राति सुत्नुअघि केसर-अलैंची चिया पिउनूहोस्, छन् यस्ता फाइदा
काठमाडौं । यदि तपाईं राम्रो निद्रा, उज्यालो छाला र बलियो पाचन प्रणाली चाहनुहुन्छ भने राति सुत्नुअघि केसर र अलैंचीको चिया अवश्य पिउनूहोस् । यो चिया स्वादिष्ट मात्र होइन, शरीरलाई भित्रैदेखि स्वस्थ राख्न सहयोग पुर्याउँछ । जान्नुहोस् कसरी यो चियाले तपाईंको स्वास्थ्यमा लाभ पुर्याउन सक्छ। राति सुत्नुअघि किन पिउने केसर-अलैंची चिया ? रातको समयमा शरीरलाई शान्ति र विश्राम आवश्यक पर्छ । यस्ता समयमा यदि तपाईं यस्तो केही पिउन चाहनुहुन्छ जुन स्वादमा स्वादिलो होस् र स्वास्थ्यका लागि पनि फाइदाजनक होस् भने केसर र अलैंचीको चिया उत्तम विकल्प बन्न सक्छ । टाइम्स अफ इन्डियामा प्रकाशित रिपोर्टअनुसार याे चियामा रहेका प्राकृतिक गुणहरूले धेरै स्वास्थ्य समस्याहरूको समाधान दिन सक्छ । यस चियाका फाइदाहरू निद्रा सुधार्छ यदि तपाईं रातभरि छटपटाइरहनुहुन्छ र राम्रोसँग निद्रा लाग्दैन भने यो चिया उत्कृष्ट विकल्प हुन सक्छ । अलैंचीमा पाइने प्राकृतिक तेल र केसरमा हुने सेरोटोनिन बढाउने तत्वहरूले मानसिक तनाव घटाउँछन् । यी दुवै मिलेर मस्तिष्कलाई शान्त बनाउँछन् र गहिरो निद्रा ल्याउँछन् । छालालाई उज्यालो बनाउँछ केसरमा भएका एण्टीअक्सिडेन्टहरूले छालाबाट फ्री रेडिकल्स हटाउँछन्, जसले छालालाई युवाकाे जस्तै राख्न सहयोग गर्छ । अलैंचीको डिटक्सिङ शक्तिले छालाको गहिरो सफाइ गर्छ, यसले डन्डीफोरबाट पनि राहत दिन्छ। पाचन प्रणालीलाई बलियो बनाउँछ राति भारी खाना खाएपछि हुने ग्यास, अपच र पेट फुल्ने समस्या समाधान गर्न यो चिया उपयोगी हुन्छ । अलैंचीमा हुने एन्जाइमहरूले ग्यास र एसिडिटी घटाउँछन्, केसरले पाचन सहज बनाउँछ । तनाव र मुड स्विङमा राहत दिनभरको थकान र मानसिक तनाव कम गर्न यो चिया प्राकृतिक उपचारजस्तै काम गर्छ । केसरले मुड सन्तुलनमा राख्ने हर्मोन बढाउँछ भने अलैंचीले मस्तिष्कलाई रिल्याक्स गर्छ । शरीरलाई डिटक्स गर्छ केसर- अलैंची चिया नियमित पिएमा शरीरमा जम्मा भएका विषाक्त पदार्थहरू बाहिर निस्कन्छन् । अलैंचीले लिभर सफा गर्छ र केसरले रोगसँग लड्ने क्षमतामा सुधार गर्छ । यो चियाले शरीरलाई प्राकृतिक रूपमा सफा गर्दै मौसमी रोगसँग लड्न तयार बनाउँछ ।
पुरानो मेडिकल कलेजमा न्यूरोसर्जरी सेवा पुनः सुरु
चितवन । चितवनको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा न्यूरो सर्जरी सेवा पुनः सुरु भएको छ । वरिष्ठ न्यूरो सर्जन प्रा. डा. आइप चेरियनको नेतृत्वमा वरिष्ठ न्यूरोसर्जन डा. बिपिन चौरसिया सहितको चिकित्सकको टोलीले अस्पतालमा न्यूरो सर्जरी सेवा दिने थालेको हो । डा. चौरसियाका अनुसार अस्पतालले २४ सै घण्टा आकस्मिक न्यूरो सर्जरी सेवा र बिहान ९ देखि बेलुका ५ बजेसम्म ओपीडी सेवा प्रदान गर्नेछ । विशेष गरी सवारी दुर्घटनाबाट हुने टाउको र मेरुदण्डको चोट (न्यूरो ट्रमा) जस्ता आकस्मिक केसहरूमा विशेष ध्यान दिइएको छ। 'हाम्रो टिम मस्तिष्कको ट्युमर,मस्तिस्क घात, ब्रेन एन्युरिजम, टाउकोमा पानी जम्ने, मेरुदण्डको ट्युमर, फ्र्याक्चर, ढाड दुख्ने, खुट्टा झमझम गर्ने र पक्षाघातजस्ता न्यूरोसम्बन्धी सम्पूर्ण समस्याको उपचार गर्न सक्षम छ,' डा. चौरसियाले भने । यो सेवाले चितवनवासीलाई काठमाडौं रिफर गर्नुपर्ने बाध्यता हटाउँदै गुणस्तरीय न्यूरोसर्जरी सेवा उपलब्ध गराउने प्रतिबद्धता अस्पातलले व्यक्त गरेको छ ।
सरकारी अस्पतालमा सेवा सुधार गर्न चिकित्सकलाई कडाइ, विवरण खुलाउन अनिवार्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीहरूको उपचारमा संलग्न सबै सरकारी चिकित्सकहरूलाई कागजातमा आफ्ना सबै विवरण खुलाउन निर्देशन जारी गरेको छ । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरुलाई पत्राचार गर्दै अस्पतालमा उपचारका लागि आउने बिरामीको आवश्यकताअनुसारको रेडियोलोजी, प्रयोगशाला र अन्य परीक्षणमा सिफारिस गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीको पूरा नाम, विशेषज्ञता, काउन्सिल दर्ता नम्बर तथा सहि छाप बिरामी रिपोर्टमा खुलाउन भनेको छ । निर्देशनले बिरामीको उपचार तथा फलोअपमा सहजता ल्याउने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । साथै, यस व्यवस्थाले अनावश्यक परीक्षण रोक्न तथा परीक्षण सम्भव हुँदा हुँदै अस्पतालबाहिर हुने रेफरसमेत रोक्ने अपेक्षा गरिएको छ । हाल चिकित्सकीय विवरण पेस्क्रिप्सनमा पूरा नहुँदा बिरामीको उपचार तथा त्यसका क्रममा भएका खराबी पहिचानमा समेत समस्या परेको बताइन्छ । अब चिकित्सकीय विवरण अनिवार्य गरिंदा त्यसले चिकित्सकलाई थप जिम्मेवार र जवाफदेही बनाउन समेत मद्दत मिल्ने विश्वास गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा बिरामीहरुलाई प्रभावकारी सेवा दिनका लागि उपचारात्मक सेवा सुधारमा जोड दिंदै आइरहेका छन् । जारी निर्देशनले यसमा मद्दत पुग्ने अपेक्षा गरिएको उनको निजी सचिवालयले जनाएको छ ।