उपचारका लागि प्रचण्ड अस्पतालमा
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियमित स्वास्थ्योपचारका लागि भैँसेपाटीस्थित मेडिसिटी अस्पताल गएका छन् । उनका स्वकीय सचिव रमेश मल्लले दौडधुपका कारण रक्तचाप बढेकाले उपचारका लागि मेडिसिटी जानुभएको जानकारी दिए । “डोल्पा र भोजपुरमा केही कार्यक्रममा सहभागी भएपछि उहाँको स्वास्थ्यमा सामान्य समस्या आयो”, उनले भने, “त्यही भएर नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुभएको हो ।” स्वकीय सचिव मल्लका अनुसार प्रचण्ड उपचारपछि आजै साँझ नै घर फर्किने बताए ।
परिवारदेखि बैंकले पनि नपत्याएका डा.लामिछाने, मोफसलमा ट्रमाको उत्कृष्ट अस्पताल बनाउने योजना
काठमाडाैं । मोफसलमा उपचार पाउन नसकेर काठमाडौँ धाइरहेका बिरामीको पीडा देखेपछि एक चिकित्सकले राजधानी बाहिर अस्पताल खोल्ने अठोट लिए । एक युवाका लागि ३० वर्षे उमेरमा सहरमा अस्पताल खोल्नु आफैँमा चुनौतीपूर्ण थियो । त्यो चुनौती सामना गर्दै डा. प्रमोद लामिछानेले भरतपुरमा अस्पताल सुरु गरेरै छोडे । लमजुङको राइनास नगरपालिका–८ माझीगाउँमा जन्मिएका डा. लामिछानेले काठमाडौँको बीएण्डबी अस्पतालमा उपत्यका बाहिरबाट आउने ठूलो सङ्ख्याका बिरामीको पीडा सुनेपछि भरतपुरमा अस्पताल खोल्ने निधो गरे। भरतपुरकै कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस गरेर काठमाडौँ विश्वविद्यालयबाट अर्थाेपेडिकमा एमडी गरेसँगै उनले बीएण्डबीमा काम थाले । कामको दौरानमा मकवानपुरदेखि बुटवलसम्मका दुर्घटनाका धेरै घाइते उपचारका लागि काठमाडौँ नै धाउनुपर्ने बाध्यता देखेपछि उनले यही ठाउँलाई बीचमा पारेर अस्पताल खोलेको बताए । बीएण्डबीमा आठ महिना काम गरेपछि उनी चितवन झरे । मध्यम वर्गीय परिवारमा हुर्किएका लामिछानेसँग अठोट र साहस त थियो तर पैसा थिएन । विसं २०६७ कात्तिक १७ गते अस्पताल त दर्ता गरे । तर उनीसँग आर्थिक व्यवस्थापन हुन सकेन । विगतलाई सम्झँदै उनले भने, “परिवारले मात्रै होइन, बैंकले पनि मलाई पत्याएनन् ।” चितवनका सबै बैंकमा परियोजना ऋण प्रस्ताव पेश गरे पनि कसैले ऋण नपात्याएपछि बैनी प्रतिभा ढकालको घर धितोमा राखेर उनले ऋण लिए । छोराको तीव्र चाहानाका कारण शिक्षक पेसामा रहनुभएका बुबा कृष्णप्रसाद लामिछानेले दिएको बीउ पूँजीमा बैंकको ऋण थप गरेर अस्पताल सुरु गरे । त्यसो त उनलाई अस्पताल उपकरण खरिद गर्न सप्लायर्सले उधारो पत्याए । यसरी सुरु भएको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उनले रातदिन मिहिनेत गरे । पछिल्ला पाँच वर्ष पारिवारिक समस्याका कारण चाहे जति समय दिन नभ्याए पनि अस्पताललाई कहिल्यै पछाडि धकेलिन दिएनन् । यो अवधिमा आफ्नो नेतृत्वमा २० हजार शल्यक्रिया गरेको उनको भनाइ छ । त्यसो त उनी एक्लैले १५ हजार शल्यक्रिया गरिसकेका छन् । “२४ घण्टामा मैले १४ वटा शल्यक्रिया र ४० जनाको बहिरङ्ग परीक्षण गरेको छु”, उनले भने । मिहिनेतकै कारण अस्पताल भाडामा रहेको भवनसमेत खरिद गर्न सफल भएको छ । लामिछानेको पाँच कठ्ठा जमिनमा अस्पताल भवन छ । जहाँ ५० शय्याको ट्रमा अस्पताल सञ्चालनमा छ । अस्पतालमा तीन अर्थाेपेडिक सर्जन, चार मेडिकल अधिकृतसहित ६५ जना जनशक्ति कार्यरत छन् । जिल्लामा अत्याधुनिक उपकरण प्रयोग गरेर शल्यक्रिया र उपचार गर्र्दै आएको उनको भनाइ छ । विसं २०३८ माघ १४ गते जन्मिएका लामिछाने आफ्नो चार दशकको उमेरमा जे गर्नुभयो आउँदा दिनमा थप सेवा दिने गरी अस्पतालको सञ्चालन गर्ने तयारीमा छन् । अस्पताल दर्ता गरेकै वर्ष विवाह गरेको भए पनि श्रीमती डा बिएम खरेलको दुई वर्ष अघि निधन भएपछि पारिवारिक समस्यामा रहेका उनी अबका दिनमा थप ऊर्जाका साथ काममा जुट्ने तयारीमा छन्। उनले भने, “ट्रमा क्षेत्रमा मोफसलको उत्कृष्ट अस्पताल बनाउने तयारीमा छु ।” सबै बिरामी काठमाडौँ पुग्दा धेरैले दुःख पाएको र कतिपयको बाटोमै निधन हुने गरेको भन्दै उहनले समयमै उपचार गर्न सक्दा धेरैको ज्यान बचाउन सकिने बताउँछन् । पूर्व–पश्चिम राजमार्ग, नारायणगढ मुग्लिन सडक र भित्री सडकमा हुने दुर्घटनाका घाइते उपचारका लागि यस अस्पतालमा आउने गर्दछन् । यसरी आएका घाइते ७५ प्रतिशत हाराहारी बीमाका हुने गर्दछन् । सकेसम्म कम खर्चमा उपचार गराउने गरी आफूले उपचार गर्दै आएको उनी बताउँछन् । घाँटीभन्दा तल छातीबाहेकका सम्पूर्ण अर्थाेपेडिक शल्यक्रिया आफूहरुले गर्दै आएको उनले जानकारी दिए । युवा र आर्थिक अवस्था मध्यम हुँदै गर्दा पनि बिरामी ठीक पार्न सक्छु भन्ने अठोटका कारण अस्पताललाई सफलता मिलेको उनी बताउँछन् । धेरै चिकित्सक राजधानी केन्द्रित हुँदै गर्दा आफ्नो सीप मोफसलमा लगाउन सकेमा धेरैको विश्वास जित्न सकिन्छ भन्ने उदाहरण डा लामिछानेले प्रस्तुत गरेका छन् । रासस
भोलिदेखि १२ वर्ष माथिकालाई फाइजर खोप लगाइने, कहाँ कहाँ लगाइन्छ ?
काठमाडाैं । सरकारले कोरोनाबिरुद्धको फाइजर खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाके अनुसार यो खोपको पहिलो मात्रा कार्तिक २८ देखि मंसिर ४ गतेसम्म सरकारले तोकेका देशभरका विभिन्न २४ अस्पतालहरुमा उपलब्ध हुनेछ । खोप वचत भएमा मंसिर ५ देखि ७ गतेसम्म खोप लगाउन बाँकी रहेका दीर्घरोगीहरुलाई प्राथमिकतामा राखि र १२–१७ उमेर समूहका व्यक्तिहरुलाई लगाइनेछ । खोपको दोस्रो मात्रा पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि अर्थात् मंसिर २७ देखि पौष २ गतेसम्म दिइने महाशाखाले जनाएको छ । यो खोप १२ वर्ष भन्दा माथिको जनसंख्यालाई मात्र दिन मिल्ने भएकोले सोही उमेर समूहलाई मात्र लगाइने वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालले बताए । उनले यो खोप १२ वर्ष माथिका दीर्घरोगीहरुलाई पहिलो प्राथमिकतामा राखेर दिइने पनि बताए । प्रशासक दाहालले १२ वर्षमाथिका ८ प्रकारका दीर्घ रोगका बिरामीहरुलाई यो खोप दिइने बताए । यस्तै स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले यस खोपको माग धेरै भएपनि दीर्घरोगीहरुलाई नै दिइने बताए । उनले नेपालमा पनि अल्ट्रा पोल्ट खोप सञ्चालन गर्न सकिन्छ भनेर देखाउने अवसर भएको बताए । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहले कोरोनाबिरुद्धको खोप लगाएपछि मानिसहरु एक किसिमले कवचधारी बन्ने बताए । उनले कोरोना भाइरसको जोखिम कायमै रहेकोले मास्क, सामाजिक दूरी र सरसफाइलाई ध्यान दिन आवश्यक रहेको बताए । सरकारले सञ्चालन गर्न लागेको कोरोनाबिरुद्धको फाइजर–बायोएनटेक खोप अभियान वीर अस्पताल, श्री वीरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, त्रि.वि.शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, पाटन अस्पताल, भक्तपुर क्यानसर अस्पताल, शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र, मेची प्रादेशिक अस्पताल, बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशि प्रादेशिक अस्पताल, गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी प्रादेशिक अस्पताल, जनकपुर प्रादेशीक अस्पताल, बि.पी. कोइराला स्मृति क्यानसर अस्पताल, धुलिखेल अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, धौलागिरी अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, कर्णाली प्रादेशिक अस्पताल, सेती प्रादेशि अस्पताल र डडेलधुरा अस्पतालमा सञ्चालन हुनेछ । खोप दीर्घरोग भएको तथा उपचार गराइरहेको पूर्जा, उमेर खुल्ने प्रमाणपत्र देखाएपछि लगाउन पाइनेछ । यो खोप कोरोनाबिरुद्धको अन्य खोप लगाएको, १२ वर्ष भन्दा कम उमेरको, पहिलो मात्रा लगाएपछि गम्भीर प्रकारको एलर्जिक प्रतिक्रिया भएको व्यक्तिहरुले लगाउन नहुने महाशाखाले जनाएको छ । खोप लगाएपछि अनपेक्षित रुपमा सुई लगाएको ठाउँमा दुख्ने, केही रातो हुने, सुनिने,टाउको दुख्ने, ज्वरो आउने, जाडो हुने, मांशपेशी दुख्ने, जोर्नी दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, थकाइ लाग्ने, सुइ लगाएको हातको काखीको ग्रन्थी सुनिने लक्ष्ण देखा पर्न सक्छन् । त्यस्तै एनाफाइलेक्सिस्, मायोकार्डाइटिस, पेरिकार्डडाइटिस, शरीरमा साना बिमिरा आउने, चिलाउने, अनुहार सुन्निने, पखाला लाग्ने जस्ता अवाञ्छित लक्षणहरु देखा पर्छन् ।