चैत ३० गते संवाद श्रृङ्खला सञ्चालन गर्दै ह्याम्स अस्पताल
काठमाडौं । हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स) अस्पतालले ‘संवाद श्रृङ्खला-१’ सञ्चालन गर्ने भएको छ । अस्पतालले आफ्नो वार्षिकोत्सवको अवसरमा चैत ३० गते बिहान साढे १० बजेदेखि धुम्बाराहीको होटल अकामा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । तीन सत्रमा विभाजित कार्यक्रममा दुई चुनौतीहरुको बारेमा छलफल गरी समाधानका लागि निष्कर्षसहित सुझाव निकाल्ने अस्पतालको उद्देश्य रहेको छ । जसको लागि सम्वन्धित क्षेत्रका विज्ञ, सरोकारवाला निकाय तथा प्रतिनिधिसभा सांसदहरु सम्मिलित संवाद कार्यक्रम आयोजना गर्न लागिएको अस्पतालले जनाएको छ । अस्तपालका अनुसार पहिलो सत्रमा ‘भेप/ई-सिगरेट : बढ्दो गम्भीर स्वास्थ्य चुनौती’, दोस्रो सत्रमा ‘स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन तथा पलायनका चुनौतीहरु’ को विषयमा छलफल गरिन्छ र तेस्रो सत्रमा पहिलो २ सत्रको सारंश निकालिने छ । साथै, यस संवाद कार्यक्रमबाट छलफलका क्रममा आएका सुझावहरु लिपिबद्ध गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवश्यक कायार्थ पेश गरिने अस्पताले बताएको छ । अस्पतालले प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा सामाजिक हितको लागि ‘स्वास्थ्य सबैको सरोकार’ भन्ने नारासहित संवाद तथा छलफल कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । सन् १९९७ मा स्थापित यस अस्पतालले विगत ५ वर्षदेखि धुम्वाराहीमा अस्पताल संचालन सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरी भुकम्प प्रतिरोधात्मक, आगजनी लगायत अन्य दुर्घटना सुरक्षाको दृष्टिकोणले निर्माण गरिएको अत्याधुनिक हेलिप्याड सहितको भवनबाट स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । विश्वमा उपलब्ध रहेका उच्चतम प्रविधिको प्रयोग गरी देश तथा विदेशमा अब्बल मानिएका दक्ष तथा अनुभवी नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीद्वारा विश्वस्तरीय सेवा प्रदान गरिरहेको छ । सुरक्षित तथा प्रमाणमा आधारित चिकित्सकिय सेवा प्रदान गर्दै स्वास्थोपचारमा उच्च नैतिक स्तर कायम राख्नु यस अस्पतालको लक्ष्य हो । कोभिड-१९ महामारीले देशको समग्र स्वास्थ्य पूर्वाधारलाई नै ठूलो दवाव दिएको समयमा यस अस्पतालले विश्वस्तरीय सेवा प्रदान गर्दै जनताको विश्वास जित्न सफल भएको छ । गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ ढंगबाट प्रदान गर्नुका साथै ह्याम्स अस्पतालमा चिकित्सा शिक्षा आयोग अन्तर्गतको उच्च शिक्षाको पठ्न पाठन भईरहेको छ । क्रिटिकल केयर नर्सिङ्गको तालिम नियमित रुपमा भईरहेको छ । यसका साथै चिकित्सा विज्ञान सम्वन्धी विभिन्न विषयहरुमा अनुसन्धान तथा शोध-पत्र प्रकाशित भएका छन् ।
६ वर्षपछि सार्वजनिक भयो चिकित्सा शिक्षा जाँचबुझ प्रतिवेदन (पूर्णपाठसहित)
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग-२०७४’ प्रतिवेदन सार्वजनिक भएको छ । विगत ६ वर्षदेखि लुकाइएको उक्त प्रतिवेदन अन्ततः सार्वजनिक भएको छ । मेडिकल शिक्षामा देखिएका विकृति र विसंगतिलाई बढावा दिने वा अनियमित गर्ने ४३ जनालाई कारबाहीका लागि सिफारिस गरिएको उक्त प्रतिवेदन ६ वर्षयता लुकाएर संलग्न उच्च पदस्थलाई जोगाइएको थियो । तर बुधबार शिक्षामन्त्री सुमना श्रेष्ठले प्रतिवेदन सार्वजनिक गर्दै कारबाही सिफारिस गरिएका ४३ जनाको नाम पनि सार्वजनिक गरेकी हुन् । उनीहरुमाथि तत्काल कानुनी कारवाही सुरु गरिने शिक्षामन्त्री श्रेष्ठले बताइन् । मन्त्रालयले बुधवार प्रतिवेदन सार्वजनिक गरी सिफारिस अनुसार कडाइका साथ कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । जसअनुसार ४३ जना उच्च पदस्थ अधिकारीहरु कारबाहीमा पर्ने भएका हुन् । राजपत्रमा सूचना प्रकाशित गर्दै विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा सरकारले चिकित्सा शिक्षाका विकृति विसङ्गतिको जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन तयार गर्न आयोग गठन गरेको थियो । यस्तो छ पूर्णपाठ [pdf id=475734]
एक करोडको लागतमा प्रसूतिसेवा भवन निर्माण
भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङमा सुविधासम्पन्न प्रसूतिसेवा भवन निर्माण भएको छ । जिल्लाको विकट यो गाउँमा एक करोड लागतमा भवन निर्माण गरिएको हो । भवन निर्माणसँगै सुत्केरी गराउन तथा स्वास्थ्य सेवा लिन छिमेकी जिल्ला सङ्खुवासभा जानुपर्ने बाध्यताको अन्त्य भएको छ । भवनमा आवश्यक उपकरण पनि जडान गरिएको छ । अब स्वास्थ्य सेवा लिन सहज भएको स्थानी वीरबहादुर तामाङले बताए । ‘यो दुर्गम ठाउँमा सुविधासम्पन्न स्वस्थ्य भवन बनेको छ, सेवा लिन सङ्खुवासभा जानुपर्ने बाध्यत्मक अवस्थाको अन्त्य भएको छ । अब राज्यले आवश्यक जनशक्ति व्यवस्थापनमा ध्यान दिन आवश्यक छ’, उनले भने । यो भवनबाट षडानन्द नगरपालिका वडा नं १०, ९, ८ र ३ का स्थानीयलाई प्रत्यक्ष लाभ पुग्ने वडाध्यक्ष निमा शेर्पाले बताए । नेपाल हेल्पिङ एजुकेशन फाउण्डेसन अफ नेपालको अनुदानमा एक करोड लागतमा केन्द्र स्थापना गरिएको हो । भवन निर्माणमा जर्मनीका दुई र स्वीटजरल्याण्डको एउटा संस्थाको सहयोग रहेको उनले जानकारी दिए। नवनिर्मित सात कोठाको भवनमा आवश्यक सम्पूर्ण आधुनिक उपकरण जडान गरिएको फाउण्डेसनका प्रबन्धक रामकुमार तामाङले बताए । ‘करिब रु एक करोड लागतमा भवनसँगै आवश्यक उपकरण जडान गरेका छौँ, यहाँ आवश्यक पर्ने जनशक्ति षडानन्द नगरपालिकाले व्यवस्थापन गर्ने सम्झौता गरेका छौँ । यहाँ शल्यक्रिया गरेर सुत्केरी गराउन सक्ने उपकरण जडान गरिएको छ । यससँगै अन्य स्वास्थ्य सेवा पनि प्रवाह गर्न सकिन्छ’, उनले भने । सम्झौताअनुसार जनशक्तिको व्यवस्थापन गरिने नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताए । नवनिर्मित भवनलाई सरकारको स्वामित्वमा ल्याएर जनशक्ति व्यवस्थापनसँगै सञ्चालन गरिने उनले बताए । भवन निर्माण गर्न स्थानीय सुवास तामाङले निःशुल्क एक रोपनी जग्गा प्रदान गरेका हुन् । उनकै आमा पाक्तुरी मायाको नामबाट भवनको नामकरण गरिएको छ । रासस