काठमाडौंमा आयुर्वेद सम्बन्धी फिजियोेथेरापी सेवा सञ्चालनमा

काठमाडौं । काठमाडौंमा आयुर्वेद सम्बन्धी फिजियोथेरापी सेवा सञ्चालनमा आएको छ । शनिवार नेपालका लागि मलेशियाका राजदुत मोहम्मद फिरदौस अजमानले काठमाडौंको लाजिम्पाटमा निरभाना फिजियोथेरापी एण्ड वेलनेश सेन्टरसो सेन्टरको उद्घाटन गरेका हुन् । आयुर्वेदसम्बन्धि नेपाली र चिनियाँ पुराना उपचार विधि समेत एकैठाउँबाट सेवा पाउने गरी निरभाना फिजियोथेरापी एण्ड वेलनेश सेन्टर स्थापना गरिएको त्यसका अपरशेन तथा मार्केटिङ विभाग प्रमुख स्वर्णिम सुवालले जानकारी दिनुभयो । सो सेन्टरमा फिजियोथेरापीको अलवा आयुर्वेदिक आयल थेरापी पनि गरिन्छ । सेन्टरका अपरेशन तथा मार्केटिङ विभाग प्रमुख सुवालले भन्नुभयो,‘यो फिजियोथेरापी आफैँमा एउटा शारीरिक, मानसिक मात्र नभई आध्यात्मिक रुपमा पनि फलीफाप हुने गरी सबै मान्छेलाई फाइदाजनक हुनेछ । नेपालका थुप्रै राम्रा फिजियोथेरापीहरु छन् । तर, यसमा चाँही फिजियोथेरापी मात्रै नभईकन एउटा आयुर्वेदिक ट्रिटमेन्ट, एन्सियन्ट चाईनिज ट्रिटमेन्ट टाईप अनि हाम्रो हिन्दु शास्त्रकै पुरानो ट्रिटमेन्ट टाईपहरुलाई चाहिँ सम्मिश्रण गरेर एउटै स्पेशमा हामीले शुरु गरिराखेका छौं । हामी आयुर्वेदिक आयल थेरापी पनि गर्छौं ।’ सेन्टरले आफ्नो सेवा लिएबापत २ सय रुपैयाँदेखि ३ हजारसम्म शुल्क लाग्ने पनि जनाएको छ । सेन्टरका अनुसार यो शुल्क काठमाडौंमा रहेका फिजियोथेरापीहरु मध्ये सबै भन्दा सस्तो हो । यसमा चाईनिज अकुपञ्चार विधिबाट पनि उपचार गर्ने गरिन्छ ।

डेढ करोडको लागतमा बिरामी कुरुवा घर निर्माण

खजुरा (बाँके) । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल परिसरमा बिरामी कुरुवा घर निर्माण गरिएको छ । लायन्स क्लब इन्टरनेशनल फाउण्डेशन र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आर्थिक सहयोगमा कुरुवा घरको निर्माण गरिएको हो । कुरुवा घर निर्माण गर्न लायन्स इन्टरनेशनको एक करोड ११ लाख ५६ हजार तथा अस्पतालको ३७ लाख ६५ हजार रुपैयाँ  खर्च  भएको लायन्स क्लब अफ नेपालगञ्ज खजुराका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । भवन बनेपछि उपचारका लागि आउने बिरामीका कुरुवालाई सहज हुनेछ । ‘खासगरी जटिल प्रकृतिका बिरामीका कुरुवालाई धेरै सहज हुनेछ, कुरुवा घर निर्माणपछि बिरामी र आफन्तलाई होटलमा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ,’ उनले भने । कुरुवा घरमा १५ कोठा रहेका छन् । अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लका अनुसार अस्पतालमा अहिले बहुप्रतिक्षित लिन्याक मेसिन सञ्चालनको काम अन्तिम चरणमा पुगेको छ । लिन्याक मेसिन विकीरणका माध्यमबाट सेकाइ गरेर उपचार गर्ने उपकरण हो । करिब २७ करोड रुपैयाँको उक्त मेसिनले पाठेघरको मुख, स्तन, नाक, कान, घाँटीलगायत शरीरका विभिन्न अङ्गमा हुने क्यान्सरको उपचार गर्न मद्दत पुग्छ । अहिले उक्त मेसिनको सेवा लिन बिरामी भरतपुर र भक्तपुर क्यान्सर अस्पताल धाउन बाध्य छन् । भरतपुर र भक्तपुरमा पनि उक्त मेसिनको सेवा लिन एक महिनादेखि ४५ दिनसम्म पालो पर्खनुपर्ने हुन्छ । अस्पतालमा हाल २० विशेषज्ञ चिकित्सकसहितको टोलीले बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएको छ । एक सय श्ययाको स्वीकृति पाएकामा अस्पतालले हाल ५७ श्ययामार्फत सेवा दिइरहेको छ ।रासस

स्वास्थ्य क्षेत्रको सुधारमा लागि परेको छु : स्वास्थ्यमन्त्री

  काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मुलुकको समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफूले भगिरथ प्रयास गरिरहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज  आयोजना गरेको जनसङ्ख्या र विकाससम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दैै उनले आजको दिनमा असहाय र गरिब नागरिक स्वास्थ्य उपचारबाट वञ्चित नहुने उल्लेख गरे । उनले भने, ‘गरिब र असहाय नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा दिलाउने अभियानमा लागेको छु, यसमा सबैको सहयोग अपरिहार्य छ, अब कुनै पनि नागरिक पैसा नभएर उपचार नपाएर छट्पटाउनुपर्दैन ।’ जनसङ्ख्या र विकास एकापसमा अन्तर सम्बन्धित विषय हुन् भन्दै उहाँले शिक्षा र स्वास्थ्यजस्ता सामाजिक क्षेत्रको विकासबाट गुणस्तरीय नागरिक उत्पादन गर्न सकिने यस क्षेत्रको सुधारका लागि सबै संयन्त्र क्रियाशील हुनुपर्ने खाँचो औँल्याए । स्वास्थ्यमन्त्री बस्नेतले जनसङ्ख्याको असन्तुलनले दिगो विकास लक्ष्य हासिल गर्न कठिनाइ हुने उल्लेख गरे । ‘ग्रामीण क्षेत्र रित्तिने र सहरी भेगमा भीडभाड हुने चुनौती बढेको छ’, उनले भने, ‘सहरमा जनघनत्व बढ्ने तर गाउँ रित्तिँदै जाने प्रवृत्ति बढेको छ, यसले सुविधाको अवसरको विभेद बढाएको छ र स्वास्थ्य शिक्षाजस्ता आधारभूत आवश्यकताको पहुँच र गुणस्तर अभिवृद्धिमा समस्या उत्पन्न हुन्छ ।’ स्वास्थ्यमन्त्री बस्नेतले जनसङ्ख्याको असन्तुलन नियन्त्रण गरी गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा अभिवृद्धि गर्न तीन तहका सरकारको समन्वय र सहकार्य गरी नयाँ रणनीतिका साथ अघि बढ्नुपर्नेमा जोड दिए । उनले जनसङ्ख्या वृद्धिदरमा कमी आएको र लैङ्गिक अनुपात पनि कमजोर रहेको भन्दै अबको दृष्टिकोण त्यसतर्फ केन्द्रित हुनुपर्ने धारणा राखे । उनले सम्मेलनले विद्यमान जनसङ्ख्याको गतिविधिको विश्लेषण गर्दै आगामी रणनीति तयार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका नेपालस्थित आवासीय प्रतिनिधि वोन योङ होङले नेपालको विद्यमान स्वास्थ्य प्रणालीको सुधार गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गरिनुपर्नेमा जोड दिए । मन्त्रालयका सहसचिव रमेशकुमार केसीले जनसङ्ख्या र विकाससँगै अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताए । सम्मेलनमा विगतका अभ्यासको समीक्षा गर्दै विज्ञ सरोकारवालाको राय समेटेर आगामी रणनीति तयार गरिने उनले उल्लेख गरे । रासस