चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा बिस्तार हुनुपर्छ : उपकुलपति बस्नेत
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा.भूपेन्द्रकुमार बस्नेतले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तीन सय शैय्या भन्दा माथिका देशभरका सबै अस्पतालमा बिस्तार हुनुपर्ने बताएका छन् । आईतबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा मात्र नभइ देशभरका तीन सय शैय्या भन्दा माथिका सबै अस्पतालमा हुनु अनिवार्य रहेको बताए । देशको आवश्यकता, संविधानले प्रत्याभुत गरेको स्वास्थ्य सम्बन्धी हकलाई कार्यान्वनय गर्न अझै धेरै जनशक्तिको आवश्यक रहेको पनि जानकारी दिए । उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अझै धेरै तालिम, अध्ययन, अनुसन्धानको पाटोहरुलाई अघि बढाउनुपर्ने अवस्था रहेको पनि बताए । उनले भइरहेको जनशक्ति, भौतिक पूर्वाधार र सरकारबाट प्राप्त ५७० रोपनी दुवाकोटको जग्गाको गुरुयोजना बनिसकेको र प्रधानमन्त्री पुष्पकमल दाहालबाट गुरुयोजना अघि बढाउने प्रतिवद्धता आइसकेको जानकारी दिए । ‘देशको आवश्यकता, संविधानले प्रत्याभुत गरेको स्वास्थ्य सम्बन्धी हकलाई कार्यान्वनय गर्न अझै धेरै जनशक्तिको आवश्यकता छ । चिकित्सा शिक्षा आयोगले गरेको अध्ययन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गरिएको आँकलनमा पनि आइसकेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अझै धेरै तालिम, अध्ययन, अनुसन्धानको पाटोहरुलाई अघि बढाउनुपर्ने अवस्था छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा मात्र नभइ देशभरका सबै अस्पताल जुन ३ सय बेड भन्दा माथिका छन्, तिनीहरुमा बिस्तार हुनेछ’, उनले भने । उनले भरतपुर एवं वीर अस्पतालमा एमबीबीएस कार्यक्रमलाई ल्याउने र प्राथमिकताका साथ अघि बढाउने प्रतिवद्धता प्रधानमन्त्रीबाट आएको भन्दै खुशी व्यक्त गरे ।
सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसका अवसरमा आईतबार यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको बताए । ‘सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘निकै ठूलो मेहनेत र सङ्घर्षबाट प्राप्त भएको नागरिको मौलिक हक कार्यान्वयन गर्नु राज्यको दायित्व हो, यो दायित्त्व पूरा गर्न सरकार गम्भीर भएर लागेको छ ।’ गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका दुई हजार ८०० श्यया निःशुल्क उपलब्ध गराइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पाठेघरको क्यान्सर र स्तन क्यान्सर विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको बताए । ‘सबै सरकारी, सामुदायिक र निजी अस्पतालले कुल श्ययाको १० प्रतिशत बिपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याउन पहल गरिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यस्ता कामहरूले स्वास्थ्य क्षेत्रका अधिकार ब्यावहरमा कार्यान्वयन गर्नका लागि आधारभूत अर्थ राख्दछन् ।’ संविधानको व्यवस्थाअनुरूप चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान लगायतका स्वास्थ्य संस्थाहरूले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्दै आम नेपाली नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन राज्यको प्रमुख दायित्व पूरा गर्न प्रतिष्ठानले भूमिका खेल्नुपर्ने बताए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई स्वदेशी तथा विदेशी शैक्षिक निकायसँग समन्वय र सहकार्य गरी समयानुकूल बनाइने बताउँदै प्रधानमन्त्रीले अन्तर्राष्ट्रियस्तर शैक्षिक प्रतिष्ठान बनाउन आफ्नोतर्फबाट निरन्तर सहयोग रहने बताए । आफूले सरकारको नेतृत्व लिएलगत्तै वीर अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल लिएको अवगत गराउँदै प्रधानमन्त्री प्रचण्डले सबै बेड तथा अपरेशन थिएटरहरू सञ्चालनमा ल्याउने, वीर अस्पतालको सेवालाई दुई सिफ्टमा सञ्चालन गर्नेलगायतका कार्यलाई प्राथमिकता दिएको बताए ।
भानुका ४ सय २८ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिने
तनहुँ । तनहुँको भानु नगरपालिकाले ४ सय २८ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । अपाङ्गता परिचयपत्र प्राप्त गरेका, आश्रित परिवार, बेपत्ता, सहिद परिवार र बालगृहमा रहेका बालबालिकाको बीमा गरिदिन लागिएको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । अपाङ्गता परिचयपत्र प्राप्त गरेका ग र घ वर्गका अपाङ्गता भएका व्यक्तिलाई समावेश गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए । नगरपालिकाले निःशुल्क स्वस्थ्य बीमा गर्न कार्यविधि तयार गरी स्वस्थ्य बीमा प्रक्रिया अघि बढाएको र सो कार्यक्रमका लागि नगरपालिकाले १५ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको उपप्रमुख उमा गोतामेले बताइन् । बेपत्ता पारिएका र सहिद परिवारलाई पनि स्थानीय सरकारको प्रत्यभूति दिलाउन बीमाको कार्यक्रमलाई प्राथामिकता दिइएको भानु नगरप्रमुख त्रिपाठीले जानकारी दिए ।