजी समूहको आह्वामा भएको आन्दोलनमा घाइते भएकाहरु विभिन्न अस्पतालमा उपचाररत छन् । सरकारले घाइतेहरुको निःशुल्क उपचार गर्न गरेको निर्णय कार्यान्वयनमा आएको जानकारी उनले घाइतेलाईं दिए । साथै उनले उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेको मन्त्री पुनको निजी सचिवालयले जनाएको छ ।
कामना सेवाले मेची आँखा अस्पताललाई दियो वाटर प्यूरिफायर र मोबाइल चार्जिङ स्टेशन
काठमाडौं । कामना सेवा विकास बैंकले बिर्तामोडस्थित मेची आँखा अस्पताललाई २ थान वाटर प्यूरिफायर र ४ थान मोबाइल चार्जिङ स्टेशन हस्तान्तरण गरेको छ । बैंकका कोशी प्रदेश प्रमुख खिम लाल भुसालले अस्पतालका वरिष्ठ प्रशासन अधिकृत प्रशान्त श्रेष्ठलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । अस्पतालमा सेवा लिन आउने बिरामी र उनीहरूको आफन्तलाई लक्षित गरी उपलब्ध गराइएका यी सामग्रीले विशेषगरी आर्थिक रूपमा कमजोर तथा विपन्न वर्गका सेवाग्राहीलाई उपचार प्रक्रियामा सहजता ल्याउने विश्वास व्यक्त गरिएको छ । वरिष्ठ प्रशासन अधिकृत श्रेष्ठले अस्पतालका तर्फबाट बैंकलाई धन्यवाद ज्ञापन गर्दै यस्तो परोपकारी कार्यले स्वास्थ्य सेवामा पहुँच र सुविधा बढाउने बताएका छन् ।
डा. पुकारचन्द्र श्रेष्ठ सेवाबाट अवकाश
काठमाडौं । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ सरकारी सेवाबाट सेवा निवृत्त भएका छन् । वरिष्ठ अङ्ग प्रत्यारोपण सर्जन समेत रहेका श्रेष्ठ उमेर हदका कारण सेवा निवृत्त हुँदा अस्पतालले उनको बिदाइ गरेको छ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र वि.सं. २०६९ मा केन्द्र स्थापनापछि डा. श्रेष्ठले निरन्तर कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका थिए । तेह्र वर्षको कार्यकालमा डा. श्रेष्ठको नेतृत्वमा केन्द्रले १५ सयभन्दा बढी मिर्गौला प्रत्यारोपण, ३५ कलेजो प्रत्यारोपण र सात जनाको मस्तिष्क मृत्युपछि भएको अङ्गदानमार्फत १८ जनामा सफल प्रत्यारोपण गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ । श्रेष्ठको कार्यकाल सकिएपछि अब केन्द्रले नयाँ निर्देशक पाउने भएको छ ।