बालबालिकाको आँखाको क्यान्सर र मायोपिया समयमै चिन्न डाक्टरहरूको आग्रह
काठमाडौं । नेपाल आँखा कार्यक्रम अन्तर्गत तिलगंगा आँखा प्रतिष्ठानले विश्व रेटिनोब्लाष्टोमा सचेतना सप्ताह (मे ११-१७) र विश्व मायोपिया सचेतना सप्ताह (मे १९-२५) का अवसरमा काठमाडौंसहित देशभरका सामुदायिक तथा सर्जिकल आँखा केन्द्रहरूमा विविध सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । प्रतिष्ठान परिसरमा सचेतना डेस्क स्थापना, भिडियो सामग्री प्रदर्शन, सामाजिक सञ्जाल प्रयोग र विभिन्न जिल्लामा रेडियोमार्फत जनचेतना फैलाउने कार्य गरिएको हो । प्रतिष्ठानले रेटिनोब्लाष्टोमा अर्थात् बालबालिकाको आँखामा हुन सक्ने क्यान्सरको समयमै पहिचानको खाँचो औंल्याएको छ । अकुलोप्लाष्टि तथा अकुलर अंकोलोजी विभाग प्रमुख डा. पूर्णिमा राजकर्णिकारका अनुसार अँध्यारो कोठामा खिचिएको तस्बिरमा आँखाको कालो भागमा सेतो टिका देखिनु, आँखा रातो हुनु, दुख्नु, आकार ठूलो हुँदै जानु वा आँखाको दिशा असमान्य हुनुजस्ता लक्षण देखिए रेटिनोब्लाष्टोमाको संकेत हुन सक्छ । यस सन्दर्भमा प्रतिष्ठानले ओपन आइज नेपालसँग सहकार्यमा बालबालिकालाई लक्षित गरी निःशुल्क ओपीडी सेवा, उपचार र प्रोस्थेसिस सफाइ सेवा प्रदान गरेको थियो। यो सेवा वैशाख २८ देखि जेठ ३ गतेसम्म सञ्चालनमा रहेको थियो । प्रतिष्ठानले जेठ ५ देखि ११ गतेसम्म मायोपिया सम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । यस वर्षको नारा : 'स्क्रिन तल, आँखामाथि' अर्थात् स्क्रिन तल राखौं, दृष्टि माथि उठाऔं र मायोपियाबाट बचौं । डा. सिर्जना अधिकारीका अनुसार बालबालिकालाई नियमित आँखा परीक्षण गराउनु, हरेक दिन २ घण्टा बाहिरी गतिविधिमा सहभागी गराउनु, स्क्रिनको प्रयोग सीमित राख्नु तथा '२०-२०-२० नियम' (हरेक २० मिनेटमा, २० फिट टाढा, २० सेकेन्ड हेर्ने) अपनाउनु आवश्यक छ । विद्यालय भर्ना अघि अनिवार्य आँखाको परीक्षण गरिनु पर्ने सुझाव पनि उनले दिएकी छन् ।
कर्णाली स्वास्थ्य विज्ञान र सुष्मा कोइरालाबीच जलन उपचारसम्बन्धी सम्झदारी
जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुष्मा कोइराला स्मृति अस्पताल, इन्टरप्लाष्ट नेपालबीच जलन र त्यसपछिका जटिलताका बिरामीको गुणस्तरीय उपचार तथा स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धिका लागि त्रिपक्षीय सम्झदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिफारिस गरेका बिरामीलाई सुष्मा कोइराला स्मृति अस्पतालमा निःशुल्क उपचार प्रदान गरिनेछ । प्रतिष्ठानका चिकित्सक र स्वास्थ्यकर्मीलाई सैद्धान्तिक तथा व्यवहारिक तालिमसमेत दिइने छ । प्रतिष्ठानका निमित्त उपकुलपति डा. डबलबहादुर धामीले टेलिमेडिसिन, सर्जन आदानप्रदान, घुम्ती तालिमलगायत कार्यक्रमले कर्णालीका दुर्गम क्षेत्रका बासिन्दालाई जलन उपचारमा सहज पहुँच पुग्ने विश्वास व्यक्त गरे । इन्टरप्लाष्ट, नेपालले प्राविधिक र आर्थिक सहयोगमार्फत यो साझेदारीलाई थप सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ । विशेषगरी सीमान्तकृत र विपन्न समुदायलाई लक्षित गरी सेवा प्रभावकारी बनाउने लक्ष्य राखिएको प्रतिष्ठानका निमित्त उपकुलपति धामीले बताए । सम्झदारीले जलन व्यवस्थापनसम्बन्धी तथ्याङ्क साझेदारी र अनुसन्धान परियोजनालाई समेत प्राथमिकता दिँदै अनुसन्धान र विकासमा संयुक्त सहकार्यको मार्ग सुनिश्चित गरेको छ । समझदारीपत्र हस्ताक्षर कार्यक्रममा सुष्मा कोइराला स्मृति अस्पतालका मेडिकल डाइरेक्टर डा. सन्तोषविक्रम भण्डारी, प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रसिंह साउद, प्रतिष्ठानका निमित्त उपकुलपति डा धामी, निर्देशक डा. पुजनकुमार रोकाया, इन्टरप्लाष्टका उपाध्यक्ष डा. खाकिन्द्रबहादुर भण्डारी, शल्यचिकित्सा विभागका प्रमुख डा. निमरल थापालगायतको सहभागिता थियो ।
कामदारको उपचार खर्च रोजगारदाता राष्ट्रले बेहोर्नुपर्ने प्रस्ताव तयारीमा
काठमाडौं । नेपालले विदेशमा श्रम गर्न गएका कामदारहरूको सम्पूर्ण स्वास्थ्योपचारको जिम्मेवारी सम्बन्धित रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ताव विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) मा लैजाने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वदेश फर्किएपछि जानकारी दिँदै भने, 'यो प्रस्ताव आगामी वर्ष हुने डब्ल्युएचओको विश्व स्वास्थ्य सम्मेलनमा प्रस्तुत गरिनेछ ।' सो प्रस्तावले कामदारको उपचार खर्च, स्वदेश फर्किएपछि रोग बोकेर आउनुपर्ने अवस्थाबाट छुटकारा दिलाउने विश्वास व्यक्त गरे । उनले भने, 'कामदार जानु अघि, गइसकेपछि र फर्किएपछि सम्बन्धित राष्ट्रले नै स्वास्थ्य परीक्षण, उपचार र जानकारी उपलब्ध गराउनुपर्ने प्रणाली निर्माण गर्नुपर्छ । धेरै कामदार उपचार नपाएर अकालमै फर्किन्छन् वा खर्चकै कारण जीवन गुमाउँछन्, यो अन्त्य हुनुपर्छ ।' यसपटकको सम्मेलनमा महामारीसँग सम्बन्धित प्रस्ताव सर्वसम्मतिले पारित भई डब्ल्युएचओले अब अनिवार्य रूपमा प्रभावित देशलाई सहायता गर्नुपर्ने व्यवस्था पनि बनेको छ । मन्त्री पौडेलका अनुसार प्रस्ताव पास भएमा नेपाल लगायत अन्य श्रमिक पठाउने देशहरूलाई ठूलो राहत हुनेछ । पौडेलले भारत, चीन, बेलायत, श्रीलंका, बंगलादेश, नर्वे र स्विट्जरल्याण्डका प्रतिनिधिहरूसँग स्वास्थ्यसम्बन्धी समझदारी र छलफल भएको बताए ।