नेपाल नेशनल हस्पिटललाई महानगरले तिरायो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले कलंकीमा सञ्चालित नेपाल नेशनल हस्पिटललाई जोखिमपूर्ण फोहर व्यवस्थापनमा लापर्वाही गरेपछि १ लाख रुपैयाँ जरिवाना तिराएको छ । महानगरपालिकाले पटकपटक अनुगमन गरेर सुधारको मौका दिँदा पनि अस्पताल जन्य फोहर व्यवस्थापनमा जिम्मेवार नदेखाएपछि जरिवाना तिराएको हो । यसपटक अस्पतालको फोहोरले असर गरेको स्थानीयको उजुरीपछि चैत २० गते अनुगमन गरिएको थियो । यसपछि जरिवानाको पत्र पठाइएको थियो । महानगरपालिकाले जरिवानाको पत्र पठाएपछि अस्पतालले चैत २९ गते शुक्रबार महानगरपालिकाको राजस्व खातामा जरिवाना रकम दाखिला गरेको हो ।  ‘एक पटक होइन । दुई पटक होइन । पटक पटक गएर सुधारको मौका दियौँ । जति भने पनि हस्पिटलले सुधार गरेन,’ महानगरपालिकाका वातावरण निरीक्षक सृष्टि श्रेष्ठले भनिन्, ‘सुधारको अवसर उपयोग नगरेपछि काठमाडौँ महानगरपालिकाले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ को (ट) र (ठ) बमोजिम जरिवाना गरेका हौँ ।’ यस दफा बमोजिम रसायनिक फोहरमैला, औद्योगिक फोहरमैला, स्वास्थ्य संस्था जन्य फोहरमैला, जोखिमपूर्ण फोहरमैला वा हानी कारक फोहरमैला जथाभावी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गराउन सक्ने व्यवस्था छ । सोही कसुर दोहोर्‍याएमा पहिलो पटक गरिएको जरिवानाको दोब्बर जरिवाना गरेर प्रचलित कानुनबमोजिम अनुमति रद्द गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था छ ।   

चीनको नयाँ उपलब्धि: विश्वकै पहिलो मेडिकल उद्धार ड्रोन तयार

काठमाडौं । चीनले आपतकालीन अवस्थाहरूमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन विश्वकै पहिलो अत्याधुनिक मेडिकल ड्रोन सफलता पूर्वक विकास गरेको छ । यस ड्रोनको विकास हैशेन मेडिकल टेक्नोलोजी कम्पनी लिमिटेडले चीन राज्य पोत निर्माण निगमको अन्तर्गतमा चिनियाँ विज्ञान तथा अन्य साझेदार संस्थाहरूको सहकार्यमा गरेको हो ।  यो विशेष ड्रोनमा रिमोट भिडियो निगरानीजस्ता अत्यावश्यक स्वास्थ्य सेवासम्बन्धी उपकरणहरू जडान गरिएका छन् ।  कम्पनीका अध्यक्ष तथा प्रमुख इन्जिनियर श्री हुआङ युहङका अनुसार यो ड्रोन उच्च चिसो तापक्रम तथा पाँच हजार मिटरको उचाइसम्मका कठिन भूगोलमा समेत प्रभावकारी रूपमा खोज तथा उद्धार कार्य गर्न सक्षम छ । यो ड्रोनको तौल ६०० किलोग्राम छ र यसले ३०० किलोग्रामसम्मको भार बोक्न सक्छ । यसमा स्वचालित उडान प्रणालीका साथै टाढाबाट नियन्त्रण गर्ने सुविधा पनि रहेको छ । यसले गर्दा विपद् वा महामारीको बेला छिटो र प्रभावकारी रूपमा उद्धार कार्य सञ्चालन गर्न सकिनेछ ।  हुआङले भने, ‘हामीले मेडिकल उपकरण, ड्रोन प्रविधि र कृत्रिम बुद्धिमत्ताको संयोजनमार्फत चीनको स्मार्ट आपतकालीन उद्धार क्षमतामा ठूलो सुधार ल्याएका छौं ।’ 

भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रयोगमा रोक

काठमाडौं । चितवनको भरतपुर अस्पतालले वातावरण प्रदूषण प्लाष्टिकका झोलामा प्रतिबन्ध लगाएको छ ।  अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेलका अनुसार अस्पतालको फार्मेसी र अस्पतालभित्रका खाजा घरमा पनि प्लाष्टिकका झोला प्रयोगमा रोक लगाइएको हो । उनले भने, ‘फार्मेसीमा औषधि दिँदा र खाजा घरमा कागजको झोलाको प्रयोग गरिएको छ ।’  अस्पतालमा बिरामी भेट्न आउँदा कागजका झोला र कपडाका झोला प्रयोग गर्न अस्पतालले बिरामीका आफन्तहरूलाई आग्रह गरेको छ । अस्पतालले कुनै पनि कार्यक्रममा प्लाष्टिकका सामग्रीको प्रयोग नगर्ने उनले बताए । प्लाष्टिकका झोलाले वातावरणलाई हानि गर्ने भएकाले प्रयोगमा रोक लगाइएको हो ।