डाबर नेपालले गर्यो इजी हेल्थकेयर फाउन्डेसनलाई २५ लाख सहयोग

काठमाडौं । स्वास्थ्य र कल्याणको लागि हाम्रो निरन्तर प्रयासमा, डाबर नेपालले ‘बर्न इन्जुरीजको रोकथाम र उपचारको लागि राष्ट्रिय कार्यक्रम’ लाई समर्थन गर्ने संस्था इजी हेल्थकेयर फाउन्डेसनसँग अर्थपूर्ण साझेदारी बनाएको छ । डाबर नेपालले आफ्नो सीएसआर पहल अन्तर्गत इजी हेल्थकेयर फाउन्डेसनलाई नेपाली २५ लाख प्रदान गरेको छ । सो रकम इजी हेल्थकेयर फाउन्डेसनकी अध्यक्ष  इश्वरी राणालाई डाबर नेपालका एमडी हरकिरत बेदीले हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा अनिल पुरी, हेड- एचआर साथै इजी हेल्थकेयर फाउन्डेसनका निर्देशक रोहित रौनियार, संरक्षक उज्ज्वल विक्रम थापा र संस्थापक अध्यक्ष अखिल शाक्यको उपस्थिति थियो । यो महान कार्य नेपालमा स्वास्थ्य पूर्वाधारलाई सहयोग गर्ने डाबर नेपालको अटल प्रतिबद्धतासँग निर्बाध रूपमा मिल्ने र  इजी हेल्थकेयर फाउन्डेसनसँग हात मिलाएर, डाबर नेपालले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) लाई आगोको चोटहरूको रोकथाम र उपचारमा योगदान पुर्याएको विश्वास लिएको छ । यो रणनीतिक साझेदारीले सामाजिक कल्याणको लागि साझा समर्पणलाई जोड दिएको र डाबर नेपाल स्वास्थ्य क्षेत्रमा सहयोग गर्न समर्पित रहेको कम्पनिले जनाएको छ ।

मोरङको बुढीगंगामा २ अर्ब ५० करोडको सुविधा सम्पन्न अस्पताल बनाईने

विराटनगर । मोरङको बुढीगंगा १ स्थित टंकीसिनवारीमा आरआर इन्टरनेशनल अस्पताल बन्ने भएको छ । २ अर्व ५० करोड लगानीमा एक विगाहा ८ कठ्ठा क्षेत्रफलमा अस्पताल निर्माण हुने अस्पताल २ वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । शिवम् अर्गनाईजेसनले निर्माण गर्न लागेको अस्पतालको बुधबार शिलान्यास गरिएको छ । नेपालबाट बर्षेनी हजारौंको संख्यामा नेपालीहरु भारत लगायत विभिन्न देशहरुमा स्वास्थ्य उपचारको लागि जानुपर्ने अवस्थालाई अन्त्य गर्ने उद्देश्य सहित अस्पताल सञ्चालनको तयारी गरिएको अर्गनाईजेसनका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताए । शिलान्यासपछि आयोजित पत्रकार सममेलनमा अध्यक्ष राउतले ३ वर्षभित्रमा अस्पताल निर्माणको लक्ष्य राखिएपनि २ वर्षमा निर्माण सम्पन्न गरेर सञ्चालनको तयारी गरिएको बताए । अस्पताल सञ्चालनपछि नर्सिङ कलेजको तयारी गरिने उनले जानकारी दिए । देशको समग्र स्वास्थ्य सेवाको माग र आपूर्ती तथा गुणस्तर बीचको खाडल कम गर्न खुल्ला अर्थतन्त्रमा निजि क्षेत्रको सहभागिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने शिवम् अर्गनाईजेसनका सदस्य प्रतिक राउतले बताए । अस्पताल २०० शैया क्षमताको निमार्ण गर्न गरिएपनि सुरुवातमा १०० शैंयाको मल्टि स्पेशियालिटी अस्पताल संचालन गर्ने र क्रमश ३०० शैया सम्म विस्तार गर्ने लक्ष्य लिइएको उनले बताए । अस्पतालले मुटुरोगको उपचारलाई प्राथमिकतामा राखी २४ सै घण्टा आकस्मिक सेवाल, कार्डियो, क्याथ ल्याव जस्ता सेवा सुविधा उपलब्ध गराउने राउतको भनाई छ । उनका अनुसार अस्पतालबाट जनरल मेडिसन, न्यूरो सर्जरी, जनरल सर्जरी, मृगौला रोग, मुत्ररोग, स्त्रीरोग तथा प्रसुती सेवा, आँखा रोग, नवजात शिशु तथा बालरोग, हाडजोर्नी तथा नशाको विशिष्टिकृत उपचार सेवा उपलब्ध गराउने योजना रहेको छ । झण्डै ३ दशकदेखि उद्योग व्यवसायका क्षेत्रमा संलग्न रहँदै आएका राजेन्द्र राउत नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका स्थायी समिति सदस्य समेत हुन् ।

सस्तोमा औषधि बेच्न घर भाडामा लिँदै काठमाडौं महानगर, तोक्यो मापदण्डसहितको स्थान

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंवासीलाई सस्तोमा औषधि बिक्री गर्न घर भाडामा लिने भएको छ । महागनरले सुलभ फार्मेसी स्थापनाका लागि घर भाडामा लिन लागेको हो । बुधबार एक सूचना जारी गर्दै महानगरले महानगरपालिका भित्रका ५ स्थानहरुमा सुलभ फार्मेसी स्थापना गर्ने स्वर्णिम योजना अनुसार महाराजगञ्ज, वीर अस्पताल, कालीमाटी, लैनचौर क्षेत्रमा घर भाडामा लिन लागेको जानकारी गराएको हो । महानगरले महाराजगञ्ज क्षेत्रको वडा नं. ३, वीर अस्पताल क्षेत्रको वडा नं. २२, कालीमाटी क्षेत्रको वडा नं. १३ र लैनचौर क्षेत्रको वडा नं. २६ को स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट १०० देखि २०० मिटर भित्रका क्षेत्रको घर भाडामा लिने भनेर प्रष्ट बताएको छ । भाडामा लिने घरको आवश्यक न्यूनतम मापदण्डहरू महानगरका अनुसार भाडामा लिने घरको क्षेत्रफल न्यूनतम ८०० ( आठ सय) देखि १२०० (बाह्र सय) वर्ग फिट भएको तथा नक्सा पास हुनुपर्नेछ । कम्तीमा ३ (तीन) वटा कार तथा ५ वटासम्म दुई पाङ्ग्रे सवारी पार्किङ गर्न मिल्ने पार्किङ स्थान भएको हुनुपर्ने र मुख्य सडक वा कम्तीमा ६ मिटर फराकिलो सडकको किनारा रहेको घर हुनुपर्ने महानगरको मापदण्ड छ । त्यस्तै, घर, जग्गाको कर नियमानुसार भुक्तानी भएको, बिजुली बत्ती, पानी, तथा शौचालय (सकेसम्म फरक क्षमतामैत्री समेत) भएको र घर कम्पनी वा व्यक्तिको नाममा रहेको हुनुपर्नेछ बताइएको छ । त्यसैगरी, स्वास्थ्य प्रवर्द्धन केन्द्रसँग जोडिएको वा सँगै रहेको भवनलाई प्राथमिकता दिइने महानगरले जारी गरेको सूचनामा उल्लेख छ । महानगरले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र मासिक के कति दरमा दिन सकिने हो, सो उल्लेख गरी गोप्य सिलबन्दी खामसहित काठमाडौं महानगरपालिकाको कार्यालय स्वास्थ्य विभागमा दर्ता गराउन आग्रह गरेको छ ।