स्वास्थ्य बीमा कार्यक्रम : काभ्रेपलाञ्चोकमा ४० प्रतिशत सहभागी
काठमाडौं । सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकमा ४० प्रतिशत नागरिक आबद्ध भएका छन् । जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका अनुसार ४० दशमलव १२ प्रतिशत अर्थात् एक लाख ४६ हजार ७४ नागरिक स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको कुल जनसङ्ख्या तीन लाख ६४ हजार ३९ मध्ये ७० हजार छ सय १७ पुरुष र ७५ हजार चार सय महिला सरकारी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । बोर्डका दर्ता अधिकारी सरस्वती सिग्देलका अनुसार बनेपा नगरपालिकामा सबैभन्दा बढी र खानीखोला गाउँपालिकामा सबैभन्दा कम नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । जिल्लामा१३ स्थानीय तह छन् । हालसम्म बनेपा नगरमा २९ हजार दुई सय ६६, धुलिखेल नगरमा २८ हजार नौ सय, पनौती नगरमा २४ हजार सात सय एक जना, पाँचखाल नगरमा १७ हजार पाँच सय ६२ र मण्डनदेउपुर नगरमा १३ हजार चार सय ३३ नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । यस्तै नमोबुद्ध नगरमा नौ हजार दुई सय ५३, रोशी गाउँपालिकामा सात हजार नौ सय दुई, तेमालमा दुई हजार दुई सय ९३, महाभारतमा एक हजार पाँच सय १६, चौँरीदेउरालीमा दुई हजार सात, भुम्लुमा पाँच हजार चार सय ९०, बेथानचोकमा दुई हजार आठ सय ५२ र खानीखोला गाउँपालिकामा आठ सय ९९ नागरिकले स्वास्थ्य बीमामा गराएका हुन् । बोर्डका अनुसार कूल विमितमध्ये आठ हजार आठ सय ७१ ज्येष्ठ नागरिक, दुई सय १२ एचआइभी सङ्क्रमित, तीन हजार एक सय १३ पूर्णअपाङ्गता भएका व्यक्ति, एक सय ५१ कुष्ठरोगी र आठ कडा खालको क्षयरोग लागेका व्यक्ति तथा दुई हजार छ सय ७३ महिला स्वास्थ्य स्वयम्सेविका छन् । सरकारले महिला स्वास्थ्य स्वयंसेविकालाई बीमा गर्दा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिकको निःशुल्क, पूर्ण अपाङ्गता भएका, कुष्ठरोगी र एचआइभी सङ्क्रमितका परिवारलाई बीमा रकममा शतप्रतिशत छुट दिँदै आएको छ । काभ्रेपलाञ्चोकमा विसं २०७६ भदौ २४ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको हो । बीमा कार्यक्रमका लागि प्रत्येक वडामा एक सहयोगीका दरले एक सय ३५ सहयोगी खटाइएका छन् । जिल्लामा धुलिखेल सामुदायिक अस्पताल, मेथिनकोट प्रादेशिक अस्पताल, बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पताल, पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र, धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र, खोपासी प्राथमिक स्वास्थ्य केन्द्र र सुन्थान प्राथमिक स्वास्थ्य केन्द्रमा विमितलाई उपचार सुविधा उपलब्ध गराइएको छ । रासस
बालबालिकामा कुपोषणको समस्या हट्दै
काठमाडौं । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि बालबालिकामा देखिने कुपोषणको समस्या हट्दै गएको छ । तीन वर्षअघिदेखि सञ्चालन हुँदै आएको केन्द्रमा पहिलेको तुलनामा हाल नगन्य मात्रामा बालबालिकामा कुपोषणको समस्या रहेको पाइएको छ । ‘केन्द्र मातहत रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई वर्षको सुरुमै घर-घरमा खटाएर पाँच वर्षमुनिका बालबालिकाको तथ्यांक संकलनकार्य गर्यौं’, केन्द्रका प्रमुख कृष्णराज जोशीले भने, ‘कुपोषित भएका बालबालिकाको पहिचान गर्ने कार्य गरी स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्यायौँ ।’ तीन वर्षअघि कुपोषित हुने बालबालिकाको सङ्ख्या निकै बढी थियो । उपचारात्मक खानाको माध्यमबाट बालबालिकाको उपचार गरिएपछि हाल थोरैमात्रै बालबालिकामा कुपोषणको समस्या रहेको छ । गत वर्ष आठ जना बालबालिका कुपोषित रहेका थिए । यस वर्ष तीन जना बालबालिकामा मात्रै कुषोषणको समस्या रहेको छ । बालबालिका र आमालाई सन्तुलित खानाको प्रयोग गर्नुपर्दछ भन्ने कुरा घरमै गएर सम्झाउने गरेको महिला स्वास्थ्य स्वयंसेविका वृक्षी रानाले बताइन् । स्वास्थ्य केन्द्र स्थापना भएपछि प्रत्येक वर्ष कुपोषित बालबालिकाको सर्भेको कार्य हुँदै आएकाले पहिलेको तुलनामा कुपोषित हुने बालबालिकाको संख्या घट्दै गएको उनले बताइन्। ‘दुई वर्षमुनिका बालबालिकाको पाखुराको नाप लिने कार्यसँगै तौल र उचाइ उमेरअनुसार वृद्धि भए/नभएको यकिन गर्दछौँ’, उनले भनिन्, ‘त्यसकै आधारमा जेड स्कोर निकालेर कुपोषित भए/नभएको जानकारी हुन्छ, कुपोषित भए बालबालिकालाई उपचारका लागि केन्द्रमा पुर्याउँछौँ ।’ केन्द्रको कार्यक्षेत्रभित्रका टोलमा पुगेर सन्तुलित खानाबारे स्थानीय बासिन्दालाई सचेत पार्नका लागि खाद्य प्रदर्शनीको कार्य गरिएको केन्द्र प्रमुख जोशीको भनाइ छ । ‘खाद्य प्रदर्शनीमा पोषिलो खानाबारे जानकारी दिन्छौँ’, उनले भने, ‘कुपोषित बालबालिकाका लागि पुनःपरीक्षण र उपचार शिविरको आयोजना गर्ने कार्य हुँदै आएको छ ।’ उनका अनुसार आमा र बालबालिकालाई पोषिलो खानेकुरा खुवाउनुपर्छ भन्ने जानकारी अभिभावकले पाएपछि निकै सचेत भएका छन् । चालु आवदेखि प्रत्येक महिना पाखुराको नाप लिने र तौल लिने बालबालिकालाई वडा कार्यालयका तर्फबाट एक किलो आयोडिनयुक्त नुन र एक वटा साबुन निःशुल्क उपलव्ध गराउने व्यवस्था गरिएको छ । केन्द्रमा पुगेका एक सय ४९ बालबालिकाको नाप लिने र तौल लिने कार्य गरिएको छ । दुई वर्षमुनिका सबै बालबालिकालाई केन्द्रबाट बालभिटा र कुपोषित बालबालिकालाई उपचारात्मक खाना (आरयुटिएफ) दिइने गरेको छ । केन्द्रका स्वास्थ्यकर्मीका अनुसार बालबालिकाको प्रणालीबद्धरूपमा उपचार गरिँदै आइएको छ । जसअनुसार बालबालिकाको अवस्था हेरी भिटामिन ‘ए’ जुकाको औषधिसँगै अन्य रोगको औषधि उपलब्ध गराइँदै आएको छ । ‘महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको प्रयासले अभिभाकलाई जनचेतना दिने कार्य गरिएपछि कुपोषणबारे अभिभावक सेचत भएका छन्’, वडाध्यक्ष शेरबहादुर साउदले भने, ‘ब्यालेन्स डाइट आमा र बालबालिकालाई खुवाउनुपर्छ भन्ने कुराको जानकारी पाएसँगै अभिभावकले त्यसको जोहो गर्दै आएका छन्, यसको परिणामस्वरुप बालबालिकामा देखिने कुपोषणको समस्या निराकरण हुँदै गएको छ ।’ वडाका सबै बासिन्दालाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि प्रयासरत रहेको उनले उल्लेख गरे । रासस
यस्ता हुन्छन् मङ्कीपक्सका लक्षण, रोकथामका लागि के गर्ने ?
काठमाडौं । नेपालमा पहिलो पटक मङ्कीपक्स भाइरस सङ्क्रमण देखिएको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६० वर्षीया विदेशी महिलामा मङ्कीपक्स भाइरस (एमपक्स) को सङ्क्रमण देखिएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासनीले मङ्कीपक्स भाइरस ज्वरो आएको बेला बढी सङ्क्रमण हुने जानकारी दिए। उनले सङ्क्रमितको सम्पर्कमा आएका सबै आइसोलेसनमा बस्नुपर्ने बताए । ‘मङ्कीपक्स रोग मानिसबाट मानिसमा वा जनावारवाट मानिसमा सर्ने गर्दछ । नेपालमा अहिले नै आत्तिहाल्नुपर्ने अवस्था भने छैन’, उनले भने । लक्षणहरु एमपक्स रोग सङ्क्रमित व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ–खटिरा–बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ (जस्तै थुक, र्यालको सम्पर्कबाट, भाइरसबाट दूषित सतह र सामग्रीको प्रत्यक्ष), सङ्क्रमित बाँदर, मुसा, लोखर्केलगायत जनावरबाट, भाइरस रहेको ओछ्यान र लुगाबाट सर्ने महाशाखाका निर्देशक डा. मरासनीले जानकारी दिए । उनका अनुसार भाइरसले ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको एकदेखि तीन दिन भित्रमा छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखापर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरू बढ्ने तथा आँखामा सङ्क्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्युसमेत हुन सक्छ । रोकथाम मङ्कीपक्स भाइरसको रोकथामका लागि एमपक्सको शङ्का वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने, सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्ण रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने महाशाखाका निर्देशक डा. मरासनीले जोड दिए । ‘घाउँसँग प्रत्यक्ष सम्पर्क हुनसक्ने जोखिम छ भए पञ्जा लगाउने, नियमित रुपमा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडाहरु तातो पानी, साबुन वा डिटर्जेन्टले धुने, मङ्कीपक्सको सङ्क्रमण पुष्टि भई बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा जानु हुदैन’, उनले भने । सङ्क्रमितको सम्पर्कमा आएको व्यक्तिले परीक्षण गर्ने, सङ्क्रमितको सम्पर्कमा आएको सतह, स्थान वा कोठा डिटर्जेन्टले निःसङ्क्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने, फोहरलाई उचित स्थानमा व्यवस्थापन गर्ने लगायतकार्य गर्नुपर्ने डा. मरासनीको भनाइ थियो । सन् १९८० मा विफरको उन्मूलन र विश्वव्यापी विफर खोपको अन्त्यपछि मङ्कीपक्स मध्य, पूर्वी र पश्चिमा अफ्रिकामा निरन्तर देखापरिहेको छ । चौध अस्पतालामा फोकल पर्सन मन्त्रालयले मङ्कीपक्स रोगको उपचारका लागि १४ अस्पतालामा फोकल पर्सन तोकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। उनका अनुसार मेची अस्पतालमा डा. केशव दाहाल, कोशी अस्पतालमा डा. सिवी झा, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सूचना मरहठ्ठा, जनकपुर अस्पतालमा डा. रामज्ञान यादव, वीरगञ्ज अस्पतालमा डा. अतुलेशकुमार चौरसिया, गण्डकी अस्पतालमा डा. आनन्द नेपाल, भरतपुर अस्पतालमा डा. शशी हिराचन, वीर अस्पतालमा डा. निरज पराजुली, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल डा. सर्वेन्द्र झालाई फोकल पर्सन तोकिएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा मोनिका काफ्ले, लुम्बिनी प्रादेशिक अस्पतालमा डा. मणिलाल श्रेष्ठ, भेरी अस्पताल बद्री चापागाईं, सुर्खेत अस्पताल डा. सुस्मिता प्रधान र सेती अस्पतालमा डा. दिनेश शिवाकोटीलाई फोकल पर्सन तोकिएको डा. अधिकारीले जानकारी दिए ।