उदासी उपेन्द्र, महत्वाकांक्षी मन्त्री
काठमाडौं । उपप्रधान तथा स्वास्थ्य मन्त्रीबाट हट्ने डिलमा छन् उपेन्द्र यादव । सरकारमा सहभागी भएको दुई महिनामै सरकारबाट बाहिरिनु स्वयम् उपेन्द्र र उनको पार्टीका लागि पनि दुर्भाग्य र दुःखद हो । त्यो भन्दा बढी दुःखद आम जनताको लागि हो । राजनीतिक दल र नेताहरू निहित स्वार्थका लागि काम गर्दा जनताले सास्ती भोग्नु परेको छ । व्यक्तिगत महत्वाकांक्षाले नै नेताहरू दिनप्रतिदिन कमजोर बन्दै गएका छन् । सोही कमजोरीको एउटा नायक हुन् उपेन्द्र यादव । वि.सं २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा ५२ सिट ल्याएर संसद्को चौथौ ठूलो राजनीतिक दलका नेता बनेका उनलाई अहिले कमजोर पात्रका रूपमा चित्रण गरिन थालिएको छ । पहिलो संविधान सभाको निर्वाचनमा बलियो बनेका उपेन्द्र दोस्रो संविधानसभाको निर्वाचनमा भने कमजोर देखिए । उनको पार्टीले प्रत्यक्षतर्फ २ सिट र समानुपातिकतर्फ ८ सिट मात्रै जित्यो । त्यसपछि उनको राजनीतिक यात्रा खासै सुखद हुन सकेको छैन । दिनप्रतिदिन उनी कमजोर बन्दै गएका छन् । राजनीतिक वृतमा पनि उनी छायामा पर्न थालेका छन् । नेपाली राजनीतिमा सबैभन्दा बढी पार्टी परिर्वन तथा विभाजन गर्ने नेतामध्येमा पनि पर्छन उपेन्द्र । विद्यार्थी जीवनदेखि सुरु गरेको नेपाल कम्युनिस्ट पार्टीको राजनीति, त्यसपछि प्रगतिशील विद्यार्थीमा आवद्ध हुँदै, मधेशी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी फोरम, नयाँ शक्ति हुँदै जसपा नेपालसम्म आइपुग्दा उनले विभिन्न समयमा विभिन्न राजनीतिक दलसँग गठबन्धन गरे, सहकार्यको प्रयास गरे, पटक-पटक मन्त्री तथा उपप्रधानमन्त्री भएर सत्ताको स्वाद पनि चाखे । तर, उनको जीवनमा टुटफुटको कहानी भने चलिरह्यो । अघिल्लो साता मात्रै जसपा नेपाल विभाजन भएको छ । अशोक राई पक्ष विभाजन भएर अर्कै पार्टीमा उभिसकेका छन् । त्यसले उनलाई थप कमजोर बनाएको छ । हाल उनीसँग पाँच जना मात्रै सांसद छन् । उपप्रधान तथा स्वास्थ्य मन्त्री बनेको दुई महिनामै उनी स्वास्थ्य मन्त्रीबाट बाहिरिनु पर्ने स्थिति सिर्जना भएको छ । स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्ने गरी उपेन्द्र गत फागुन २४ गते सरकारमा सहभागी भएका थिए । जसपा नेपालले स्वास्थ्य, वन तथा वातावरण मन्त्रालय र राज्यमन्त्री गरी तीन वटा मन्त्री पाएर सरकारमा सहभागी भएको थियो । तर, अहिले वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडि र राज्यमन्त्री दिपक कार्की नै यादवको विपक्षमा छन् । जसपा नेपालबाट विभाजित अशोक राई नेतृत्वको टीमले वर्तामान सरकारमै रहने धारणा राखिसकेको छ । १२ जना सांसद रहेको जसपाको पार्टी फुटले स्वास्थ्यमन्त्रीको पद नै धरापमा छ । यादवले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेर सरकारबाट बाहिरिने जानकारी गरिसकेको बुझिएको छ । जनता समाजबादी पार्टी नेपालका प्रवक्ता मनिष सुमनले अहिले सरकारमै बस्ने वा बाहिरिने भन्ने विषयमा छलफल भइरहेको बताए । उनले राई नेतृत्वको समूहले पार्टी विभाजन गरेपनि आफूहरूलाई फरक नपर्ने धारणा राखे । ‘अहिलेसम्म सरकारमै छौं, सरकारमै बस्ने वा बाहिरिने भन्ने विषयमा छलफल हुँदैछ, पद आउँछन्, जान्छन् यसमा केही फरक पर्दैन,’ उनले भने । महत्वाकांक्षी मन्त्री उपेन्द्र यादव महत्वाकांक्षी नेतामध्येमा पर्छन् । उनको महत्वाकांक्षा र निहित स्वार्थका कारण नै उनले पटक-पटक पार्टी विभाजन भोग्नु परेको छ । महत्वाकांक्षाले नै उनी जुनसुकैको नेतृत्वमा सरकार बने पनि सत्तामा सहभागी हुन्छन् । आफ्नै नेतृत्वमा सरकारमा जान्छन् र मन्त्री बन्छन् । उनी पदमा मात्रै होइनन्, निर्णयमा पनि महत्वाकांक्षी बन्न पुग्छन् । गत फागुनमा स्वास्थ्य मन्त्रीकोरूपमा पदभार ग्रहण गर्दै सरकारी अस्पतालमा शल्यक्रियामा देखिएको ढिलाइलाई छिटो बनाउने र संघीय निजामती सेवा ऐनमा स्वास्थ्य सेवा ऐन समायोजनका लागि कार्यदल बनाउने, गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै सरकारी स्वास्थ्य संस्थाको क्षमतावृद्धि गर्ने निर्णय गरेका थिए । तर, यी दुवै निर्णय अहिलेसम्म कार्यान्वयन हुन सकेनन् । नेपालमा राजनीतिक स्थायित्व छैन । यसैको कारण देशको उधो गति लागेको विज्ञहरू बताउँछन् । स्वयं यादवमा देखिएको अस्थिरता नै उनको उँधोगतिको कारण हो । महिना महिनामा हुने सरकार परिवर्तनले शिक्षा र स्वास्थ्य जस्ता संवेदनेशील क्षेत्र बढी अस्तव्यस्त भइरहेका छन् । ९ वर्षमा १३ स्वास्थ्य मन्त्री नेपालमा संघीयता आएको एक दशक भयो । नागरिकले संघीयता आएपछि स्थायी सरकार गठन होला र नागरिकका समस्या समाधान होलान् भन्ने अपेक्षा गरेका थिए । तर, संीयतामा आम नागरिकका लागि झन महँगो बनेको छ । वर्सेनिको सत्ता परिवर्तनले मन्त्री पनि फेरबदल भइरहन अभ्यासले नागरिक आजित बनेका छन् । आम सर्वसाधारणमा नैराश्यता छाएको छ । एक दशकको अवधिमा स्वास्थ्य मन्त्री मात्रै १३ जना बनेका छन् । पटक–पटक हुने मन्त्री फेरबदलले स्वास्थ्य क्षेत्र नै अस्तव्यस्त बनेको छ । हरेक महिना आउने नयाँ मन्त्रीसँग एक किसिमको सम्झौता भएर कार्यान्वयन हुन नपाउँदै फेरि नयाँ मन्त्री आउँदा समस्या हुने गरेको स्वास्थ्य मन्त्रालयका कर्मचारीहरू बताउँछन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकी मन्त्री फेरबदलले स्वास्थ्यक्षेत्रको दरबन्दीदेखि हरेक क्षेत्रमा समस्या भइरहेको बताउँछन् । ‘अहिले देशभर जनशशक्ति अभाव छ , नागरिकले सेवा नपाएको गुनासो गरिरहेका छन्,’ उनी भन्छन्, ‘हरेक महिना हुने मन्त्री फेरबदलले काम गर्नै समस्या भएको छ, हामी समस्या समाधानका लागि मन्त्रीसँग एक किसिमको छलफल गर्छौ, कार्यान्वन हुने बेला मन्त्री परिवर्तन हुन्छन्, काम नै रोकिन्छ ।’ मन्त्रालयमा काम गर्ने कर्मचारीलाई मात्रै होइन राजनीतिक अस्थिरताले स्वास्थ्यका अन्य क्षेत्रमा पनि उत्तिकै समस्या छ । नयाँ मन्त्री आउँदा नयाँ निर्णय हुन्छ, फेरि अर्को मन्त्री आउँदा निर्णय फरक हुन्छ, त्यसैले पनि सेवा प्रवाहमा समस्या हुने गरेको मन्त्रालयका कर्मचारीहरू बताउँछन् । केपीशर्मा ओली प्रधानमन्त्री भएको साढे ३ वर्षको अवधीमा ६ जना स्वास्थ्यमन्त्री र राज्यमन्त्री भएका थिए । त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा एक वर्षको अवधिमा पनि चार जना स्वास्थ्यउ मन्त्री बने । पहिलो पाँच वर्षमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापती शेर बहादुर देउवा प्रधानमन्त्री हुँदा राज्यमन्त्री सहित १० जना स्वास्थ्यमन्त्री भए । तर, कसैले पनि स्वास्थ्यका विषयमा गम्भीर भएर काम नगरेको मन्त्रालयकै कर्मचारीहरू बताउँछन् । त्यसको ज्वलन्त उदाहरण बनेका छन् उपेन्द्र यादव ।
वायुप्रदुषणको दुष्प्रभाव र बच्ने उपाय
काठमाडौं । ग्रीष्म ऋतुको आगमनसँगै देशका विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको छ । जसका कारण भिजिविलिटी कम हुँदा कतिपय विमानस्थलमा हवाईजहाजको उडान समेत रोकिएको अवस्था छ । पछिल्लो समय अस्पतालहरूमा श्वासप्रश्वासका बिरामीहरूको चाप बढेको अनुभव भएको छ । हामीले प्रत्येक पटक श्वास लिँदा आधा लिटरजति हावा फोक्सो भित्र तानिरहेका हुन्छौँ एक मिनेटमा ७ देखि ८ लिटर र २४ घण्टामा ११०० लिटर जति हावा लिन्छौँ । प्रदूषित हावामा धुलोको कणहरु तथा हानिकारक ग्याँसहरू मिसिएको हुन्छ । हामीले श्वास लिँदाखेरि हावासँगै त्यसमा मिसिएका कणहरू तथा हानिकारक ग्याँसहरु पनि फोक्सो भित्र प्रवेश गर्दछ जसले विभिन्न स्वास्थ्य समस्याहरु निम्त्याउन सक्छ । धुलोका अत्यन्त साना कणहरू तथा हानिकारक ग्याँसहरू फोक्सोमा मात्र नभई फोक्सोको माध्यमबाट रक्त सञ्चार प्रणालीमा प्रवेश गरी शरीरका अन्य भागहरुमा समेत क्षति पुर्याउन सक्दछ । वायु प्रदूषणले निम्त्याउने स्वास्थ्य समस्या तत्कालीन र दीर्घकालीन हुन्छन् । तत्कालीन असरमा आँखा पोल्ने, नाक चिलाउने, रुघा लाग्ने , घाँटी खसखस गर्ने, खोकी लाग्ने खकार आउने, सास फेर्न गाह्रो हुने, छाला चिलाउने आदि हुन् । प्रदूषणले अप्रत्यक्ष रूपमा श्वासको संक्रमणको जोखिम पनि बढाउँदछ र निमोनिया जस्ता घातक रोगहरू लाग्न सक्छ । कसैलाई पहिलादेखि नै श्वासप्रश्वास सम्बन्धित रोग भएमा त्यसलाई पनि गम्भीर नकारात्मक असर पार्दछ । दीर्घकालीन असरमा प्रदूषित स्थानमा लामो समयसम्म बस्दाखेरि त्यसले हाम्रो श्वासप्रश्वास प्रणाली र शरीरमा गम्भीर समस्याहरूको सृजना गर्न सक्छ। प्रदूषणबाट हुने दीर्घकालीन समस्या मध्ये प्रमुख रोग दम नै हो, यसको साथसाथै फोक्सोको क्यान्सर, उच्चरक्तचाप, हृदयघात , मस्तिष्कघात, मुटुको चाल अनियमित हुने जस्ता समस्याहरू पनि देखिन सक्छ। वायु प्रदूषण बालबालिका र गर्भवती महिलाहरुका लागि पनि त्यत्तिकै खतरनाक छ । त्यसकारण वायु प्रदुषणबाट बच्नका लागि विशेष रुपले गर्भवती महिला र बालबालिकाले ध्यान दिनुपर्दछ । शिशु महिना नपुगी जन्मने, जन्मिँदा तौल कम हुने, मस्तिष्क विकासमा कमी हुने, पछि गएर श्वासप्रश्वासको समस्या देखिन सक्दछ । यसबाट कसरी जोगिने ? व्यक्तिगत, सामाजिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा वायु प्रदूषण न्यूनीकरणको लागि गम्भीर रुपमा लाग्न आवश्यक छ । यसले कुनै व्यक्ति, वर्ग वा समुदाय छुट्याउँदैन । सहरी क्षेत्रको कुरा गर्दा प्रदुषण बढ्ने विशेष समय भनेको विहान र साँझ हो । यो समयमा सकेसम्म घर बाहिर ननिक्लने । सकेसम्म प्रदुषण कम हुने समयमा निस्कने । निस्कनै परेमा मास्कको प्रयोग गर्ने । हामीले सामान्यतया लगाउने सर्जिकल मास्कले सुरक्षा दिन नसक्ने हुँदा एन नाइन्टी फाइभ मास्क लगाउनुपर्छ । यसले ९५ प्रतिशत सम्म कणहरूलाई छेक्न सक्दछ, यद्यपि हानिकारक ग्यासहरू र अत्यन्त सुक्ष्मकणहरू बाट भने यसले बचाउन सक्दैन । ग्रामीण क्षेत्रको हकमा प्रदूषणको मुख्य कारण भनेको घरभित्रबाट हुने प्रदूषण जस्तै दाउरा, गुइठा मट्टी तेलको चुलो आदिमा खाना पकाउने इन्धन हो र त्यसको न्यूनिकरण गर्न सुधारिएको चुलो प्रयोग गर्ने, भान्छामा धुवा जम्मा नहुने किसिमले वायुसंचारको व्यवस्था मिलाउने, स्वच्छ उर्जाको प्रयोगमा बढी जोड दिने आदि हो । वनजङ्गल वन्यजन्तुको साझा घर हुनुको साथै स्वच्छ हावाको स्रोत पनि हो । यसको संरक्षणमा विशेष जोड दिनु आवश्यक छ र मानवीय रूपमा पनि वनजङ्गलमा आगो लगाउनु भनेको अक्षम्य अपराध हो । यस्तो अपराधीलाई कडाभन्दा कडाई कारबाही गर्ने नियम कानुन को अवलम्बन गर्न आवश्यक छ । ( डा. रवी महत ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा श्वासप्रश्वास रोग विशेषज्ञ रुपमा कार्यरत छन्)
वात्सल्य नेचुरल आईभीएफको चितवनमा नयाँ क्लिनिक विस्तार
चितवन । वात्सल्य नेचुरल आईभीएफ, नेपालको प्रमुख निसन्तान उपचार सेवा प्रदायकले आईतबार एक कार्यक्रममाबीच चितवनमा आफ्नो नयाँ क्लिनिक सञ्चालन भएको घोषणा गरेको छ । क्लिनिकको शुभारम्भ यस क्लिनिकका कार्यकारी निर्देशक प्रशान्त सुवेदी र पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठले संयुक्त रुपमा रिबन काट्दै गरेका थिए। गुणस्तरीय प्रजनन् उपचार नेपालभर सहज रुपमा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता अनुरुप यस शाखाको विस्तार भएको र निकट भविष्यमै बुटवल, पोखरा, बिराटनगर जस्ता स्थानमा पनि यो सेवा विस्तार गर्ने योजना रहेको कार्यक्रममा बोल्दै वात्सल्यका कार्यकारी निर्देशक प्रशान्त सुवेदीले बताए । आफ्नो स्थापनाको छोटो समयमै उल्लेखनीय सफलता हासिल गर्दै आएको र आम सेवाग्राहीको विश्वास जित्दै आएको यस क्लिनिकले, नेपालमै सर्वाधिक आईभीएफसफलता, निस्सन्तान उपचारबाट सर्वाधिक स्वस्थ शिशुको जन्म, सर्वाधिक निस्सन्तान विशेषज्ञको टोली, सर्वाधिक निस्सन्तान उपचार शाखा सञ्चालन जस्ता विभिन्न मानकमा आफूलाई अब्बल साबित गर्दै आफूलाई नेपालकै नं. १ आईभीएफ क्लिनिकको रुपमा स्थापित गर्न सफल भएको छ । चितवनमा भर्खरै उद्घाटन गरिएको वात्सल्यको नयाँ शाखाले हालक निस्शुल्क आईयूआई प्रदान गरिरहेको छ। यस बाहेक यस क्लिनिकमा प्रजनन् जाँच, प्रसुतिपूर्वका सम्पूर्ण हेरचाह, ओवूलेशन इन्डकसन, आईभीएफ, फर्टिलिटी फ्रिजिंग जस्ता विभिन्न अत्याधुनिक प्रजनन् उपचारका सेवाहरु प्राप्त गर्न सकिन्छ । वैशाख २९ शुक्रबारको दिन होटेल सिरायचुलीमा आयोजित समारोहमा ‘बाँझपनका प्रभावहरू र पार पाउने तरिकाहरू’ शिर्षकमा प्यानल छलफल पनि गरिएको थियो जसमा प्रतिष्ठित वक्ताहरू थिए जसले बाँझोपन र यसका सामाजिक प्रभाव, उपचार र कानुनी प्रभावहरूका महत्वपूर्ण पक्षहरूलाई सम्बोधन गरे । डा. बिनुमा श्रेष्ठले निसन्तानसँग सम्बन्धित भावनात्मक र चिकित्सा चुनौतिहरू, क्यान्सर रोगले निम्त्याउने विभिन्न प्रजनन् का चुनौती, तिनका मानोवैज्ञानिक असर, क्यान्सर रोगीहरूको लागि प्रजनन जस्ता विषयलाई प्रकाश पारिन् । यस्तै डा. शैलेन्द्र राज अधिकारीले निस्सन्तान सँग सम्बन्धित विभिन्न मनोवैज्ञानिक पक्षहरु जस्तै पुरुषहरुले आफ्नो कारणलाई स्वीकार गर्न नसक्ने, डाक्टरसँग खुलेर कुरा राख्न नसक्ने, पारिवारिक र सामाजिक चुनौती र असहज मानसिक अवस्था सिजर्ना हुने, आदि विषयलाई उजागर गर्नु साथै यसको निराकारणका लागि योगा, ध्यान, श्वास प्रश्वास सम्बन्धि व्यायाम आदिमा जोड दिए । सुनिता करमाचार्यले निसन्तानदम्पतीले समाजमा भोग्नुपर्ने चुनौती, यससम्बन्धि फैलिएका सामाजिक भ्रम, उपचारका चुनौती, आर्थिक सक्षमता जस्ता गहन विषयमा आफ्नो मत राखे । पूर्णिमा कार्कीले नेपालमा आईभीएफ र सरोगेसीलाई नियन्त्रित गर्ने कानुनी परिदृश्यको बारेमा अन्तर्दृष्टि प्रदान गरिन्, विद्यमान कानुन र सामाजिक मान्यताहरूबारे छलफल गरिन् । यसबाहेक वात्सल्यका प्रजनन् विशेषज्ञ डा. निजा राजभण्डारीले आईभीएफ उपचारका प्राविधिक पक्ष, उपचारमा देखिएको हालका विकासहरु, विभिन्न अवस्था जसले बाझोपन निम्त्याउन सक्छ, फ्रिजिंग टेक्नोलोजी जस्ता विभिन्न माह्त्वपूर्ण शिर्षकमा आफ्नो धारणा राखे ।