ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओमा आवेदन भर्ने आज अन्तिम दिन रहेको छ । माघ २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आजसम्म आवेदन दिन सकिनेछ । कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँको १८ लाख कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको छ । जसमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँको १ लाख ८० हजार कित्ता सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिन पाउने छन् । कम्पनीले ५ प्रतिशत अर्थात् ९० हजार कित्ता सामूहिक लगानी कोष, ३ प्रतिशत अर्थात् ५४ हजार कित्ता कम्पनीका कर्मचारी र बाँकी १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् आईपीओमा आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

नुवाकोटमा नि:शुल्क स्वास्थ्य शिविर, २५० महिलाले गराए पाठेघरको जाँच 

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीन, बेलकोटगढी नगरपालिका वडा न. ३, लायन्स क्लब अफ काठमाडौं विष्णुमती, लायन्स क्लब अफ काठमाडौं इनोभेसनको संयुक्त आयोजनामा  बेलकोटगढी नगरपालिका वडा न. ३  को कुमरी स्वस्थ्य चौकीमा नि:शुल्क स्वास्थ्य शिविर  सञ्चालन भएको हो । शिविरमा २५० जनाको स्वास्थ्य परीक्षण गरिएको लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीनले जनाएको छ । शिविरमा १० जना महिलाको रिङ प्रेसरी राखिएको छ भने केही महिलालाई अप्रेसन गर्न सल्लाह दिइएको छ ।  शिविरमा पाठेघरको मुखको क्यान्सरको परीक्षण गरी औषधी वितरण गरिएको छ भने थप उपचारको लागि रिफर गरिएको छ । डा. प्रनिश पोखरेलले थापाथली अस्पतालमा निःशुल्क अप्रेसन गरिने जानकारी दिए ।   स्वास्थ्य शिविरमा बोल्दै वडाअध्यक्ष कौशिला पुडासैनीले आफ्नो वडाका महिलाहरू धेरै समस्या लुकाएर बसेको थाहा भएको बताइन् । उनले भनिन्, ‘यति धेरै समस्या लुकाएर बस्नु भएको रहेछ, आज यो शिविरमा उहाँहरूको रोगको पहिचान भयो खुसी छु ।’  लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रिन अध्यक्ष कल्पना बस्नेतले यो शिविरले नुवाकोटका महिला दिदीबहिनीहरूले नि:शुल्क पाठेघरको मुखको क्यान्सरको परीक्षण गराएको बताइन् । ‘महिला दिदीबहिनीहरूले आफूमा समस्या हुँदा पनि लाज, आार्थिक अभाव र जनचेतनाको कमीले गर्दा समस्या लिएर बस्नु भएको रहेछ,’ उनी भन्छन्, ‘यस क्याम्पमा उनीहरूले स्वास्थ्य सेवा पाएकोमा  खुसी व्यक्त गर्नुका साथै स्वास्थ्य जनचेतनासम्बन्धी कार्यक्रमहरू गर्न आवश्यक छ ।’ स्वास्थ्य शिविरमा वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. प्रनिश पोख्रेल, डा. रोमन बोगटी, डा. दुर्गा मिश्र ,बागमती प्रदेश स्वास्थ्यका नीति तथा योजनाका विज्ञ,नर्सिङ अधिकृत शान्ता सापकोटा, प्यारामेडिक बबिता बस्नेत लगायत सिद्धार्थ एभरग्रीनका सदस्यहरूको समेत सक्रिय सहभागिता रहेको थियो । लायन्स क्लब इन्टरनेशनल ३२५ आइ का जोन २६ का जोन चियरपर्शन गणेश बहादुर सुनामको पनि सहभागिता थियो । 

सरकारले तोकेको न्युनतम पारिश्रमिक र सेवा सुविधा दिनुपर्ने मागसहित अस्पतालका कर्मचारी आन्दोलित

काठमाडौं । काठमाडौंको मिनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालका दैनिक ज्यालादारी कर्मचारीहरु सरकारले तोकेको न्युनतम पारिश्रमिक र सेवा सुविधाको माग राख्दै आन्दोलनमा उत्रिएका छन् । अस्पताल स्थापनाकालदेखि दैनिक ज्यालादारी कर्मचारीको सेवा सुविधा एवं अन्य सेवा सुविधा बढाउन माग गर्दै आन्दोलनमा उत्रिएको राष्ट्रिय स्वास्थ्यकर्मी श्रमिक संगठनका केन्द्रीय अध्यक्ष केशव रोकायाले बताए । स्वास्थ्य क्षेत्रको काम सम्मान जनक भएको उल्लेख गर्दै उनले सम्मानजनक सेवा सुविधा दिनुपर्ने बताए । आठ घण्टा काम गर्ने र चार घण्टा काम गर्ने कर्मचारीहरुले एउटै प्रकृतिको सेवा सुविधा पाउने गरेको उल्लेख गर्दै त्यस्तो नगर्न समेत आग्रह गरे । दैनिक ज्यालादारीमा काम गर्ने कर्मचारीको हकमा उमेरको हदबन्धी लाग्ने गरेर सेवा सुविधा थप गर्नुपर्ने उनको माग छ । ‘अहिलेको आन्दोलनको मुख्य उद्देश्य भनेको यो अस्पताल स्थापना भएदेखि ज्यालादारीमा काम गरिरहेका कर्मचारीहरुको न्यूनतम पारिश्रमिकभन्दा बढाइदिनुपर्ने र सेवा सुविधा बढाउनका लागि हो । सम्मानजनक कामको प्रकृति भएको हुनाले पारिश्रमिक पनि सम्मानजनक हुनुपर्छ,’ उनले भने । निजामति कर्मचारी अस्पतालको रेडियोलोजी डिपार्टमेण्टका कर्मचारी पंख वि.क.ले दैनकि ज्यालादारीमा काम गर्ने कर्मचारीहरुलाई काम मात्र गराउने तर सेवा सुविधा केही पनि दिने नगरेको आरोप लगाए । सरकारी मापदण्डअनुसार सेवा सुविधा नदिने र निर्देशकपिच्छे आफ्ना कर्मचारी नियुक्ति गर्ने प्रवृत्ति बढेकोले आन्दोलनमा उत्रिनुपरेको बताए । आफ्ना मागहरु सम्बोधन नभएर प्रधानमन्त्री कार्यालय घेर्नेसम्मका चेतावनीहरु दिएका छन् । आन्दोलित कर्मचारीहरुले मुख्यतः अस्पतालको विनिमावलि/गठन आदेश तत्काल संसोधन गर्नुपर्ने, जोखिम भत्ता र सामाजिक सुरक्षा कोषको तत्काल व्यवस्था गर्नुपर्ने, कार्यरत कर्मचारीहरुलाई श्रेणी र तह बमोजिम पारिश्रमिक र सेवा सुविधाको व्यवस्था गर्नुपर्ने लगायत माग राखेका छन् ।