स्वास्थ्य बीमामा ७१ लाख नागरिक आबद्ध, ४५ प्रतिशतले मात्रै लिन्छन् सुविधा

फाइल तस्बिर काठमाडौं । स्वास्थ्य बीमा बोर्डका अनुसार पछिल्लो समयसम्म स्वास्थ्य बीमामा ७१ लाख ८१ हजार ३२५ जना नागरिक आबद्ध भएका छन् । बीमामा आबद्ध नागरिक मध्ये ७० प्रतिशतले नवीकरण गर्ने र ४५ प्रतिशतले सेवा उपभोग गर्ने गर्छन् । बोर्डका अनुसार असोज ४ गतेसम्मको तथ्यांकमा नेपालको कुल परिवारको ३३.२५ प्रतिशत परिवारका ७१ लाख ८१ हजार, ३२५ जना नेपालीहरु स्वास्थ्य बीमामा आबद्ध भएका छन् । बीमामा आबद्ध भएका मध्ये ७० प्रतिशत अर्थात ५० लाख २६ हजार ९२७ जनाले नवीकरण गरेका छन् भने सो संख्याको ४५ प्रतिशत अर्थात ३२ लाख ३१ हजार ५९६ जनाले सेवा उपभोग गर्ने गरेका छन् । बोर्डका अनुसार अहिले देशभरीका प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल, प्रादेशिक अस्पताल, संघीय अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल कलेज, र निजी अस्पतालहरु गरी ४४० वटाले सेवा प्रदान गरिरहेका छन् । अस्पताल तथा स्वास्थ्य संस्थाहरुले नागरिकले चाहेजस्तो गुणस्तरीय स्वास्थ्य सेवा प्रदान नगर्दा पनि स्वास्थ्य बीमामा नागरिकको आकर्षकण बढीरहेको बोर्डले जनाएको छ । स्वास्थ्य बीमालाई सफल कार्यान्वयन गर्न सबै पक्षको सहयोग हुने हो भने सो कार्यक्रमलाई सबै परिवारमा पुर्याउन सकिने बोर्डले प्रतिवेदनमा उल्लेख गरेको छ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले सरकारले जनताको उपचारको लागि विभिन्न शिर्षकमा गरिरहेको खर्च स्वास्थ्य बीमामार्फत गरेमा यसलाई दीगो बनाएर राज्यको स्वास्थ्य क्षेत्रमा खर्च समेत कम गर्न सकिने बताएका छन् । उनले हरेक नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराएमा राज्यले स्वास्थ्य क्षेत्रको लागि राजस्व खर्च गर्नुनपर्ने समेत बताए । कार्यकारी निर्देशक डा. बसौलाका अनुसार बोर्डले चालु आर्थिक वर्षमा सुविधा थैली, योगदान रकम र गु्णस्तरीय सेवाको लागि मार्गचित्र तयार गरेर कार्यान्वयनमा ल्याउने तयारी गरेको जनाएको छ । औपचारिक क्षेत्रमा कार्यरत मध्ये यो वर्षमा अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउने जनाएको छ । साथै वैदेशिक रोजगारीमा जाने र संगठित क्षेत्रका व्यक्तिहरुलाई पनि बीमामा आबद्ध गराउने कार्ययोजना अगाडि सारेको छ । बोर्डले चालु आर्थिक वर्षमा बीमा कार्यक्रमलाई पूर्ण डिजिटलाइजेसनको प्रकृयामा अगाडि बढाउने जनाएको छ । अहिले बोर्डमा आबद्र्ध भएका सेवाग्राहीहरुले डिजिटल भूक्तानी प्रणालीको प्रयोग गरेर नै नवीकरण गर्न सक्ने व्यवस्था बोर्डले मिलाइसकेको छ । बोर्डले कोष सञ्चालन, दाबी समीक्षा, नमूना स्थानीय तह, वैदेशिक रोजगारमा जाने कामदारको परिवारलाई आबद्ध गर्ने लगायतका झण्डै एक दर्जन कार्यविधि निर्माण गरेर बीमाको दायरालाई विस्तार गरिरहेको छ । बोर्डका कार्यकारी निर्देशक डा. बसौलाका अनुसार बोर्डमा ९१३ जनाको स्थायी दरबन्दी कायम रहेकोमा अहिले जम्मा २५० जना कर्मचारीले काम गर्नुपर्ने अवस्था रहेकाले दाबी परीक्षण र भुक्तानीमा समस्या भएको बताएका छन् । कर्मचारीकै अभावका कारण स्वास्थ्य संस्थाहरुले प्रदान गरेको सेवा प्रवाहको प्रभावकारी अनुगमन गर्न नसकिएको समेत उनले बताएका छन् । पछिल्लो समयमा स्वास्थ्य बीमामा आबद्ध बिमितको संख्या वृद्धिको तुलनामा स्वास्थ्य प्रदायकको सेवामा सुधार नभएको बोर्डले जनाएको छ । साथै ७५३ वटा स्थानीय तहमध्ये ४०७ वटा स्थानीय तहमा सेवा प्रदायक संस्था नभएकोले पनि बिमितहरुलाई सेवा लिन गाह्रो भइरहेको बोर्डले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

जथाभावी एन्टिबायोटिक जनस्वास्थ्य माथि खेलबाड

काठमाडौं। नेपालमा एन्टिबायोटिकको व्यापक दुरुपयोग भइरहेको छ । यहाँ जुनसुकै एन्टिबायोटिक जहाँ पनि जसले पनि, बिनाचिकित्सकको प्रिस्क्रिप्सन सजिलै किन्न सकिन्छ । बेच्ने वा किन्ने बेला कुनै रोकावट छैन । मनपरी ढङ्गले खाने गरिएको छ । एन्टिबायोटिक बनाउने, पूर्जामा लेख्ने, बेच्ने, किन्ने र खाने सबै क्षेत्रमा मनपरी छ । त्यसैले त विस्तारै हाम्रो शरीरमा रहेका रोगका जीवाणु बलियो हुँदै गएका छन् । यसको परिणामस्वरूप हामीलाई कुनै रोग लागेपछि एन्टिबायोटिक खाए पनि त्यसले काम गर्न छोड्दै गएको छ । एन्टिबायोटिक औषधिभन्दा जीवाणु बलियो हुँदै जानु भनेको चिकित्सा विज्ञान क्षेत्रकै लागि मात्र नभएर मानव जगत्कै लागि ठूलो चुनौती हो । एन्टिबायोटिक औषधि सेवन गर्नु भनेको पक्कै पनि बदाम र भटमास खाएजस्तै पक्कै पनि होइन । तर विडम्बना देशका दूरदराजका मानिसहरूले मात्र नभएर सहरी क्षेत्रमा बसोवास गर्ने र पढे लेखेका व्यक्तिहरूले पनि कुन बेला, कति मात्र, कुन रोगको उपचारमा एन्टिबायोटिक सेवन गर्ने भन्ने राम्रो ज्ञान पाइँदैन । खानै पर्ने बिरामीले एन्टिबायोटिक खाँदा खासै ठूलो समस्या नहोला तर नखानु पर्नेले खादा समस्या देखिएको छ । सबै रोगको उपचारमा एन्टिबायोटिकले काम गर्दैन । तर समाजमा एउटा यस्तो भ्रम छ कि हरेक रोगको अचुक उपाय भनेको एन्टिबायोटिक हो । कोभिडको महामारीको बेला एन्टिबायोटिकले काम गरेन । सामान्य सिटामोलबाहेक अरू औषधिले काम नगरेको हामी सबैले अनुभवसमेत गरेको प्रमाणित तथ्य हो । तर पनि सङ्क्रमित भएकामध्ये आधा जति नेपालीले कुनै न कुनै प्रकारको एन्टिबायोटिक सेवन गरेको पाइएको पाटन अस्पताल जनरल प्रेक्टिस तथा इमरजेन्सी विभागमा कार्यरत पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्राध्यापक डा. आशिष श्रेष्ठ बताउँछन् । नेपालमा एन्टिबायोटिकको प्रयोगसम्बन्धी नीति नै नभएको भने होइन । छ तर लागू गरिएको छैन । डा. श्रेष्ठका अनुसार नियमअनुसार चिकित्सकको प्रिस्क्रिप्सन बिना कडा खालका एन्टिबायोटिक किनबेच गर्न पाइँदैन । तर व्यवहारमा लागू भएको पाइँदैन । नेपाली समाजमा एन्टिबायोटिक औषधिप्रति जनताको विश्वास ठूलो छ । एन्टिबायोटिक जुनसुकै रोग पनि निको पार्छ भन्ने बलियो मनोविज्ञान छ समाजमा । त्यसैले सितिमिति अरू औषधिमा विश्वास गदैनन् बिरामी पनि । आयुर्वेदिक औषधिको प्रयोग कम हुनुमा यो पनि एक प्रमुख कारण हो । उपभोक्ता मलाई यो नामको एन्टिबायोटिक दिनुहोस् भन्दै फार्मेसी पुग्ने गरेका हुन्छन् । एन्टिबायोटिक बाहेकले मलाई ठीक हुँदैन भन्ने उनीहरूको विश्वास छ । जनचेतनाको अभावका कारण नेपालमा एन्टिबायोटिकको उपभोग बढेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा.अर्जुन कार्की बताउँछन् । रोग चाँडो निको बनाउने होडबाजीका कारण पनि एन्टिबायोटिकको प्रयोग बढेकोमा विज्ञहरूको एक मत छ । रोग चाँडो निको पार्न बढी डोजको एन्टिबायोटिक दिने र लिने प्रवृति छ । जुन स्वास्थ्यका हिसाबले हितकार होइन । यही होडबाजीले एक रुपैयाँको सिटामोल खाएर निको हुने रोगको लागि दसौं गुणा बढी मूल्य पर्ने एन्टिबायोटिक उपभोग गराइन्छ । यसरी अनावश्यक एन्टिबायोटिकको प्रयोगमा विभिन्न औषधि कम्पनीहरू र व्यापारीहरूको स्वार्थ पनि रहेको पाइन्छ । चिकित्सकहरूका अनुसार रोग निको पार्न सधैं एउटै औषधिको प्रयोग भन्दा फरकफरक किसिमको औषधि प्रयोग गर्न राम्रो मानिन्छ । बिरामीलाई एउटा औषधिले निको नभए अर्को औषधि प्रयास गर्नु राम्रो चिकित्सकीय अभ्यास हो । तर एकैचोटी हाइडोजको एन्टिबायोटिक दिँदा समस्या निम्त्याउँछ । जथाभावी एन्टिबोयोटिकको प्रयोग गर्दा मिर्गौला फेल हुने लगायतका शरीरका अन्य अङ्ग समेत फेल हुने अवस्था आउँछ । चिकित्सकहरुका अनुसार एन्टिबायोटिक नै रोगको पूर्ण निदान होइन । एन्टिबायोटिक खाएपछि त्यसले शरीरमा संक्रमित ब्याक्टेरियालाई नष्ट गर्छ । यस हिसाबले कुन किसिमको ब्याक्टेरिया हो, त्यही आधारमा एन्टिबायोटिक प्रयोग गर्नुपर्छ । यसको मात्रा, अवधि, समय सबैकुरा ख्याल गर्नुपर्छ । यद्यपि जुनसुकै अवस्थामा एन्टिबायोटिक सेवन गर्छौं । यस किसिमको प्रयोगले शरीरमा भएका ब्याक्टेरियाले आफ्नो रक्षात्मक क्षमता बढाउँछ । कोषिका परिवर्तन गर्छ । यसलाई ‘ड्रग रेजिस्टेन्स’ भनिन्छ । यस्तो हुनु भनेको ठूलो जटिलता हो । जब शरीरमा ब्याक्टेरियाले आफ्नो कोषिका बदल्छ, तब औषधिको प्रभाव कम हुन्छ । रोग फेरि बल्झन्छ र त्यसले थप चर्को रुप लिन्छ । एन्टिबायोटिकको विषयमा उपभोक्ता मात्र होइन स्वास्थ्यकर्मी र फार्मेसी सञ्चालकहरूमा समेत चेतना अभाव छ । कसरी हुन्छ एन्टिबायोटिक भिडाइ हाल्ने मनोविज्ञान उनीहरूमा पनि छ । एन्टिबायोटिक अत्यधिक प्रयोगले अहिले र पहिलेको तुलनामा एन्टिबायोटिकले काम नै गर्न छोड्दै छ । उदाहरणका लागि टाइफाइडमा प्रयोग हुने एन्टिबायोटिकले अहिले काम गर्न छोडेको छ । यो हाम्रो मात्र होइन, विश्वकै ठूलो समस्या हो । विकसित देशहरूमा जथाभावी एन्टिबायोटिकको किनबेच हुँदैन । डाक्टरको प्रिस्क्रिप्सन एन्टिबायोटिक बेच्न र किन्न पाइँदैन । त्यहाँ नियम पालना कडाइका साथ हुन्छ । अनुगमन कडा हुन्छ । तर हाम्रो देशमा न त कडा नियम हुन्छ न त अनुगमन बलियो । त्यसैले यहाँ जनस्वास्थ्यमा माथि धनस्वास्थ्यको लडाइँ चलिरहेको छ । पैसा कमाउने निहुँमा जनताको स्वास्थ्य प्रयोगशाला भइरहेको छ । एन्टिबायोटिकको गुणस्तर माथि पनि विचार गर्नुपर्छ । एन्टिबायोटिक उत्पादन गर्ने कम्पनीबाट त्यसको गुणस्तर निगरानी हुनु पर्छ । एउटै एन्टिबायोटिक धेरै कम्पनीले बनाउने गर्छन् । हाम्रो देशमा पनि औषधि व्यवस्था विभागले औषधिको गुणस्तर परीक्षण गर्छ । एन्टिबायोटिकको गुणस्तरका विषयमा पनि विभागले हेक्का राख्नुपर्छ । एन्टिबायोटिकको जथाभावी प्रयोग एक पक्षको प्रयासले मात्र सम्भव हुँदैन । त्यसमा सबै पक्षको सहयोग, सहकार्य आवश्यक पर्छ । एन्टिबायोटिक बनाउने कम्पनी, एन्टिबायोटिक लेख्ने डाक्टर, बेच्ने फार्मेसी, किन्ने उपभोक्ता र नियम कानुन बनाएर लागू गराउने सबैको उत्तिकै जिम्मेवारी हुन्छ । एन्टिबायोटिकको अनावश्यक प्रयोग रोक्नका लागि जसले पनि किन्न पाउने नियम बन्द गर्नै पर्छ । राज्यले चाहेको खण्डमा एन्टिबायोटिकको प्रयोगमा भइरहेको बेतिथि रोक्न सक्छ । जस्तै उदाहरणको लागि नार्कोनन ड्रग्सबिना लाइसेन्स बेच्न पाइँदैन । बिनाप्रिस्क्रिप्सन एन्टिबायोटिक बेच्न र किन्न पाइँदैन । किन्ने मान्छेको ठेगाना लेखेर प्रिस्क्रिप्सन लेख्ने डाक्टरको नेपाल मेडिकल काउन्सिलको नम्बरसमेत रेकर्ड राखेर बिक्री गरिन्छ । यसको जथाभावी प्रयोग रोकिएको छ । यसैगरी सरकारले एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न बनाइरहेको नीति नियम कडाइका साथ पालना गरे रोक्न सक्छ । तर यसमा राज्यको इच्छा शक्ति चाहिन्छ । डाक्टरले लेख्ने प्रिस्क्रिप्सनको पनि अडिट गर्ने व्यवस्था गर्नुपर्छ । कुन रोगको उपचार के औषधि सिफारिस ग¥यो ? जथाभावी एन्टिबायोटिक त लेखेन ? भन्ने बिषयमा प्रिस्क्रिप्सन अडिट गर्ने प्रचलन चलाउनु पर्छ । जथाभावी लेख्ने लाई कारवाही गर्नुपर्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतको उपचारात्मक महाशाखाले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत प्रयोग गरिने औषधि प्रिस्क्रिप्सनको अडिट गर्ने काम अगाडि बढाएको छ । अरू रोगको उपचारमा पनि प्रिस्क्रिप्सन अडिट हुने व्यवस्था गर्नुपर्छ । यसले जथाभावी एन्टिबायोटिक सिफारिस गर्ने चलन माथि पनि अङ्कुश लाग्न सक्छ । हरेक चिकित्सक आफ्नो पेसाप्रति, समाजप्रति र जनस्वास्थ्य माथि सबै जिम्मेवार हुनुपर्छ । एन्टिबायोटिक सिफारिस गर्ने चिकित्सक, बेच्ने फार्मेसी र किन्ने उपभोक्ता तिनै पक्षलाई जिम्मेवार नबनाएसम्म एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न सकिँदैन । यसमा सबैको ध्यान जानु आवश्यक छ । केही दिन पहिले औषधि व्यवस्था विभागले एक सय तीन प्रकारका एन्टिवायोटिकको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालाई अनुरोध गरेको थियो । विभागले एन्टिबोयोटिकको प्रयोगलाई न्यूनिकरण गर्न र नियन्त्रण गर्न प्रतिवन्ध लगाएको जनाएको थियो । एन्टिबायोटिकको जथाभावी प्रयोगलाई रोक्ने अभिप्रायले नेपाल चिकित्सक सङ्घले विभिन्न नीतिगत तहमा पैरवी गर्ने गरेको थियो । विश्व स्वास्थ्य सङ्गठनले सन् २०५० सम्म यही तरिकाले एन्टीबायोटिकको गलत प्रयोग भएको अवस्थामा भविष्यमा एन्टीबायोटिकले सही तरीकाले काम गर्न सक्दैन भन्ने अनुमान गरेको छ । एन्टीबयोटिकको सही सदुपयोग गर्नु पर्छ भनेर विश्व स्वास्थ्य सङ्गठनलगायत स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुले बारम्बार यस विषयलाई उठाइरहेका छन् । (लेखक स्वास्थ्य क्षेत्रमा कलम चलाउँदै आउनुभएका पत्रकार हुन्)

विश्व मुटु दिवस ‘मन लगाऔँ मुटु बचाऔँ’

काठमाडौं । विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटुरोग र सम्बन्धित आर्टरीहरूको कारणले हुने गर्दछ । यो संसारको मृत्युको कारणमध्ये पहिलो हो । कुनै पनि महामारी, कुनै दुर्घटना, कुनै एड्स या कुनै अरू सरुवा रोगबाट भन्दा यो बढी हो । यो एउटा महामारीको रूपमा देखापरेको छ । यो रोगबाट बच्न र बचाउन सबैजना लागिनपर्ने हो भने कल्पना पनि गर्न नसकिने अवस्थाको सिर्जना हुने देखिन्छ । हामीले मुटु रोग भन्दै गर्दा हृदयघात बुझ्नु पर्दछ । यो रोग ठूलो भएपछि लाग्ने होइन, यो देखा पर्दा मानिस ठूलो भइसकेको हुन्छ । हाम्रा विभिन्न कारक तत्वहरूले गर्दा मुटुको आर्टरीहरूमा विस्तारै फोहर जम्मा हुँदै जान्छ र आर्टरीहरूमा भित्री भाग साँगुरिदैं जान्छ, अनि रक्त प्रवाह कम हुँदै जान्छ र साँगुरिएको ठाउँमा रक्तस्राव भयो भने त्यहाँ रगत जम्न गई आर्टरी पूरै थुनिन सक्दछ । त्यसरी थसनएको अवस्थामा त्यसले आफूले रगत पु¥याउनु पर्ने मांसपेशीमा रगत पु¥याउन सक्दैन । उक्त मांसपेशीमा रगत नपुगेकाले खाना नपाएर मर्दछ । यो मरेको भागलाई इन्फारक्ट भनिन्छ । मायोकार्डियोल इन्फारक्ट भनेको नै हृदयघात हो । सन् १९९९ मा विश्व मुटु सङ्गठन र विश्व स्वास्थ्य सङ्घको संयुक्त प्रयासमा यो विश्व मुटु दिवस मनाउने चलन सुरु भएको हो । विश्व मुटु दिवस पहिलो पटक २७ सेप्टेम्बर २००० मा सुरु भएको हो । सन् २०११ सम्म यो दिवस हरेक सेप्टेम्बर महिनाको अन्तिम आइतबार मनाउने गरिएको थियो भने त्यसपछि सेप्टेम्बरको २९ तारिखको दिन विश्वभरि यो दिवस मनाउने गरिएको छ । यस वर्षको मुटु दिवसको नारा “युज हार्ट फर एभ्री हार्ट (मन लगाऔं मुटु बचाऔं) वा हरेक मुटुको लागि हृदयको प्रयोग गरौं भन्ने रहेको छ । यसको अर्थ आफ्नो मुटुको लागि हृदयको प्रयोग गरौं भन्ने हो । यस पालिको नारा मुटु बचाउन हृदयको प्रयोग गरौं भन्ने छ । अरूलाई परेका अप्ठ्यारो, वेदनाहरूप्रति पूरा सहानुभूति, पुरा प्रेमका साथ सच्चा मनले मद्दत गर्नु पर्छ भनेको हो । यस कारणले हाम्रो समाजमा नै मुटु कसरी जोगाउने भनेर भित्र मनैदेखि उपायहरू बताउने हो र समाजमा रहेका हरेक मुटुहरूलाई स्वास्थ्य हुनको लागि बाटो देखाउने हो । यो मुटु बचाउनको लागि भौतिक स्रोत साधन मात्र पटकै होइन, यो आफ्नो आत्मीयता, अरूप्रतिको सद्भाव र प्रेमसँग पनि सम्बन्ध राख्दछ । आफ्नो मुटु त बचाउन परि हाल्यो तर अरूको मुटु बचाउन पनि मनैदेखि या आफ्नो हृदय लगाएर बचाउने कोसिस गर्नु पर्दछ । मुटु रोगको महामारीबाट जोगीनको लागि एउटै उपाय छ, यो के हो भने यो रोगबाट बच्ने, यो रोग लाग्नै नदिने । त्यसको लागि सबै जनमानसमा यो रोगको जानकारी जति सक्यो बढाउन पर्ने हुन्छ । यस वर्षको नारालाई निम्न तीन किसिमबाट बुझ्न सकिन्छ । मानवताका लागि मुटु संसारमै मुटु रोगहरूमध्ये ७५ प्रतिशत लगभग मुटु रोगहरू हाम्रो जस्तो विकास हुन बाँकी, गरिब, पछि परेका देशहरूमा पर्दछ । यस संसारको यति ठूलो मानिसको संख्या मुटु रोगी हुनु र त्यो पनि हाम्रो जस्ते देशमा हुनु ज्यादै नै दुःखको कुरा हो । त्यसैले हरेक मानिसले मानवताको लागि यस कुरालाई मनन गरेर कसरी हुन्छ, कुन उपाय गर्दा यसबाट बच्न र बचाउन सकिन्छ भनेर मुटुमा हात राखेर आफ्नो मुटु साक्षी राखी अरूको मर्म बुझेर समाजमै मुटु बचाउनतर्फ लाग्न अति आवश्यक छ । मानवताका लागि कसरी हुन्छ यस रोगबाट बच्ने भन्ने कुराको साथसाथै कसैलाई मुटु रोग लागिसकेको छ भने पनि के कसरी उनीहरूको मर्म पिडालाई कम गर्न सकिन्छ भन्नेतर्फ लाग्न जरुरी छ । हाम्रो समाजमा, शिक्षामा, स्वास्थ्यमा धेरैको सहज पहुँच छैन । धेरैलाई यसबारे जानकारी छैन, धेरैमा स्रोत पनि सीमित हुन्छ । यस्तो अवस्थामा यस रोगबारे जानकारी, यसबाट बच्न गर्नुपर्ने उपायहरू र उपचार गर्नुपरे कसरी सहज बनाउने भनेर सबै लगनशीलतापूर्वक सच्चा मनदेखि लागिपर्नु पर्दछ, मद्दत गर्नु पर्दछ । प्रकृतिका लागि मुटु मानव जाति प्रकृतिप्रति कठोर नै हुँदै आएको छ । आफ्नो सम्पूर्ण स्वार्थको लागि आफ्नै प्रकृतिरुपी आमालाई शोषण गरिरहेको छ । मानिसकै कारणले गर्दा वातावरण बिग्रिरहेको छ । मौसम बदलिंदै छ, संसारको तापक्रम बढ्दो छ, वायु प्रदूषण बिग्रेर विषैविषले भरिएको छ । यो सबै बिगार्ने अरू कोही होइन, मानव जाति नै हो । प्रकृतिलाई जिस्काएर मानव जातिले ठूलो भूल गर्दैछ । यसले गर्दा संसारमा प्राकृतिक प्रकोपहरू बढ्दै गएको छ । आगलागी, हावाहुरी, बाढीपहिरो, विभिन्न किसिमका महामारीले अकाल मृत्यु हुने क्रम बढ्दै गएको छ भने युवावस्थामै मानिसहरू नयाँ–नयाँ रोगबाट ग्रस्त भएका छन् । कलिला उमेरका मानिसलाई पनि मानसिक रोग, मुटु रोग, क्यान्सर जस्ता रोगले सताउने गरेको छ । मुटु रोगको नै कुरा गर्दा पनि लगभग २५ प्रतिशत जति मुटु रोग वायु प्रदूषणको कारणले हुने गर्दछ । समाजलाई बचाउने हो भने प्रकृतिलाई विनास होइन, माया गर्नुपर्छ । आफ्नै लागि मुटु अरूको मुटु बचाउने हो भने सर्वप्रथम आफ्नो मुटुमा ध्यान दिन जरुरी छ । हामीले आफ्नो मुटु स्वस्थ राख्न सके अरूको मुटु जोगाउन पनि सक्षम हुनसक्छौँ । पहिले आफ्नो अवस्थाबारे जान्न आवश्यक छ । आफ्नौ तौल ठिक छ छैन, मधुमेह, रक्तचाप, चिल्लो पदार्थ ठीक छ छैन, व्यायाम गर्ने, ध्यान योग गरेको छ छैन, अनावश्यक तनाव लिने गरेको छ छैन, चुरोट रक्सीको सेवन गरिन्छ कि ? घरको साधारण खाना नखाएर बजारिया पत्रु खाना पो खाने गरेको छ कि ? यी सबै कुराको जानकारी लिएर यसलाई ठीक अवस्थामा राख्न आवश्यक छ । रोग लागिहाल्यो भने पनि चिकित्सकको सल्लाह अनुसार पछि औषधि सेवन गरेर आफ्नो शारीरिक र मानसिक अवस्थालाई ठीक सन्तुलित, स्वस्थ राख्नुपर्छ । मुटु के हो त ? मुटु रक्त सञ्चारको प्रमुख अङ्ग हो । यो दुई फोक्सोको बीच भागतिर छातीमा हुन्छ । यो ठूलो मान्छेको मुड्की जत्रो हुन्छ, लगभग मिनेटमा ७२ पटक धड्किने गर्दछ । मुटु दिनको एक लाख १५ हजारपटक धड्किन्छ । दिनभरिमा २०० ग्यालन रगत पम्प गर्दछ । हरेक मिनेटमा १.५ ग्यालन रगत पम्प गर्दछ । मुटु एउटा बलियो मांसपेशीले बनेको अङ्ग हो । यसले पम्प गरेको रगत र रगतबाट जीउलाई चाहिने पौष्टिक तत्वहरू पु¥याउने गर्दछ र यही पम्पले शरीरका धमिलिएको रगतलाई बटुलेर फोक्सोमा पु¥याउँछ । त्यहाँ सफा रगत बनाएर पूरा शरीरभरि पु¥याउने काम गर्छ । यसरी मुटुले अहोरात्र काम गरेकै हुन्छ । बलियो मांसपेशीले बने पनि यो ज्यादै सम्बेदनशील र भावुक हुन्छ । हरेक कुराका राम्रो नराम्रो कुराको असर यसलाई सिधैँ पर्ने हुँदा यसलाई ज्यादै माया गर्नु पर्दछ । मुटु रोग लाग्ने कारक तत्वहरू के हुन् ? मुटुको रोग लाग्ने कारक तत्वहरू वैज्ञानिक हिसाबले प्रमाणित भइसकेका छन् । मुख्यगरी धूम्रपान वा सुर्ती जन्य पदार्थको सेवन, उच्च रक्तचाप, नियन्त्रित नभएको मधुमेह, रगतमा भएको चिल्लो पदार्थहरूको असन्तुलन, व्यायाम ध्यान योग नगर्ने बानी, वजन धेरै हुनु, अनावश्यक तनाव लिने बानी, लोभ लालच, फलफूल नखाने बानी, खानामा नुनु धेरै, चिनी धेरै, कार्बोहाइड्रेट धेरै खाने याने बजारको पोके पत्रु खाना खाने बानी, कम सुत्ने बानी इत्यादि पर्दछन् । यी कारक तत्वलाई ठीक ठाउँमा राख्न सकेदेखि मुटु रोग बाट बच्न सकिन्छ । जुन कुरा वैज्ञानिकहरूले प्रमाणित गरिसकेका छन् । कारक तत्वमध्ये केही गर्न नमिल्ने एउटै कुरा छ त्यो हो वंशानुगत आउने कारक तत्त्व । यो हाम्रो हातमा निर्भर गर्दैन, बाँकी सबै हामी आफैँ नियन्त्रण गर्न सक्षम छम् । के गर्न उचित होला ? विश्व मुटु दिवस धूमधामले मनाउने भनेकै यो रोग के हो र यसबाट कसरी बच्न सकिन्छ भनेर जानकारी बढाउने हो । जे कुरा गर्न पनि त्यसबारे जान्नु जरुरी छ । तसर्थ हामीले जुन कारक तत्वहरूका बारेमा छलफल ग¥यौँ त्यसमा एउटा वंशानुगतबाहेक सबै कारक तत्वहरू हामी आफैँ नियन्त्रण गर्न सकिन्छ । वर्षको एक पटक कमसेकम यदि मिल्छ भने आफ्नो जन्मदिन पारेर डाक्टरको सल्लाह लिएर आफ्नो स्वास्थ्यबारे जानकारी लिने गरौं र कुनकुन कारण तत्वलाई ठीक अवस्थामा राख्नु छ, त्यसमा ध्यान दिने गरौँ । चुरोट रक्सीको सेवन नगरौँ, रक्तचाप मधुमेह र रगतमा हुने चिल्लो पदार्थ नियन्त्रण गरेर राखौँ, तौल बढ्न नदिन व्यायाम, ध्यान योग अभ्यास गर्ने गरौँ, अनावश्यक तनाव लिने, लोभ लालचमा नफसौँ, फलफूल खाने बानी बसालौँ । आफ्नो मुटु स्वस्थ राखौं र आफूले जानेजति, मनैदेखि अरूको पनि मुटु बचाउने अभियानमा लागौं । (लेखक वरिष्ठ मुटु रोग विशेषज्ञ हुन्)