बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संसोधनको तयारी
काठमाडौं । स्वास्थ्य बीमा सेवाका लागि अब हरेक तहमा एउटा सेवाप्रदायक संस्था रहने भएका छन् । स्वास्थ्य बीमा ऐन २०७४ मा भएको संसोधनअनुसार अब स्वास्थ्य बीमा बोर्डले सम्झौता गर्दा हरेक तहमा कम्तिमा एक वटा सेवा प्रदायक संस्था रहने गरी सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यससम्बन्धी संसोधन प्रस्ताव मन्त्रिपरिषद बैठकमा लगेकामा स्वीकृत भइ कानून संसोधन भएको हो । संसोधित ऐनको व्यवस्थाअनुसार यसअघि बीमा सदस्य बने पनि पालिकामा सेवा लिन नपाउने समस्या अन्त्य हुने अपेक्षा गरिएको छ । ऐन संसोधनको प्रष्टीकरण खण्डमा ‘यसअघि स्थायी ठेगाना भएको तहबाट रेफरल लिनुपर्ने भएकामा अबको व्यवस्थाले प्रथम सेवा विन्दु भन्नाले विमितले सर्वप्रथम स्वास्थ्य सेवा लिने गरी रोजेको स्वास्थ्य संस्था सम्झनु पर्छ,’ भनेर व्याख्या गरिएको छ । यस आधारमा अब बिमित कार्यरत क्षेत्रमा प्रथम बिन्दु कायम गर्न चाहेमा सम्भव हुने भएको छ । यसका लागि स्वास्थ्य बिमा नियमावलीसमेत संसोधन गर्ने गरी तयारी अघि बढेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । यसअनुसार नियमावली संसोधन भएपश्चात कार्यरत स्थानबाट बीमा सुविधा लिन स्थायी ठेगाना भएको ठाउँमा जानैपर्ने अवस्था कम हुने विश्वास मन्त्रालयले गरेको छ । मन्त्री पौडेलले बिमित रहेकै स्थानबाट सेवा लिन मिल्ने गरी व्यवस्था गर्ने सार्वजनिक प्रतिबद्धता जनाएका थिए । मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार संसोधनमार्फत अब कार्यकारी निर्देशक नियुक्त नहुँदासम्मका लागि वैकल्पिक व्यवस्था भएको छ । ऐनको (४)दफा २५ को उपदफा (५) पछि देहायको उपदफा (६) थपिएको छ । जसमा ‘कुनै कारणले कार्यकारी निर्देशकको पद रिक्त भएमा दफा २२ को उपदफा (३) बमोजिम कार्यकारी निर्देशक नियुक्ति नभएसम्मको लागि कार्यकारी निर्देशकको रुपमा काम गर्न मन्त्रालयले मन्त्रालय र अन्तर्गतको नेपाल स्वास्थ्य सेवाको कम्तीमा एघारौँ तहको कर्मचारीलाई खटाउन सक्ने’ उल्लेख छ । यसले कार्यकारी निर्देशक नियुक्त नहुँदासम्म निमित्त कार्यकारीका सट्टा पूर्ण अधिकारसहितकै कार्यकारी निर्देशकका रुपमा कर्मचारी खटाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बाटो खुला गरेको छ । यसले भावी दिनमा कार्यकारी निर्देशकको रिक्ततासम्बन्धी समस्या सम्बोधन गर्न सक्ने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
भक्तपुरमा १७ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदै
काठमाडौं । भक्तपुरका १७ हजार छ सय ९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने भएको छ । यही माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभर सरकारले सुरु गर्न लागेको खोप अभियानअन्तर्गत भक्तपुरमा १० दखि १४ वर्ष उमेर समूहका किशारीको पहिचान गरी एचपिभी खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडाले जानकारी दिए । भक्तपुरका चार नगरपालिकामध्ये सूर्यविनायक नगरपालिकाका चार हजार एक सय ६२, भक्तपुर नगरपालिकाका छ हजार सात सय ४२, मध्यपुरथिमि नगरपालिकाका चार हजार दुई सय तीन र चाँगुनारायण नगरपालिकाका दुई हजार पाँच सय ८४ किशोरीलाई एचपिभी खोप लगाइने उनले जानकारी दिए । उनका अनुसार कक्षा ६ देखि १० सम्मका १६ हजार छ सय २८ र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका एक हजार ६३ किशोरीलाई खोप लगाइने छ। कार्यालयले खोप लगाउन खोप केन्द्र र जनशक्तिको विभाजन एवं तालिकासमेत सार्वजनिक गरेको छ । जसमध्ये सूर्यविनायकमा ६५ विद्यालय र ११ अन्य, भक्तपुर नपामा ७४ विद्यालय र छ अन्य, मध्यपुरथिमि नपामा ५६ विद्यालय र १० अन्य तथा चाँगुनारायण नपामा ४८ विद्यालय र १९ अन्य स्थान गरी कुल दुई सय ४३ विद्यालय र ४६ अन्य ठाउँमा खोप केन्द्र निर्धारण गरिएको छ । खोप अभियानलाई सफल पार्न कुल दुई सय ८९ स्वास्थ्यकर्मी र पाँच सय ७० स्वयंसेवक परिचालन गरिने भएको छ । कार्यालय प्रमुख खतिवडाका अनुसार जिल्लाका चारवटै स्थानीय तहसँग समन्वयात्मक कार्यक्रम गरी स्थानीय स्वयंसेवकलाई तालिम दिइ सकिएको छ । खोप लगाउँदा कसैलाई स्वास्थ्यमा कुनै समस्या नआउने दाबी गर्दै उनले समस्या आइहालेमा उपचारका लागि भक्तपुर अस्पताल, ख्वप अस्पताल, सूर्यविनायक नगर अस्पताल, चाँगुनारायण नगर अस्पताल र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा उपचार गरिने जानकारी दिए । सरकारले देशभरिका कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई लक्षित गरी विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को सन्दर्भ पारेर एचपिभी खोप अभियान सञ्चालन गर्न लागेको हो । यो खोप लगाएपछि ९० देखि ९५ प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरबाट सुरक्षा प्रदान गर्ने बताइन्छ । महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर नेपालमा पहिलो स्थानमा छभने स्तन क्यान्सर दोस्रोमा पर्छ । भक्तपुर जिल्लामा खोप अभियानलाई सफल बनाउन स्थानीय तह र अन्य निकायसँग समन्वय भइरहेको छ । जिल्ला समन्वय समितिका सभापति ईश्वरबहादुर थापा, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याललगायतले अभियान सफल बनाउन आह्वान गरेका छन् ।
गाउँले परिकारको सहरमा तहल्का, तारे होटलमा प्रिमियम शुल्क
काठमाडौं । कुनै समय गरिबको खानाको रूपमा चिनिने कोदोको ढिँडो अहिले सहर बजारका ठूला तारे होटल तथा रेष्टुरेन्टमा आकर्षक खानाको परिकारको रूपमा चिनिन थालेको छ । होटलहरूमा यसको बढ्दो मागसँगै नेपालको रैथाने बाली कोदोको परिचय नै बदलिएको छ । पहिले चामलको भात खाने हैसियत भएको परिवारलाई धनी वर्गको रूपमा गनिन्थ्यो । आज ठीक विपरीत त्यहीं धनी भन्ने वर्गले नै खोजीखोजी कोदो, मकैलगायतको रैथाने परिकार खान थालेका छन् । पछिल्लो समय नेपाली रैथाने खानाको महत्त्व बढ्दै गएको छ । होटल व्यवसायीहरूका अनुसार अहिले कोदोको ढिँडो होटलहरूमा ‘लक्जरियस फुड’को रूपमा गणना भइसकेको अवस्था छ । यसको अर्थ महँगो शुल्क तिरेरै भएपनि ढिँडो खाने ग्राहकको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । कोदोको ढिँडो एक उदाहरणमात्रै हो । पछिल्लो समय स्थानीय खानाको माग साना होटल तथा रेष्टुरेन्टदेखि ठूला तारे होटलहरूमा बढिरहेको र सोही मागअनुसार होटलमा स्थानीय खानाकाे परिकारलाई प्राथमिकतामा राखिएको होटल संघ नेपाल (हान) का महासचिव साजन शाक्य बताउँछन् । उनका अनुसार चारतारे र पाँचतारे होटलहरूले अनिवार्य रूपमै मेनुमा नेपाली खानालाई समावेश गर्नैपर्छ । त्यसबाहेक अन्य होटलहरूले पनि आवश्यकता र मागअनुसार मिलाएर स्थानीय परिकारलाई प्राथामिकतामा राख्ने गरेका छन् । नेपाली खाना भन्नेबित्तिकै दाल,भात, तरकारी, गुन्द्रुक भन्ने धेरैको मानसिकता हुन्छ । तर, नेपाली परिकार त्यतिमा मात्रै सीमित छैन । नेपालमा विभिन्न जातजातिका विभिन्न परिकार उपलब्ध छन् । ती स्थानीय परिकारलाई होटलहरूले अहिले प्राथामिकतामा राखेर पस्किन थालेको महासचिव शाक्यले बताए । उनका अनुसार नेवारी फुडहरू जस्तै- बारा, चटामरी, योमरीजस्ता खानालाई समावेश गर्न थालिएको छ । शाक्य विदेशका होटहलरूमा पनि नेपाली खानाको फेस्टिबल गर्नुपर्यो भनेर माग आइरहेको बताउँछन् । उनले विदेशमा पनि नेपाली खानालाई प्रवर्द्धन गर्ने भनेर लागिरहेका बताए । हान आफैले समयसमयमा नेपाली खानाको प्रवर्द्धनकाे लागि लागिपरेको महासचिव साजन शाक्यले बताए । ‘हामीले भृकुटीमण्डमा रैथाने खानालाई प्रदर्शनमा राख्यौं । यसबाहेक आफ्नै कार्यक्रम हुँदा स्थानीय खानालाई प्रवर्द्धन गरिरहेका हुन्छौें ।’ होटल संघल नेपालले नेपाली खानालाई प्रवर्द्धन गर्नका लागि गत वर्षदेखि अभियान नै थालेको छ । यस वर्षको माघ २ गते सत्कार दिवसको अवसरमा सातै प्रदेशको खानालाई स्टलमा राखिँदै छ । बर्गर, पिजा, स्याण्डविच लगायत सहरिया परिकारलाई अहिले गाउँले ढिडो, कोदो, फापर लगायत परिकारले विस्थापित गर्न थालेका छन् । महँगा रेष्टुरेण्टमा अहिले गाउँले परिकारको शुल्क नै महँगो पर्छ । ग्राहकको माग नै गाउँले परिकार हुने गरेको होटल व्यवसायी बताउँछन् । उच्च प्राथमिकतामा मौलिक खाना होटल हिमालयका फुड एण्ड वेबरेजका म्यानेजर राजेश यादव होटलले कन्टिनेन्टल, ओरिएन्ट, मेरियन्टका खानाका साथै स्थानीय खानालाई मेनुमा उच्च प्राथमिकताका साथ राखेको बताउँछन् । नेपाली खानाको उच्च माग भएसँगै होटलले पनि त्यसलाई प्राथमिकतामा राखेर सेवा प्रवाह हुने गरेको उनले बताए । उनका अनुसार हिमालय होटलकै लगानीमा सञ्चालित पाटन म्युजियम क्याफेमा ९५ प्रतिशत मौलिक नेवारी खानाहरू पस्किने गरिएको छ । यसबाट पनि मौलिक स्थानीय खानाको माग उच्च रहेको उनले बताए । पछिल्लो समय नेपाली खाना र संस्कृतिको झुकाब बढेर गएको यादवको भनाइ छ । उनले भने, ‘आजभन्दा २० वर्षअघि हेला गरिएको कोदो र फापरलाई सुपर फुडको रूपमा गणना गर्न थालिसकेको छ । उदाहरणको लागि लिम्बुले खाने खाना ‘किनेमा’ जुन सोयाबिनबाट बनेको हुन्छ, आज त्यसलाई ‘न्याटो’ भनिने सुपुर फुडको रूपमा राखिएको छ । यादव पछिल्लो समय नेपाली खानाको उच्च माग भएसँगै नेपाली नामबाटै होटलहरू खुल्न थालेको बताउँछन् । साथै पहिले बिदा मनाउन जाँदा पर्यटकको रोजाइमा पिजा, बर्गरजस्ता खाना रोजाइमा हुन्थ्यो भने आज नेपाली खाना हुने गरेको छ । विदेशी पर्यटकमात्रै नभएर आन्तारिक पर्यटकले नेपाली खानालाई महत्त्व दिन थालेको यादवले सुनाए । प्रचारप्रसारले लोकप्रियता बढ्यो आजभन्दा १० वर्षअघि आजजस्तो डिजिटल मिडियाको प्रभावकारिता थिएन । नेपाली खानाप्रति प्रचारप्रसार कम थियो । साथै नेपाली खानासम्बन्धी अनुसन्धान भएपनि बाहिर आउन सकेको थिएन । जसले गर्दा मान्छेहरूमा विशेषगरी विदेशी पर्यटहरूलाई यसले ‘साइड इफेक्ट’ गर्छ कि भन्ने डर थियो । विस्तारै प्रविधिको विकास र नेपाली खानाको प्रचारप्रसार बढ्न थाल्यो । अध्ययन अनुसन्धानबाट पनि यसको महत्त्व जनमानसमा पुग्यो । जसले गर्दा आज नेपाली खानाको माग बढेर गएको हो । नेपाली खानाप्रति आकर्षण आज आएर ह्वात्तै बढेको होइन । पहिले पनि नेपाली खानाप्रति मान्छेहरूको रुचि थियो नै । तर प्रचारप्रसारको कमीको कारण ती कुरा बाहिर नआएको चिफ एशोसिएसन नेपालका निवर्तमान अध्यक्ष श्याम लामा बताउँछन्। पछिल्लो समय प्रविधिको विकासले नेपाली खाना र महत्त्वका बारेमा सामाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यमबाट प्रचारप्रसार हुन थालेको छ । यसले गर्दा हरेक मान्छेमा स्थानीय खानाबारे जनचेतना बढ्दै गएको छ । जसले नेपाली खानाप्रतिको रुचि बढ्नमा महत्त्वपूर्ण भूमिका खेलेको लामाले बताए । उनले भने, ‘रैथाने परिकारको लोकप्रियता अहिले मात्रै नभएर विगतमा पनि थियो । मझौला होटल रेष्टुरेन्टले पहिलेदेखि खुवाउने भनेको नेपाली खाना नै हो । तर प्रचार हुन सकेको थिएन । सम्बन्धित सरोकारवाला, सामाजिक सञ्जाल, सञ्चार माध्यमलगायतका क्षेत्रबाट यसको प्रवर्द्धन हुन थालेसँगै अहिले नेपाली खानलाई धेरैले बढावा दिन थालेका हुन् ।’ विगतमा होटल तथा रेष्टुरेन्टले नेपाली खानालाई भन्दा कन्टिनेन्टल, चाइनिज, इन्डियनलगायतलाई मात्रै जोड दिन्थे । तर पछिल्लो समय नेपाली खानालाई मेनुमै समावेश गरेर पस्किन थालेको छ । होटल सोल्टीदेखि विभिन्न तारे होटलमा सेफको रूपमा काम गरिसकेका लामाले आफ्नो अनुभव साझा गर्दै भने, ‘मैले कन्टिनेन्टल खानाबाटै जागिर सुरु गरेको हो । नेपाली खाना त घरमै पाकिहाल्छ नि भन्ने मानसिकताले विदेशी खाना नै प्राथामिकतामा हुन्थ्यो । अहिले तारे होटलहरूले नेपाली खानालाई नै फलो गर्न थालेका छन् । यो पनि नेपाली खानाप्रतिको प्रवर्द्धन हो ।’ यसबाहेक विभिन्न संघसंस्थाले पनि स्थानीय खाना र संस्कृतिलाई प्रचारप्रसार गर्न थालेका छन् । होटल तथा रेष्टुरेन्टहरूले मात्रै नभएर होमस्टेहरूले पनि रैथाने खानालाई प्राथामिकता दिँदै नेपाली खाना पस्किनुपर्छ भनेर अभियान नै सञ्चालन गर्दै आइरहेका छन् । यसले स्थानीय खानाको लोकप्रियता बढ्दै गएको लामाले बताए । पर्यटकहरू जहाँ जान्छन्, त्यहींको संस्कृति र खानालाई फलो गर्ने प्रवृत्ति बढ्दै गएको हुँदा अहिले नेपाली खानाभन्दा पनि संस्कृति र ठाउँअनुसारको खानाको माग झन् बढेर गएको उनको तर्क छ । पछिल्लो समय ग्यास्ट्रोनोमी टुरिजमको अवधारणा बढ्दै गएकाले त्यसअनुसार सेफहरूले पनि खानालाई पस्किने गरेको लामाको भनाइ छ । उनका अनुसार सबै विदेशी पर्यटकले नेपाली खानालाई पचाउन नसक्ने हुँदा त्यही नेपाली खानालाई पर्यटकको स्वास्थ्यलाई ध्यानमा राखेर पस्किने गरेको छ । नेपाली खानाको महत्त्व नेपाली खाना स्वादको लागि नभएर स्वास्थ्यकै दृष्टिकोणले फाइदाजनक रहेको विभिन्न अनुसन्धानले पुष्टि गरेको छ । ‘नेपाली खाना पश्चिमेली खानाको तुलनामा बढी पोषक हुन्छ,’ हिमालय होटलका फुड एण्ड बेबरेज म्यानेजर यादवले भने, ‘दाल,भात र तरकारीमा हाम्रो शरीरलाई चाहिने कार्बोहाइड्रेट, प्रोटिन, मिनरल्स, म्याग्नेसियमजस्ता तत्त्व पाइन्छ । स्वादिष्ट मात्रै नभएर पोषक तत्त्वले भरिपूर्ण भएकाले पश्चिममा पनि पूर्वेली खानप्रति आकर्षण बढेर गएको छ ।’ नेपाली खानामा प्रयोग गरिने बेसार, धनियाँ मेथी, जिम्बुलगायत मसाला स्वास्थ्यका लागि सकारात्मक परिणाम दिने भएकाले यसको महत्त्व बढी रहेको यादव बताउँछन्। नेपालमा मात्रै नभएर विदेशमा समेत नेपाली खानाको माग उच्च रहेको छ । होटल हिमालयका फुड एण्ड बेभरेज म्यानेजर यादवका अनुसार विदेशमा नेपाली खानलाई भगवानलाई पुजेसरह मान्यता दिन्छन् । खाडी तथा युरोपियन देशमा छरिएर रहेका नेपालीहरू नेपाली रेष्टुरेन्टमा जान्छन्, यसले नेपाली खाना मात्रै नभएर देशप्रतिको माया पनि विदेशमा उच्च रहेको यादवले बताए । थप प्रवर्द्धनको आवश्यकता विगतको तुलनामा नेपालमा नेपाली खानाको बारेमा प्रचारप्रसार र प्रवर्द्धन बढ्दै गएको छ । तर यो पर्याप्त भने होइन । नेपाली खानालाई नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सबै क्षेत्रबाट उत्तिकै सहयोगको आवश्यकता जरुरी रहेको औल्याउँछन् लामो समय सेफको रूपमा देश तथा विदेशका विभिन्न होटलहरूमा काम गरिसकेका भान्से लक्ष्मण । उनी पछिल्लो समय नेपाली खाना प्रवर्द्धनमा जुटेका छन् । सन् २०१८ मा ग्लोबल नेपाली सेफ संस्था स्थापना गर्नेदखि विभिन्न देशमा च्याप्टरको शुभारम्भ गर्दै उनी अहिले रैथाने नेपाली खानाको खोज, विकास र प्रवर्द्धनमा सक्रिय छन् । भान्से लक्ष्मण नेपालका कैयौं खानाका परिकारहरू प्रवर्द्धनकाे पर्खाइमा रहेको बताउँछन् । उनका अनुसार हाल थकाली खानामात्रै विश्वस्तरमा पुग्न सकेको छ । त्यसबाहेकका कैयौं रैथाने खानालाई हामीले चिन्न र प्रचारप्रसार गर्न बाँकी रहेको उनले बताए । उनले भने, ‘नेवार, थारु, नेवारी, तामाङ, राईलगायतका जातजाति रैथाने खाना निकै राम्रा छन्, त्यसलाई थप विकास गरी हामीले विश्वस्तरमा यसको प्रवर्द्धन गर्न सक्छौं, फूड टुरिजममार्फत पर्यटकीय गतिविधि पनि बढाउन सक्छौं ।’ नेपाली खानाको विकास र प्रवर्द्धन जति हुनुपर्ने हो, त्यसमा ध्यान दिन नसकेको उनको तर्क छ । उनका अनुसार मिथिला थालीलाई अब अन्तर्राष्ट्रिय स्तरमा पनि गर्ने योजना बनाइएको छ । जसका लागि मिथिला थालीको ‘न्युट्रिसन भ्यालु’ समेत निकालेर प्रचारप्रचार गर्ने सोच रहेको उनले बताए । ‘मिथिला थालीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउनका लागि यसमा कति पौष्टिक तत्त्व छ भन्ने पनि ग्राहकले थाहा पाउनुपर्छ, यो अभ्यास पनि हो । त्यसैले आगामी दिनमा यसको इतिहास, महत्त्व र आवश्यकता बुझाउने गरी प्रचारप्रसारको योजना बनाएका छौं,’ उनले भने ।