विषालु हावाका कारण ४० प्रतिशतले बढे बिरामी

काठमाडौं । केही दिनदेखि निसास्सिएको काठमाडौं उपत्यकाले शुद्ध सास फेर्न पाएको छैन । विशुद्ध अर्थात विषालु हावाले धुम्मिएको उपत्यकाभित्र बसोबास गरिरहेका हरेक नागरिक अहिले अस्वस्थ सास फेरिरहेका छन् ।  विश्वको वायु गुणस्तर मापन एयर क्वालिटी इन्डेक्स एक्युआई सूचकांकअनुसार नेपालको काठमाडौं सहर केही दिनदेखि अत्यधिक प्रदूषित सहरमा परेको छ ।  जसका कारण अधिकांश नागरिकलाई अहिले आँखा बिझ्ने, श्वासप्रश्वासका समस्या हुने, खोकी लाग्ने समस्याले सताएको छ ।  कचौरा आकारको उपत्यकामा जम्मा भएको प्रदूषण सितिमिति हट्न गाह्रो हुने विज्ञहरू बताउँछन् । मौसमविद् प्रतिभा मानन्धर हिजोअस्तिको भन्दा मौसम खुलेपनि अझै प्रदूषण कायम रहने बताउँछिन् । उनी भन्छिन्, ‘तत्काल ठूलो पानी पर्ने, हावा चल्ने सम्भावना छैन, यसो नहुँदा प्रदूषण उस्तै रहनेछ ।’ उपत्यकाको यस्तो अवस्थाले बालबालिका, वृद्धवृद्धादेखि युवा उमेरका नागरिकको स्वास्थ्यमा असर परिरहेको छ । देशका विभिन्न ठाउँमा लागेको डढेलो, उपत्यकामा सञ्चालित इँटाभट्टा, सवारीसाधनको धुवाँले उपत्यकाको यस्तो अवस्था आएको विज्ञहरू बताउँछन् । उपत्यकामा प्रदूषण बढ्दा अस्पतालमा बिरामीको चाप बढेको छ ।  अस्पतालमा आउने अधिकांश बिरामी श्वासप्रश्वासको समस्या लिएर आउने गरेको चिकित्सकहरूले बताउँछन् । कुन अस्पतालमा कति बिरामी ? प्रदूषण बढेसँगै सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ ।  देशभरका बिरामी उपचार गर्न पुग्ने वीर अस्पतालमा केही दिनयता बिरामीको चाप निकै बढेको छ । दैनिक हजार बढी बिरामी उपचारको लागि पुग्ने अस्पतालमा अहिले दुई हजार बढी बिरामी उपचारको लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।  प्रदूषण बढेपछि वीरमा ओपीडीतर्फ १० प्रतिशत बिरामीको संख्या बढेको छ भने इमरजेन्सीतर्फ १५ प्रतिशत बिरामीको चाप बढेको बताइएको छ । अस्पतालका सूचना अधिकारी सीताराम खड्काका अनुसार वायु प्रदूषण बढेपछि अस्पतालमा बिरामीको चाप बढेको हो । उनले अस्पतालमा आउने धेरै जसो बिरामी श्वासप्रश्वासका समस्या लिएर आउने गरेको बताए ।  सूचना अधिकारी खड्काले अस्पतालमा बिहीबार एकै दिन २ हजार ४ सय ३१ जना बिरामी अस्पताल पुगेका बताएका छन् । वीर अस्पतालको छातीरोग विभाग प्रमुख डा. प्रज्वल श्रेष्ठले पहिलेको भन्दा बिरामीको संख्या अझ बढेको बताए ।  उनी भन्छन्, ‘अहिले बिरामीको संख्या बढेको छ, दम तथा दीर्घ बिरामीहरूको अवस्था पनि नियन्त्रण बाहिर गएको छ ।’ यो विभागमा अहिले ३० देखि ४० प्रतिशत बिरामी बढेको डा. श्रेष्ठले बताए । ‘यो अवस्था निक खतरा हो,’ डा. प्रज्वल भन्छन्, ‘अस्पताल पुग्ने धेरै जसोलाई घ्यार्रघ्यार्र हुने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिरहेका छन् ।’  उता महाराजगञ्जमा रहेको शिक्षण अस्पतालमा पनि बिरामीको चाप उत्तिकै बढेको छ । दैनिक १ हजार ८ सय देखि २ हजार जना बिरामी उपचारको लागि आउने गरेकोमा अहिले संख्या बढेर २ हजार ५ सय पुगेको अस्पतालले जनाएको छ ।  अस्पतालमा आउने आधिकांश बिरामी श्वासप्रस्वास र रुघाखोकीका रहेका छन् । अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले बिरामीको संख्या बढेको जानकारी दिए । अस्पतालको छातीरोग इकाइका प्रमुख डा. निरज बमले पहिलेभन्दा अहिले श्वासप्रश्वासका बिरामीको संख्या बढेको बताए । उनका अनुसार अहिले दैनिक २ सयदेखि तीन सय बिरामी यो समस्या लिएर अस्पताल पुग्ने गरेका छन् । टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि अहिले बिरामीको चाप बढेको छ । अस्पताल प्रशासनका अनुसार अहिले डेढ सय देखि दुई सय सम्म बिरामी अस्पताल पुग्ने गरेका छन् । अस्पतालमा पुगेका अधिकांश बिरामीमा श्वासप्रश्वासको समस्या रहेको जनाइएको छ । काठमाडौंको धापासीमा रहेको ग्राण्डी इन्टरनेशनल अस्पतालमा पनि बिरामीको सख्या बढेको छ । अस्पतालका अनुसार प्रदूषणका कारण श्वासप्रस्वासको समस्या लिएर आउनेको संख्या पहिलेको भन्दा केही बढेको छ । अस्पतालका सूचना अधिकार भाष्करकुमार दासले ओपीडी र इमरजेन्सीमा आउने बिरामीको संख्या दिनहुँ बढ्दै गइरहेको बताएका छन् ।  पहिला यस्तो थिएन काठमाडौंको कलंकीका हरि महर्जनलाई केही वर्षदेखि काठमाडौं उपत्यकाको मौसम देखेर अचम्म लाग्छ । हिउँदमा पानी नपर्ने, वर्षामा अत्यधिक गर्मी हुने अनौठो अनुभव गर्दै आएका उनी केही वर्षदेखि उपत्यकामा बढ्ने वायु प्रदूषण देखेर अचम्म लागेको बताउँछन् ।  उमेरले ७५ वर्ष पुगेका उनी उहिलेको काठमाडौं र अहिलेको काठमाडौंमा निकै अन्तर रहेको बताउँछन् । ‘पहिले हरियाली, खेतीपाती भएको ठाउँ थियो, कलकल बग्ने बागमतीको पानी थियो,’ उनी भन्छन्, ‘अहिले जसरी ती जंगल र यहाँको वातावरण नासियो, ठूलठूला घर बने । जबदेखि सहर भयो तबदेखि काठमाडौं नै हरायो, यस्ता समस्या देखिन थाले ।’ कीर्तिपुरकी शिवमाया महर्जनलाई पहिले कीर्तिपुरदेखि काठमाडौं पुग्न घण्टौं हिँड्नुपथ्र्याे । अहिलेको जस्तो न बाटोघाटो थियो, न सवारीसाधन । एक ठाउँबाट अर्को ठाउँ पुग्न पैदलै हिँड्नुपथ्र्यो । उनी कीर्तिपुरबाट काम गर्न कहिले सिंहदरबार भएको ठाउँमा आउँथिन् भने कहिले कालीमाटी पुग्थिन् ।  उमेर ८० टेक्नै आँटेकी उनलाई अहिले हिँडेर जान न केही काम पर्छ न कुनै खुल्ला ठाउँ नै पाइन्छ । उनलाई अहिले जस्तो कुनै प्रदूषणले उपत्यकाका घाँटी निमोठेको याद छैन ।  उनी उपत्यकामा मान्छेको चाप र बस्ती बाक्लिएसँगै यस्तो समस्या आएको बताउँछिन् । भन्छिन्, ‘खोइ के हो, के हो, पहिले यस्तो केही सुन्दैनथ्यौं । अहिले के जाति रोग यही आउँछ, प्रदूषण यही बढ्छ कस्तो जमना आयो अचम्मै लाग्छ ।’  अहिले हरि र शिवमाया महजर्न जस्तै उपत्यकाका धेरैजसो बुढापाकालाई यस्तै अचम्म लाग्छ । पहिले हरियाली र खुल्ला जमिन देखेकाहरूलाई अहिले कंक्रिट सहर र यहाँका ट्याँट्याँ टुटु आवाज सुनेर दिक्क लाग्छ । उनीहरू सहरले विकाससँगै विनाश पनि ल्याएको बताउँछन् । किन यस्तो भइरहेको छ ? काठमाडौं उपत्यकामा सवारी चल्न थालेको इतिहास लामो छैन । २०१३ सालमा त्रिभुवन राजपथ निर्माण भएपछि यहाँ मोटर गुडेर आउन सुरु भएको हो । त्योभन्दा पहिले मान्छेले बोकेर ल्याएका सवारी फाट्टफुट्ट चल्थे । अहिले उपत्यकामा यातायातको साधन थेगिनसक्नुको छ ।  हाल उपत्यकामा बढेको वायू प्रदुषणको मुख्य कारण पनि सवारीबाट निस्केको धुवाँ रहेको विज्ञहरू बताउँछन् । वातावरणविद् भूषण तुलाधर यसका पछाडि धेरै कारण रहेको बताउँछन् । उनी देशभर आगलागीका घटना बढ्नु, उपत्यकामा इँटाभट्टा लगायत कलाकारखानाबाट निस्केको धुवाँसँग सवारीबाट निस्केको धुवाँका कारण यस्तो अवस्था सिर्जना भएको बताउँछन्।  गाडीको मर्मतसम्भार नहुनु, सार्वजनिक सवारीसाधनमा ओभरलोड हुनु र सडकमा जाम धेरै हुनुको कारण पनि प्रदूषण बढेको उनी बताउँछन् ।  काठमाडौं उपत्यकाका मान्छेको चापभन्दा बढी सवारी चाप बढ्दै गएको छ । नेपालको जनघनत्व प्रतिवर्ग किलोमिटर १ सय ९८ जनामात्र छ ।  तर, काठमाडौंमा भने प्रतिवर्ग किलोमिटर १७ हजार ४ सय रहेको छ ।  जुन राष्ट्रिय जनघनत्वभन्दा ८७ गुणाभन्दा पनि धेरै मानिन्छ । यहाँ वार्षिक १४ प्रतिशतको हाराहारीमा यातायातका साधन बढिरहेका छन् ।  जसरी उपत्यकमा जनघनत्व बढेको छ, त्योभन्दा बढी सवारीसाधनको चाप पनि बढेको छ । वातावरणविद् तुलाधर यही कारण पनि काठमाडौं उपत्यकाको अवस्था यस्तो भएको बताउँछन्।  काठमाडौं उपत्यकामा पेट्रोल र डिजेलबाट चल्ने सवारी जाँचको लागि तीन ठाउँमा परीक्षण गरिन्छ । काठमाडौंको टेकु, ललितपुरको एकान्तकुना र भक्तपुरको सल्लाघारी गरिने सवारी जाँचमा धुँवामा कार्वन र मोनोअक्साइड र हाइड्रो कार्वन परीक्षण गरिन्छ । तर अधिकांश सवारी परीक्षणबिनै वर्षौं पुराना धुवा फाल्ने गाडी जाँच चलाइराख्दा यस्तो आएको तुलाधर बताउँछन् ।  नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययनले पनि उपत्यकामा वायु प्रदूषण बढ्नुको मुख्य कारण यातायातबाट निस्कने धुँवा देखाएको छ । परिषद्ले सन् २००६ र २०१४ मा गरेको अध्ययनअनुसार वायु प्रदूषणको मुख्य कारण यातायात रहेको पाइएको थियो ।  चिकित्सकको सल्लाह वायु प्रदूषणले व्यक्तिको स्वास्थ्यलाई गम्भीर असर पुर्याउँछ ।  बाहिरबाट नाँगो आँखाले नदेखिने ठूला–ठूला कणहरू श्वासप्रश्वासको माध्यमबाट शरीरमा प्रवेश गर्ने भएकाले स्वास्थ्यका लागि निकै घातक हुने चिकित्सकहरू बताउँछन् । प्रदूषणले श्वासप्रश्वासदेखि क्यान्सरसम्मका रोगहरू निम्त्याउने गर्छ । पछिल्लो समय गरिएका विभिन्न अध्ययन अनुसन्धानले वायु प्रदूषणका कारण मष्तिष्कघातदेखि हृदयघातसमेत गराउने गरेको पाइएको छ ।  छातीरोग विशेषज्ञ डा. प्रज्वल श्रेष्ठ यस्तो बेलामा सकेसम्म घर बाहिर ननिस्कन सल्लाह दिन्छन् । उनी भन्छन्, ‘हामी काम नपरी बाहिर ननिस्कौं, निस्कनै परेमा माक्स, चस्माको प्रयोग गरी पुरै शरीर ढाक्ने लुगा लगाउनुपर्छ ।’  डा. श्रेष्ठ बिहान र साँझको समयमा प्रदूषणको मात्रा अझ धेरै हुने भएकाले उनी केही दिनसम्म बिहानै उठेर मर्निङवाकमा ननिस्कन सल्लाह दिन्छन् । भन्छन्, ‘यो हावाले कसैलाई फाइदा गर्दैन तर गर्भवती महिला, ६० वर्ष कटेका वृद्धवृद्धा बालबालिका छन् भने हामीले निकै सावधानी अपनाउनुपर्छ ।’  

स्वास्थ्यमन्त्री पौडेलको संयुक्त राष्ट्र संघमा सम्बोधन, स्वास्थ्य सुधारका लागि अन्तर्राष्ट्रिय सहकार्यको आह्वान

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित जनसंख्या तथा विकास आयोगको ५८ औं सत्रमा सम्बोधन गरेका छन् । सत्रलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालले पछिल्ला तीन दशकमा मातृ तथा सुत्केरीसँग सम्बन्धित मृत्युमा महत्वपूर्ण प्रगति हासिल गरेको बताए । दक्षता तथा परिवार नियोजनका साधनको प्रयोगमा वृद्धि तथा प्रजनन क्षमता र किशोरावस्थाको जन्मदरमा कमी तथा बालविवाह घटाउन समेत नेपालले सफलता पाएको मन्त्री पौडेलले बताए । 'नेपाल आफ्नो स्वास्थ्य प्रणाली सबल बनाएर हरेक नागरिकलाई स्वस्थ्य सुविधा प्रदान गर्न प्रतिबद्ध छ,' मन्त्री पौडेलले भने, 'तर यो हामी एक्लैले मात्र गर्न सम्भव छैन ।' मन्त्री पौडेलले अन्तर्राष्ट्रिय सहकार्य र ऐक्यबद्धताबाट मात्र सम्भव रहेकोमा जोड दिए । स्वास्थ्य क्षेत्रमा बजेटको सीमितता तथा प्रतिव्यक्ति स्वास्थ्य खर्च विश्वव्यापी दरका तुलनामा कम भएका कारण ग्रामीण क्षेत्रमा पर्याप्त पूर्वाधार विकास तथा स्वास्थ्य संस्थाको कमी हुनाले स्वास्थ्य पहुँचमा कठिनाइ भोग्नु परेको मन्त्री पौडेलले बताए । जलवायु परिवर्तनका कारण समेत नेपालको स्वास्थ्य क्षेत्रले कठिनाई बेहोर्नु परिरहेको उल्लेख गर्दै मन्त्री पौडेलले भने, ‘जलवायु परिवर्तन र प्राकृतिक प्रकोप बढ्दै जाँदा आपतकालिन अवस्थाको सामना गर्ने स्वास्थ्य प्रणालीको लचिलोपनलाई पहिले भन्दा बढी बलियो पार्न जरुरी छ ।’ तर विकास सहायतामा कमीका कारण नेपालजस्ता देशले चुनौतीको सामना गर्नु परिरहेको बताए । ‘यो समस्या सम्बोधन गर्नका लागि हामी नेपाललाई विकास सहायता वृद्धिका लागि विशेष जोड दिन्छौं,’ मन्त्री पौडेलले भने । मन्त्री पौडेलले यस्तो सहायताले मात्र स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचका लागि यो जरुरी रहेको बताए । निजी क्षेत्रलाई समेत स्वस्थ्यमा लगानी वृद्धि जरुरी रहेकोमा मन्त्री पौडेलले जोड दिए ।   मन्त्री पौडेल आजबाट पाँच दिनसम्म चल्ने सत्रमा नेपालको नेतृत्व गर्दै सहभागी छन् ।   न्यूयोर्कमा रहेका बेला मन्त्री पौडेलले द्विपक्षीय वार्ताका साथै त्यहाँ रहेका नेपाली समुदायसँग स्वास्थ्य सेवा सुधारका लागि सुझाव संकलन गर्ने कार्यक्रम रहेको न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका प्रमुख राजदुत लोकबहादुर थापाले जानकारी दिए ।  

चैत २९ गते संवाद श्रृङ्खला-२ आयोजना गर्दै ह्याम्स अस्पताल

काठमाडौं । हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स) अस्पतालले स्वास्थ्य सबैको सरोकार भन्ने नारासहित संवाद श्रृङ्खला–२ आयोजना गर्ने भएको छ । अस्पतालको वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागिएको यो कार्यक्रम चैत्र २९ गते दिउँसो १२:१५ बजेदेखि होटल रमादा, धुम्वाराहीमा सञ्चालन हुनेछ । कार्यक्रमलाई तीन सत्रमा विभाजन गरिएको छ । पहिलो सत्रमा 'गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच' विषयमा सरोकारवालाबीच व्यापक छलफल गरिनेछ । दोस्रो सत्र 'नागरिकको स्वास्थ्यमा लगानी' विषयमा केन्द्रित हुनेछ, जसमा स्वास्थ्य क्षेत्रमा आवश्यक लगानी, स्रोत व्यवस्थापन र दीर्घकालीन रणनीतिबारे विमर्श गरिनेछ । तेस्रो तथा अन्तिम सत्रमा भने पहिलो दुई सत्रको सारांश प्रस्तुत गरिनेछ र उक्त सत्रमा माननीय उप–प्रधान तथा शहरी विकास मन्त्रीको प्रमुख मन्तव्य पनि रहनेछ । सम्वन्धित क्षेत्रका विज्ञ, सरोकारवाला निकाय, र प्रतिनिधिसभा सांसदहरूको सहभागिता रहने यस संवाद कार्यक्रमबाट जनस्वास्थ्यमा देखिएका समस्या, चुनौती र समाधानका उपायहरूबारे गहन छलफल गरिनेछ । छलफलबाट प्राप्त निष्कर्ष र सुझावहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेश गरिनेछ । सन् १९९७ मा स्थापना भई हाल धुम्वाराहीमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको अत्याधुनिक भवनबाट सेवा दिइरहेको ह्याम्स अस्पतालले भूकम्प प्रतिरोधात्मक संरचना, हेलिप्याड, र उच्चतम प्रविधियुक्त उपकरणसहित सेवा प्रदान गर्दै आएको छ । कोभिड महामारीको समयमा पनि विश्वस्तरीय सेवा प्रदान गर्दै जनविश्वास जित्न सफल भएको अस्पतालले गुणस्तरीय उपचार, चिकित्सा शिक्षा, नर्सिङ्ग तालिम, र अनुसन्धान मार्फत स्वास्थ्य क्षेत्रमा योगदान दिइरहेको छ । ह्याम्सले सामाजिक उत्तरदायित्वको अनुभूति गर्दै यस्ता संवाद कार्यक्रम प्रत्येक वर्ष नियमित रूपमा आयोजना गर्ने प्रतिबद्धता जनाएको छ ।