आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

काठमाडौं । सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि सबैलाई खुवाउने गरी आम औषधि सेवन अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले जानकारी दिए । यसअघि ती सात जिल्लामा आम औषधि सेवन अभियान सञ्चालन गरिए पनि सफल नभएपछि पुनः अभियान सञ्चालन गर्न थालेको हो । अभियान दुई हप्तासम्म सञ्चालन हुनेछ । अभियानमा यसपटक करिब ६ हजार स्वास्थ्यकर्मी र पाँच हजार आठ सय महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने छन् । निर्देशक डा मरासिनीका अनुसार सात जिल्लाका एक सय एक स्थानीय तहका ५० लाख ७८ हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन थालिएको हो । दुई वर्षभन्दा बढी उमेरका सबैलाई औषधि खुवाइने उनले बताए । गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्ति, पहिले आम औषधि सेवन गर्दा गम्भीर समस्या देखिएका व्यक्ति तथा सिकिस्त बिरामीले सो औषधि खान नहुने निर्देशक डा मरासिनीले बताए । हात्तीपाइलेविरुद्धको आम औषधि सेवन कार्यक्रम सफल भएको उनको भनाइ छ । हात्तीपाइले रोग मानिसलाई शारीरिकरुपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीले गराउँछ । यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने र मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्ष पछि मात्रै रोगका लक्षण शरीरमा देखिने निर्देशक डा मरासिनीले बताए । हात्तीपाइले रोगको धेरैजस्तो सङ्क्रमण लक्षण बिनाको हुने भएकाले समुदायका अन्य व्यक्तिलाई समेत रोग सर्ने सम्भावना रहन्छ । त्यसैले हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्णरुपमा निको हुन आम औषधि सेवन गर्न जरुरी छ । महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत तथा अभियानका फोकल पर्सन रामकुमार महतोले ५३ जिल्लामा समुदायस्तरमा हात्तीपाइले रोगको सङ्क्रमण रोकिएको बताए । उनका अनुसार दाङ, मोरङ, बाँके र कैलाली जिल्लामा प्रारम्भिक समुदायस्तरको सङ्क्रमण रोकिएको छ । रासस

तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा । चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र तातो हावा ‘लू’ चल्ने गरेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयका अनुसार केही दिनदेखि नेपालगञ्जको अधिकतम् तापक्रम बढेको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालगञ्जलगायत आसपास क्षेत्रका विभिन्न भूभागमा पाँच दिनसम्म तातो हावा चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाका अनुसार वैशाख १० देखि १४ गतेसम्म पाँच दिनको समयमा तराईका भागका केही स्थानमा तातो हावाको सम्भावना रहेको छ । तातो हावाबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न विभिन्न उपाय अपनाउन महाशाखाले अनुरोध गरेको छ । तातो हावाबाट बच्न गर्मी समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पानी तथा झोलिलो पदार्थ प्रशस्त मात्रामा सेवन गर्ने, स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न भेरी अस्पतालका फिजिसियन डा पारस श्रेष्ठले आग्रह गरे । अत्यधिक गर्मी हुने नेपालगञ्जमा विगत केही दिनयता तापक्रममा उतारचढाव हुने गरेको छ । दिउँसोको समयमा चल्ने सुक्खा तातो हावाका कारण जनजीवन प्रभावित बन्दै गएको छ । चर्को गर्मी र तातो हावाका कारण दैनिक ज्याला मजदुरी गरेर हातमुख जोड्ने वर्गलाई धेरै प्रभाव परेको छ । दैनिक रूपमा ठेला चलाउने, रिक्सा चलाउने तथा अन्य ज्यालादारी गर्ने मजदुरलाई समस्या परेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यले बताए । चर्को गर्मी र तातो हावाका कारण सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि पातलिएको छ । अत्यावश्यक काम भएका सेवाग्राही मात्र कार्यालयमा आउने गरेका छन् । भेरी अस्पतालमा पनि बिरामीको चाप बढेको डा श्रेष्ठले बताए । दिउँसोको समयमा सुनसानजस्तो देखिने नेपालगञ्ज बजार साँझको समयमा भने भीडभाड हुने गरेको छ । बजारका विभिन्न चोक तथा पसलमा काँक्रो, तरबुजा, खरबुजा, लस्सी, आइसक्रिम, कुल्फी तथा चिसो पेय पदार्थ सेवन गर्ने सर्वसाधारणको सङ्ख्या उल्लेख्य देखिन्छ । रासस

जलवायु परिवर्तनले फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन

नाइजेरिया । गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही रोगको खतरालाई पुनर्जीवित वा स्थानान्तरण गर्दैछ भन्ने कुराको सम्झना गराएको थियो । यद्यपि अफ्रिकी महादेशमा मलेरियाले लाखौँ मानिसलाई मारेको वा बिरामी पारेको छ । नाइजेरियाको लागोस सहरको अनौपचारिक छिमेकी मकोकोका ६६ वर्षीया फनमिलायो कोटुनलाई नै लिन सकिन्छ। यहाँको फोहर पानीको पोखरीले मलेरिया फैलाउने लामखुट्टेका लागि अनुकूल प्रजनन अवस्था प्रदान गर्दछ। अमेरिकी डलर सातदेखि २१ को बीचमा पाइने उपचार गरिएको कीटनाशक मच्छरदानी कोटुनले किन्न सकिन्न। यहाँ एन्टिमलेरिया औषधि वा उपचार अत्यन्त कम हुन्छ। मलेरिया परजीवी अधिकांश सङ्क्रमित लामखुट्टेमार्फत मानिसमा फैलिन्छ र ज्वरो, टाउको दुख्ने र चिसोेलगायतका लक्षण निम्त्याउन सक्छ । यसले धेरैजसो पाँच वर्षभन्दा कम उमेरका बालिबालिका र गर्भवतीहरूलाई असर गर्दछ । खोपको प्रयास अहिले पनि प्रारम्भिक चरणमा छ । क्यामरुन यस वर्ष बालबालिकालाई नियमितरूपमा मलेरियाको नयाँ खोप दिने पहिलो मुलुक बन्यो । यहाँ यो ३० प्रतिशतमात्र प्रभावकारी छ र प्रसारणलाई यसले रोक्न सक्तैन । दोस्रो खोपलाई हालै मञ्जुरी दिइएको थियो । एन्टिमलेरिया औषधि र कीटनाशकहरूको प्रतिरोधका घटनाहरू बढिरहेका छन् भने सरकार र दाताहरूबाट नवप्रवर्तनका लागि कोष सुस्त भइरहेको छ । भीडभाड भएको क्षेत्र, जमेको पानी, खराब सरसफाई तथा उपचार र रोकथाम सामग्रीसम्म पहुँचको अभावले धेरै क्षेत्रमा बस्ने अवस्थाको भूमिका निर्वाह गर्दछ । यसअघि भारत र फारसको खाडीमा देखिएका लामखुट्टेको आक्रामक प्रजाति नयाँ चिन्ताको विषय बनेको छ । विश्वव्यापीरूपमा मलेरियाका मामिला बढिरहेका छन् । सन् २०१९ मा सङ्क्रमण २३ करोड ३० लाखबाट बढेर सन् २०२२ मा ८५ मुलुकमा २४ करोड ९० लाख पुगेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का अनुसार मलेरियाबाट मृत्युको सङ्ख्या सन् २०१९ मा पाँच लाख ७६ हजारबाट बढेर सन् २०२२ मा छ लाख आठ हजार पुगेको छ । मलेरियाको विश्वव्यापी बोझको करिब ७० प्रतिशत वहन गर्ने १२ मुलुकमा ११ अफ्रिकामा छन् भने अर्को मुलुक भारत हो । सन् २०२२ मा अफ्रिकामा मलेरियाबाट मर्ने पाँच लाख ८० हजारमा ८० प्रतिशत मृत्यु पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको भएको थियो । मलेरियाविरुद्धको लडाइँले तीव्ररूपमा निदान परीक्षण, खोप र नयाँ मच्छरदानीजस्ता कीटनाशक प्रतिरोधको सामना गर्ने क्षेत्रमा केही प्रगति देखिएको छ तर कोभिड–१९ र फोकस फर फन्डिङमा परिवर्तनले यी प्रयासहरूलाई पछाडि धकेलेको छ । गत वर्ष ट्रपिकल मेडिसिन एन्ड इन्फेक्सियस डिजिजमा प्रकाशित एक अध्ययनमा कोभिड–१९ का कारण जारी लकडाउनले सम्पूर्ण अफ्रिकामा ३० प्रतिशत ग्रामीण सामुदायिक स्वास्थ्य विन्दुहरूमा अवरोध उत्पन्न भएको बताइएको छ । सन् २००० र सन् २०१९ को बीच घट्ने प्रवृत्तिलाई तोड्दै मलेरियाका मामिला पुनः बढ्न थालेको छ । डब्ल्युएचओका अनुसार घट्दो प्रवृत्ति चाँडै फर्कन सक्छ । ग्लोबल फन्ड टु फाइट एड्सका कार्यकारी निर्देशक पिटर स्यान्ड्सले भने, ‘अफ्रिका जलवायु परिवर्तनको तीव्र अन्त्यमा छ र चरम मौसमी घटनाहरूको बढ्दो आवृत्तिले निम्न र मध्यम आय भएका क्षेत्रमा मलेरियासँग मुकाबिला गर्ने प्रयासलाई बर्बाद गरिरहेको छ ।’ सन् २०२३ मा डब्ल्युएचओको विश्व मलेरिया प्रतिवेदनमा पहिलो पटक मलेरिया र जलवायु परिवर्तनबीचको सम्बन्धमा एउटा अध्याय समावेश गरिएको छ । यसमा सम्भावित जोखिम गुणकका रूपमा यसको महत्त्माथि प्रकाश पारिएको छ । वैज्ञानिकहरूले माउन्ट किमिमान्जरोको ढलान र पूर्वी इथियोपियाको पहाडलगायत कुनै पनि समयमा लामखुट्टेको बसोबास नहुने क्षेत्रमा बस्ने मानिसहरू मलेरियाको चपेटामा आउनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । दशकौँमा आफ्नो सबैभन्दा तातो दिन रेकर्ड गरेको जिम्बाब्वेका केही जिल्लामा मलेरियाको प्रसारण अवधि बढाइएको छ । जिम्बाब्वेमा मलेरियाका लागि डब्ल्युएचओका प्राविधिक अधिकारी डा प्रिसियस एन्डिफासीले भने, ‘यो परिवर्तनका लागि जलवायु परिवर्तनलाई श्रेय दिइएको छ ।’ रासस