स्वास्थ्यमन्त्रीको आश्वासनपछि चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिले तोड्यो अनशन
काठमाडौं । चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिका पदाधिकारीहरूले अनशन तोडेका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा विगत ३८ दिनदेखि माइतीघर मण्डलामा रिले अनशन बसिरहेका सङ्घर्ष समितिका पदाधिकारीहरूले आज अनशन तोडेका हुन् । मन्त्री बस्नेतले सङ्घर्ष समितिले उठाएका माग सम्बोधन गर्न सरकारले पहल गरिरहेको भन्दै चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन हुने आश्वासन दिए । ‘चिकित्सा शिक्षा ऐनमा भएका राम्रा कुरालाई अङ्गिकार गरेर जान सकिन्छ । सुधार गर्नुपर्नेलाई संशोधन गर्न सकिन्छ । यस विषयमा मन्त्रिपरिषद्मा चर्चा भइसकेको छ । प्रधानमन्त्रीसमेत सकारात्मक हुनुहुन्छ’, मन्त्री बस्नेतले भने। उनले यस विषयमा शिक्षामन्त्री र प्रधानमन्त्रीसमेत सकारात्मक भएकाले सङ्घर्ष समितिले उठाएका माग चाँडै सम्बोधन हुने विश्वास दिए । चौध सूत्रीय माग राखेर अनशनरत सङ्घर्ष समिति तत्काल सडक सङ्घर्ष स्थगित गर्न सहमत भएको हो । मन्त्रालयसँगको वार्तापछि आफूहरूले उठाएका माग सम्बोधन हुनेमा विश्वासको वातावरण बनेको सङ्घर्ष समितिका सहसंयोजक भुवनचक्र जोशीले बताए । मन्त्रालयको सचिवालयका स्वकीय सचिव रामेश्वर आचार्य र रामचन्द्र दुलालले सङ्घर्ष समितिका सदस्यलाई जुस पिलाएर अनशन स्थगिन गरिएको हो । अनशनस्थगित गरेपछि चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिका वरिष्ठ पाँच पदाधिकारी वार्ता गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पुग्नुभएको थियो । मन्त्री बस्नेतसहित भएको वार्तामा मन्त्रालयका सचिव डा रोशन पोखरेल, अतिरिक्त सचिव डा विकास देवकोटा, डा टङ्क बाराकोटीलगायत सहभागी थिए । यता सङ्घर्ष समितिका तर्फबाट संयोजक निर्मल सापकोटा र सहसंयोजक जोशीलगायतका पदाधिकारी सहभागी थिए । वार्तामा सङ्घर्ष समितिका संयोजक सापकोटाले आफूहरूले उठाएका १४ वटा मागका विषयमा मन्त्री बस्नेतलाई जानकारी गराउँदै नेपालको चिकित्सा शिक्षा सुधारका लागि सरकारले आफ्ना माग सम्बोधन गर्नुपर्नेमा जोड दिए । मन्त्री बस्नेतले सङ्घर्ष समितिले उठाएका जायज मागका विषयमा पहलकदमीका लागि स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा देवकोटालाई फोकल सर्जन तोकेका छन् । सङ्घर्ष समितिले चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, सिटिइभिटीको तुरन्त पुनःसंरचना गर्नुपर्ने, प्रि डिप्लोमाका स्वास्थ्य कार्यक्रम स्तरोन्नति गर्दै बाँकीमा तत्काल भर्ना खोल्नुपर्ने माग राख्दै आएको छ । उक्त समिति पारामेडिकलअन्तर्गत नर्सिङका विषय चिकित्सा शिक्षाबाट अलग गर्न, बन्द गराइएका नर्सिङ कलेजमा भर्ना खोल्न, छात्रवृत्तिमा भइरहेको विभेद अन्त्य र शिक्षामा कोटा प्रणाली खारेज लगायतका १४ मागसहित गत साउन २७ गतेदेखि माइतीघर मण्डलामा रिले अनशन बसेको थियो ।
एक सय तीन प्रकारका प्रतिजैविक औषधी प्रयोग नगर्न औषधि व्यवस्था विभागको निर्देशन
काठमाडौं । सरकारले एक सय तीन प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ । औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक प्रतिरोध औषधीको प्रयोगलाई न्यूनिकरण गर्न र रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रयोगमा नल्याउन निर्देशन दिएको बताए । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पनि ती औषधीको प्रयोगका लागि सिफारिस गरेको छैन । उहाँले ती प्रतिजैविक औषधीको प्रयोग गर्न औचित्य नभएको समेत बताए। ‘डलब्चुएचओले प्रयोगमा नल्याउने भनेर एक सय तीन प्रकारका प्रतिजैविक औषधीको सूची प्रकाशन गरेको छ’, उनले भने, ‘ती औषधी न दर्ता गर्छौ न प्रयोगका लागि अनुमति नै दिन्छौ ।’ उनका अनुसार एक सय तीनमध्ये १३ प्रकारका प्रतिजैविक प्रतिरोध औषधी भने दर्ता गरिएका छन् । विभागले त्यस्ता प्रतिजैविक प्रतिरोधको विश्वव्यापी कार्ययोजनासँग मेल खाने गरी एक स्वास्थ्य अवधारणा अनुरुप प्रतिजैविक प्रतिरोधबाट हुने विरामी दर, मृत्यु दर र आर्थिक असरलाई प्रभावकारी रुपले कम गर्न राष्ट्रिय कार्ययोजना तयार पारी स्वीकृतको अन्तिम चरणमा रहेको जनाएको छ । महानिर्देशक ढकालले प्रतिजैविक प्रतिरोधलाई न्यूनिकरण गर्न, तथ्यमा आधारित उपचार प्रणाली र समुचित प्रयोगलाई बढावा दिने उद्देश्य हासिल गर्न औषधी सल्लाहकार समितिको सफारिसमा ती औषधीको दर्ता, नवीकरण र पैठारी र प्रयोग नगर्न÷नगराउन निर्देशन दिएको बताए । विभागमा दर्ता भएका र नभएका तथा डब्लुएचओबाट सिफारिस नगरिएका प्रतिजैविक औषधीको समिश्रणहरु र सो औषधीको समिश्रण उत्पादन कार्य गर्ने प्रयोजनार्थ कच्चा पदार्थको थप नयाँ÷दर्ता, थप÷नयाँ पैठारी दर्ता र पैठारी सिफारिस प्रमाणपत्र नगर्ने, विभागमा दर्ता भएका त्यस्ता प्रतिजैविक औषधीको समिश्रणको उत्पादन अनुज्ञापत्र, बजार विक्री वितरण प्रमाणपत्र, पैठारीदर्ता प्रमाणपत्र, पैठारी सिफारिस पत्र नवीकरण नगर्ने निर्णय गरिएको छ । विभागमा दर्ता भएका त्यस्ता प्रकारका प्रतिजैविक औषधीको कच्चा पदार्थ तथा प्राइमरी र सेकेण्डरी प्याकिङ सामग्री मौज्दात विभागमा पेश गर्ने र निर्णय मितिबाट लागू हुने गरी स्वदेशी उद्योगले त्यस्ता प्रकारका औषधीको थप उत्पादन नगर्ने र आयातकर्ताले पनि सो औषधीको थप आयात कार्य नगर्न अनुरोध गरिएको छ । यस्तै विभागमा दर्ता भएका १३ प्रकारका प्रतिजैविक औषधी मौज्दात रहेका अवस्थामा भने छ महिनासम्म मात्र विक्रीवितरण गर्न दिने विभागका महानिर्देशक ढकालले जानकारी दिए । उनका अनुसार हाल बजारमा उत्पादन भई वा आयात भई उपलब्ध रहेका वा उत्पादनको चरणमा रहेका सिफारिस नगरिएका प्रतिजैविक औषधी एवम समिश्रणको हकमा निर्णय भएको मिति अर्थात यहि भदौ १८ गतेदेखि बढीमा छ महिनासम्म मात्र बजारमा उपलब्ध रहने गरी व्यवस्था मिलाउने निर्णय गरिएको छ ।
लायन्स क्लबद्धारा काठमाडौं मैतीदेवीमा निःशुल्क आँखा शिविर सम्पन्न
काठमाडौं । मैतीदेवी स्थित अल्बर्ट इङ्लिस बोर्डिङ स्कुलमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे अन्तर्गत रिजन १२ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं अटो सोसियल फ्रेन्ड्सले आयोजना गरेको कार्यक्रममा विद्यालयका बालबालिका र अन्यको गरी ४०३ जनाहरुले आँखा जाँच गराएका थिए । शिविरमा तिलगंगा आँखा अस्पतालका अनुभवी चिकित्सकहरुले आँखा जाँच गरेका थिए । साथै निःशुल्क औषधी वितरण पनि गरिएको थियो । सहयोगी महिला जागरण मञ्चले व्यवस्थापन गरेको उक्त कार्यक्रम लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्टर, लायन्स क्लब अफ काठमाडौं बनस्थली, लायन्स क्लब अफ काठमाडौं पिसफुल, लायन्स क्लब अफ काठमाडौं जामाचो, लायन्स क्लब अफ काठमाडौं न्यू इन्नोभेटिभ, लायन्स क्लब अफ काठमाडौं अटोमोबाइल्स गरी ७ वटा क्लबहरुले संयुक्त रुपमा सहयोग गरेका थिए । निःशुल्क आँखा शिविर कार्यक्रमलाई निरन्तरता दिँदै अब अर्को कार्यक्रम काभ्रे जिल्लाको स्कुल खोपासीमा गर्ने योजना रहेको जोन चेयरपर्सन लायन रोशनकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने, हामी सेवामा तल्लीन छौं, अब छिटो नैं काभ्रे जान्छौं ।’ विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आँखाको स्वास्थ्यर्लाइ लक्षित गरी कार्यक्रम गरिएको निःशुल्क आँखा जाँच शिविरमा लायन्स क्लब इन्टरनेसनल ३२५ जेका सिनियर लायन्स लिडरहरु पनि उपस्थित थिए ।