अब नेपालमै सिरिञ्ज उत्पादन हुने, भवानी राणासहितको ८० करोड लगानी

काठमाडौं । फरच्युना हेल्थ केयरद्वारा नेपालमै सिरिञ्ज उत्पादन शुरु गरेको छ । उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणासहितको टिमले नेपालमा पहिलो पटक ललितपुरको चुनिखेलमा सिरिञ्ज उद्योग सञ्चालनमा ल्याएका हो । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले उद्घाटन गरेसँगै फरच्युना ब्राण्डका सिरिञ्ज बिक्रीवितरण समेत शुरु भएको छ । नेपालमा अन्तर्राष्ट्रिय स्तरको सिरिन्जलगायत मेडिकलजन्य सामग्री उत्पादन तथा बिक्री वितरण गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको फरच्युना हेल्थ केयर प्रा.लि.का अध्यक्ष राणाले जानकारी दिइन् । अध्यक्ष राणाले नेपालको औद्योगिक क्षेत्र र गुणस्तरीय स्वास्थ्य उपकरणको अभावलाई पूर्ति गर्ने र आयात प्रतिस्थापन गर्ने लक्ष्य लिएको बताइन् । उनले नेपाली बजारमा आवश्यक पर्ने सबै खाले सिरिञ्ज उत्पादन गरी आत्मनिर्भर बनाउने उद्देश्य उद्योगको रहेको बताइन् । नेपालमा वार्षिक रुपमा १७ भन्दा बढी मुलुकबाट ५७ करोड ८३ लाखभन्दा बढीको सिरिञ्ज आयात भएको देखिएको उनको भनाई छ । उनले एक वर्षका अवधिमा ६ करोड ४७ लाखको संख्यामा सिरिञ्ज भित्रिए पनि गुणस्तर परीक्षण नहुँदा स्वास्थ्यकर्मी र सेवाग्राहीहरुले दुःख पाइरहेको बताइन् । तत्कालका लागि नेपाली बजारमा बिक्री वितरण गर्ने र भविष्यमा विदेशसमेत निर्यात गर्ने लक्ष्य रहेको बताउँदै उनले फरच्युना सिरिञ्ज उत्पादनको गुणस्तरणमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाइन् । अध्यक्ष राणाले मुलुकमा आवश्यक हुने सिरिञ्ज उत्पादन गर्नसक्ने पूर्ण क्षमता रहेको दाबी गरिन् । विभिन्न देशबाट उच्च गुणस्तरीय कच्चा पदार्थ आयात गरी सिरिञ्ज उत्पादन गरिएको बताउँदै उनले फरच्युना हेल्थ केयरमार्फत उत्पादन हुने सिरिञ्जले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट समेत मान्यता लिइसकेको उनको भनाई छ । अध्यक्ष राणाले नेपालमा गुणस्तरीय सिरिञ्ज उत्पादन भएपछि कम गुणस्तरका उपकरणहरु आयातमा राज्यले प्रतिवन्ध लगाउनुपर्ने माग गरेकी छिन् । उनले कोभिड १९ अघि (सन् २०१९)देखि उद्योग सञ्चालन तयारी भएपनि कोरोनाका कारण विदेशबाट आवश्यक सामान आयात गर्न ढिलाइ हुँदा लागत बढेको बताइन् । साथै, नेपालभर सिरिञ्ज बिक्री वितरण गर्ने भएकाले रोजगारी संख्या अझै थपिँदै जाने उनको विश्वास छ । ‘हामीले स्वास्थ्य उपकरणको उत्पादनमा हात हालेका छौं । यसले मुलुकको औद्योगिक क्षेत्रमा पुर्याउने योगदान छर्दैछ । गुणस्तरीय स्वास्थ्य उपकरण अभावलाई पूर्ति गर्ने र आयात प्रतिस्थापन गर्ने लक्ष्य पनि लिएको छ । एक वर्षमा ६ करोड ४७ लाखको संख्यामा सिरिञ्ज भित्रिए पनि गुणस्तर परीक्षण नहुँदा स्वास्थ्यकर्मी र सेवाग्राही र विरामीहरुले दुःख पाइरहेका छन् । तत्कालका लागि नेपाली बजारमा बिक्री वितरण गर्ने र भविष्यमा विदेशसमेत निर्यात गर्ने लक्ष्य पनि लिएको छ । फरच्युना सिरिञ्ज उत्पादनको गुणस्तरणमा कुनै कमी हुन दिँदैनौं ।’ उनले अध्यक्ष राणाले भनिन् । उद्योग स्थापना तथा उत्पादन विविधिकरणका लागि ८० करोड रुपैयाँ लगानी भएको छ । उद्योगले अहिलेसम्म ५० करोड लगानी भइसकेको जनाएको छ । कम्पनीले सिरिञ्ज उत्पादन विश्व स्वास्थ्य संगठनले औषधि उद्योगका लागि तोकेको मापदण्ड जी.एम.पी.मा आधारित रहेर आइइसओ मापदण्डको स्ट्याण्डर्ड पूरा गरेको जनाएको छ ।

बाल अस्पताललाई सांसद शर्माले गरे २० लाख सहयोग

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा. सुनील शर्माले वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पताललाई २० लाख रुपैयाँ सहयोग गरेका छन् । शर्माले आज हेपाली हाइटमा रहेको डा भगवान कोइरालाको निर्माणाधीन अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) मा पुगेर सो सहयोग गरेका हुन् । रकम हस्तान्तरण गर्दै डा शर्माले राज्यले गर्नुपर्ने काम डा कोइरालाले आफैँ गर्न लागेको देखेर कोइरालाको सम्मानस्वरुप आफूले सो सहयोग उपलब्ध गराएको बताए । डा कोइराला अध्यक्ष रहेको (कियोच) ले काठमाडौँसँगै सातै प्रदेशमा विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजना अगाडि बढाएको छ । गैरनाफामूलक अस्पताल स्थापना गर्ने लक्ष्य लिएको कियोचको दमकमा भने निर्माण सम्पन्न भई अस्पतालले सेवा सुरु गरिसकेको छ । कियोचले राजधानी काठमाडौंमा एक सय शय्याको अस्पताल निर्माण गर्नेछ । त्यसपछि सातवटै प्रदेशमा ५० शय्याको अस्पताल स्थापना गर्ने डा कोइरालाले जानकारी दिए ।

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

फाइल फोटो काठमाडौं । सरकारले आज र भोलि देशैभर ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालय अनुसार भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ । भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने मन्त्रालयले जनाएको छ । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १० हजार स्वास्थ्यकर्मी खटिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमसँगै सोही दिन खोप लगाउन छुटेका बालबालिकालाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ । सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।