१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क
भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरुआत गरेको छ । अस्पतालले यही मङ्सिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क सेवा सुरु गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेलेलाई जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्नेगरी गत कात्तिक ११ गते मन्त्रीस्तरीय निर्णय गरेसँगै अस्पतालले उक्त निर्णयलाई कार्यान्वयनमा ल्याएको हो । सरकारले सरकारी अस्पतालमध्ये भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, कान्ति बाल अस्पताल काठमाडौं र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा पौडेल नियुक्त भएलगत्तै १४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको निःशुल्क उपचार सेवा प्रदान गर्नेगरी पहल सुरु गरेका थिए । अस्पतालका निर्देशक डा चालिसेले भने, ‘सरकारको नीतिअनुसार भक्तपुर क्यान्सर अस्पतालले नेपालमै पहिलोपटक गत २ गतेदेखि यो सेवा सुरु गरेका छौँ, स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बुधबार यसको औपचारिक उद्घाटन गर्दै हुनुहुन्छ, अब बालबालिकाले आर्थिक अभावका कारण उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था आउँदैन, हाम्रो अस्पतालले निरन्तर सेवा दिन्छ ।’ अस्पतालका वरिष्ठ प्रशासकीय प्रमुख राजाराम तजलेले क्यान्सर बिरामीको चाप बढिरहँदा बालबालिकामा पनि विभिन्न क्यान्सर रोग बढ्दो रहेको बताउँदै अहिले भक्तपुर क्यासर अस्पतालमा करिब ६० जना क्यान्सर रोगका बालबालिका उपचारका लागि आइरहेको बताए । उनले अस्पतालले मन्त्रालयको नीतिअनुसार नै सम्पूर्ण उपचार निःशुल्क सेवा सुरु गरेको बताए । बालबालिकाको क्यान्सर रोगको उपचारसँगै क्यान्सरको उपचारमा आवश्यक पर्ने ३५ प्रकारका औषधि निःशुल्क प्रदान गरिनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत २०८० चैत १४ मा विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०सँग बालबालिकामा हुने क्यान्सरको उपचारका लागि निःशुल्क औषधि प्राप्तिका लागि सम्झौता गरेको थियो । नेपालमा कुल मृत्युमध्ये दुईतिहाइभन्दा बढी अर्थात् ७१ प्रतिशतमा नसर्ने रोग कारण हुने गरेको र त्यसमध्ये ११ प्रतिशतको क्यान्सर रोगका कारण ज्यान जाने गरेको मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकमा उल्लेख छ । नेपालमा सन् २०२२ मा २२ हजार क्यान्सर नयाँ बिरामी देखिएकामा १४ हजार बढीले ज्यान गुमाएको र हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको बताइएको छ । क्यान्सरका बिरामी बालबालिकालाई परिवारको आर्थिक अभावमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले समयमै उपचार गरेर ज्यान बचाउन यो उपचार निःशुल्क गरेको मन्त्रालयले निर्णय गरेको हो ।
नेपाल प्रहरीका चिकित्सकतर्फ ३ जना डीआईजी बढुवा सिफारिस (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीका प्राविधिक प्रहरी समूह स्वास्थ्य उपसमूह चिकित्सकतर्फ रिक्त रहेको तीन प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) पदमा सोही समूह र उपसमूहका तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा सिफारिस भएका छन् । आइतबार बसेको बढुवा समितिको बैठकले डा. दामोदर पौडेल, डा.मनोजकुमार यादव र डा. संजिता दाहाल (घिमिरे)लाई एसएसपीबाट डीआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । प्रहरीका अनुसार यी तीन जना नै नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत चिकित्सक हुन् ।
सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना, देशैभर वार्डको संख्या २ पुग्यो
काठमाडौं । थारु समुदायको प्रमुख स्वास्थ्य समस्या सिकलसेलको उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना गरिएको छ । आइतबारबाट प्रतिष्ठानमा भर्ना हुनेका लागि १० बेड र दिवा उपचारका लागि ५ बेडसहितको वार्ड स्थापना गरिएको प्रतिष्ठानका उपकुलपति विकास लामिछानेले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गत कार्तिक २० गते मन्त्रिस्तरीय निर्णय गर्दै भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना गरेका थिए । यसलगत्तै थारुबहुल क्षेत्र दाङको घोराहीमासमेत सिकलसेल उपचारका लागि बेग्लै वार्ड स्थापना गरिएको हो । मन्त्री पौडेलले एक समुदायकै प्रमुख स्वास्थ्य समस्यासँग जुध्नका लागि आवश्यक सबै विकल्प अपनाउने बताएको एक महिनाकै बीचमा थप अर्को ठूलो सरकारी अस्पतालले वार्ड स्थापना गरेको हो । यससँगै थारु समुदायमा वंशाणुगत समस्याका रूपमा रहेको सिकलसेल उपचारका लागि उनीहरूको बसोबास रहेका प्रमुख दुवै क्षेत्रमा बेग्लै वार्डमार्फत उपचार सुरु भएको हो । मन्त्रालयका अनुसार सिकलसेलबाट समुदायका झण्डै १२ प्रतिशत नागरिक प्रभावित पाइएको छ । यसअघि दिउँसोमात्र उपचार गर्ने गरिएकामा भर्नाका लागि पर्याप्त व्यवस्था गरिएकाले अब प्रतिष्ठानबाट उपचार सहज हुने उपकुलपति देवकोटाले जानकारी दिए । औषधीसमेत निःशुल्क उपलब्ध गराउने तयारी मन्त्री पौडेलले सिकलसेलको औषधीसमेत निःशुल्क उपलब्ध गराउने गरी तयारी भैरहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । विपन्न समुदायका नागरिक धेरै प्रभावित भएको सिकलसेलका लागि औषधी नै उपलब्ध गराउने योजनाअन्तर्गत काम भैरहेको उनले बताएका थिए । हाल लाक्षणिक आधारमा सिकलसेलको उपचार हुँदै आइरहेको छ । औषधी वितरण गर्ने सरकारको योजनालाई समर्थन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत औषधी निःशुल्क हुने बताएका थिए ।