अनुगमनमा आक्रामक बन्दै महानगर, थप चार अस्पतालको फोहोर नउठाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अनुगमनका क्रममा आइतबार (आज) चार वटा अस्पतालको फोहोर संकलनमा रोक लगाइएको छ । कलंकी क्षेत्रमा रहेका सहिद मेमोरियल अस्पताल र नेपाल नेशनल अस्पताल र चाबहिलका दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको फोहोर संकलनमा रोक लगाइएको ल्याण्डफिल साइट इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिए । कलंकी क्षेत्रका अस्पतालहरुको गएको शुक्रबार र चाबहिल क्षेत्रका अस्पतालको आइतबार अनुगमन गरिएको थियो । यसअघि महाराजगञ्जमा रहेको कान्ति बाल अस्पताल र बानेश्वरको एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक लगाइएको छ । यसरी फोहोर रोक लगाइएका अस्पतालहरुलाई संक्रमित फोहोर निसंक्रमण गर्ने योजना, अस्पताल दर्ता तथा सञ्चालन गर्ने क्रममा फोहोरमैला व्यवस्थापनका लागि गरिएका प्रतिवद्धता, अहिले फोहोर व्यवस्थापनका लािग सहकार्य गरिएका संघसंस्थाहरुको विवरण लिएर ३ दिनभित्र महानगरपालिकाको वातावरण व्यवस्थापन विभागमा उपस्थित हुन भनिएको छ । ‘ल्याण्डफिल साइटमा कुनै पनि हानीकारक फोहोर नपुगोस भनेर हामीले अनुगमन गरेका हौँ । अनुगमनका क्रममा फोहोर व्यवस्थापन अभ्यास हेर्दा फरक फरक अवस्था देखिएको छ ।’ श्रेष्ठले भने, ‘संक्रमित फोहोरको व्यवस्थापन उत्पादक आफैँको हुन्छ । अस्पतालहरुको अवस्था हेर्दा सबैमा एकै खालको कसुर छैन । कसैले तत्काल सुधार गर्न सक्ने देखिन्छ । कुनै अस्पतालको फोहोर व्यवस्थापनका लागि पूर्वाधार र संयन्त्र नै बनाउनु पर्ने देखिएको छ । यसका आधारमा रोकिएको फोहोरको सम्बन्धमा निर्णय गरिनेछ ।’ कलंकीको सहिद मेमोरियल अस्पताल विशेषज्ञ सेवासहितको १ सय वेडको हो । महानगरकाअनुसार यस अस्पतालमा फोहोर वर्गीकरण गर्न राखिएका बाल्टिनहरुको रंग संकेत मिलेको छैन । सबै खालको फोहोर सबै बाल्टिनमा राखिएको छ । वार्डमा उत्पादन भएका सुईलाई निसंक्रमित बनाउन साना साना अटोक्लेभ राखिएका छन् । यी अटोक्लेभहरुको बिर्को राम्ररी नलाग्ने भएपछि प्रभावकारितामा प्रश्न उठेको छ । संकलित फोहोर ढुवानी गर्ने प्रणाली व्यवस्थित छैन । अनुगमनका बारेमा जानकारी दिँदै वातावरण निरीक्षक सृष्टि श्रेष्ठ भन्छिन्, ‘अटोक्लेभ गर्ने मेसिन भएको ठाउँमा पुग्ने साँघुरो बाटो छ । अँध्यारो र साँघुरो ठाउँबाट जानुपर्दा संक्रमित फोहोरले भित्ता र अन्य सामानमा छुने र यसबाट संक्रमण बढ्ने खतरा छ ।’ अस्पतालको छतमा सिरिञ्जलगायत कालो प्लाष्टिकका बाँधेर फोहोरका पोका राखिएका छन् । यो फोहोर खुला भएकोले पंक्षीहरुको सिधा सम्पर्कमा छ । यसकारण पनि जोखिम छ । फोहोर वर्गीकरण नभएपछि कुन संक्रमित, कुन सामान्य भन्न सकिने अवस्था छैन । फोहोर उत्पादन कति हुन्छ, अभिलेख राखिएको छैन । कलंकीको नेपाल नेशनल अस्पताल २५ शय्याको विशेषज्ञ सेवा सहितको हो । जसको फोहोर व्यवस्थापन कमजोर छ । स्रोतमा फोहोर वर्गीकरण गर्नका लागि रंग संकेतको उचित प्रयोग भएको छैन । कुन फोहोर कुन बाल्टिनमा हाल्ने हो, लेखिएको छैन । कति ठाउँमा अँध्यारोमा बाल्टिन राखिएका छन् । शौचालयको मुखमै राखिएका बाल्टिनमा शौचालयबाट उत्पादन भएको फोहोर समेत मिसिने खतरा देखिन्छ । संकलित फोहोर ढुवानी गर्ने साधनको उचित प्रबन्ध छैन । अस्पतालको पार्किङ्सँगै जस्ताले बेरेको फोहोर वर्गीकरण गर्ने कोठा बनाइएको छ । यसमा फरक फोहोर राख्न छुट्टै कक्ष बनाइएको छ । यति भएर पनि कुनमा कुन खालको फोहोर राख्ने एकिन छैन । यहाँ जम्मा भएको संक्रमित फोहोरलाई निसंक्रमित बनाउन अटोक्लेभ छैन । अस्पतालको नर्सिङ्क विभागका प्रमुख दीपा पौडेल भन्छिन्, ‘मैले सेवा सुरु गरेको २ महिना मात्र भयो । त्यस अघि नै अटोक्लेभ मेसिन विग्रिएर बनाउन लगेको सुनेकी छु । अहिलेसम्म आएको छैन ।’ उसो भए संक्रमित फोहोर कसरी निर्मलीकरण गर्नुहुन्छ त ? जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठले सोधेका प्रश्नमा जवाफ दिँदै पौडेलले भनिन्, ‘रसायन हालेर यसलाई निसंक्रमित बनाउँछौँ ।’ अस्पतालले फोहोरको मात्रा र प्रकृतिको अभिलेख समेत नराखेको महानगरले बतायो । चाबहिलको दीर्घायु गुरु अस्पताल विशेषज्ञ सेवासहितको ५० शय्याको हो । यो अस्पतालले फोहोर व्यवस्थापनका लागि न्युनतम मापदण्ड पनि पालना गरेको छैन । मात्रा र प्रकृतिको अभिलेख छैन । स्रोतमा फोहोर वर्गीकरण गर्न सामान्य बाल्टिन राखेको भए पनि फोहोर नमिसिएको बाल्टिन छैन । नर्सिङ् स्टेशन नजिकै हुने औषधि वितरण गर्ने ट्रलीमा फोहोर राख्ने कुनै प्रणाली नभएको महागनरले बताएको छ । यसरी उत्पादन भएको फोहोर ढुवानी गरेर भण्डारण कक्षमा लैजाने साधन छैनन् । अस्पतालको प्राङ्गणको एउटा कुनामा फोहोर संकलन गर्ने कोठा बनाइएको छ । यो कोठामा सबै मिसिएको फोहोर राखिएका पोकाहरु छन् । जोखियुक्त फोहोर कहाँ राख्नुहुन्छ त, अनुगमन टोलीमा सहभागी महानगरपालिकाकी उपनिर्देशक सानुमैया महर्जनको प्रश्नमा उत्तर दिँदै अस्पतालका प्रशासन विभागका कर्मचारीले महेश उप्रेतीले अस्पताल अगाडि रहेको सडक पार गराउँदै अर्को साइडमा रहेको पार्किङ् स्थलमा पु¥याए । पार्किङ्को एक छेउमा बोराहरुको थुप्रो थियो । उनले त्यसको छेउमा बनाइएको खाल्टोको ढकन खोल्दै भने, हामीले हानीकारक फोहोर यहीँ हाल्ने हो । अनुगमन टोलीले प्रश्न राख्यो- अहिले त खाडल रित्तै छ त ? उप्रेतीले जवाफ दिए- ‘भर्खर निकालेर बोरामा हालेको ।’ अनि बोरामा किन नि- ‘टोलीले सोधेको अर्को प्रश्नमा जवाफ दिँदै उनले भने, हामीले गोकर्णेश्वर नगरपालिकासँग कुरा गरेका छौँ । यो फोहोर उतै पठाउने हो ।’ यसरी दिइएका जवाफ चित्त बुझ्दा थिएनन् । गहिरो कालो खाल्टोबाट जोखिमयुक्त फोहोर निकाल्ने कुनै प्रविधि वा उपकरण पनि थिएन । त्यस्तै, चाबहिलको ओम अस्पताल १७५ वेडको विशेषज्ञ सेवासहितको हो । अस्पतालको सामान्य फोहोर संकलन गर्न महानगरपालिकाको कन्टेनर राखिएको छ । अनुगमन टोली सुरुमै कन्टेनर भएको ठाउँमा गयो । यसका राखिएका फोहोरका पोका खन्याएर हेर्दा रगत देखिने केही कटनका टुक्रा फेला परे । यसअघि पनि कमजोरी थियो । सुधार देखिएन नि, वातावरण निरीक्षक सृष्टि श्रेष्ठले प्रश्न सोधेपछि हाउस किपर अफिसर ज्वाला सुवेदीले भनिन्, यो मिसिनु मानवीय कमजोरी हो । हामीले जनशक्तिसहितको संयन्त्र बनाएर काम थालेका छौँ । यसबाहेक सिरिञ्ज तथा अन्य धारिला र संक्रमण भएका फोहोर कन्टेनरमा आउन सक्ने कुनै अवस्था छैन । संक्रमित फोहोरलाई निसंक्रमित बनाउन अटोक्लेभ मेसिन राखिएको छ । मेसिन निसंक्रमण बनाउन फोहोरलाई प्लाष्टिकमा पोको पार्ने गरिएको छ । प्लाष्टिकको पोकोमा प्वाल नहुँदा बाफ भित्री भागमा नपुग्ने जोखिम छ । अनुगमन टोलीले सुझाव दिँदै भन्यो, ‘जोखिम शुन्य बनाउनु पर्छ । यसले अस्पतालसँगै ढुवानी र ल्याण्डफिल साइट व्यवस्थापनमा काम गर्ने कर्मचारीको स्वास्थ्य जोखिम कम हुन्छ ।’ अस्पतालले फोहोरको मात्रा र प्रकृतिको अभिलेख राख्न सुरु गरेको छ । यसलाई नियमित गर्नु पर्ने देखिन्छ । जोखिमयुक्त फोहोरसँगै सामान्य फोहोरको मात्रा र अटोक्लेभपछि सामान्य फोहोर भएर बिक्री गर्ने र ल्याण्डफिल साइटमा पठाउने फोहोरको मात्रा अभिलेखन गर्न टोलीले सुझाव दिएको छ । बिक्री हुने फोहोर धेरै समयसम्म एकै ठाउँमा राख्दा मुसा र बिरालोले छर्ने, अन्यत्र ठाउँमा लैजाने जोखिम देखियो । यसैको नजिक सालनाल व्यवस्थापन गर्ने प्लान्ट छ । एकै ठाउँमा भएका संरचनाहरुका कारण आपसमा संक्रमण सर्न सक्ने खतरामा ख्याल गर्न टोलीले सुझाव दिएको छ । त्यसैगरी, चाबहिलको १ सय शय्याको मेडिकेयर अस्पतालले अन्य अस्पतालको तुलनामा फोहोर व्यवस्थापन प्रणाली व्यवस्थित गरेको छ । स्रोतमा वर्गीकरण, ढुवानी गर्ने प्रणाली, फोहोरमै काम गर्ने जनशक्ति परिचालन गरेको छ । भवनको भूमिगत तलामा फोहोर वर्गीकरण र भण्डारण कक्ष बनाइएको छ । यस नजिकै तरल फोहोर प्रशोधन प्लान्ट राखेको छ । अस्पतालकी नर्सिङ् विभाग प्रमुख मुना भण्डारीका अनुसार मानव अङ्ग व्यवस्थापनका लागि अर्को अस्पतालसँग सम्झौता भएको छ । यसरी विभिन्न अस्पतालहरुको अनुगमन हेर्दा कतिपय अस्पताले संक्रमित फोहोरलाई वर्गीकरण गरेर अटोक्लेभ गर्ने गरेको देखिन्छ । जनस्वास्थ्य निरीक्षक श्रेष्ठका अनुसार यो विधि गलत हो । संक्रमित सबै फोहोर पहिले अटोक्लेभ गरेर निसंक्रमित बनाउनु पर्छ । यसपछि मात्र वर्गीकरण गर्न सकिन्छ । रंग संकेतको एकरुपता छैन । यसलाई एउटै रंगसंकेतमा रुपान्तरण गर्नु पर्नेछ । प्रयोगशाला र तरल फोहोर प्रशोधनमा पनि काम गर्नु पर्ने देखिन्छ । वर्गीकरण गर्ने ठाउँ व्यवस्थित छैन । यसलाई छुट्टै ठाउँमा व्यवस्थित गर्नु पर्ने देखिन्छ । फोहोरमा काम गर्ने जनशक्तिको स्वास्थ्य जोखिम कम गराउन खोप दिने, काम गर्दा लगाउने पीपीइ, मास्क, बुट र चस्मा दिनु पर्ने देखिएको छ । सबैभन्दा महत्वपूर्ण विषय, कुन फोहोर सामान्य र कुन संक्रमित, कुन फोहोरलाई खाली हातले छुन सकिन्छ, कुनलाई सकिँदैन । खाली हातले छुन नसकिने फोहोरलाई कसरी छुने, कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सचेतना चाहिएको छ । यसलाई व्यवस्थापन गर्न लगानी र संयन्त्र निर्माणमा काम गर्न खाँचो देखिएको छ ।

पूर्वराष्ट्रपतिको हिपको प्रत्यारोपण गर्ने अर्थोसर्जन भन्छन् : हाडजोर्नीको उपचार सरल हुँदैछ

काठमाडौं । भारतीय अर्थोपेडिक एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अर्थोपेडिक सर्जन प्रा डा राजीव के शर्माले हाडजोर्नीसम्बन्धी रोगको उपचार अब सरल एवं सामान्य हुँदै गएको बताएका छन् । नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस् (एम्स), एपोलो हस्पिटल नयाँदिल्लीलगायतमा हाडजोर्नीसम्बन्धी फ्याकल्टी तथा सर्जनका रुपमा  समेत काम गरिसकेका प्रा डा शर्मा अर्थोपेडिक सर्जनहरुको एक ‘कन्फ्रेन्स्’ का लागि हालै काठमाडौं आएका बेला हामीले यस विषयमा जिज्ञासा राखेका थियौँ । कुराकानीकाक्रममा उनले भने, ‘मानवीय हाडजोर्नी तथा हड्डीसम्बन्धी रोगको उपचार अब पहिलेजस्तो जटिल छैन, सामान्य हुँदै गएको छ । अहिले शरीरका हाडजोर्नी, घुँडाको अत्याधुनिक मेडिकल प्रविधि प्रयोग गरेर सफल प्रत्यारोपण (ट्रान्सप्लान्ट) गर्न या फेर्न (रिप्लेस्मेन्ट) सकिन्छ । मेडिकल अनुसन्धान तथा प्रविधिले धेरै कुरा सफल र सम्भव तुल्याइदिएको छ । ‘ ज्वाइन्ट रिप्लेस्मेन्ट सर्जन डा शर्माले केही वर्षअघि ९४ वर्षीय वृद्धको हिप प्रत्यारोपण गरेको प्रसङ्ग सुनाउँदै भने, ‘बालबालिका र यो उमेरका वृद्धवृद्धामा पनि ज्वाइन्ट रिप्लेस्मेन्ट हामीले गरिरहेका छौँ, हामी सफल भइरहेका छौँ, जटिलता देखिएको छैन । पहिला त यो उमेरका बिरामीमा प्रत्यारोपण गरौँ कि नगरौँ भन्ने पनि भयो । बिरामीको पनि गरिदिए हुन्थ्यो भन्ने चाहना थियो । मैले नै ‘रिप्लेस्मेन्ट’ गरेँ, सफल पनि भयो । वर्षौंसम्म आफैँले फलोअप गरेँ । ‘रिप्लेस’ गरिएको अङ्गमा कुनै समस्या आएन, ठीक रहनुभयो । म पनि निकै खुसी भएँ ।’ पहिले यस्ता समस्याहरु शल्यक्रिया गरेर निको पार्ने प्रयास गरिन्थ्यो । त्योभन्दा अहिलेको यो रिप्लेस्मेन्ट या प्रत्यारोपण ‘एड्भान्स’ हुँदै गयो, यो ठीक भएको छ । उनको आशय थियो अहिले बालबालिकादेखि वृद्धवृद्धाहरुसम्म पनि जोर्नी प्रत्यारोपण सम्भव मात्र होइन सामान्य हुँदै गएको छ । मानिसहरु प्रत्यारोपणका लागि तयार भए भने मेडिकल प्रविधि चुस्त दुरुस्त छ । मात्र चिकित्सकको दक्ष हात चाहिन्छ । तर मानिसहरु अझै पनि अङ्ग प्रत्यारोपण गर्ने काममा आशङ्का गर्ने गरेको आफूले पाएको उनको भनाइ छ । ‘मानिसहरु अहिले पनि प्रत्यारोपण गर्ने अर्थात् कुनै पनि अङ्ग फेर्ने काम सफल हुँदैन कि भन्ने सोच्ने गर्दछन् । त्यसैले उनीहरु सुरुमा त तयार पनि हुँदैनन्’, प्रा डा शर्मा भन्छन्, ‘अङ्गको प्रत्यारोपणपछि सङ्क्रमण हुन्छ या जटिलता उत्पन्न हुन्छ भन्ने मानिसहरु बताउने गर्दछन् । तर त्यसो नभएर अहिले यस क्षेत्रमा धेरै सफलता प्राप्त भइरहेको छ । त्यसप्रति आमनागरिकमा सचेतनाको आवश्यकता मैले देखेको छु ।’ त्यस्तै दुखाई बढी हुने, यसरी प्रत्यारोपण गरिएको अङ्गको दिगोपना कम हुने अर्थात् पटक–पटक प्रत्यारोपण गर्नुपर्ने अवस्था पनि आउनसक्ने तर्क गर्ने गरेका कारण मानिसहरु जोर्नी प्रत्यारोपणका लागि तयार नहुने गरेको आफूले पाएको उनको भनाइ छ । पछिल्लो समयमा निकै ‘एड्भान्स’ प्रविधि आएकाले ती प्रविधिको प्रयोग गरेर कुनै पनि दक्ष चिकित्सकले नदुखाई र सफलरुपमै जोर्नी प्रत्यारोपण गर्न सक्ने उनी बताउँछन् । हाल मुलचन्द हस्पिटल नयाँ दिल्लीमा ज्वाइन्ट रिप्लेस्मेन्ट विज्ञका रुपमा कार्यरत उनले आफूसँग हाडजोर्नीसम्बन्धी समस्या लिएर आउने कुनै पनि बिरामी निको नभई नफर्कने दाबी गर्छन् । जोर्नी प्रत्यारोपण गरिएका बिरामीलाई आफूले २० वर्षसम्म नै ‘फलो’ गरेको र उनीहरुमा कुनै समस्या नदेखिएको पनि उनको भनाइ छ । सुनिन्छ, हिजोआज मानिसका हाड कमजोर हुँदै गएका छन् । सानातिना ठाउँबाट सामान्य लड्दा पनि हाड भाँचिने गरेको सुनिन्छ, यस्तो किन हुन्छ ? हाम्रो प्रश्नमा उनको उत्तर छ ‘मानिसहरु दिनप्रतिदिन आफैँले आफ्ना हाड कमजोर बनाइरहेका छन् ।’ कसरी रु उनी भन्छन्, ‘पहिलो कुरा त खानपिन नै हो । मानिसमा पछिल्लो समय मीठो अर्थात् स्वादिलोमात्र खान खोज्ने र सुख अर्थात आरामदायी जीवनको खोजीका कारण उसको शरीर नै रोगको घर बनिरहेको छ । हाड र जोर्नीमा पनि यो लागू भैहाल्छ । मानिसको आफ्नै आनिबानी र खानपिनले हड्डी कमजोर हुँदै गएको देखेका छौँ । पछिल्लो समय यो अवस्था झन् बढ्दो छ ।’ धेरै खाना र बजारीया अस्वस्थकर खाना (जङ्क फुड तथा फास्ट फुड) ले शरीरमा धरै प्रकारका रोग भित्र्याएपछि त्यसले पनि हाडलाई कमजोर पारेको उनको भनाइ छ । मानिसमा पछिल्लो समय बढ्दो मोटोपनाले पनि हाडलाई कमजोर बनाएको र हाडजोर्नीमा समस्या देखिने गरेको उनी बताउँछन् । शरीरमा बढ्दो मासुको भार पनि हाडले नै बोक्नु परेको छ । मोटोपनको भार शरीरको हाडमा परेको छ र यसले पनि हाड कमजोर बनाउँदै गएको छ । जस्तो कि शरीरमा अत्यधिक मोटोपन छ भने शरीरको त्यो वजनको भार घुँडाले धान्नुपर्दछ । यसले शरीरको भार बढाइरहेको छ र हाडलाई कमजोर बनाइरहेको छ । शर्मा भन्छन्, ‘मानिसमा शारीरिक व्यायामको कमी हुँदै गएको छ र ‘टेबल वर्क कल्चर’ बढ्दो छ । यसरी मानिसको शरीरका हाडहरु खुम्चिएर रहनुपरिरहेको अवस्था छ । शरीर चलायमान हुन सकेन र हाडलाई आवश्यक अभ्यास पुगेन । यसकारण पनि हाड कमजोर बन्दै गएको छ । त्यसैगरी आवश्यक पोषण एवं क्याल्सियमको कमीले पनि मानिसका हड्डी कमजोर बनाएको छ । अनि मानिसहरु व्यस्तताका कारण घाममा बस्न छोडिसकेका छन् । यी सब भारतका मात्र नभएर नेपाल तथा समग्र दक्षिण एसियाकै साझा समस्यामा पर्दछन् । यस्तै कारणले नै मानिसको शरीर र शरीरसँगै उसका हड्डी र जोर्नीहरु कमजोर बन्दै गएका छन् ।’ उनका अनुसार धुमपान हाड कमजोर पार्ने अर्को प्रमुख कारण बनेको छ । त्यसैगरी पछिल्लो समय व्यायामशाला जाने प्रचलन जुन सुरु भएको छ, यो पनि हाडजोर्नीका लागि स्वस्थकर नभएको उनको भनाइ छ । ‘शरीरको हाड र जोर्नीका लागि सबैभन्दा राम्रो व्यायाम त ‘साइक्लिङ’ र ‘स्वीमिङ’ हो, यो ‘जिम कल्चर’ पनि त्यति राम्रो होइन’, उनले भने । हाडजोर्नीसम्बन्धी रोगको निदानका उपाय के होलान् त ? उनको सुझाव छ, ‘सरकारहरुले हाडजोर्नीसम्बन्धी रोगको उपचारलाई सबै सर्वसाधारणको पहुँचसम्म पुग्नेगरी विस्तार गर्नुपर्छ । नागरिकको स्वास्थ्य बीमामार्फत कार्डको व्यवस्था गर्नु राम्रो हुन्छ । भारतमा वर्षमा निश्चित रकमको उपचार कार्ड नागरिकलाई दिइएको छ । नेपाललगायतका देशका सरकारले पनि यस्तो व्यवस्था गर्न सक्छन् । योभन्दा पनि महत्वपूर्ण त शिक्षा हो । शिक्षाका माध्यमबाट हाडजोर्नीसम्बन्धी रोग निदानको नीति अख्तियार गर्न सकिन्छ । यससम्बन्धी शिक्षा र पछिल्लो समयमा विकसित प्रविधि र उपचार विधिका विषयमा तालिमलगायतका कार्यक्रममा लगानी गरेर दक्ष जनशक्ति उत्पादन गर्नु आवश्यक छ । हाडजोर्नीसम्बन्धी रोग र यसबारे नागरिकमा आवश्यक चेतना जागृत गराउनु पनि आवश्यक छ ।’ भारतका एक प्रतिष्ठित चिकित्सकका छोरा डा शर्मा अर्थोको एम एस अध्ययनमा स्वर्णपदक प्राप्त छन् । अर्थोपेडिक क्षेत्रमा ३२ वर्षको अनुभव सङ्गालेका उनले अहिलेसम्म १५ हजारभन्दा बढी जोर्नी प्रत्यारोपण गरिसकेका छन् । उनी उत्तरी भारतमा घुँडाको ‘कम्प्युटर नेभिगेटेड अर्थोप्लास्टी’ गर्ने पहिलो चिकित्सक पनि हुन् । सन् २००५ मा उनले कम्प्युटरको माध्यमबाट घुँडाको सो उपचार गरेका थिए । उनले करिब एक हजार घुँडाको अर्थोप्लास्टी गरेका छन् भने घुँडामात्र तीन हजार प्रत्यारोपण गरेका छन् । नेपालका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको हिपको प्रत्यारोपण पनि उनले नै गरेका थिए । क्यान्सरका कारण हिपमा समस्या देखिएपछि पूर्वराष्ट्रपति भण्डारीको हिप प्रत्यारोपण गरिएको थियो । डा शर्मा नेपालमा हाडजोर्नीसम्बन्धी उपचारका पनि सहयोगी छन् । जोरपाटीस्थित अर्थोपेडिक अस्पतालका मेडिकल डाइरेक्टर डा कैलाश भण्डारीका अनुसार डा शर्माले सो अस्पताललाई समय समयमा सहयोग गर्दै आएका छन् । सो अस्पतालका साथै नेपालका यस क्षेत्रका चिकित्सकहरुलाई उनले विकसित पछिल्लो प्रविधि र उपचार विधिबारे तालिम प्रदान गर्दै आएका छन् । त्यसैले नेपाल सरकारले उनलाई केही वर्षअघि नेपालका सहयोगी एवं ख्यातिप्राप्त विदेशी नागरिकलाई प्रदान गरिने जनसेवाश्री पदकबाट सम्मान गरेको थियो । विश्वका विभिन्न देशमा भिजिटिङ प्रोफेसरका रुपमा आफ्ना अनुभवहरु प्रस्तुत गर्दै आएका डा शर्मा नेपालमा शिक्षा र चेतनाको स्तर बढेको देखिन्छन् । ‘धेरै वर्षदेखि म नेपाल आइरहेको छु । यहाँ शिक्षाको विकास उल्लेखनीय छ । नेपाली नागरिकमा बढ्दो शैक्षिक र चेतनाको स्तर प्रशंसनीय छ । यस कुराले मलाई खुसी लाग्छ । यो देश र यहाँका नागरिकको भविष्य राम्रो छ’, उनी भन्छन् । रासस

मापदण्डअनुसार सञ्चालन नभएका ७० स्वास्थ्य संस्था बन्द

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकल परीक्षण गर्दै आएका ७० स्वास्थ्य संस्थाको सेवा हालका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयले गत माघ १२ गते सूचना जारी गरी मापदण्ड पूरा गर्न निर्देशन दिएको थियो । सोअनुसार हुन नसकेपछि सेवा बन्द गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले गत भदौ १२ देखि सुरु गरेको अनुगमनका क्रममा यी संस्थाहरुले मापदण्ड पूरा नगरेको पाइएको थियो । मन्त्रालयले दुई सय १३ वटा स्वास्थ्य संस्थाको अनुगमन गरेको थियो । सोमध्ये ६७ वटा स्वास्थ्य संस्थालाई तोकिएको मापदण्ड पूरा गर्न एक महिनाको समय दिइएको छ । मन्त्रालयमा दुई सय १५ स्वास्थ्य संस्था दर्ता भएकामध्ये तीनले नवीकरण गरेका छैनन् । वैदेशिक रोजगार ऐन, नियमावली तथा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ बमोजिम अनुगमन सुरु गरिएको थियो । अनुगमन तथा निरीक्षण टोलीले काठमाडौं उपत्यकाभित्र र उपत्यका बाहिर रहेका स्वास्थ्य संस्थाको अनुगमन तथा निरीक्षण गरेको थियो । मन्त्रालयमा सूचीकृत स्वास्थ्य संस्थाहरुले कामदारको स्वास्थ्य परीक्षणबिना नै ‘मेडिकल रिपोर्ट’ तयार गरी कामदारलाई दिने गरेको अनुगमनका क्रममा पाइएको छ । यी संस्थाहरुमा कर्मचारी र उपकरण पर्याप्त नभएको र परीक्षण नै नगरी प्रतिवेदन दिने गरेको पाइएको छ । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जाने कामदारले अनिवार्यरुपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने व्यवस्था छ । नेपालबाट जाने नेपाली कामदारको गन्तव्य मुलुकमा पुगेपछि स्वास्थ्य परीक्षण गरिन्छ । गन्तव्य मुलुकमा पुगेपछि स्वास्थ्यमा समस्या भएर फर्कनुभन्दा नेपालमा नै स्वास्थ्य परीक्षण गर्ने गरिएको हो । मन्त्रालयमा दर्ता भएका यस्ता स्वास्थ्य संस्थाका लागि मन्त्रालयले पूर्वाधारको मापदण्डसमेत तोकेको छ । मन्त्रालयमा सूचीकृत संस्थामा समस्या देखिएपछि गन्तव्य मुलुकले आफ्नै मुलुकको मापदण्डानुसार स्वास्थ्य संस्था छनोट गर्न थालेका छन् । यसमध्ये मलेसियाले रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि ३६ वटा संस्था छनोट गरेको छ । साउदी अबरले १९ वटा संस्था तोकेको छ । कतारले कतार भिसा सेन्टरबाट नै सबै प्रक्रिया पूरा गर्दै आएको छ । भने इजरायलले चार र कोरियाले तीन वटा यस्ता स्वास्थ्य संस्था तोकेको छ । रासस