परोपकार प्रसूति अस्पतालमा अनलाइन टिकट सुरू, जनरलतर्फ ४५० शैय्या निःशुल्क
काठमाडाैं । परोपकार प्रसूति अस्पातलले आजबाट अनलाइन टिकटको व्यवस्था सुरू गरेको छ । अस्पतालले ६४औं वार्षिकोत्सव मनाउँदै आजबाट लागू हुनेगरी बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन टिकटको व्यवस्था सुरू गरिएको अस्पतालले जनाएको हो । अस्पतालले बुधवारदेखि अनलाइन टिकट र थप एक–एक वटा बिलिङ र टिकट काउण्टर समेत थप गरी सञ्चालनमा ल्याएको छ । स्त्रीरोग अस्पालले सेवाग्राहीले औषधि खरिद गर्ने सहजताको लागि फार्मेसी काउण्टर समेत थप गरेको छ । अस्पतालमा निर्देशक श्रीप्रसाद अधिकारीले गरिबीको रेखामुनि रहेकाहरुको लागि स्त्रीरोग अस्पतालमा जनरलतर्फ ४५० शैय्या निःशुल्क गरिएको बताए । उनले मुलुकको एकमात्र महिला स्वास्थ्य सम्बन्धी केन्द्रीय विशिष्टीकृत अस्पतालले स्वीकृत शैय्या ४१४ भएपनि बिरामीको चापका कारण ४८९ शैय्या सञ्चालन गरिएको बताए । निर्देशक अधिकारीले गत आर्थिक वर्ष २०७९/८० मा कुल ३४ हजार १ सय ८५ जना महिला बिरामी भर्ना भएकामा प्रसुतीतर्फ २६ हजार ९ सय ४७ तथा स्त्री रोगतर्फ ५ हजार ४६ रहेको उल्लेख गरे । उनले नवजात शिशु सघन उपचारतर्फ २ हजार १९२ र मातृ संघनतर्फ ४८३ भर्ना भएर उपचार पाएको दाबी गरे । उनले गत आर्थिक वर्षमा अस्पतालले बहिरंग सेवातर्फ १ लाख ८० हजार ८९० जना महिलाहरुले सेवा लिएको जानकारी दिए । उनले प्रसूतिमा भर्ना भएका २६ हजार ९४७ मध्ये २४ हजार ६७२ जना गर्भवती महिलाको प्रसूति डेलिभरी भएको भन्दै जसबाट २४ हजार ९१५ जना शिशुको जन्म भएको बताए । उनका अनुसार २४ हजार ६७२ जना प्रसुती डेलीभरी महिलामध्ये ९ हजार ८२१ जनाको शल्यक्रिया अर्थात सिजरियन सेक्सनबाट डेलिभरी भएको हो । निर्देशक अधिकारीले स्त्रीरोग गाईनोकोलोजी शल्यक्रियातर्फ गत आर्थिक वर्षमा २ हजार ९६४ जनाको शल्यक्रिया भएकोमध्ये २२३ जनाको दुरविन प्रविधि (ल्याप्रोस्कोपिक) र २ हजार ७२३ जनाको चिरफार प्रविधिबाट शल्यक्रिया गरेर उपाचार गरिएको बताए । गत आर्थिक वर्षमा १ हजार ७७९ जना महिलाले निःशुल्क सुरक्षित गर्भपतन सेवा लिएको उनको भनाइ छ । स्त्रीरोग अस्पातल वि.स.२०१६ साल भाद्र १० गते कृष्ण जन्माष्टमीको दिन ४० शैय्या शुरुवात भएको थियो ।
पेट स्क्यान गर्ने मेसिन ल्याउने तयारीमा क्यान्सर अस्पताल
चितवन । नेपालमा प्रथम राष्ट्रपति डा रामवरण यादव पेट स्क्यानका लागि भारत गएर फर्किएपछि नेपालमा सरकारी अस्पतालमा पेट स्क्यान मेसिन सञ्चालन गर्न चासो दिएका थिए । तर तत्कालीन समयमा सरकारले यहाँ मेसिन खरिदका लागि बजेट विनियोजन गरे पनि कामले पूर्णता भने पाउन सकेन । तर राष्ट्रपति यादवको कार्यकाल पूरा भएको झण्डै १० वर्षपछि भने यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पेट स्क्यान ल्याउनका लागि गृहकार्य सुरु गरिएको छ । अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा पेट स्क्यान मेसिन जडान गरेर स्वदेशमै सेवा दिने योजनाका साथ काम अघि बढाइएको बताए। मानव शरीरमा क्यान्सर रोग पहिचान गर्ने यो उपकरण नेपालका सरकारी अस्पतालमा नभएको भन्दै उनले क्यान्सर रोगको पहिचान गर्नका लागि सरकारले विनियोजन गरेको रु ८६ करोड बजेटबाट अस्पतालमा पेट स्क्यान गर्ने मेसिन जडान गर्ने बताए । उनका अनुसार नेपालका तीन वटा निजी संस्थामा पेट स्क्यान हुने भए पनि उपकरणलाई आवश्यक पर्ने आइसोटोप भारतबाट ल्याउने गरिएको छ । आइसोटोप उत्पादन गर्ने उपकरण साइक्लोट्रोन समेत यही जडान गर्ने अस्पतालको तयारी छ । कार्यकारी निर्देशक डा पौडेलले भने, ‘हामी आइसोटोप उत्पादन गरेर निजी क्षेत्रलाई बिक्री समेत गर्न सक्छौँ ।’ कोभिडका समयमा जहाज नउड्दा आइसोटोपका अभावमा नेपालका पेटस्क्यान सञ्चालन हुनसकेका थिएनन् । पौडेलले पेटस्क्यान जडानका लागि भौतिक पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाइएको बताए । अहिलेको ठूलो भवनको अगाडिपट्टी पेट स्क्यानका लागि भवन बनाउने तयारी गरिएको छ । भवनको नक्शाङ्कनको काम अन्तिम चरणमा पुगेको छ । यसका लागि माटो परीक्षण र वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) को काम अघि बढाइएको डा पौडेलले बताए। अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार काठमाडौंका दुई ठाउँ र झापाको बिर्तामोडमा निजी क्षेत्रबाट पेटस्क्यान गर्ने मेसिन सञ्चालनमा छन् । यो उपकरणले रोग पत्ता लगाउनका साथै उपचार एवं शल्यक्रियापछि बिरामी शरीरमा क्यान्सर रहे नरहेकोसमेत पत्ता लगाउन उपयोगी हुने उनको भनाइ छ । हाल पेटस्क्यानकै लागि धेरै बिरामी छिमेकी देश भारत लगायतका देशमा जानुपर्ने बाध्यता छ । उपकरण जडान गरेसँगै नेपालका बिरामीले सरकारीस्तरमा स्वदेशमै यो सेवा पाउने उनको भनाइ छ । डा नेपाल पेटस्क्यान मेसिन आएसँगै क्यान्सर रोग समयमै पहिचान गरी उपचार गर्न सकिने बताउँछन् । रासस
कान नसुन्ने बिरामीका लागि नेपाल मेडिसिटीमा ‘कोक्लियर इम्प्लान्ट’ सेवा सुरु
काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले पहिलो पटक शल्यक्रिया मार्फत कोक्लियर इम्प्लान्ट सफलता पूर्वक सम्पन्न गरेको छ । कोक्लियर इम्प्लान्ट एउटा सानो, जटिल इलेक्ट्रोनिक उपकरण हो जसले गम्भीर श्रवण हानि भएका मानिसहरूको श्रवण सुधार गर्न मद्दत गर्छ । पटक्कै कान नसुन्ने समस्या भएका बिरामीका लागि नेपाल मेडिसिटीले ‘कोक्लियर इम्प्लान्ट’ सेवा सुरु गरेको हो । आईतबार एक जना बिरामीको शल्यक्रिया मार्फत कोक्लियर इम्प्लान्ट गरि सेवा सुरु गरिएको हो । अस्पतालको नाक, कान, घाँटी (ईएनटी) प्रमुख प्रा. डा. तोरण केसीका अनुसार नेपालमा यो सेवा प्रदान गर्ने नेपाल मेडिसिटी पहिलो निजी अस्पताल हो र यसमा भारतका चिकित्सक डा। जे। एम। हँसले नेपाल आएर नेपाल मेडिसिटीका चिकित्सकहरुलाई सघाएका थिए । शनिबारबाट नै वीर अस्पतालले पनि कोक्लियर इम्प्लान्ट सेवा सुरु गरेको छ । त्यहाँ दुई जना बिरामीको शल्यक्रिया मार्फत कोक्लियर इम्प्लान्ट गरिएको हो । यसै बीच नेपाल मेडिसिटीको पहलमा मेडिकल कलेज र ईएनटी चिकित्सकहरु बीच अन्तर्क्रिया कार्यक्रम पनि सम्पन्न भएको छ । कानका संयन्त्रले काम नगरेको अवस्थामा र श्रवणयन्त्र (भित्री कान) ले पनि सुनाइ फर्काउन नसकेको अवस्थामा कोक्लियर इम्प्लान्ट गर्नुपर्ने डा. केसी बताउछन् । ‘कक्लियाले काम नगरेको अवस्थामा पटक्कै कान नसुन्ने समस्या हुन्छ त्यहीकारण यो डिभाइस एक विल्कप हो,’ उनले जानकारी दिए । ‘कोक्लियर इम्प्लान्ट शल्यक्रिया गरेपछि, अर्को महत्त्वपूर्ण कुरा बिरामीलाई पुनर्स्थापना गर्नु हो किनभने शल्यक्रिया गरेपछि अर्को दिन व्यक्तिले सुन्न सक्दैन, यसले समय लिन्छ । त्यसैले सामान्यतया दुई देखि तीन हप्ताको शल्यक्रियापछि हामी मेसिन अन गर्छौं र त्यहाँ पुनस्र्थापनाको सम्पूर्ण प्रक्रिया हुन्छ, जसमा उनीहरूलाई श्रवण थेरापी दिइनेछ,’ डा. केसीले भने । डा. केसीका अनुसार कक्लिया बिग्रियो भने व्यक्तिको श्रवणशक्ति हराउँछ र कान सुन्न सकिँदैन् । जन्मजात बहिरा भएका र समयसँगै श्रवणशक्ति गुमाउनेहरूको लागि कोक्लियर इम्प्लान्ट गरिन्छ । उनले श्रवणशक्तिका साथ जन्मेकाहरूका लागि जन्मेको एक वर्षभित्रको शल्यक्रियाको लागि उपयुक्त समय रहेको बताए । कक्लिया बिग्रनुमा विभिन्न कारण छन् । कुनै वंशाणुगत हुन्छ भने कुनै जन्मजात राम्रोसँग विकास हुँदैन् । कतिपय अवस्थामा विभिन्न खालका संक्रमणले कक्लियामा समस्या ल्याउँछ । सुत्केरी समयमा, बच्चामा अक्सिजनको मात्रा नपुग्ने जस्तो अवस्थामा कक्लियामा क्षति पुग्नसक्छ साथै बढी ज्वरो आउने, उच्च जन्डिस हुने, मेनेन्जाइटिस हुने जस्ता कारणले कक्लियामा क्षति पुगेको अवस्थामा व्यक्तिले सदाका लागि कान नसुन्न सक्छ ।