मंगलबार एकैदिन थपिए १० हजार २५८ संक्रमित
काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २५८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २२ हजार ८२८ जनामा पिसीआर र एन्टिजेन परीक्षण गर्दा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ । मन्त्रालयका अनुसार यो अवधिमा ५६२ जना निको भएका छन् भने १ जना संक्रमितको मृत्यु भएको छ ।
कोरोनाको निःशुल्क परीक्षण गर्न माग
काठमाडाैं । राष्ट्रिय उपभोक्ता मञ्चले कोभिड–१९ को निःशुल्क परीक्षण हुनुपर्ने माग गरेको छ । मञ्चले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पत्र पठाउँदै कोभिडको पिसिआर तथा एन्टीजेन परीक्षण निःशुल्क गर्न माग गरेको हो । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले हस्ताक्षर गर्नुभएको पत्रमा नेपालका सरकारी तथा निजी अस्पतालले पिसिआर तथा एन्टीजेन परीक्षण गर्दा लागतभन्दा बढी मूल्य लिएको उपभोक्ता तथा चिकित्सकले गुनासो गर्न थालेको भन्दै निःशुल्क बनाउन माग गरिएको जनाइएको छ । ‘निजी अस्पतालले ऐन्टीजेन टेस्ट गरेबापत न्यूनतम रु पाँच सय लिएको र पिसिआर परीक्षण शुल्क निजी अस्पतालमा न्यूनतम दुई हजार र सरकारी अस्पतालमा एक हजार लिइरहेको गुनासो छ,’ उनले भने, ‘सम्पूर्ण परीक्षण गर्न टेस्टकिटको अधिकतम साइज ९६ प्रयोग गर्दासमेत अधिकतम ६ अमेरिकी डलर मात्र खर्च हुने आधारमा ८०० भन्दा बढी पर्दैन ।’ ‘सरकार आफैँले पनि प्रत्येक नागरिकलाई शङ्का लागेमा पिसिआर र एन्टीजेन परीक्षण गर्न अनुरोध गर्दै आएको छ भने सार्वजनिकस्थल, समारोह आदि ठाउँहरुमा जान पिसिआर गरेको वा एन्टीजेन परीक्षण गरेको प्रमाणपत्र तथा खोप लिएको प्रमाणपत्र अनिवार्य गरेको छ’, महर्जनले जारी गरिएको पत्रमा भनिएको छ ।
अष्ट्रेलियामा कोभिडबाट एकैदिनमा ७४ जनाको मृत्यु, अहिलेसम्मकै धेरै
सिडनी । अष्ट्रेलियामा कोभिड-१९ बाट २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नागरिकको मृत्यु भएको बताइएको छ । प्राप्त समाचारअनुसार अष्ट्रेलियामा कोभिड सङ्क्रमणबाट गएको २४ घन्टामा ७४ जनाको ज्यान गएको बताइएको छ । अष्ट्रेलियाका अधिकारीहरुका अनुसार कोभिडको कारण एकै दिनमा मृत्यु भएको यो संख्या यहाँ अहिलेसम्मका सबैभन्दा धेरै हो । मंगलबार त्यसअघिको २४ घन्टामा ती नागरिकको ज्यान गएको बताइएको छ । त्यसैगरी यहाँका अधिकारीहरुले अष्ट्रेलियामा अस्पताल भर्ना हुनेको संख्या पनि विगतका तुलनामा बढेको पाइएको बताएका छन् । यहाँका सबैभन्दा धेरै कोरोना सङ्क्रमित नागरिक न्यु साउथ वेल्सका रहेका छन् । न्यु साउथ वेल्समा गएको २४ घन्टामा ३६ जनाको ज्यान गएको छ । त्यसैगरी भिक्टोरियामा २२ जना र क्वीन्स्ल्याण्डमा १६ जनाको ज्यान गएको छ । ती राज्यहरुमा पछिल्लो २४ घन्टामा सङ्क्रमित हुनेको संख्या पनि बढ्दै गएको पाइएको बताइएको छ । अष्ट्रेलियामा पछिल्लो समयमा कोभिड सङ्क्रमण बढ्दो देखिएको छ । यहाँ सङ्क्रमित हुनेसँगै अस्पताल भर्ना हुनेको संख्या पनि बढ्दै गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।रासस/सिन्ह्वा