नेपाल एसबिआई बैंक र ओम कृष्ण अस्पतालबीच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र कैलाली टिकापुरको ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टरबीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता भएको छ । उक्त सम्झौता सूदूरपश्चिम प्रदेश प्रमुख सन्तोष कूमार भण्डारी तथा अस्पतालका अध्यक्ष रत्ना उपाध्याय (बजगाई) बीच भएको हो । सम्झौता अनुसार बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकले उक्त अस्पतालमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुट पाउने छन् । उक्त सम्झौता सूदूरपश्चिम प्रदेश प्रमुख सन्तोष कूमार भण्डारी तथा अस्पतालका अध्यक्ष रत्ना उपाध्याय (बजगाई) बीच सम्पन्न भयो । उक्त सम्झौतामा अस्पतालका तर्फबाट कृष्ण पर्साद उपाध्याय बजगाइं तथा बैकका कर्मचारीहरुको पनि उपस्थिति थियो ।

लुम्बिनी र कर्णाली प्रदेशमा ग्लोबल आइएमई बैंकको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । ग्लोबल आइएमई बैंकले लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त प्रदेशमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । बैंकले लुम्बिनी प्रदेश अन्तर्गत पाल्पा जिल्ला रैनादेबी छहरा गाँउपालिका वडा नं. ४ स्थित छहरा स्वास्थ्य चौकी र कर्णाली प्रदेश सुर्खेत जिल्ला बिरेन्द्रनगर नगरपालिका वडा नं. १३ जर्बुटा स्वास्थ्य चौकी उक्त शिविर आयोजना गरेको हो । लुम्बिनी प्रदेशमा २०० र कर्णाली प्रदेशमा १५० भन्दा बढि महिलाहरुले आफ्नो स्वास्थ्य चेकजाँच गरेका छन् । यही पौष १७ गते मंगलबारदेखि ग्लोबल आइएमई बैंक १७औं वर्ष पुरा गरी १८औं वर्षमा प्रवेश गरेको छ । उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरुमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु-महिलाको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।

भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट, नेपालमा सजकता अपनाउन आग्रह

काठमाडौं । छिमेकी मुलुकमा भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट देखापरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा सजकता अपनाउन आग्रह गरेको छ । भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट जेएन–१ फैलिरहेकाले नेपालमा पनि फैलिनसक्ने भएकाले मन्त्रालयले सजकता अपनाउन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले भीडभाड हुने स्थान जस्तै मेला, भोज, पार्टीलगायतमा मास्कको प्रयोग गर्न, भौतिक दुरी कायम राख्नहुन र हातको सरसफाइमा ध्यान दिन सबैलाई अनुरोध गरेका छन् । उनले नेपालमा अणुवाङ्शिक अध्ययन गर्दा अहिलेसम्म उक्त नयाँ भेरियन्ट पुष्टि नभएको बताए । मन्त्रालयले विश्वका केही देशमा कोभिड–१९ को सङ्क्रमणको नयाँ भेरियन्ट जेएन–१ को जोखिम बढिरहेको र छिमेकी देशमा पनि सङ्क्रमण फैलिरहेकाले आवश्यक निगरानी एवं सम्बन्धित देशहरुसँग समन्वय गरिरहेको जनाएको छ । कोभिड–१९ को नयाँ सव भेरियन्टको बढ्दो सङ्क्रमणलाई ध्यानमा राख्दै प्रवेश विन्दुका सबै हेल्थ डेक्स, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्था तथा सबै सरोकारवालामार्फत आवश्यक स्क्रिनिङ्ग र निगरानी भइरहेको उल्लेख गर्दै मन्त्रालयले नयाँ भेरियन्टको रोकथाम र उपचारको व्यवस्थापनका लागि तयारी अवस्था रहेको जनाएको छ । रासस