६ हजार ८१४ जनामा परीक्षण हुँदा ४४० संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार देशभर ५ हजार ४ सय ७ जनाको पीसीआर परीक्षण गर्दा ३८७ जना र १ हजार ४ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जना गरी ४४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ जनाले ज्यान गुमाएका छन् भने ४७४ जना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये हालसम्म ७ लाख ९६ हजार ७८० निको भएका छन् भने ११ हजार ४६० जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ जना रहेको छ । जसमध्ये ७ हजार ५ जना होम आइसोलेसनमा रहेका छन् भने ५१७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १८९ जना आईसीयू र ५३ जना भेन्टिलेटरमा उपचाररत् छन् । बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १० हजार ७३८ पुगेको छ ।
मापदण्ड विपरीत सञ्चालित १९ औषधि पसल निलम्बनमा
काठमाडौं । मापदण्ड विपरीत सञ्चालन गरिएका १९ वटा औषधि पसल निलम्बनमा परेका छन् । औषधि व्यवस्था विभागले असोज महिनामा काठमाडौँ उपत्यकाभित्र सञ्चालन गरिएका १९ वटा औषधि पसललाई निलम्बन गर्दै कारबाही गरेको हो । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधि ऐन–२०३५ को दफा २० को उपदफा ४ (क) बमोजिम सो पसलहरूलाई ४ देखि १५ दिनसम्म निलम्बन गरिएको जानकारी दिए । उनका अनुसार औषधि पसलको अनुगमनका क्रममा अधिकांश पसलले अनुमतिबिना नै सञ्चालन गरेको तथा केहीमा म्याद सकिएको औषधि पाइएपछि कारबाही गरिएको हो । औषधि बिक्रेता तथा वितरकले पसल तथा फार्मेसी औषधि व्यवस्था विभागमा दर्ता गराएर मात्र सञ्चालन गर्नुपर्ने प्रावधान रहेको छ ।विभागले लुक्सी भेट फर्मा कोटेश्वरलाई १५ दिन निलम्बन गरेको छ । यस्तै, गान्धी मनोहरा कम्युनिटी हेल्थ सेन्टर कागेश्वरी मनोहरालाई, सपनातीर्थ फार्मेसी टोखा र प्राकृतिक बाइपास फार्मेसीलाई १४÷१४ दिन र झोराली फार्मेसी, टोखा इमर्जेन्सी मेडिकल हललाई १०÷१० दिन निलम्बन गरिएको छ । यस्तैगरी, नन्दकृष्ण फार्मेसी, मेड स्टार सेन्टर प्रालि, मिली मेडिकल हल एन्ड डाइग्नोष्टिक सेन्टर, निकम मेडिकल हल, मेडिगोल्ड फार्मेसी, एटोर्मा फार्मेसी, विरसना गोर्खाली मेडिकल हल, कालिका फार्मेसी, सार्थक फार्मेसी, सुवेदी फार्मेसी, अनमोल फार्मेसी, सिद्धि फार्मेसी र खरिपाटी फार्मेसी भक्तपुरलाई ७÷७ दिन निलम्बन गरिएको हो ।
‘भाइरल रुघाखोकीबाट बच्न झोलिलो खानेकुरा अनिवार्य खानु’
काठमाडौं । जाडोको सिजन शुरु भएसँगै भाइरल रुघाखोकीको समस्या बढ्न सक्ने भन्दै चिकित्सकहरुले सचेत गराएका छन् । काठमाडौंसहित देशभर चिसोको मौसम शुरु भएसँगै चिकित्सकहरुले भाइरल रुघाखोकीको समस्या बढ्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन आम नागरिकहरुलाई आग्रह गरेका हुन् । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका कन्सलट्यान्ट फिजिशियन डा। आलोक ढुंगेलले चिसो मौसम बढेकोले बालबच्चा, वृद्धवृद्धा, सुत्केरी र दीर्घरोगीहरुले स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरे । उनले अहिलेको मौसम कोरोनासँगै फ्लूको संक्रमण बढी हुने भएकोले यसले श्वासप्रश्वासमा समस्या आउने बताए । डा। ढुंगेलले चिसोबाट जोगिने, तातो र न्यानो कपडा लगाउने, बाहिर नहिँड्ने, धुवाँ र धुलोबाट बच्ने, मर्निङ वाकमा ननिस्कन आग्रह गरे। त्यस्तै उनले यस्ता फ्लूहरुबाट बच्न रुघाखोकी लागेका मानिसहरुबाट टाढै रहन, मास्कको प्रयोग गर्न, जथाभावि नाक,कान, मुख नचलाउन पनि आग्रह गरे । उनले यस्ता भाइरसबाट बच्नको लागि झोलिलो खानेकुरा खान र भ्याक्सिन अनिवार्य लगाउनु पर्ने बताए । यस्तै उनले कोरोनाको बेला गरिरहेका आचरणहरुलाई प्रयोगमा ल्याइराख्नाले पनि मौसमी भाइरल रुघाखोकीबाट बच्न सकिने बताए । उनले कोभिडविरुद्धको भ्याक्सिनको दुई डोज लगाउनेहरुले इन्फ्लूएन्जाको भ्याक्सिन डाक्टरको सल्लाह बमोजिम लगाउन मिल्ने पनि बताए ।